मुख्य समाचार

औषधि बजारको विकृति निर्मूल पार्न चाहन्छौँः स्वास्थ्य मन्त्री थापा

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– स्वास्थ्य मन्त्री गगन थापाले नेपाली औषधि बजारमा देखिएका सबैखाले विकृति, विसंगति र अनियमितता निर्मूल पार्न स्वास्थ्य मन्त्रालय लागिरहेको बताएका छन्।

नेपाल औषधि आयातकर्ता संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले औषधि बजारलाई व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले काम अगाडी बढाएको बताएका हुन्। उनले नेपाली जनतालाई गुणस्तरीय औषधि सर्वसुलभ रुपमा सस्तोमा उपलब्ध गराउने अभियानमा मन्त्रालय जुटिरहेको पनि बताए।

‘औषधि बजारमा निकै विकृति र अनियमितता रहेछ,’ मन्त्री थापाले भने, ‘अब यस्ता विकृति निमूर्ल पारेर नेपाली जनतालाई गुणस्तरीय औषधि सस्तो मूल्यमा र सहज रुपमा उपलब्ध गराउनेतर्फ हामी लागिरहेका छौँ।’

मन्त्री थापाले औषधिको मूल्य नियन्त्रणमा मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाइसकेको बताए। औषधिको मनपरी मूल्यलाई नियन्त्रण गर्न मन्त्रालयको टिम बजार अनुगमन र आयातित औषधिको मूल्य निगरानी गर्न भन्सारसम्म पुगिसकेको उनले जानकारी दिए।

‘हाम्रो चासो भनेको नेपाली जनतालाई गुणस्तरीय औषधि सस्तोमा उपलब्ध गराउने भन्ने हो,’ उनले भने, ‘यसका लागि मन्त्रालयले के–के निर्णय गर्नुपर्ने हुन्छ ती सबै निर्णय गर्न तयार छ।’ उनले औषधि उत्पादनका क्षेत्रमा विश्वमै उत्कृष्ट कम्पनीमध्ये पर्ने स्विटजरल्यान्डको नोभाटिस कम्पनी सस्तोमा गुणस्तरीय औषधि नेपालमा उपलब्ध गराउन तयार भइसकेको पनि बताए।

मन्त्री थापाले औषधिको गुणस्तरमा मन्त्रालयले कुनै सम्झौता नगर्ने भन्दै नेपालमा उत्पादन हुने र विदेशबाट आयात हुने सबै औषधिको गुणस्तरीयता जाँचमा कडाइ गर्न औषधि व्यवस्था विभागलाई निर्देशन समेत दिइसकेको बताए। 

कार्यक्रममा विभागका महानिर्देशक नारायण ढकालले व्यापारीहरुले २ सय प्रतिशतभन्दा महँगोमा औषधि बिक्री गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न विभागले सक्रियता बढाएको बताए। उनले वैज्ञानिक ढंगमा मूल्य निर्धारण गर्ने काममा सहयोग गर्न सबै व्यापारीसँग आग्रह गरे।

कार्यक्रममा संघका महासचिव पवन आचार्यले विभागले हचुवाका भरमा नयाँ कार्यविधि ल्याएर आयातकर्तालाई समस्यामा पारिरहेको आरोप लगाएका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live