फिचर

एक सरकारी डाक्टर, जसको मन्तव्यले भावुक बने मन्त्री थापा

img

डिबी खड्का

डा. विष्णुरथ गिरी


शनिबार राजधानीको ट्रमा सेन्टरमा सरकारी चिकित्सक संघ, नेपालको नयाँ कार्यसमिति छनोट कार्यक्रम थियो। स्वास्थ्य मन्त्री गगन थापा प्रमुख अतिथि रहेको कार्यक्रममा एक जना सरकारी डाक्टरले माहोललाई उत्तेजित र भावुक दुवै बनाए। हलमा उपस्थितमध्येमा उनको विचार सुनेर ताली नबजाउने र ब्यथा सुनेर भावुक नहुने कोही थिएनन्। कार्यक्रममा स्वास्थ्यमन्त्री थापा ती डाक्टरको मन्तव्य अवधिभर भावुक देखिन्थे। आफ्ना अनुभव र संघर्षको कथाले कार्यक्रमलाई स्तब्ध पार्ने ती सरकारी चिकित्सक हुन् कान्ति बाल अस्पतालमा कार्यरत डा. विष्णुरथ गिरी।

उनले आफूले चिकित्सक बन्न गरेका संघर्ष, डाक्टर बनेपछि देखेभोगेका दुःख र सरकारले डाक्टरमाथि गरेको विभेदलाई यस्तरी बेलिबिस्तार लगाए कि हरेकलाई सोच्न र महसुस गर्न वाध्य पारे।

सुरु आफ्नै जीवनका उतारचढावबाट गरे उनले। उनी स्याङ्जाको मल्याङकोट गाविसको दासी भन्ने गाउँको निम्न वर्गीय परिवारमा जन्मेका हुन्। जुन दुर्गममा पर्छ। उनी भर्खर स्कुल जान सुरु गरेका थिए, उनको परिवार दुःखका पहाड छाडेर सुखको तराई खोज्न झर्‍यो नारायणगढ। उनका आमाबुवाले चिया पसल थापेर जीवनका पैँया गुडाउन थाले। जीवनको त्यही उकालीओरालीसँग उनको बाल्यकाल र स्कुल स्तरको पढाइ सकियो। कहिले सरकारी, कहिले बोर्डिङ हुँदै उनले एसएलसी पास गरे र उनी प्लस टु पढ्न थाले। त्यो समय परिवारको आर्थिक अवस्था केही उकासिएको थियो, निम्नवर्गीयबाट मध्यमवर्गीय परिवार भएको थियो। त्यसैले पढाइमा केन्द्रित हुन पाए र उनले कक्षा ११ मा बोर्ड टप गरे।

प्लस टुपछि उनका साथीमध्ये धेरैको विदेश गएर पढ्ने सपनाले पखेटा हालेको थियो। विदेश गएर पढ्न त्यसबेला न्यूनतम ७–८ लाख रुपैयाँ खर्च लाग्थ्यो। त्यो उनको परिवारले जुटाउन सक्ने रकम थिएन। पढाइ राम्रो हुनेका लागि सबैभन्दा उत्तम विकल्प सरकारी छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस अध्ययन गर्ने थियो। घरपरिवारले त्यतै जोड दियो। उनले छात्रवृत्तिमा एमबिबिएस पढ्न प्रवेश परीक्षा दिए।

१५ मिनेटले बदलिएको जिन्दगी

विष्णुरथले एमबिबिएस पढ्नका लागि लिखितमा नाम निकाले। यो २०५९ सालको कुरा थियो। अन्तर्वार्ताका लागि सूचनामा तोकिएको मितिमा तत्कालीन नेकपा माओवादीले पाँचदिने बन्द आह्वान गरेको थियो। द्वन्द्व उत्कर्षमा पुगेका बेला माओवादीको बन्द कसले अवज्ञा गर्न सक्नु? तर, अन्तर्वार्ता दिन जानै थियो। एकैपटक एमबिबिएसमा नाम निकाल्नेमा उनका अर्का साथी थिए, जीवन क्षेत्री।

त्यसपछि उनीहरु चितवनबाट हिँडे। कति ठाउँ गाडी चढ्दै र कति ठाउँ हिँड्दै गरेर आइपुगे काठमाडौँको नागढुंगासम्म। त्यहाँ पुग्दा पाँच वटाभन्दा बढी गाडी फेरिसकेका थिए उनीहरुले। नागढुंगाभन्दा भित्र भने एउटै गाडी छिरेको थिएन। उनीहरु हिँड्दै शिक्षा मन्त्रालय रहेको केशर महल पुग्नुपर्ने भयो। तर, डा. गिरीका डकुमेन्टहरु कीर्तिपुरस्थित आफन्तका कोठामा थिए। त्यहाँ पुगेर हिँड्दै केशरमहल आइपुग्दा समय निकै घर्किसकेको थियो। तर, आफ्नो अन्र्तवार्ता कहिले हुन्छ, जानकारी थिएन। त्यहाँ पुगिसकेपछि चाल पाए, उनकै अन्र्तवार्ताको पालो १५ मिनेटपछि रहेछ।

एउटी महिलाको मृत्युले फेरियो लक्ष्य

अन्तर्वार्ता पनि पास भएपछि उनी एमबिबिएसमा भर्ना भए। देश राजनीतिक अस्थितरता उन्मुख थियो। एमबिबिएस सकेपछि बाँकी अध्ययन विदेशतिर गर्ने वा उतै डाक्टरी गर्ने भन्ने सोच हरेक विद्यार्थीको मनमा आउनु सामान्य थियो। डा. गिरीको मनमा पनि यस्तै सपना फुल्दै थियो। सरकारी छात्रवृत्तिमा पढेकाले दुई वर्ष अनिवार्य सेवा गर्नुपथ्र्यो। उनको पोस्टिङ भयो पाँचथर। दुई वर्षे सेवा अवधि सकेपछि अमेरिका पुगेर एमडी गर्ने चाहना अनुरुप उनी भाषा पनि पढिरहेका थिए।

एक दिन तीन दिनको बाटोबाट बोकेर जिल्ला अस्पताल ल्याइयो, एकजना गर्भवती। व्यथा लागेको त चार दिन भइसकेको रहेछ। अस्पताल ल्याएपछि थाहा भयो, बच्चाको टाउको ठूलो र निस्किने ठाउँ सानो भएकाले उनी सुत्केरी हुन सकिरहेकी थिइनन्। उनले चाल पाए, बच्चा मरिसकेको छ। आमाको ज्यान जोगाउन बच्चालाई टुक्रा पारेर निकाल्नुपथ्र्याे। भर्खर एमबिबिएस सकेर गएका उनमा अनुभवको कमी त थियो नै, त्यसमाथि उपकरणको अभाव। उनले उपकरण जुटाएर बच्चा निकाल्न सुरु मात्रै गरेका थिए, आमाको पनि ज्यान गयो।

आफूले उपचार थाल्नुअघि रिफरको विकल्प सोचेका थिए। एक त समय थिएन, त्यसमाथि त्यो गरिब परिवार थप आर्थिक भार थेग्न सक्ने अवस्थामा पनि थिएन। ती महिलाको ज्यान गएपछि उनलाई लाग्यो, ‘म अमेरिका जान्नँ। डाक्टरको अभावमा मान्छेको यसरी ज्यान गइरहेको छ यहाँ। बरु सेवा गरेर यतै बस्छु।’ उनले पाँच वर्षअघि हिसाब निकालेका थिए, ‘मजस्तो एक जना एमबिबिएस गाउँगाउँमा बस्ने हो भने एउटा जिल्लामा ५ देखि ७ करोड रुपैयाँ जोगिन्छ।’ यो रिफर गरेपछि हुने खर्चका आधारमा उनले निकालेको हिसाब थियो।

त्यसबेला उनले वर्तमान स्वास्थ्यमन्त्री गगन थापाले कान्तिपुर टिभीमा दिएको अन्तर्वार्ता सुने। सार थियो, ‘परिवर्तनको लहर आउनुपर्छ। हामी युवा सबै मिल्यौँ र आ–आफ्ना ठाउँबाट लाग्यौँ भने मात्रै त्यो लहर आउँछ।’ उनलाई युवा नेता थापाको भनाइले पनि उत्प्रेरित गर्यो त्यो बेला।

दिदी बिरामी हुँदा पाइएन छुट्टी

ब्रेन ट्युमरका कारण उनकी दिदी बिरामी परिन्। त्योबेला उनी पाँचथरमा काम गरिरहेका थिए। निजी अस्पतालमा उपचार गराउने आर्थिक हैसियत उनको परिवारसँग थिएन। त्यसैले उनले वीर अस्पताल ल्याउन सुझाए। दिदीले भनिन्, ‘तिमीचाहिँ कहिले आउँछौ?’ उनले ‘भोलि’ भने। तर, त्यही बेला हिँडे पनि चार दिन लाग्थ्यो काठमाडौँ पुग्न। बिदा लिन सिडिओकहाँ पुगे। सिडिओले भने, ‘जिल्लामा एक जना डाक्टर पनि नहुँदा अप्ठ्यारो पर्छ। अर्काे व्यवस्था गरेर जानू।’ उनका साथी तालिमका लागि काठमाडौँ आएका थिए। उनी त्यहाँ फर्किंदासम्म कुरे। यसरी मिलाएर काठमाडौँ आइपुग्दा उनकी दिदी यो संसारबाट बिदा भइसकेकी थिइन्।

प्रतिनिधि कथा र व्यथा

सरकारी डाक्टरको भेलामा उनले भने, ‘हामी यहाँ उपस्थित डाक्टर सरकारी हौँ। छात्रवृत्तिमा पढेका छौँ। यसकारण छात्रवृत्ति पायौँ कि हामी पढाइमा अब्बल थियौँ। त्यसैले दुई वर्षे सेवाका क्रममा दुर्गम पुगेका छौँ। देश देखेका, बुझेका र अनुभव गरेका छौँ। चिकित्सकका अभावमा ब्यथा पालेर बाँचेका वा ब्यथा सहन नसकेर जीवन त्यागेका गरिब नेपालीका अनुहार देखेका छौँ। आफूले आफैँलाई देशको सेवामा समर्पित हुन मनाएका छौँ। त्यसैले मैले मेरा अनुभूति भने पनि यो प्रतिनिधि कथा र व्यथा हो।’

सरकारी चिकित्सकका रुपमा दूरदराज चहारिरहँदा परिवारसँग टाढिनुपर्ने, दुःखसुखमा एकै ठाउँ हुन नपाइने र आफ्नै भविष्यसमेत अन्यौलमा परेजस्तो हुने उनी बताउँछन्। सरकारले दुर्गममा रहने सरकारी डाक्टरलाई विशेष प्रोत्साहनको व्यवस्था गर्न नसकेको उनको गुनासो छ।

दुर्गममा बस्ने डाक्टरले कुनै बेला पनि चैनको सास लिन नपाउने उनको अनुभव छ। भन्छन्, ‘राति सुत्न गयो, केही भएन भने पनि जाँड खाएर झगडा गरी घाइते वा आफैँ लडेर घाइते भएका बिरामी अस्पताल आउँछन्। बिहान (सधैँ नहोला तर धेरै दिन) प्रसूति व्यथा लागेका महिला ल्याइन्छन्। दिउँसो ओपिडी सेवा हुन्छ।’

सरकारी सेवा किन यस्ता विभेद?

डा. गिरीको बुझाइमा सरकारी सेवामा प्राथमिकताका आधार छुट्याउनुपर्छ। पहिलो प्राथमिकता सुरक्षा भए पनि दोस्रोमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी हुनुपर्ने उनको ठम्याई छ। तर, उनले डाक्टर र अरु कर्मचारीबीच नेपाल सरकारले सेवासुविधामा ठूलो विभेद गरेको देखेका छन्। उनले उदाहरण दिँदै भने, ‘दुर्गममा काम गरिरहेको नवप्रवेशी एउटा विशेषज्ञ चिकित्सकले ४८ हजार रुपैयाँ मासिक पाउँछ। उसको हैसियत अधिकृतभन्दा माथि हो। तर, यति तलब काठमाडौँकै बबरमहलमा बस्ने राजस्वको सुब्बाले पनि पाउँछ। कहाँको विशेषज्ञ चिकित्सक, कहाँको सुब्बा?’

सामाजिक सुरक्षादेखि भौतिक सुविधा पनि नभएको तथ्य अघि सार्दै भने, ‘अन्य सरकारी कार्यालयका सुब्बास्तरका कर्मचारीले मोटरसाइकलदेखि विभिन्न सुविधा उपयोग गर्छन्। तर, दुर्गममा रातविरात अस्पताल पुग्नुपर्ने मेडिकल अधिकृतले पाउँदैनन्।’

स्वास्थ्य क्षेत्रमै विभेद

स्वास्थ्य मन्त्रालय अन्तर्गत खटिने र मन्त्रालय मातहतकै प्रतिष्ठानमा सेवा गरिरहेकाहरुमा पनि विभेद रहेको उनले दाबी गरेका छन्। भौतिक सुविधाले बराबर रहेका विराटनगरका सरकारी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका समान तहका कर्मचारीको उदाहरण प्रस्तुत गरे, ‘नवौँ तहका विशेषज्ञ डाक्टरको उदाहरण दिऊँ। बिपीमा भए मासिक तलब एक लाख ४० हजार रुपैयाँ, रेसिडेन्सी सुविधा, वर्षमा एकपटक सेमिनार गोष्ठी आदिका लागि एक लाख ३० हजार रुपैयाँ दिइन्छ। तर, विराटनगरमा सोही तहमा रहेको डाक्टरले जम्मा ३८ हजार रुपैयाँ मासिक तलब पाउँछ।’

सरकारसँग बिन्ती

‘हाम्रो क्षमताको सदुपयोग गर्न होस् वा वित्तीय रुपमा आफूलाई बलियो पार्न, हामी खट्छौँ नै। हामी चाहन्छौँ, सरकारले हाम्रा न्यूनतम आवश्यकता परिपूर्ति हुने गरी सेवासुविधा दिएर खटाओस्,’ डा. गिरीले भने, ‘सरकारले हाम्रा आवश्यकता पूरा हुने सेवासुविधा दिएन भने हामी बाहिर खट्छौँ। किनकि हामी वाध्य हुन्छौँ।’ उनी आफूहरु सरकारले खटाओस् र सरकारी अस्पतालले दिने स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकियोस् भनेरै लडिरहेको बताउँछन्।

यदि सरकारले त्यसो गर्न सकेन भने सरकारी डाक्टर बाहिर खट्न वाध्य हुनुपर्ने उनको भनाइ छ। बाहिर खट्दा केही वर्षमा आफूसँग एउटा अस्पताल खोल्न पुग्ने रकम जम्मा हुने दाबी गर्दै उनले भने, ‘हामीसँग अस्पताल खोल्ने पैसा जम्मा भएको दिन सरकारी स्वास्थ्य सेवा कमजोर बनाउन उभिने मध्येको अग्रपंतीमा हामी नै हुनेछौँ। मेरो चाहना आजका यस्ता डाक्टरलाई सरकारले भोलिका त्यस्ता डाक्टर हुनबाट रोकिदियोस् भन्ने हो। आवश्यकताले थिच्दै लाने र सेवासुविधा खुम्चँदै जाने हो भने, सायद हामीले पत्तै नपाउन सक्छौँ कि कुन बेला हामी पैसामुखी हुन पुग्छौँ भनेर। यो गम्भीर कुरा हो, यसतर्फ सरकारको ध्यान पुगोस् भन्ने चाहना छ।’


मन लगाएर काम गर्नुहोस्, मुठी खोलेर सघाउँछौंः गगन थापा

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live