नर्सिङ

त्यसै झर्कन्नन् स्वास्थ्यकर्मी : बर्नआउट सिन्ड्रोम हुन सक्छ

img

अर्चना बगाले, नर्स

स्वास्थ्यकर्मीले अन्य पेसाका मानिसले जस्तो व्यक्तिगत जीवन जिउन पाउँदैनन्। बिरामीको सेवामा दिनरात नभनी खट्नुपर्ने यो पेसाका मानिसले आरामलाई भन्दा कामलाई बढी ध्यान दिनुपर्ने हुन्छ। २४ सै घण्टा सेवा दिने अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी पनि २४ सै घण्टा तयार अवस्थामा रहनुपर्छ।

देख्ने र भन्नेलाई सजिलो होला, अस्पताल गयो, जागिर खायो आयो। तर, बिरामीको जीवनमरणसँग जोडिएका स्वास्थ्यकर्मीले आफ्नो पेसालाई त्यति सहजरुपमा बुझेको दिन सम्झनूहोस्, स्वास्थ्य सेवाको अवस्था डामाडोल हुनेछ।

स्वास्थ्य क्षेत्रलाई अति संवेदनशील क्षेत्रका रुपमा लिइन्छ। तर, यहाँ कार्यरत जनशक्तिप्रति कत्तिको संवेदना देखाइएको छ भन्ने प्रश्न अनुत्तरित छ। कामको बोझ र दिनरातको खटाइले गर्दा स्वास्थ्यकर्मीहरु नै रोगको शिकार हुनुपर्ने वाध्यता छ। विशेष गरी निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी कामको पेलानमा पर्ने गरेका प्रसस्त उदाहरण छन्।

तनाव, दबाब र वाध्यताले गर्दा स्वास्थ्यकर्मीहरु ‘बर्नआउट सिन्ड्रोम’को शिकार हुने गरेका छन्। कार्यव्यस्तताले गर्दा उत्पन्न हुने शारीरिक र मानसिक थकान या तनावयुक्त अवस्थालाई बर्नआउट सिन्ड्रोम भन्ने गरिन्छ। कामको चाप, कम सुविधा, जागिरको असुरक्षा, दबाबमूलक काम जस्ता कारणले स्वास्थ्यकर्मीमा बर्नआउट सिन्ड्रोम देखिने गरेको छ।

बर्नआउट सिन्ड्रोम हुँदा झर्को लाग्ने, सधैँ चिन्तित रहने, तनाव, नकारात्मक सोच, काम गर्न मन नलाग्ने, छिटो रिस उठ्ने, कमजोर महसुस हुने आदि लक्षण देखापर्छ। यदि लामो समयसम्म पनि यस्ता समस्या समाधान भएनन् भने विस्तारै अल्सर, ढाड दुख्ने, टाउको दुख्ने, माइग्रेन आदि रोगले सताउँछ। कामको तनाबले बर्नआउट सिन्ड्रोम भएका स्वास्थ्यकर्मीहरु बिरामी वा आफन्तसँग झर्किएर बोल्ने, राम्रो व्यवहार नदेखाउने हुन सक्छन्।

बर्नआउट सिन्ड्रोम हुँदा निम्न उपाय अपनाएर समाधान खोज्न सकिन्छः
१) समस्याको पहिचान गर्ने,
२) समस्या साटासाट गर्ने,
३) काम गर्ने वातावरणमा सुधार ल्याउने,
४) घरपरिवाससँग समस्याबारे छलफल गर्ने,
५) जिम्मेवारी बाँडफाँट गर्ने,
६) कामको चाप घटाउने,
७) छुट्टी लिने, आराम गर्ने र व्यायाम गर्ने,
८) आफ्ना लागि चाहिने समय छुट्याउने।

चिकित्सक, नर्सहरु झर्किएर बोल्छन्, लापरबाही गर्छन् भन्ने गुनासाहरु आइरहँदा स्वास्थ्यकर्मीलाई केही असर वा दबाब पो छ कि? कतै यस्तै समस्याका कारण स्वास्थ्यकर्मीहरु पीडित पो छन् कि? यस्ता प्रश्नमाथि सोचविचार गर्न हाम्रा स्वास्थ्य संस्थालाई फुर्सदै छैन।

सामान्य बुझाइमा मानिसको जीवन सहज बनाउन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन भन्ने गरिन्छ। तर, स्वास्थ्यकर्मीका हकमा आराम र मनोरञ्जन अलि परको कुरा बन्दै आएको छ। मानिसको मस्तिष्क र शरीर बिनाआराम र मनोरञ्जन लगातार कामको बोझले थिचियो भने नतिजा सकारात्मक आउँछ भन्न सकिँदैन। तर, हाम्रो पेशामा बिनाआराम काममा खटाउने प्रवृत्ति हाबी छ भन्न कुनै हिचकिचाहट मान्नु पर्दैन। न रेगुलर ड्युटीको टुंगो, न बिदाको टुंगो, न अन्य मनोरञ्जन र पुनर्ताजगीका कार्यक्रम।

अरुलाई बिरामी हुँदा कम काम गर्ने, आराम गर्ने, समयमा खाना खाने भनेर सम्झाउने स्वास्थ्यकर्मीहरु स्वयं बिरामी हुँदा पनि आराम गर्ने समय पाउँदैनन्। सकिनसकी अस्पतालमा खट्नुपर्ने वाध्यता छ। नखटौँ खाइपाइ आएको जागिर जाने डर, खटौँ स्वास्थ्य बिग्रिने चिन्ता। बच्चालाई ६ महिनासम्म स्तनपान गराउनुपर्छ भन्ने महिला स्वास्थ्यकर्मीहरु भने सुत्केरी भएको महिना दिनमै उही ६ घण्टे, ८ घण्टे वा १२ घण्टे नाइट ड्युटीमा खटिएका हुन्छन्।

गर्भवती अवस्थामा पनि संवेदनशील वार्ड (जस्तैः आइसियू, ओटी) मा सकिनसकी काम गरेको देख्दा लाग्छ हाम्रो देशको स्वास्थ्य नीति ‘हेल्थ वर्कर्स फ्रेन्ड्ली’ छैन। संवेदनशील क्षेत्रका जनशक्तिमाथि असंवेदनशीन रहने हो भने, यसले बिरामी र स्वास्थ्य संस्थालाई मात्र असर गर्दैन स्वयं स्वास्थ्यकर्मीकै जीवन तहसनहस हुनसक्छ।

(बगाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमएन अध्ययनरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live