विचार/ब्लग

छोरी जन्मिँदा किन खुम्चिन्छ महिलाकै अनुहार?

img

अर्चना बगाले, नर्स

मान्छेको भीडमा मैल देखेकी नारी पात्र कहिले सशक्त छिन् त कहिले अशक्त। प्रसव पीडामा छट्पटिएर  मित्युसँग युद्ध गरी मान्छेले  मान्छे जन्माउँदाको क्षणमा लाग्छ नारी शक्ति अपरम्पार छ। लाग्छ, नारी सहनशीलताकी प्रतिमूर्ती नै हुन्। नर्सिङ पेशामा भएकाले सबै कुरा पेशागत रुपले हेर्दा प्रसूतिको क्रम प्राकृतिक प्रक्रिया लाग्नुपर्ने हो। तर त्यसबेलाको नारी स्वरुप देख्दा आफूलाई नारी भएकोमा गौरवान्वित महसुस गर्छु।

अधिकांश महिलालाई थाह छ यो पीडा र प्रक्रिया। तर, बच्चा जन्मिनासाथ छोरा कि छोरी भनेर अनावश्यक कौतुहलता दर्शाउने तिनै महिना देख्दा अचम्म लाग्छ। 'ए, फेरि पनि छोरी नै पो' भनेर खिन्नता व्यक्त गर्ने पनि नारी नै धेरै भेटेकी छु। छोरी जन्मिएपछि मुख खुम्च्याउँदै खिसी गर्ने नारीहरुले कसरी बिर्सँदा हुन् आफूले भोगेको पीडा? किन छोरीको आगमनलाई यति सस्तो प्रतिक्रियाले स्वागत गर्छन् नारीहरु नै? यस्ता प्रश्नमा घोत्लिँदा खेरि लाग्छ, नारीलाई कमजोर बनाउने त नारी पो हुन् कि?

यो कुरा सबैमा लागू नहोला तर मैले जे देखेँ यो कटु सत्य हो। अर्काको कुरा काटेर  समय बर्बाद गर्ने अनि एउटा अघि बढ्न खोज्दा अर्कोले खुट्टा तान्ने प्रवृत्ति सायद पुरुषमा भन्दा  हामी नारीमा बढी हुन्छ। घरदेखि अफिस अनि छोराछोरी सबैलाई व्यवस्थित गर्दै अघि बढ्ने नारी जमात पनि ठूलै छ। सँगसँगै नारीलाई नै समस्यामा पार्ने नारी जमात पनि ठूलै छ।

हामी किन सोच्न सक्दैनौँ कि सबैभन्दा पहिला हामी मान्छे हौँ? त्यसपछि मात्र बल्ल हामी नारी र पुरुष हौँ। आखिर हाम्रो जीवन अनिश्चित छ। त्यसैले अरुको पनि भलो सोचेर जीवन बगैँचामा फुल्ने प्रयास गर्नुपर्ने होइन र? आखिर फुल्ने र झर्ने प्राकृतिक नियमको नियती त हामी जोसुकैले भोग्नु नै छ। 

श्रीमतीलाई अस्पतालको शैय्यामा बिरामी अवस्थामा छोडेर भाग्ने श्रीमान् धेरै भेटिन्छन् भने श्रीमान् बिरामी पर्दा  कैयौँ महिना अस्पातल कुरेर स्वस्थ्यका लागि मरिमेट्ने श्रीमती धेरै भेटिन्छन्। यसको अर्थ हो नारीले आपतविपतमा हत्तपत्त परिवारको साथ छोड्दिनन्। तर पनि छोरी भन्नासाथ समाजमा एक तह घटुवा भएरै बाँच्नुपर्ने वाध्यता छ। सहरी परिवेशमा छोरा र छोरीबीचको विभेद केही कम भएजस्तो देखिएला तर गाउँगाउँ तिर हेर्ने हो भने अझै पनि छोरी जन्माउँदा खिसीट्युरी खेप्न वाध्य आमाहरु असंख्य छन्।

सहरी क्षेत्रमा जन्म भइसकेपछि छोरा र छोरीमा विभेद नदेखिए पनि गर्भ पहिचान गरेर छोरी भए गर्भपतन गराउनेहरु कम हुँदैनन्। यस्ता उदाहरण मनग्गे भेटिन्छ। २१औँ सताब्दीको संसार कहाँ पुगिसक्यो, हामी भने पिण्ड दिने, वंश चलाउने छोरा भएन भनेर जन्मिएका छोरी र उनका आमालाई सरापेर बसिरहेका छौँ।

यो सोचमा कसैले बदलाव ल्याउन सक्छ भने त्यो महिला शक्ति नै हो। छोरा जन्मियोस वा छोरी त्यो प्रकृतिको बरदान हो भन्ने सोच समाजमा छर्न सक्ने आमाहरु नै हुन्। पुरुष प्रधान समाजमा छोरा मोह हट्न त्यति सजिलो नहोला तर नारीहरुले सोच्ने र त्यहीअनुसार आफूलाई उभ्याउने हो भने छोरी र छोराबीचको विभेद मेटिन धेरै समय कुर्नु नपर्ला।

अस्पताल, प्रशासन, राजनीति सबै ठाउँमा नारीले देखाएको कर्यक्षमता प्रशंसनीय छ। मन्छेको भीडमा नारी हुनुको गरिमालाई कयम राखौँ, नारीलाई नारीले सम्मान गरौँ। नारी हुनुमा पनि गर्व गरौँ र छोरी जन्मिनुमा पनि गर्व गरौँ किनकि नारी नै सृष्टिकर्ता हो। छोरी जन्मिदै खिन्न नबनौँ, किनकि सन्तानलाई असल बानाउने हो चाहे छोरा होस् या छोरी।

छोरी मान्छेले नेतृत्व गरेका धेरै कुरा सफल भएका उदाहरण हामी सामु छन्। अस्पताल, प्रशासन, राजनीति, व्यवसाय आदि हरेक क्षेत्रमा महिलाको नेतृत्व सफल हुँदै गएका छन्। तर समाजमा अझै केही कुरिती छन् जसले महिलालाई अघि बढ्न रोकिरहेका छन्। दाइजो प्रथा, छाउपडी, उच्चशिक्षामा बाधा, अर्काको घर जाने जात भनी गरिने हेला आदि नारी विरोधी परिपाटी र सोचलाई धक्का दिँदै आफू सशक्त हुनु जरुरी छ। भनिन्छ नि एउटा बाबु शिक्षित भए ऊ मात्र शिक्षित हुन्छ तर एउटी आमा शिक्षित भए परिवार नै शिक्षित हुन्छ्। नारीको महत्व बुझाउने योभन्दा अर्को भनाइ खोजिरहनै पर्दैन। यो घर, परिवारको कुरा मात्र होइन। यो त विम्व हो नारीले समाजलाई परिवर्तन गर्न सक्छिन् भन्ने कुराको।

यसै पनि पुरुष हावी भएको समाजमा नारीलाई माथि उठ्न सजिलो छैन। त्यसमाथि नारीले नारीलाई नै हेप्ने, घोचपेच गर्ने र छोरी जन्मिँदा निधार खुम्च्याउने काम नारीले नगरौँ। प्रशव वेदनापछि जसरी संसारमा एउटा जीवनलाई जन्म दिँदा नारीको सामर्थ्य देखिन्छ, त्यसैगरी समाजमा आफ्नो हैसियत र स्थान खोज्ने सामर्थ्य पनि राखौँ।

(बगाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमएससी नर्सिङ अध्ययनरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live