फिचर

'सरकारी अस्पताल डाक्टरको विज्ञापन थलो नबनोस्'

img

जनक पौड्याल

चार–पाँच वर्षको उमेरमा सुइ लगाउँदाको क्षण सम्झँदा अहिले पनि नेकपा एमालेका केन्द्रीय नेता रविन्द्र अधिकारीको जिउ सिरिङ्ग हुन्छ। पोखराको सेरोफेरोमा हुर्किएका उनको पहिलो अस्पताल अनुभव साह्रै पीडादायी छ। त्यसताका पोखरामा सोल्जर बोर्ड नामको मिसन अस्पताल थियो। उनलाई बिरामले च्यापेपछि अभिभावकले उपचार गराउन त्यहाँ पुर्‍याए। वरिपरि डाक्टर, नर्स र आफन्तले घेरेको बेला लगाइएको सुइले उनलाई अहिले पनि घरिघरि घोचिरहन्छ।

‘सेतो ड्रेसमा सजिएका नर्सहरुले मलाई समाएर लगाइदिएको सुइ र मेरो चिच्याहट अझै सम्झनामा छ,’ बालापनको अनुभव सुनाउँदै अधिकारीले भने, ‘अहिले रक्तदान गर्नु पर्दा पनि जब नर्सले सिरिन्ज लिएर आउँछन्, मेरो मनमा त्यही पहिलो सुइको झस्को पस्छ। आँखामा तिनै नर्स र डाक्टरको झझल्को आउँछ।’

पहिलो सुइको अनुभवले अझै झस्किरहने नेता अधिकारी ४७ वर्षको उमेरसम्म बिरामले थलै परेर खासै अस्पताल भने बस्नु परेको छैन। २०५१ सालमा नाकभित्र मासु पलाएर शल्यक्रिया गर्नुपर्दा काठमाडौंको मोडल अस्पतालमा तीन दिन बसेको बाहेक उनी अस्पतालको बेडमा सुतेका छैनन्। यति स्वस्थ र फुर्तिलो रहनुको कारण के होला त?

‘बच्चा बेलामै घरमा सरसफाइदेखि शुद्ध र स्वच्छ खाने कुरामा जोड दिनुहुन्थ्यो। त्यो छाप अहिलेसम्म हटेको छैन,’ उनी वाल्यकालतिरै फर्किए, ‘विशेष गरी हजुरबुबाको सजगताले मलाई सँधै प्रेरित गरिरह्यो। सकेसम्म पानी शुद्ध खाने, बासी कुरा नखाने, सरसफाइमा ध्यान दिनेजस्ता ज्ञान सानैमा हजुरबुबाले सिकाउनु भएको हो। बुबा शिक्षक हुनुहुन्थ्यो, उहाँले पनि स्वास्थ्यलाई ख्याल गर्ने कुरामा चनाखो रहन सिकाउनु हुन्थ्यो।’

पहिलो सुइले तर्साएपछि उनलाई फेरि बिरामी भएर सुइ घोचाउनुभन्दा आहारबिहारमा अनुशासित हुनु नै उचित लागेको हुनुपर्छ। भने, ‘म अहिले पनि खानपानमा विशेष ध्यान दिन्छु। स्वस्थ शरीरका लागि चाहिने खुराक मिलाएरै खान्छु। खासगरी पानीको मामिलामा एकदमै सचेत छु।’ उनले अशुद्ध पानीको गडबडी भने भोगेका छन्। विद्यार्थी राजनीतिमा होमिदा स्वच्छ, शुद्ध र सन्तुलित खानपानमा ध्यान दिन्छु भनेर साध्य पनि थिएन। जति जोगिए पनि काठमाडौँको खराब पानीले एक पटक समाइहाल्यो उनलाई। २०५४ सालमा जन्डिस भयो। ‘त्यो बेला विद्यार्थी राजनीतिमा दौडादौड थियो। कहाँ पानीको खराबी पर्‍यो, जन्डिसले भेटिहालेछ। तर, अस्पतालमा बास बस्न जानु परेन। उही खानपानको अनुशासनले नै ठिक भयो जन्डिस,’ उनले जन्डिस कथा सुनाए।

उनलाई दाँतले भने घरिघरि दुःख दिइरहन्छ। २०४७ सालतिर एउटा बंगारा किराले खाएपछि निकालेर फ्याँक्नुपरेको उनले सुनाए। ‘दाँतेकिराले हैरान लगाएको थियो। एउटा डाक्टर साथीले निकालेर फ्याँक्दा हुन्छ भनिदिए, मैले त्यसै गरेँ। पछि थाहा भयो, दाँत नझिकेकै भए पनि हुने रहेछ,’ उनले हाँस्दै भने, ‘बच्चामा धेरै मिठाइ खाइयो, त्यसपछि किराले दाँत खायो। केही दाँतमा सिमेन्ट भरेको छ। बेलाबेला दुख्छ। यत्ति हो ज्यानमा समस्या।’

व्यवस्थापिका संसदको विकास समिति सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाइरहेका नेता अधिकारीले यहाँसम्म आइपुग्न निकै लामो र कठिन यात्रा तय गरेका छन्। शरीरमा लागेको रोगका विरुद्ध लड्न अस्पताल बस्नु नपरे पनि देशको शासन व्यवस्थामा लागेको रोगका विरुद्ध लड्दा उनी एक वर्षजति जेल चाहिँ बसेका छन्। पञ्चायतकाल र बहुदल आएपछि समेत गरेर पटक–पटक प्रहरीको नराम्रो गोदाइ खाएका छन् उनले।

‘पार्टी कुनै मुद्दालाई लिएर आन्दोलनमा थियो, त्यो बेला। प्रदर्शनका लागि बिहान ५ नबज्दै घरबाट निस्किएँ। बाटोमा पुग्नासाथ एक हुल प्रहरीले घेरे। बिना सोधखोज जिउमा लाठी बज्रिए। उनीहरु थाके या बेहोस भएपछि मर्‍यो भनेर छोडे, थाहा छैन,’ उनले २०५५ सालको काठमाडौंमा भएको निर्मम घटना सम्झिए, ‘मलाई नियोजित रुपमै पिटिएको थियो। पछि गल्ती भयो भनेर माफी मागे। माफीले घाउ दुख्न नछोड्दो रहेछ त। चोट लागेका ठाउँमा ब्यान्डेज लगाएर बेलुका घर फर्किएँ। केही समय घरबाहिर निस्कन सकिनँ।’ २०५६ सालमा अनेरास्ववियुको अध्यक्ष भएका नेता अधिकारीलाई त्यो घटनाले नराम्रोसँग हल्लाउँछ। भन्छन्, ‘मलाई एकपटक त अब बाँचिदैन होला भन्ने लागिसकेको थियो।’

विकासको वकालत गरेर नथाक्ने नेता अधिकारीले ‘समृद्ध नेपाल’ नामक पुस्तक लेखेर नेपालको विकास सम्बन्धी आफ्ना धारणा राखेका छन्। निर्दलीय पञ्चायतकालदेखि नै समृद्ध नेपालको सपना बोकेर राजनीतिमा होमिएका उनी गणतन्त्रसम्म देश आइपुग्दा पनि विकासले गति लिन नसकेको स्वीकार गर्छन्। विकासको यो क्रममा स्वास्थ्य क्षेत्र पनि सुस्त गतिमा अगाडि बढेको ठान्छन् उनी।

‘दुर्गम क्षेत्रका जनता अझै स्वास्थ्य सेवाको पहुँच बाहिर छन्। आधा जति जिल्ला अस्पताल अस्पतालजस्तै छैनन्। दुर्गममा त झन् पियनको भरमा महिनौ स्वास्थ्य चौकी चलेका उदाहरण छन्,’ उनले स्वास्थ्य क्षेत्रमा आफूले महसुस गरेका कुरा सुनाए, ‘सबैभन्दा दुरावस्था दुर्गमकै हो। डाक्टर जानै नचाहने। गएका पनि तलब बुझ्न मात्र जाने। कोही कागजमा मात्र जाने। कसैलाई मेरो जिम्मेवारी हो, पूरा गर्नुपर्छ भन्ने सोच नै छैन। सरकारी जागिर भन्नासाथ कसरी काम छल्ने भन्ने मानसिकताले धेरैलाई बिगारेको छ।’

काठमाडौँकै ठूला सरकारी अस्पतालमा जाँदा देखिने फोहोर, शौचालयको अवस्था, कामप्रतिको लापरबाही, डाक्टरहरुमा निजीप्रतिको मोह देखेर विरक्त लाग्ने बताउँछन् उनी। भन्छन्, ‘माथिबाटै सुध्रिएर आउनुपर्छ। अस्पतालको प्रमुखदेखि डाक्टरसम्मले बेवास्ता गरेपछि त्यहाँ सफाइ गर्ने कर्मचारीले पनि हेप्छन्, काम ठगिदिन्छन्। किन गर्ने काम? भन्ने सोच आउँछ। अनि कसरी हुन्छ अस्पताल सफा? कसरी पाइन्छ र उत्कृष्ट सेवा?’ उनले थपे, ‘सरकारी अस्पताल डाक्टरहरुका लागि विज्ञापन गर्ने थलो भएको छ। प्राइभेटमा बिरामी जाओस् भन्ने सोचाइ देखिन्छ। यसरी त सधैँ चल्दैन। पछिल्लो समय नीतिगत सुधारका लागि केही राम्रा प्रयास भएका छन्। प्रणाली बसाल्नु ठूलो कुरा हो। त्यो भन्दा ठूलो कुरा त कार्यान्वयनप्रतिको इमान्दारिता हो।’ त्यो इमान्दारिता राजनीतिक नेतृत्वसँगसँगै चिकित्सक, कर्मचारीतहमा पनि देखिनुपर्ने उनको बुझाइ छ।

स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिलाई राजनीतिक कारण भनेर मात्र उम्किन नमिल्ने नेता अधिकारीको ठम्याइ छ। ‘सरकारले गर्ने नियुक्ति र अस्पताल विकास समितिको उदाहरण दिएर राजनीतिका कारण स्वास्थ्य क्षेत्र डामाडोल भयो भन्छन्। त्यो मात्र कारण होला त? समितिले उपचार सेवा दिने हो कि सरकारी जागिरे भएर बसेका डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरुले दिने हो?’ उनले भने, ‘अस्पताल विकास समिति त सहजीकरणका लागि हो। सेवा त चिकित्सकहरुले नै दिने हो नि। कसैलाई दोष लगाएर कोही उम्किन मिल्दैन। कमजोरी नभएका होइनन्। तर, जनताको जीवनसँग जोडिएको पेशा अपनाउने साथीहरुले हेलचेक्र्याइँ गरिदिनु हुँदैन।’

सरकार फेरिएसँगै, मन्त्री फेरिएपछि फेरिइरहने कार्यक्रमहरु, नीति–नियमहरुदेखि लज्जाबोध हुने गरेको उनी बताउँछन्। उनले सुझाब दिँदै भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलवाड नगरौँ। व्यवस्था बसालौँ, दीर्घकालीन योजनाहरु ल्याऔँ। अनि जुनै पार्टीको, जुनै व्यक्ति मन्त्री भएर आए पनि त्यही प्रणालीमा बसेर काम गर्ने वातावरण बनाऔँ। काम नगर्नेलाई कारबाही र जिम्मेवारीसाथ काम गर्नेलाई पुरस्कृत गरौँ। यति हुने हो भने, नेपालको स्वास्थ्य क्षेत्रले प्रगतिको ठूलो फड्को मार्नेछ।’

समग्र देशको स्वास्थ्य सुधारको कुरा गरिरहँदा एउटा व्यक्तिले आफ्नो स्वास्थ्यलाई सही सलामत कसरी राख्ने होला त?

सकेसम्म नियमित मर्निङ वाक जाने, व्यायाम गर्ने, मौसमअनुसार स्विमिङ र सौनाबाथ लिने, फुर्सद मिलाएर जिम पनि जाने अनि सन्तुलित खाना खाने हँसिला नेता अधिकारीको टिप्स छ, ‘पहिलो कुरा त आफूलाई खुसी राख्नोस्। जे काम गर्नु हुन्छ 'ह्याप्पी' भएर गर्नुहोस्। तनावले काम बन्दैन बरु स्वास्थ्य बिग्रिन्छ। तनाव नलिई काम गर्नुहोस्। नियमित खाना खान सकिन्छ भने व्यायाम गर्न पनि सकिन्छ, त्यो गर्नुहोस्।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने