जीवनशैली

धमनी र नसाकाे समस्याका कारण लाग्ने ६ रोग

डा. सन्दीपराज पाण्डे

कुनै व्यक्तिमा भास्कुलर सिस्टम (रक्तप्रवाहमा महत्वपूर्ण भूमिका भएका धमनी र नसा) सम्बन्धी समस्या छ भने त्यसलाई भास्कुलर रोग भनिन्छ भने त्यस्तो अवस्थामा गरिने सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ । भास्कुलर सर्जरीका क्रममा धमनी र नसामा भएका क्षति र आएका समस्यालाई शल्यक्रियाका माध्यमबाट उपचार गरिन्छ । ओपन सर्जरीलाई भास्कुलर सर्जरी भनिन्छ भने सानो प्वालमात्र गरेर गरिने सर्जरीलाई इण्डोभास्कुलर सर्जरी भनिन्छ ।

 सामान्यत: अधिक धूमपान गर्ने, मधुमेहको समस्या भएका तथा ५० वर्षभन्दा माथिका मानिसमा यस्तो  रोग लाग्ने गर्छ । भास्कुलर रोगमा खुट्टामा घाउ हुने समस्या (डायबेटिक फुट), लेग अट्याक, ब्रेन अट्याक (स्ट्रोक), भ्यारिकोज भेन, खुट्टा सुन्निने (लेग स्वेलिङ) तथा एनुरिजम पर्छन् ।

डायबेटिक फुट

हरेक वर्ष हजारौं मानिस मधुमेहको शिकार बनिरहेका हुन्छन् । मधुमेहका रोगीले खुट्टाको घाउमा विशेष ध्यान दिनुपर्छ । यस्ता घाउलाई समयमै ध्यान नदिने हो भने खुट्टै काट्नुपर्ने अवस्था पनि आउन सक्छ । रक्तनलीमा रोकावट आएर यस्तो हुन सक्छ ।

 लेग अट्याक

हिँड्ने क्रममा खुट्टामा पीडा हुन्छ या खुट्टाको औंलामा पोलेको जस्तो अनुभव हुन्छ भने भास्कुलर रोग लागेको हुन सक्छ । यो लेग अट्याकको पहिलो लक्षण हुन सक्छ । लेग अट्याक हर्ट अट्याकभन्दा बढी खतरापूर्ण हुन्छ । सुरुमै पत्ता लाग्यो र उपयुक्त उपचार भयो भने यो सजिलै निको हुन्छ । तर, उपचारमा ढिलाइ भयो भने उपचार जटल हुन्छ । यसलाई इन्डोभास्कुलर (एन्जिओप्लास्टी तथा स्टेन्टिङ),  तथा ओपेन सर्जरी (बाइपास तथा रिमुभल अफ प्लाक) बाट उपचार गनुपर्ने हुन्छ । अन्तिम अवस्थामा खुट्टा नै काट्नुपर्ने पनि हुनसक्छ । धूमपान गर्ने, मधुमेहको समस्या भएका, उच्च रक्तचाप तथा उच्च कोलेस्टेरोल, ५० वर्ष नाघेका व्यक्तिमा र वंशाणुगत रुपमा यस्तो समस्या हुन सक्छ ।

 ब्रेन अट्याक

अर्को भास्कुलर समस्या भनेको स्ट्रोक अर्थात् ब्रेन अट्याक पनि हो । दिमागमा रगत आपूर्ति गर्ने घाँटीको ‘क्यारोटिड आर्टरिज’ नामको रक्तनली विभिन्न कारणबाट साँघुरिएर यस्तो हुन सक्छ । । ब्रेन अट्याक हुँदा भास्कुलर सर्जनले ओपन सर्जरी गरेर या स्टेन्टिङ गरेर रक्तनली खुलाउन सकिन्छ । दिमागमा रगत आपूर्ति हुन नसक्दा दिमागमा स्थायी रुपमा क्षति पुग्छ र पाखुरा तथा खुट्टा चलाउन नसक्ने या बोल्ने र हेर्ने शक्ति नै गुम्ने हुन सक्छ ।

यस्तै, दिमागमा आंशिक रुपमा रगत आपूर्ति अवरुद्ध भयो भने ट्रान्साइन्ट इसामिक अट्याक पनि हुन्छ, जसलाई मिनी स्ट्रोक पनि भनिन्छ । यसमा पनि स्ट्रोकमा जस्तै लक्षण देखिन्छ र एक दिनभन्दा कम समय रहन्छ । यसमा स्ट्रोकमा जस्तो दिमागमा स्थायी रुपमा क्षति भने हुँदैन । यसका रिस्क फ्याक्टरहरु उच्च कोलेस्ट्रोल, मधुमेह र उच्च रक्तचाप हुन् ।

 भ्यारिकोज भेन

खुट्टा तथा पैतालाको नसामा असामान्य अवस्था आउने समस्यालाई भेरिकोज भेन भन्ने गरिन्छ । यसमा खुट्टाको नसा सुन्निले या ठूलो हुने हुन्छ, जुन निकै पीडादायी हुन्छ । समयमै उपचार नगरे नसा फुट्ने या अल्सरसम्म हुने हुन्छ । यसलाई भास्कुलर सर्जनले आधुनिक तरिकाले इण्डोभेनस थर्मल एब्लासन गरेर उपचार गर्छन् । प्रायशः लामो समयसम्म उभिनुपर्ने व्यक्ति, गर्भवती, मोटोपना भएको व्यक्ति, वृद्धवृद्धा र आनुवंशिक रुपमा यो रोग लाग्छ ।

 खुट्टा सुन्निने (लेग स्वेलिङ)

भ्यारिकोज भेन, लिम्फेडिमा, मुटु फेलियर, मिर्गौला फेलियर आदि कारण खुट्टा सुन्निने हुन्छ । यसो भयो भने सकेसम्म चाँडो भास्कुलर सर्जनलाई देखाइहाल्नुपर्छ ।

 एनुरिजम

भास्कुलर रोगको अर्को गम्भीर रुप भनेको एनुरिजम हो, जुन धमनी (आर्टरी) सुन्निने कारण हुन्छ । यसमा एओर्टा धमनी प्रभावित हुन्छन् । यसमा स्टेन्टिङ र इण्डोभास्कुलर इओर्टिक एनुरिजम रिपियर (एभिएआर) गरिन्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने