टिप्स/जानकारी

बालबालिकामा समस्या निम्त्याउने डाउन सिन्ड्रोम के हो ?

स्वास्थ्य खबरपत्रिका

डाउन सिन्ड्रोम भनेको एउटा वंशाणुगत रोग हो। मानव शरीरका कोषहरुमा २३ जोडी क्रोमोजोम हुन्छन्। २१ नम्बरको क्रोमोजोम जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुन्छ। यसरी एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ।

डाउन सिन्ड्रोमका लक्षणमा सानो कद हुनुदेखि गम्भीर मानसिक सुस्ततासम्म हुन सक्छ। यस्ता बच्चाको लालनपालन समेत निकै कठिन हुने गर्छ। डाउन सिन्ड्रोम भएका बच्चामा मुटु सम्बन्धी रोग, रगत क्यान्सर जस्ता गम्भीर समस्या देखिन सक्छ। डाउन सिन्ड्रोम बच्चा जन्मिनुअघि नै हुने भएकाले यसको कुनै उपचार छैन। तसर्थ बच्चा जन्मिनुअघि नै यसबारे जानकारी लिनका लागि स्क्रिनिङ गर्ने गरिन्छ।

नेपालमा यस्तो समस्याबारे यकिन तथ्यांक छैन। अमेरिकाको तथ्यांकअनुसार प्रति ७ सय बच्चामध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने गरेको छ।

३५ वर्षभन्दा माथिको उमेरमा गर्भवती भई जन्मने बच्चाहरुमा डाउन सिन्ड्रोम हुने सम्भावना बढी रहन्छ। ३५ वर्षका आमाबाट जन्मेका तीन सय ५० बच्चामध्ये एक जनामा डाउन सिन्ड्रोम हुने गरेको तथ्यांक छ। यस्तै, ४० वर्षका आमाबाट जन्मेका बच्चामा एक सय जनामा एक जना र ४५ वर्षभन्दा माथिका आमाबाट जन्मेका बच्चामा ३० जनामा एक जनालाई डाउन सिन्ड्रोम हुने गरेको छ।

स्क्रिनिङ परीक्षणमा गर्भावस्थामा आमाको रगतमा विभिन्न थरिका हर्मोनको मात्रा जाँच गरिन्छ। आमाको उमेर, चुरोट खाने बानी, सुगर रोग भए/नभएको आदि जानकारी लिइन्छ। यी दुवै जाँचसँग भ्रुणको अल्ट्रा साउन्डबाट आएको रिपोर्ट मिलाई डाउन सिन्ड्रोमको खतराबारे पत्ता लगाइन्छ।

स्क्रिनिङ परीक्षणमा डाउन सिन्ड्रोम भए/नभएको बताइँदैन तर हुनसक्ने सम्भावना कति छ भनेर औँल्याइन्छ। धेरै खतरा देखिएकाहरुले थप वंशाणुगत परीक्षणसमेत गराउनुपर्ने हुन्छ। यस्तो परीक्षण गर्भवती भएको १० देखि २० हप्ताभित्र गराउनु उपुयुक्त मानिन्छ।

नेपालमा गत फागुन ८ गतेदेखि पहिलोपटक गर्भवती महिलामा डाउन सिन्ड्रोमको स्क्रिनिङ परीक्षण सेवा सुरु भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सुरु भएको हो। प्रयोगशालाकी प्रमुख कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. रुना झाका अनुसार यसअघि स्क्रिनिङका लागि नमूना विदेश पठाउँदा लाग्ने खर्चको झन्डै एक तिहाइ कम खर्चमा नेपालमै सेवा दिन थालिएको हो। डाउन सिन्ड्रोमको स्क्रिनिङका लागि नेपालबाट बाहिर नमूना पठाउँदा परीक्षण शुल्क ६ हजार रुपैयाँसम्म लाग्ने गरेको थियो।

सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङ्डन डाउनले पहिलो पटक यो क्रोमोजोम  असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट यस्तो समस्या भएका व्यक्तिलाई ‘डाउन सिन्ड्रोम’ भन्न थालिएको हो ।

डाउन सिन्ड्रोम भएका व्यक्तिमा गोलो, चेप्टो अनुहार, अति सानो चिउँडो, नेप्टो नाक, माथि फर्केको चिम्से आँखा, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रा खुट्टाको बूढो र दोस्रो अङ्गुलाबीच फाटो, हत्केलामा एक्लो लाइन (साइमन क्रिज), छोटो गर्धन, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला (ब्रसफिल्ड स्पाटस), होचोपन, टाउकोको गोलाई सानो, सानो र तल जोडिएको कान, मांसपेसीको फितलोपना, सानो जनेन्द्रीय, बौद्धिक अपाङ्गताजस्ता समस्या देखिन सक्छन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live