अन्तर्वार्ता

‘हात्तीपाइलेको औषधि ढुक्क भएर खाँदा हुन्छ’

चैत ५, ६ र ७ मा ३० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

स्वास्थ्य खबरपत्रिका

विश्व स्वास्थ्य संगठनले सन् २०२० भित्र विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार नेपालमा पनि सन् २००३ देखि हरेक वर्ष हात्तीपाइले रोग विरुद्धको निःशुल्क औषधि खुवाउने कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्षको कार्यक्रम स्वास्थ्य मन्त्रालयले चैतमा सञ्चालन गर्न लागेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लामा चैत ५, ६ र ७ गते हात्तीपाइलेको औषधि वितरण कार्यक्रमको तयारी अगाडी बढाइसकेको छ। हात्तीपाइलेको औषधि वितरण अभियानका विषयमा प्रवीण ढकालले महाशाखाका निर्देशक डा. भीम आचार्यसँग गरेको कुराकानीः

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने तयारी कस्तो छ?
हात्तीपाइले रोग विरुद्धको औषधि वितरण कार्यक्रम ३० जिल्लामा हुँदैछ। नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा पर्छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ। जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेका छन्। हात्तीपाइले रोगको प्रसार दर (प्रिभिलेन्स रेट) १ भन्दा कम भएकाले ३१ जिल्लामा औषधि खुवाउने कार्यक्रम फेजआउट भएको हो।

रोगको प्रिभिलेन्स दर १ भन्दा कम भएमा उक्त क्षेत्रलाई निवारणउन्मुख क्षेत्र भन्न सकिन्छ। तर प्रिभिलेन्स दर १ भन्दा माथि रहेका ३० वटा जिल्लामा यो वर्ष औषधि खुवाइन लागिएको हो। तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन ती जिल्लाका हरेक गाउँगाउँ र टोलटोलमा सबैको पायक पर्ने स्थानमा बुथ राखेर औषधि खुवाउने काम हुनेछ। औषधि सेवन तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकको प्रत्यक्ष निगरानीमा मात्र हुनेछ। दोस्रो र तेस्रो दिनमा भने घरदैलो कार्यक्रम हुनेछ। औषधि खान कोही पनि नछुटुन् भनेर स्वास्थ्यकर्मी र स्वयंसेवकहरुले घरघरमा गएर औषधि खुवाउनेछन्। स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई औषधि खुवाउने सम्बन्धी तालिम लिने काम र अन्य तयारी पूरा भइसकेको छ।

औषधि वितरण कार्यक्रमका लागि जनशक्ति र बजेटको व्यवस्था कस्तो छ?
३० जिल्लाका एक करोड ८ लाख जनसंख्यालाई औषधि खुवाउने हाम्रो लक्ष्य छ। यसका लागि ३० जिल्लामा कार्यरत ११ हजार स्वास्थ्यकर्मी र ५५ हजार स्वयंसेवक खटिनेछन्। यसमा कर्मचारीसहित महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न समूह तथा सहयोगी संस्थाबाट आएका स्वयंसेवकहरु पर्छन्। उनीहरु तीन दिने अभियान अन्तर्गत बुथ र घरदैलो कार्यक्रममा खटिनेछन्।

हात्तीपाइले कार्यक्रम अन्तर्गत यो वर्ष ३८ करोडको बजेट विनियोजन भएको छ। उक्त बजेट अन्तर्गत एक करोड ८ लाखलाई खुवाइने हात्तीपाइलेको औषधि खरिद, स्वास्थ्य कार्यकर्ता परिचालन र हाइड्रोसिलको निःशुल्क शल्यक्रिया पर्दछ।

हात्तीपाइले कस्तो रोग हो?
यो उचेरेरिया बाँन्क्रोफ्टी जातको परजीवीबाट सर्ने रोग हो। यो परजीवी मसिनो धागो आकारको जुका जस्तै हुन्छ। यो परजीवीलाई बोक्ने क्युलेक्स जातको पोथी लामखुट्टे हो। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेपछि शरीरमा यो परजीवी प्रवेश गर्छ। यो परजीवीका माध्यमबाट सर्ने सरुवा रोग हो। हात्तीपाइले मानिसलाई शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ गर्ने रोग हो।

मानिसको शरीरमा प्रवेश गरेको परजीवीले शरीरभित्रको लिम्बनलीलाई अवरोध गर्छ। त्यो अवरोधपछि शरीरका अंगहरु बिस्तारै सुन्निदै जाने हुन्छ। सबैभन्दा बढी यसले खुट्टा सुन्निने हुँदा यसलाई हात्तीपाइले भनिएको हो। यसले पुरुषहरुको अण्डकोषमा पानी जम्ने रोग हाइड्रोसिल समेत गराउँछ। हाइड्रोसिल भएकामा हिँडडुल गर्न समस्या हुने र प्रजनन क्षमतामा असर गर्ने हुन्छ। यसले केही महिलाहरुको स्तन अत्यधिक ठूलो बनाउने समस्या समेत निम्त्याउँछ। यसको प्रमुख उपचार भनेको नै समयमा औषधि सेवन गर्नु हो।

हात्तीपाइलेको औषधिका विषयमा विभिन्न गुनासा आउने गर्छन् नि?
विगत वर्षहरुमा औषधिको फाइदाबारे मानिसलाई पर्याप्त जानकारी गराउन नसक्दा गलत टीकाटिप्पणी भएका थिए। यो औषधिका विषयमा मानिसमा भ्रम पनि छ। ‘हात्तीपाइले औषधि सेवनका कारण मृत्यु’ भन्ने गलत खबर पनि बाहिर आए। वास्तवमा त्यस्तो होइन। यो औषधि सेवनका कारण मानिसको मृत्युको खबर सरासर गलत हो। नेपालमा हरेक दिन सरदर आठ सय जनाको मृत्यु भइरहेको हुन्छ। यो औषधि खुवाउने दिनमा पनि त्यति नै मानिसको मृत्यु भएको हुन्छ। तर, यहाँ औषधि खाएका कारण ती मानिसको मृत्यु भएको भन्ने गलत हल्ला चलाइयो। यो औषधिका कारण मानिसको मृत्यु हुँदैन। सरकारले जनताको मृत्यु हुने औषधि त वितरण गर्दैन नि।

यो औषधि ढुक्क भएर खाँदा हुन्छ?
एकदम ढुक्क भएर खाँदा हुन्छ। औषधिमा कुनै शंका गर्नुपर्दैन। हात्तीपाइले रोग विरुद्ध डाइइथाइलकार्बामाजिन (डिइसी) चक्की र अल्बेन्डाजोल (जुकाको) चक्की गरी दुई प्रकारका औषधि खुवाइनेछ। यी औषधि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारकै गुणस्तरीय र सुरक्षित छन्। यो औषधिले हात्तीपाइले रोगको परजीवी नष्ट गर्नुका साथै पेट र आन्द्रामा हुने विभिन्न थरिका अङ्कुशे, गोलो जुका, चुर्ना आदिलाई समेत नष्ट गर्छ। बरु यो औषधि नखाँदा हात्तीपाइले रोग लाग्ने खतरा चाहिँ हुन्छ। औषधि नखाएकै कारण भविष्यमा अशक्त र अपांग हुनुपर्ने सम्भावना रहन्छ।

तर, मानिसहरु औषधि खाएपछि रिँगटा लाग्ने, वाकवाकी लाग्ने भयो भन्छन् नि?
यस्तो समस्या सबैलाई देखिँदैन। जसलाई यस्तो समस्या देखिन्छ उनीहरु त झन् खुसी हुनुपर्छ। किनभने जो व्यक्तिको शरीरभित्र हात्तीपाइलेका परजीवीको मात्रा धेरै हुन्छ, उनीहरुलाई यस्तो सामान्य असर देखिन्छ। त्यो भनेको औषधिले काम गरेको हो। औषधिले भविष्यमा हुने रोगको समयमा नै निदान गर्न सक्यो भन्ने संकेत हो त्यो। यो औषधि खाएका सबैलाई यस्तो समस्या आउँछ भन्ने हुँदैन। जसमा परजीवीको मात्रा धेरै छ उनीहरुलाई यस्तो समस्या देखिने हो। केहीलाई वाकवाकी लाग्ने, रिँगटा लाग्ने, थाकाइ लाग्ने हुनसक्छ। त्यो सामान्य हो । डराउनु पर्ने अवस्था होइन।

यो औषधि कसकसले खानु हुँदैन?
केही थोरै समूह बाहेक यो औषधि सबैले खान मिल्छ। तर, यो औषधि खाली पेटमा भने खानु हुँदैन। दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मको सुत्केरी, ७० वर्षभन्दा माथिका वृद्धबृद्धा (अवस्था हेरेर), विभिन्न रोका कारण थला परेका, दीर्घरोगका कारण धेरै औषधि सेवन गरिरहेकाहरुले यो औषधि खानु हुँदैन। यसका साथै उमेर समूह अनुसार औषधि दिनुपर्ने हुन्छ। दुई देखि पाँच वर्षसम्मका बालबालिकालाई डाइइथाइलकार्बामाजिन र अल्बेन्डाजोल एक÷एक चक्की, ६ देखि १४ वर्षका लागि डाइइथाइलकार्बामाजिन दुई चक्की र अल्बेन्डाजोल एक, १५ वर्षभन्दा माथिकालाई डाइइथाइलकार्बामाजिन तीन चक्की र अल्बेन्डाजोल एक चक्की खान दिनुपर्ने हुन्छ। अभियानमा खटिनेले सबैलाई यो जानकारी दिएर मात्र प्रत्यक्ष निगरानीमा औषधि खान लगाउँछन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live