विचार/ब्लग

निःशुल्क मिर्गौला प्रत्यारोपणः कति सम्भव, कति चुनौती?

डा. पवनराज चालिसे

वैशाख १ गतेदेखि सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गर्ने घोषणा गरेको छ। मिर्गौला बिरामीका समस्यालाई महशुस गरेर स्वास्थ्य मन्त्रालयले लिएको यो नीति सह्रानीय छ। मन्त्रालयको यो सहुलियत सेवा लागू भएपछि आर्थिक अभावका कारण प्रत्यारोपण गर्न नसकेर डायलाइसिसले जीवन धानिरहेकाहरुलाई ठूलो राहत मिल्नेछ। यो कदमका लागि स्वास्थ्य मन्त्री गगन थापा धन्यवादका पात्र हुनुहुन्छ।

एक अनौपचारिक तथ्यांक अनुसार नेपालमा अहिले दुईदेखि तीन हजारले मिर्गौला बिग्रिएका कारण डायलाइसिस गराइरहेका छन्। प्रत्यारोपण निःशुल्क हुने बित्तिकै अधिकांश त्यसका लागि इच्छुक हुन्छन् नै। यसरी हेर्दा निःशुल्क मिर्गौला प्रत्यारोपण सहुलियत रुपमा सुरु हुनेबित्तिकै केही चुनौती आउन सक्ने देखिएको छ। जसलाई कसरी सामना गर्ने भन्ने ठोस नीति लिन जरुरी छ। तर, सरोकारावालाले यसलाई कति गम्भीर रुपमा लिइरहेका छन् भन्ने कुरा स्पष्ट छैन।

मुख्य चुनौती

निःशुल्क प्रत्यारोपण सेवाको पहिलो चुनौती हो, पर्याप्त प्रत्यारोपण केन्द्र र जनशक्तिको अभाव। केही सरकारी र निजी अस्पतालमा मात्र सीमित प्रत्यारोपण केन्द्रहरु छन्। तिनको प्रत्यारोपण क्षमता सीमित छ। कतिमा भौतिक साधनस्रोतको अभाव छ भने कतिमा जनशक्तिको।

भौतिक स्रोत साधन र जनशक्तिको उचित व्यवस्थापन गर्न सकियो भने अहिलेकै अवस्थामा पनि प्रत्यारोपणको दर बढ्ने देखिन्छ। तर, त्यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन। नेपालमा सबभन्दा धेरै मिर्गौला प्रत्यारोपण गरेको र गरिरहेको शिक्षण अस्पताल महराजगञ्जमा अहिले चारदेखि ६ महिना कुर्नुपर्छ। अर्थात् ६ महिनासम्म लाइनमा राखेर हामीले प्रत्यारोपण गरिरहेका छौँ। भौतिक स्रोत साधनको उपलब्धताका हिसाबले हामी हप्तामा दुईटा मात्रै प्रत्यारोपण गर्न सकिरहेका छौँ। निःशुल्क प्रत्यारोपण सेवा सुरु हुनेबित्तिकै कम्तिमा तीन गुणा प्रत्यारोपणका आकांक्षी बढ्ने अनुमान छ। जसअनुसार एउटा बिरामीले डेढ वर्षसम्म लाइन बस्नुपर्ने हुन सक्छ।

दाताको अभाव

मिर्गौला बिग्रेको मान्छेले प्रत्यारोपण गर्ने चाहना राखेर मात्रै हुँदैन। नेपालको कानुन अनुसार आफन्तले दिन चाहनु पर्छ। अहिलेसम्म नेपालमा जीवित मिर्गैला दाताबाट मात्रै प्रत्यारोपण भइरहेको छ। सरकारले केही समयअघि दान गर्न सक्ने आफन्तको दायरा फराकिलो पारेर केही सहज बनाएको छ। तर, अहिले पनि विभिन्न भ्रम र मान्यताका कारण दाताको अभाव छ। त्यसमा पनि पुरुषहरुले मिर्गौला दान कमै गर्ने गरेको तथ्यांकले देखाउँछ। शिक्षण अस्पतालमा हालसम्म प्रत्यारोपण गरिएका चार सय १८ जनाको तथ्यांक केलाउँदा दान गर्नेमा दुइ तिहाई (६६ प्रतिशत) महिला र एक तिहाइ (३३ प्रतिशत) पुरुष छन्। मिर्गौला प्रत्यारोपण गर्नेमा भने आँकडा उल्टिन्छ। अर्थात् ८० प्रतिशत पुरुषले मिर्गौला लिएका छन् भने महिलाले २० प्रतिशत मात्रै। महिलाहरु मात्रै दाताका रुपमा धेरै देखिनु पनि चुनौती हो। यसले हाम्रो समाजकै चत्रण गर्छ। पुरुषहरु किन अंग दान गर्न चाहँदैनन् भन्ने पत्ता लगाएर उनीहरुलाई उत्प्रेरित गराउनुपर्ने पनि देखिन्छ।

ब्रेन डेथको कानुन पास भए पनि प्रणालीको विकास गर्न सकिएको देखिँदैन। ब्रेन डेथ भएका बिरामीबाट निकालिएका दुई मिर्गौल क–कसले पाउने भन्ने कुराका लागि छुट्टै सेन्ट्रल रजिस्ट्रीको आवश्यकता पर्छ। सरकारी अस्पतालहरु, जहाँ नियमित रुपमा मिर्गौला प्रत्यारोपण भइरहेका छन्, तिनीहरुलाई स्वायत्तता दिई तुरुन्तै यो काम सुरु गर्न सकिन्छ। यसले धेरै हदसम्म मिर्गौलाको अभावलाई पूर्ति गर्छ। त्यसमाथि विभिन्न भ्रम छन्। आफ्ना मृत आफन्तका अंगहरु निकालेको कतिपय व्यक्ति र समुदायलाई मन पर्दैन। त्यसैले समुदायमा यस सम्बन्धी जनचेतना फैलाउन जरुरी छ।

नेपालका कतिपय गरिब बस्ती र समुदायका मानिसले विदेश गएर गैरकानुनी रुपमा मिर्गौला दान गर्ने गरेका घटना नौलो होइन। यसले मिर्गौला दलालहरुको जालो कतिसम्म फैलिएको छ भन्ने कुराको उजागर गर्छ। यी घटनाका कारण पनि मिर्गौला दातालाई उत्साहित हुन अप्ठेरो परेको हुनसक्छ। कानुनको दायरामा रहेर स्वदेशभित्रै हुने मिर्गौला प्रत्यारोपणले यो चुनैतीलाई चिर्दै सफलता हात पार्नेछ भन्ने कुरा सबैमा विश्वास दिलाउन जरुरी छ।

दातामा डर

मिर्गौला दान गर्न राजी भएर अस्पताल पुगिसके पनि दाताहरुमा डर पैदा हुने गरेको हामीले प्रत्यारोपणका क्रममा पाएका छौँ। आम मानिसलाई किड्नी निकाल्दा आफ्नो ज्यान तलमाथि पर्ने हो कि भन्ने डर उत्पन्न हुनु जायज पनि हो। एउटा मात्रै किड्नीले दुइटाको जत्तिकै काम गर्न सक्दैन होला भन्ने भ्रम हुन्छ धेरैमा। कतिपयमा मिर्गौला दिए पनि प्रत्यारोपण असफल होला कि भन्ने चिन्ता हुन्छ।

त्रिवि शिक्षण अस्पतालकै तथ्यांक हेर्ने हो भने अहिलेसम्मका मिर्गौला दाता मध्ये २ प्रतिशत मा मात्र शल्यक्रियाका क्रममा केही साधारण समस्या (जस्तैः घाउ पाक्ने, पिसाबको संक्रमण वा निमोनिया) देखा परेका छन्। यी समस्या जुनसुकै शल्यक्रियापछि देखिन सक्छ र उपचारपछि केही दिनमै ठिक हुन्छ। ज्यानै तलमाथि पर्ने गरी अहिलेसम्म कुनै समस्या देखिएका छैनन्। प्रायः सबै दाता सकुशल अवस्थामा जीवनयापन गरिरहेका छन्। तर, दाताहरु आफ्नो स्वास्थ्यबारे चनाखो हुन जरुरी छ र नियमित रुपमा डाक्टरको सल्लाह अनुसार स्वस्थ्य परीक्षण गराइरहनुपर्छ। दाता सुरक्षित रहने कुरा निश्चित भए पनि दाताहरुलाई त्यसको विश्वास दिलाउन सकिएको छैन। यसतर्फ चेतनामूलक र जानकारी प्रदान गर्ने गरी अभियन नै चलाउनुपर्छ।

सबै मिर्गौला प्रत्यारोपण सफल हुन्छन् वा सबै मिर्गौला ग्रहणकर्ताको ज्यान जोखिममा हुँदैन भन्ने होइन। प्रत्यारोपण असफल भएका वा ज्यानकै जोखिम भएकाहरु पनि छन्। चार सय १८ जनामा प्रत्यारोपण गर्दा एक महिनाभित्र ज्यान गुमाउनेको संख्या करिब २ दशमलब ६ प्रतिशत मात्रै छ। यो तथ्यांकलाई केलाउने हो भने हाम्रो देशमा मिर्गौला प्रत्यारोपणको सफलता उच्च छ र यसको तुलना विकसित देशहरुसँग गर्न सकिन्छ। विश्वको तथ्यांक हेर्ने हो भने मिर्गौला प्रत्यारोपणपछिको जोखिम सरदर ३ प्रतिशत हो।

के हुन सक्छ समाधान?

विश्वमा मिर्गौला प्रत्यारोपण हुन थालेको ५४ वर्षपछि (सन् २००८, अगस्टमा) मात्रै नेपालमा यो सेवा सुरु भएको हो। ढिलाइ हुनुमा दक्ष जनशक्ति र कानुनी व्यवधान मुख्य कारक हुन्। जनशक्ति तयार भएपछि पनि कानुनले केही समय रोकेको थियो। तात्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले एक सम्मेलनमा नेपालमा जनशक्ति तयार भए पनि कानुनी अड्चन रहेको जानकारी पाएपछि कानुनी सहजताका लागि प्रक्रिया बढाउन निर्देशन दिएका थिए। प्रत्यारोपण गर्ने लाइसेन्स पाएको दुई दिनभित्रै पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको सफल प्रत्यारोपण भएको थियो।

प्रत्यारोपण एकल प्रयासले सफल हुने कुरा होइन। यसका लागि सशक्त टिम हुन जरुरी छ। पछिल्लो समय दक्ष जनशक्ति विस्तार हुँदै गएको छ। इन्स्टिच्युट अफ मेडिसिन, महाराजगन्जमा एमसिएच (युरोलोजी) र डिएम (नेफ्रोलोजी) को पढाइले जनशक्तिको विस्तार भएको छ। जनशक्ति विस्तार भए पनि भौतिक संरचना अभावका कारण प्रत्यारोपण सेवा संख्यात्मक रुपमा बढ्न सकेको छैन। त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि बलियो टिम तयार भएको छ। डा. प्रेमराज ज्ञवाली (विभागीय प्रमुख), डा. उत्तमकुमार शर्मा, म (डा. पवनराज चालिसे) र डा. भोजराज लुइँटेल मिर्गौला  प्रत्यारोपण टिमका सर्जनहरु छौँ। यसैगरी, डा. सुमन चापागाईं लाइसेन्स लिने प्रक्रियामा हुनुहुन्छ। नेफ्रोलोजी टिमको नेतृत्व डा. दिव्यासिंह शाहले गर्नु भएको छ र उहाँको टिममा डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले र डा. मिदान श्रेष्ठ हुनुहुन्छ। साथै यसै अस्पतालमा प्रत्यारोपणका लागि एनेस्थेटिक्स, अपरेसन थिएटर स्टाफ, ट्रान्सप्लान्ट आइसियू स्टाफ, रेडियोलोजीदेखि प्याथोलोजीसम्म दक्ष जनशक्ति प्रयाप्त छ। बढ्दो सेवाका लागि सम्पूर्ण टिम तयार छ।

शिक्षण अस्पतालबाटै नेपालमा सफल मिर्गौला प्रत्यारोपण सेवा सुरु भए पनि यहाँ भौतिक संरचना अपेक्षित रुपमा विस्तार हुन सकेको छैन। जसले गर्दा प्रत्येक हप्तामा धेरै जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्ने टिम भए पनि दुइटामा मात्रै सीमित हुनुपरेको छ। सीमित भौतिक पूर्वाधार नै यसको कारक तत्व हो। सम्बन्धित निकायले यसमा ध्यान दिनसके सेवा विस्तारमा निकै सहज हुने थियो।

सरकारले यो जनशक्तिलाई कार्यक्षमता अनुसार प्रयोग गर्न भूमिका खेलेमा निःशुल्क प्रत्यारोपण कार्यान्वयन केही सहज हुने देखिन्छ। यसका लागि पहिलो विकल्प शिक्षण अस्पतालमै भौतिक पूर्वाधारको विकास गरिदिनु अर्थात् किड्नी प्रत्यारोपणका लागि छुट्टै युरोलोजी/नेफ्रोलोजी तथा मिर्गौला  प्रत्यारोपण सेन्टर स्थापना गरिदिनुपर्छ। त्यो तयार हुन्जेलसम्मका लागि सरकारले भौतिक पूर्वाधार प्रसस्त भएका तर जनशक्ति नपुगेका उपत्यकाभित्रका अन्य सरकारी प्रत्यारोपण सेन्टरमा समन्वय गरी काम गर्न सक्ने वातावरण सिर्जना गर्न सक्छ।

(मिर्गौला प्रत्यारोपण सर्जन डा. चालिसेसँग डिबी खड्काले गरेको कुराकानीमा आधारित)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live