अन्तर्वार्ता

८० प्रतिशत रोगको कारण ‘मन’ - स्वामी आनन्द अरुण

स्वास्थ्य खबरपत्रिका

स्वामी आनन्द अरुण

मानिसलाई रोग किन लाग्छ ?

रोग शरीरमा लाग्छ भन्ने आम बुझाइ छ । शरीर र मन अलग अलग हुँदैनन् । मानव शरीर त एउटा इकाइ हो । शरीर भन्दा पनि मन नै रोगको मुहान हो । मानिसको शरीर र मन जोडिएका हुन्छन् । मन नै स्वस्थ छैन भने जति उपचार गरे पनि रोग निको हुँदैन । मनमा नकारात्मक सोचाइ हुनासाथ मानिसलाई रोग लाग्छ । एउटा विरामीका कारण सम्पुर्ण परिवार नै बिरामी हुन पुग्छ । उपचारका क्रममा ध्यान (मेडिटेसन) र औषधि (मेडिकेसन) अलग गरेमा त्यो अपुर्ण हुन्छ । रोग लागि सकेपछिको अवस्थामा निको पार्न औषधि चाहिन्छ तर औषधिले मात्रै रोग निको पार्न सक्दैन । औषधिले लक्षण ठीक पर्ला तर रोग निको हुँदैन । शरीर स्वस्थ हुन मन स्वस्थ हुनुपर्छ । चिकित्सकहरु पनि ८० प्रतिशत रोगको कारण ‘मन’ हो भन्नेमा सहमत छन् । २० प्रतिशत रोगको कारण मात्र व्याक्टेरिया, जीवाणु, संक्रमण, जेनेटिक आदि हुन् ।

त्यसो भए सही उपचार पद्दति के हो त ?

एलोपेथी चिकित्सा विज्ञान पश्चिमा मुलुकको उपचार विधि हो । पूर्वीय मुलुकको मौलिक उपचार विधि आयुर्वेद, प्राकृतिक चिकित्सा, युनानी, हकिम, चाइनिज हर्वललगायतका हुन् । हामी पश्चिमा विधिमा लाग्दैछौ, पश्चिमाहरू पूर्वीय पद्दतिमा लाग्दैछन् । एलोपेथी उपचारको अनुसन्धान गर्ने पश्चिमा मुलुक पनि मनको उपचारबाट मात्रै रोग निको पार्न सकिन्छ भन्ने अवधारणामा आधारित भएर नयाँ निश्कर्षहरु सार्वजनिक गरिरहेका छन् ।

बिभिन्न अनुसन्धानहरूले पनि मन स्वस्थ नभएसम्म रोग निको हँुदैन भन्ने पुष्टि गरिसकेका छन् । शरीर र उपचारलाई एलोपेथीले खण्डखण्ड गरेर हेर्छ भने पूर्वीय अवधारणाले समग्रतामा हेर्छ । जस्तै पेटको रोग लागेमा एलोपेथीले पेट मात्र हेर्छ, यसका अन्य समस्या हेर्दैन । पेटको समस्याको कारण अन्यत्र पनि हुनसक्छ । रोगका अन्य कारणसमेत गहिरिएर हेरियो भने मात्र रोग निर्मुल हुन्छ । उपचारको प्रारम्भिक बिधि भनेको मनको व्यवस्थापन गर्नु नै हो ।

मनको व्यवस्थापन त भन्नु भयो, मन के हो ?

मन भनेको विचारको संग्रह हो । हामीले सुनेका, पढेका कुरा सोचमा संग्रहित हुन्छन् । गलत विचार लिए गलत मन बन्छ, सही विचार लिए सही मन बन्छ । मनलाई स्वस्थ राख्ने माध्यम साहित्य, मनोरञ्जन,ध्यान आदि हुन् । अहिले त मानिसको मनको ‘इनपुट’ नै आक्रामक भएर आएको छ । मनलाई स्वस्थ राख्न व्यक्ति आफैंले सबैभन्दा पहिला पहल गर्नुपर्छ । मनलाई सही दिशामा डो¥याउनका लागि समाज, संगत, चिन्तन र सञ्चार माध्यमको भूमिका रहन्छ ।

मनलाई स्वस्थ राख्न के गर्नु पर्ला ?

मन अस्वस्थ हुनुको कारण मानिसको जीवन शैलीसँग जोडिएको छ । विश्वव्यापी तथ्याङ्क अनुसार मानिसले ६ घण्टा टेलिभिजन हेरेर समय विताउँछ । यो ६ घण्टाको अनुत्पादक समयलाई योगा, ध्यान र विज्ञानतिर फर्काउन सके मनलाई स्वस्थ राख्न ठूलो उपलन्धी हासिल हुन्छ । अर्को कुरा टेलिभिजन कार्यक्रमले पनि मनमा विकृति बढाउने गरेका छन् ।  अस्पताल खोलेर मात्र मानिसलाई स्वस्थ बनाउन सकिँदैन, यससँगै मानिसका क्रियाकलाप पनि स्वस्थ हुनुपर्छ । मानिसले हेर्ने, सुन्ने, पढ्ने सबै कुरा सकारात्मक हुनुपर्छ ।

एलोपेथी उपचारको अस्तित्वलाई चुनौति दिन सकिन्छ त ?

हामी पूर्वीयहरू जथाभावि औषधि खान्छौं । एलोपेथि औषधिको प्रतिअसर बढी हुने भएकोले पश्चिमा चिकित्सकहरुसमेत अत्यावश्यक अवस्थामा बाहेक औषधि सिफारिस गर्दैनन् । नेपालमा सामान्य समस्यामासमेत एन्टिवायोटिक प्रयोग गर्ने गरेको पाइन्छ । शिक्षित वर्गले पनि औषधि पसलबाट सिधै औषधि किनेर खाने गरेको पाइन्छ । औषधि खानुपूर्व के का लागि त्यो औषधि खाइँदैछ भन्ने ध्यान दिनु पर्छ ।

रोग भनेको त लक्षण हो । त्यसैले रोगको होइन रोगीको उपचार गर्नुपर्छ । त्यसका लागि औषधिले मात्रै हुँदैन । रोग लाग्यो  भने आधुनिक चिकित्साले अंग नै काटेर फालिदिन्छ । तर रोगको खास कारण के हो भन्नेमा गहिरिएर जाँदैन । रोगी अंगले त रोगको सूचना दिने हो । त्यो अंग नै काटेर फालिदिएमा अंगले शरीरलाई रोगको सूचना दिन सक्दैन । त्यसैले उपचार पछि पनि समस्या दोहोरिने गर्छ ।

एलोपेथी उपचार पद्दतिका विकृति के देख्नु भएको छ ?

हामी एलोपेथीका विरोधी भने होइनौं तर एलोपेथी जसरी फस्टाइरहेको छ त्यो खतरनाक स्थितिको संकेत हो । यसले गर्दा नचाहिने अवस्थामा पनि औषधिको प्रयोग बढ्दै गएको छ । एलोपेथीले त शरीरलाई निरोगी बनाउने नाममा रोगी बनाउदै लगिरहेको छ ।

सुनिन्छ चिकित्सक पनि पैसाका लागि कमिशनको चक्करमा लागेका छन् । अहिले त चिकित्सकलाई औषधि लेखे पनि कमिसन, ल्याब परीक्षणमा पनि कमिशन आउने गरेको सुनिन्छ । तर सबै चिकित्सक खराब छन् भन्ने मेरो आसय होइन । तर यो राम्रो संकेत होइन । कमिसनको लोभमा अनावश्यक औषधि लेख्ने र अनावश्यक परीक्षण गराउने प्रवृत्ति बढ्दै गएको छ । राजनीति पछि स्वास्थ्य र शिक्षा क्षेत्र बढी व्यावशायीकरण हुँदै गएका छन् । निजीकरणले पनि थुप्रै व्यावसायिक बाध्यताको सिर्जना भएको छ । लगानी उठाउनका लागि शरीरमाथि खेलवाड गर्ने प्रवृत्ति बढिरहेको छ । तर यस्ता कुरालाई व्यावशायिक बाध्यता भन्न मिल्दैन । शुरुमा समाजमा शिक्षक र चिकित्सा पेशा प्रतिष्ठा र सम्मानका  पेशा थिए । यसमा पैसाको कुरा आउँदैनथ्यो । अहिले यी पेशा व्यावशायिक बन्दै गएका छन् । पैसा मानिसको आवश्यकता होला तर पेशालाई प्रतिष्ठासँग पनि जोडेर हेर्ने हो भने पनि विकृति केही कम हुन्छ ।

पूर्वीय उपचार पद्दति किन फैलिन सकेन त ?

पूर्वीय दर्शनमा आधारित आयुर्वेद विज्ञानमा राम्ररी अनुसन्धान हुन सकेको छैन । अनुसन्धान र प्रविधिबाट हामीले आयुर्वेदलाई एलोपेथी सरहको गुणस्तर दिन सकेपछि बल्ल त्यसको विस्तार हुन सक्छ । पश्चिमा राष्ट्रले पनि पूर्वीय दर्शनलाई स्वीकार गरिसकेको अवस्थामा पनि हामीले त्यसलाई अपनाउन सक्ने तहको उत्पादन र महत्व बुझाउन सकेनौ । सरकार  पनि मौलिक उपचार पद्दति बिर्सिएर एलोपेथीकै प्रवद्र्धनमा लागेको छ । यसले गर्दा अहिले नै एलोपेथीलाई छोड्न सक्ने अवस्था छैन । कम्तिमा आयुर्वेदलगायतका उपचार पद्दतिको प्रोत्साहन हुने गरी निजी क्षेत्रले लगानी गर्ने वातावरण सरकारले बनाउनु पर्छ ।

पूर्वीय दर्शनमा आधारित उपचार पद्धतिको प्रवद्र्धन हुन नसक्नुको कारण के हो त ?  

नेपालमा आर्थिक पूर्वाधारको ठूलो अभाव छ । पछिल्लो युग अर्थतन्त्रमा आधारित भएकोले आर्थिक समृद्धिविना विकास संभव छैन । यसले आधारभूत विकासका लागि नै समय लाग्ने देखिन्छ । नेपालमा आर्थिक क्रान्ति गरेर जडीबुटीबाट फाइदा लिन सक्नुपर्छ । जडीबुटीको नेपालमा खानी नै भए पनि हामीले त्यसको निर्यात गर्न सकेका छैनौ । अष्ट्रेलियालगायतका विकसित मुलुकमा नेपाली जडीबुटीको ठूलो माग भए पनि हामीले अनुसन्धान र प्रशोधन गर्न नसक्दा हामीले निर्यात् गर्न सकिरहेका छैनौं ।

त्यसो भए ध्यान, आयुर्वेद र प्रकृतिक चिकित्सा एकअर्काका परिपूरक हुन त ?

ध्यान, साधना हो पेशा होइन । विभिन्न पेशाका मानिस जम्मा भएर आनन्दका लागि ध्यान गर्छन् । ध्यान पनि एउटा उपचार पद्धति नै हो । तर ध्यान गर्नुभन्दा अघि शरीर शुद्धीकरण हुनुपर्छ । शरीर शुद्ध हुनासाथ ८० प्रतिशत रोग निको हुन्छ । तपोवन आश्रम सञ्चालनका लागि आर्थिक पक्ष पहिलो प्राथमिकतामा पर्दैन । यो हाम्रो हबी हो । यसलाई हामीले पेसाभन्दा पनि प्रतिष्ठासँग जोडेका छौं । स्वस्थ्य मन र तनका लागि मानिसलाई कसरी औषधिबाट अलग गर्न सकिन्छ भन्ने चिन्तनमा हामी अगाडि बढेका छांै । यही सोच नै लाइफ म्यानेजमेन्ट सेन्टर हो । नेपालमा नाम चलेका आयुर्वेद केन्द्र र वैद्य छन् । अनुसन्धान र प्रचारबाट हामीले आयुर्वेदिक र प्राकृतिक चिकित्साप्रति मानिसको विश्वास बढाउँदै लानुपर्छ । अहिले त मानिसहरू एलोपेथीले नसकेपछि मात्रै आयुर्वेद तथा प्रकृतिक चिकित्सामा पुग्छन् । अब ध्यान, आयुर्वेद र बैकल्पिक चिकित्सालाई मूलधारमा ल्याउनु जरुरी छ । यी तीन कुराको संयोजन नै पूर्ण उपचारको बिधि हो ।

मानिस स्वस्थ रहन समग्रमा के के कुराको जरुरी पर्छ ?

समग्र रुपमा भन्नु पर्दा हामीले भनेको होलेस्टिक चिकित्सा भित्र माया र यौनका कुरा पनि पर्छन् । स्त्री र पुरूषबीचको सम्बन्धले पनि मनलाई खुसी र शान्त बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।  सकारात्मक सोचाइ, विश्वास, यौन र माया पनि स्वस्थ रहने माध्यम हुन् । मान्छेले शान्तिका लागि ब्रम्हचार्यको बाटो रोजेको हुन्छ तर ब्रह्मचारीको आयु नै कम हुन्छ । जसको यौन जीवन लामो हुन्छ उसको आयु पनि लामो हुने देखिएको छ । यस बिषयमा मैले ‘माइन्युट्ली’ अध्ययन पनि गरेको छु । मानिस निरोगी बन्न भावनात्मक (इमोसनल) सपोर्ट चाहिन्छ । इमोसनल सपोर्ट नभएको मानिस आफु पनि खुसी हुन सक्दैन र अरु पनि खुसी भएको देख्न सक्दैन । समाजमा कसरी वैज्ञानिक तरिकाले ‘इमोसनल सपोर्ट’ स्थापित गर्ने भन्ने ठूलो चुनौति बनेको छ ।

औषधि खाएर रोगबाट मुक्ति मिले पनि त्यो स्वस्थ हुनुको परिभाषा होइन । मानिसमा उत्साह, प्रेम, आँट, सिर्जना छैन भने उसलाई स्वस्थ भन्न सकिँदैन । अर्को कुरा अरूको आलोचना गर्ने मानिसलाई पनि स्वस्थ भन्न मिल्दैन । स्वस्थ रहनु भनेको एउटा विधायक स्थिति हो । स्वस्थ मानिसको नजिक बस्दा आनन्द महसुस हुनुपर्छ । अध्यात्म विना  पनि मानिस स्वस्थ रहन सक्दैन ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live