विचार/ब्लग

'जान्ने देखाउन नयाँ एन्टिबायोटिक चलाउने प्रवृत्ति छ'

डा. अर्जुन कार्की

एन्टिबायोटिक औषधि खोज्न वर्षाैं लाग्छ। विशेषगरी परीक्षण प्रक्रियामा धेरै समय लाग्छ। तर, ब्याक्टेरियाहरुले चाँडै प्रतिरोध शक्ति बनाइहाल्छन् । उनीहरु भर्खर अविस्कार भएका एन्टिबायोटिक पनि पचाइदिन्छन्। जब नयाँ औषधी पनि पचाउन थाले भने डाक्टरले के औषधी दिने? कसरी बिरामी जोगाउने? यो महामारीको अवस्था हो।

एन्टिबायोटिक चाहिने अवस्था आयो भने कुन ब्याक्टेरियालाई कति मात्रा दिने यकिन गर्नुपर्छ। हामीले तत्कालीन स्वार्थ पूर्तिका लागि भविष्यमा आउने समस्यालाई नजरअन्दाज गर्न मिल्दैन। हाम्रा डाक्टरहरुमा जति नयाँ औषधी प्रयोग गर्‍यो त्यति सिपालु भन्ने भ्रम छ।

पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्ने भए पनि नयाँ औषधीबारे जानकारी राख्छु भन्ने देखाउन सबभन्दा पछिल्लोपल्ट अविस्कार भएको औषधि प्रयोग गर्न दिइहाल्ने चलन छ। खासमा पुराना पुस्ताका एन्टिबायोटिक चलाउँदा केही सीप नलागे पो नयाँको प्रयोग गर्ने हो त। जान्ने र सिपालु देखाउन गरिने यो प्रवृत्तिको आलोचना गर्नुपर्छ।

यसैगरी, जबसम्म कुनै पनि व्यक्तिले सिफारिस गर्न र औषधी पसलबाट एन्टिबायोटिक किन्न पाउने चलन रोकिँदैन, त्यतिबेलासम्म चिकित्सकलाई मात्रै रोकेर हुँदैन।

नेपालमा डाक्टरले मात्रै होइन, नर्स, कम्पाउन्डर, औषधी पसले, स्वास्थ्यकर्मी सबैले एन्टिबायोटिक चलाउँछन्। उपयुक्त योग्यता भएकाले मात्रै एन्टिबायोटिक दिन पाउने नियम बनाउन जरुरी छ। अहेबलाई समेत एन्टिबायोटिक चलाउने अनुमति दिने कि नदिने, बिरामीले सिधै किन्न पाउने कि नपाउने लगायतका विषयमा बहस चलाउनुपर्छ। यससँगै जनचेतना पनि जरुरी छ । नत्र नियन्त्रण मात्रै गरेको जस्तो देखिन्छ, नियन्त्रण हुँदैन।

(छातीरोग तथा आइसियू विशेषज्ञ डा. कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति हुन्)

प्रभावहीन बन्दै एन्टिबायोटिक,  ब्याक्टेरियाबाट बच्नै मुस्किल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live