प्रवास

सीप बोकेर स्वदेशतिर डा वैशाली

img

डिबी खड्का

‘देशले रगत मागे मलाई बली चढाऊ’ यो गीत, नेपालीको जनजिब्रोमा झुन्डिएको पनि निकै भइसक्यो । एक समय थियो राजनीतिक परिवर्तनकामीहरु यस्ता गीतले जुरुक्कजुरुक्क हुन्थे । तर, देशले राजनीतिक परिवर्तनका सबै जँघार तरिसकेको छ । अब देशका लागि रगत होइन, ज्ञान, सीप र वुद्धि चढाउने व्यक्तिहरुको खाँचो छ । यो महसुस गरेर धेरै क्षमतावान व्यक्तिहरु नेपालमै बसिरहेका छन् भने कति विदेशको कमाइ, सानसौकत त्यागेर फर्किरहेका पनि छन् । यिनै फर्किनेमध्येमा पछ्र्रिन् डा. वैशाली भट्टाचार्य ।

डा. वैशाली अमेरिकामा ग्यास्ट्रो इन्टेस्टाइनल (जिआई) प्याथोलोजीमा ज्ञान, सीप र अनुभव हासिल गरेर नेपाल फर्किएकी हुन् । नेपाल फर्किनुसँग संयोग र कारण पनि छन् उनीसँग । तर, महत्वपूर्ण कुरा भने आफूले जानेको कुरा आफ्नै देशमा उपयोग गर्ने सोचलाई मान्छिन् उनी । चिकित्सकीय जीवन सुरु गर्दाताका उनको चाहाना थियो देशमै बसेर सेवा गर्ने, त्यो केही वर्षको अन्तरालमा भए पनि पूरा गर्दैछिन् अहिले । भन्छिन्, ‘अमेरिका बस्दा जहिल्यै आफूलाई नेपालको ऋणी महसुस गर्थेँ। बल्ल देशमै काम गर्ने, सेवा गर्ने मौका आयो भनेर खुसी लागेको छ ।’

अमेरिकामा हुँदा पनि उनी नेपालबाट अलग त कहाँ थिइन् र ? शिक्षण अस्पताल महाराजगञ्जमा भिजिटर लेक्चररका रुपमा वर्षको एक वा दुई पल्ट उनी आएकै हुन्थिन् । कन्टिन्यु मेडिकल एजुकेसन (सिएमई) अन्तर्गत नेपालका प्याथोलोजिस्टहरुलाई जिआई सम्बन्धी अनुभव बाँड्थिन् । बर्सेनि दुई–तीन पटकसम्म नेपाल आउने गर्दा आमाले भन्थिन्, ‘अमेरिकाबाट नेपाललाई पानी पधेँरो बनाउने तँ मात्रै होलिस् । किन सधैँ यतै बस्दिनस् ?’

केही समयअघि आमा बिरामी भएपछि उनी नेपाल आइन् । आमाले संसार छाडिन् । उनलाई अमेरिका फर्किनै मन लागेन । उनले पनि अमेरिका छाडिन् । अब नेपालमै बसेर आफ्नो ज्ञान, सीप खर्चिने प्रण गरिन् उनले । 

त्यसो त जिआई प्याथालोजिस्टको अभाव छ नेपालमा। जिआई प्याथालोजीमा यत्तिको सीप र अनुभव हासिल गरेर नेपाल फर्केकी उनी पहिलो हुन् ।

नेपालीहरु पेटसम्बन्धी रोगबाट ग्रस्त छन् । ग्यास्ट्राइटिसले त राष्ट्रिय रोगको उपमा नै पाएको छ । यसको सही कारण पत्ता नलाग्दा क्यान्सर भएर मृत्युवरण गर्नेहरु पनि छन् । यी सब कुरा महसुस गरेकी डा. वैशालीले नेपालमै केही गर्नु थियो। सोही सिलसिलामा जिआई प्याथोलोजी केन्द्रित भएर नेपालमै पहिलोपल्ट हिस्ट्रो प्याथोलोजी ल्याब खोलिएको छ, मध्य बानेश्वरमा । जावलाखेलस्थित सम्यक प्याथोलोजी ल्याबकै शाखाका रुपमा खोलिएको हिस्ट्रो प्याथोजोलीमा जिआई सम्बन्धी विशेष सेवा दिइनेछ । 

सम्यकका सञ्चालकहरु डा. केयुर गौतम र डा. देविश प्याकुरेलको देशमै केही गरौँ भन्ने भावनाले पनि डा. वैशालीलाई हौस्याएको थियो । अब उनको लक्ष्य छ, ‘नेपालमै ग्यास्ट्रोइन्टेस्टिनल केन्द्रित सेवा दिने । यसले चिकित्सकलाई रोगको निक्र्याैल गर्न सघाउनुका साथै सर्वसाधारणलाई आफ्नो ज्यानको हालखबर बुझिराख्न मद्दत गर्नेछ ।’

ग्यास्ट्राइटिस हुनुका अनेक कारण हुन्छन् । उनका अनुसार यो एउटै रोग होइन । उनले त्यसैमा एक वर्षे फेलोसिप गरेको भएर गहिराइमा पुगेर निदान गर्छिन् । उनका अनुसार यो समस्यामा इन्डोस्कोपी गर्दा बायप्सी पनि गर्नुपर्छ। किनभने नेपालमा इन्डोस्कोपीमा केही नदेखिएको भनेर फर्काइएका बिरामी एकैपल्ट अन्तिम चरणको क्यान्सरका सिकार भइरहेका छन् । उनी भन्छिन्, ‘कतिपय अवस्थामा इन्डोस्कोपीमा समस्या नदेखिन सक्छ ।’

नेपालमा दक्ष जनरल प्याथोलोजिस्टको अभाव होइन तर उनी जस्तै एउटै विषयमा केन्द्रितहरु अन्य सबै रोगका लागि पनि भइदिने हो भने समस्याको निदान अझ भरपर्दाे तरिकाले हुन सक्छ । उनी भन्छिन्, ‘जनरल प्याथोलोजिस्टले जिआई सम्बन्धी काम गर्न नसक्ने होइन । तर, मैले यसैमा केन्द्रित भएर एक वर्ष पढेको र केही वर्ष काम गरेकाले गहिराइमा पुगेर नतिजा दिन सक्छु ।’ 
उनलाई आफूले आर्जन गरेको ज्ञान र सीप आफूमै सीमित नहोस् भन्ने हेक्का छ ।  भन्छिन्, ‘म एकजनासँग पनि सिमितता हुन्छन् । धेरैलाई सिकाउन पाइयो भने राम्रो डाइग्नोसिस नपाएर भौँतारिरहेका डाक्टर र बिरामीलाई राहत मिल्थ्यो कि ।’ 

सिकाउने काम त उनले अमेरिकामै रहँदा गरिरहेकी थिइन् । जोन हफ्किन्स युनिभर्सिटीमा यस सम्बन्धी ज्ञान हासिल गरेकी उनले अमेरिकाकै ब्राउन युनिभर्सिटीमा असिस्टेन्ट प्रोफेसरका रुपमा चार वर्ष पढाइन् । जहाँ उनले जिआई सम्बन्धी एक वर्षे फेलोसिप गराउँथिन् । 

डा. वैशालीका अनुसार नेपालमा जिआई सम्बन्धी समस्या भएर बायप्सी गरेपछि प्याथोलोजिस्टले केही न केही देखाउँछन् । यदि क्यान्सरको संकेत भेटिएन भने क्रोनिक ग्यास्ट्राइटिस भनिदिन्छन् । तर, कतिपय अवस्थामा बायस्पीमा केही देखिएन भने ‘सामान्य’ भनेर जनाउनुपर्ने हुन्छ । जसले उपचारको तरिकै बदलिदिन्छ र सही उपचार पाउने सम्भावना रहन्छ । 

बढ्दो शहरीकरणका कारण पनि जिआई अहिलेको जल्दोबल्दो समस्या हो । उनले भनिन्, ‘नेपालमा ग्यास्ट्रोलोजिस्टहरु क्षमतावान भए पनि प्याथालोजीमा त्यो अनुसारको जनशक्ति नहुँदा उपचारमा कहीँ न कहीँ सम्झौता भइरहेको हुन्छ ।’ 

उनलाई माइक्रोस्कोप हेर्ने रहरले यो पेशातिर आकर्षित गरेको हो । उनकी आमा र फुपू नर्स भएकाले स्वास्थ्य क्षेत्रप्रति एकखालको आत्मीयता सानैदेखि थियो । सेन्ट मेरिज हाइ स्कुलबाट ओ–लेभल सकेपछि अस्कल क्याम्पसमा आइएस्सी र इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) बाट एमबिबिएस गरेर प्याथोलोजीमा एमडी गर्न उनी अमेरिका पुगेकी हुन् । उनले अमेरिकास्थित रस मेडिकल कलेज सिकागोमा प्याथोलोजीमा एमडी गरिन् । त्यसपछि उनलाई भारतीय मूलका प्रोफेसर डा. श्रीराम जकाटीले जिआई अबको जल्दोबल्दो समस्या हो भनेर यसैमा फेलोसिप लिन उक्साएका थिए । 

अमेरिकामा रहँदा चर्चित पुस्तक ‘फाउन्डेसन इन जिआई’मा पेटसम्बन्धी च्याप्टर उनैले लेखेकी थिइन् । डा. वैशालीले अमेरिकामै प्रसिद्ध क्यारिज डायग्नोस्टिकमा ६ वर्ष प्याथोलोजिस्टको सेवा दिएकी हुन् ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live