प्रवास

‘एक पटक बिरामीको पक्षबाट सोचौँ’

डा. रुद्र घिमिरे

चितवन जिल्लामा जन्मेका डा. रुद्र घिमिरे हाल अमेरिकामा छन् । अमेरिकाका विभिन्न अस्पतालमा काम गरिसकेका डा. घिमिरे अमेरिकामा हिमाल हेल्थ एलएलसीका प्रमुख कार्यकारी अधिकृत हुन् । चिकित्सकीय अभ्याससँगै उनले अमेरिकाको अस्पतालमा कार्यक्रम निर्देशकका रुपमा समेत काम गरिसकेका छन् । सन् २००५ मा अमेरिका गएका डा. घिमिरे इन्प्यासेन्ट फिजिसियन हुन् । हालै नेपाल आएका उनीसँग स्वास्थ्य खबरपत्रिकाका लागि प्रवीण ढकालले कुराकानी गरेको थिए । उनले आफ्नो पेशाको उकालीओरालीसँगै अमेरिका र नेपालमा भइरहेको चिकित्सकीय अभ्यासबारे यस्तो धारणा राखेः

 

एमबिबिएस अध्ययन गर्नुअघि म एचएको विद्यार्थी हुँ । एचएको पढाइ सकेलगत्तै मैले सुर्खेतमा तीन वर्ष काम गरेँ । मैले त्यतिबेला ब्रिटिस डाक्टरहरुसँग पनि मिलेर काम गरेँ । गाँउगाउँमा पुगेर उपचारात्मक र निदानात्मक सेवा दिने गथ्र्यौं । त्यतिबेला गाँउमा धामीझाँक्रीलाई विश्वास गर्ने समय थियो । हामीले धामीझाँक्रीलाई पनि तालिम दियौँ । त्यो तालिम निकै प्रभावकारी बन्यो । तीन वर्ष काम गरेपछि मैले एमबिबिएस अध्ययनका लागि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नाम निकालेँ ।

एमबिबिएस पास भएपछि शिक्षण अस्पतालमा डेढ वर्ष, पाटन अस्पतालमा दुई वर्षजति र केही निजी अस्पतालमा पनि काम गरेँ । त्यसपछि सन् २००२ मा रेडियोलोजी विभागमा ज्वाइन भएँ । रेडियोलोजीको अध्ययनसकेपछि भने म सन् २००५ मा अमेरिका गएँ । न्यूयोर्कमा बसेर इन्टरनल मेडिसिन अध्ययन गरेँ । त्यसपछि विभिन्न राज्यमा गएर काम गर्न थालेँ । हाल म इन्प्यासेन्ट फिजिसियनका रुपमा कार्यरत छु ।

नेपालमा एउटै चिकित्सकले ओपिडी, इन्प्यासेन्ट सबै हेर्ने चलन छ । उता भने मैले वार्डमा रहेका बिरामीहरु मात्रै हेर्ने विधा रोजेको हुँ । मैले आइसियु र फ्लोरमा धेरै काम गरेकाले त्यसमै रुची देखाएँ ।

मैले अमेरिकामा करिब साढे २ वर्ष कार्यक्रम निर्देशकका रुपमा पनि काम गरेँ । त्यहाँको एउटा अस्पतालमा मेरो भूमिका क्लिनिकल फिजिसियन बाहेक प्रशासनिक पनि हुन्थ्यो । अमेरिकामा मेरो आफ्नै एजेन्सी पनि छ । हिमाल हेल्थ एलएलसी हो त्यसको नाम । म त्यसको सिईओ । यसले विभिन्न अस्पतालमा डाक्टरहरुको आवश्यकता पर्‍यो भने सप्लाइ गर्ने काम गर्छ ।

अमेरिकामा अस्पतालबाट डिस्चार्ज हुने बिरामीहरुमा २–३ वटा विकल्प रहन्छ । एकथरि घर जाने हुन्छन् । अमेरिकामा बृद्धबृद्धाको जनसंख्या धेरै छ । त्यसैले उनीहरुमध्ये धेरैजसो घर जान चाहँदैनन् । उनीहरुको परिवारका सदस्य नहुने, शारीरिक अवस्थाका कारण यताउता गर्न नसक्नेहरु हुन्छन् । तिनीहरुका लागि ‘इन्टरमेडिएट इस्टिच्युसन’ स्थापना गरिएको हुन्छ । त्यसलाई स्टेप डाउन, लङ टर्म एक्युट केयर, रिह्याव अस्पताल लगायतका नामले चिनिन्छ ।

एउटा बिरामीलाई लामो समयसम्म चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ भने अस्पतालमा नै राखिराख्न सम्भव नहुने भएकाले त्यसखालका संस्थाहरुमा राख्ने गरिन्छ । आर्थिक र अन्य धेरै हिसाबले त्यस्ता संस्थाहरु बिरामीका लागि फाइदजनक हुन्छन् । दीर्घरोगी तथा लामो समयसम्म स्वास्थ्यकर्मीको हेरचाह चाहिने बिरामीलाई सेवा दिने भएकाले त्यस्ता संस्थालाई ‘लङ टर्म एक्युट केयर अस्पताल (एलट्याक)’ भनिएको हो । निमोनिया, स्ट्रोक, अल्जाइमर्स, डिमेन्सिया, पार्किन्सन्स, लगायतका समस्या भएका बिरामीहरु यस्ता संस्थामा जाने गर्छन् ।

यसरी अमेरिकामा मानिसहरु स्वास्थ्य समस्या आउनासाथ घरबाट अस्पताल, अस्पतालबाट दोस्रो तहको एलट्याक, रिह्याव हुदैँ घर पुग्छन् । यसले बिरामी र बीमा गर्ने कम्पनीहरुलाई पनि निकै सजिलो हुन्छ । यस्ता संस्थाहरु नेपालमा पनि खोल्न आवश्यक छ । यो निकै प्रभावकारी र लाभदायी संस्था हो ।

नेपाल र अमेरिकामा उपचारका क्रममा शुल्क तिर्नुपर्ने मोडल फरक छ । त्यसैले हामीले त्यसखालको संयन्त्र विकास गर्नका लागि केही संयन्त्रको विकास गर्नु आवश्यक छ । एउटा बिरामीले करिव ६–८ हप्ता एक्युट केयर अस्पतालमा बसेर उपचार खर्च गर्नुपर्‍यो भने निकै महँगो पर्न जान्छ । त्यसको साटो ४–५ दिनको मुख्य उपचारपछि डिस्चार्जको विकल्पबारे सोच्न सकिन्छ । त्यसक्रममा हामी उपचारमा संलग्न डाक्टर, नर्सहरु र बिरामीका आफन्तसँग बसेर योजना बनाउन सक्छौँ ।

नेपालको हकमा पनि रिह्याव वा उपचारसँगै रेखदेख र बसोबासको व्यवस्थासहितको हाइब्रिड खालको इस्टिच्युसन खोल्न सकिन्छ । निजी स्तरमा पनि रिह्यावलाई लङ टर्म एक्युट केयरसँग जोडेर संस्था स्थापना गर्न सकिन्छ । यस्ता संस्थाले अस्पतालमा भन्दा कम खर्चमा बिरामीको उपचार र हेरचाह गर्न सक्छन् । यो ढाँचामा स्वास्थ्य सेवा विकास गर्न अस्पतालमा जस्तो जनशक्ति पनि आवश्यक नपर्न सक्छ । जस्तो कि, कहाँ, कसरी र कुन अवस्थामा त्यो जनशक्तिले काम गरेर अभ्यस्त भएको छ, त्यसका आधारमा जनशक्ति निर्धारण गर्न सकिन्छ ।

नेपालमा एमबिबिएस गरेका जनशक्तिको अभाव छैन । तिनीहरुलाई राम्ररी तालिम दिएर काममा अभ्यस्त गराउन सकियो भने तिनीहरुले यस खालका संस्थामा निकै योगदान गर्न सक्छन् । र, नर्सहरु पनि आवश्यक पर्छन् । साथै पर्सनल केयर एसिस्टेन्ट (पिसिए) हरु पनि यस्ता संस्थाका लागि आवश्यक पर्छ । यो मोडेल नेपालमा उपयोगी र दिगो हुने सम्भावना मैले देखेको छु ।

तर, नेपालको सन्दर्भमा यस्ता संयन्त्रका लागि कानुनी आधार छ जस्तो लाग्दैन । यहाँ बिरामीले कुन तहको अस्पतालमा कतिसम्म खर्च गर्नुपर्छ? कसरी चल्छन् भन्ने खालको अध्ययन भएको देखिँदैन । बिरामी र आफन्त कति सचेत छन् र कतिको विश्वास गर्छन् भन्ने विषय पनि यसमा जोडिएर आउँछ । हामी आजसम्म पनि डाक्टरको संख्या, तिनीहरुको समस्या, अस्पतालको अभाव जस्ता कुरामा मात्र केन्द्रित छौँ । तर, बिरामीको पक्षबाट वा उनीहरुको दृष्टिकोणबाट अहिलेसम्म बहस चलेको छैन । बिरामीले के सोच्छ, उसको आर्थिक अवस्था कस्तो हो, रोग कस्तो हो, कस्तो उपचार दिँदा उपयुक्त भन्ने पक्षबाट बहस फिटिक्क हुँदैन । जुन दिनसम्म बिरामीको दृष्टिकोणबाट हेरिँदैन र उनीहरुको विचारको सम्मान गरिँदैन, यो संयन्त्रको विकास गर्न निकै कठिन हुन्छ ।

नेपालमा अस्पताल बाहेकका यस्ता संयन्त्र विकास गर्ने हो भने, पहिलो मेडिकल क्षेत्रका जनशक्ति उत्पादनमा काम गर्नुपर्छ । दोस्रो, बिरामीलाई केन्द्रमा राखेर सेवा दिन सक्नुपर्छ । बिरामीले विश्वास नगरे हामी कसरी चल्छौं भन्ने सोच हुनुपर्छ । तर, यहाँ त ‘हामीकहाँ नआएर बिरामी कहाँ पो जालान् र’ भन्ने सोच हाबी छ । यही नै हो मुख्य चुनौती । लामो समय अस्पताल बस्नुपर्ने बिरामीका लागि यस्ता संस्था निर्माण गर्न गहन अध्ययन हुनु पर्दछ। यस्तै, आर्थिक, कानुनी र सामाजिक परिवेशबारे पनि अध्ययन गरिनुपर्छ । त्यसले सही नतिजा दिएमा यसखाले संरचनामा जान सकिन्छ, जसले नेपालको स्वास्थ्य सेवामा कायापलट ल्याउन सक्छ ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने