फिचर

सिद्धि ल्याबको गलत रिपोर्टले क्यान्सरको उपचार गर्न दिल्ली पुगेकी सुजाताको व्यथा

img

प्रवीण ढकाल

‘क्यान्सर’ शब्द सुन्ने बित्तिकै हरेकको मनमा मृत्युको भय जन्मिन्छ। हुन पनि बेलैमा थाहा भएन र सही उपचार पाइएन भने क्यान्सरले जीवनलीला समाप्त पार्छ। क्यान्सरजस्तो डरलाग्दो रोग ‘शत्रुलाई पनि नलागोस्’ भन्ने भनाइ चल्तीमा छ। कथंकदाचित, क्यान्सर भइहाल्यो भने त्यसलाई स्वीकारेर उपचार खोज्नुको विकल्प छैन। क्यान्सरले व्यक्तिलाई मात्र हानी गर्ने होइन कि पारिवारिक तनाव र आर्थिक बोझ पनि थपिदिन्छ।

क्यान्सर भएको जानकारी पाउँदा एउटा मानिसको मन कतिसम्म हल्लिँदो होला त्यो उसले अनुभूत गर्ने कुरा हो। काठमाठौँ शान्तिनगरकी ३८ वर्षीया सुजाता मैनाली रावतको जीवनमा पनि क्यान्सरको हुन्डरी त्यसरी नै आयो। जसले सुजातालाई मानसिक मात्र होइन आर्थिक रुपमा पनि क्षति पुर्‍यायो। क्यान्सरको उपचार खोज्दै उनी भारतको नयाँ दिल्लीसम्म पुगिन्। अन्नतः नतिजा यस्तो निस्कियो कि, उनलाई क्यान्सरको भुमरीमा घुमाउने काम गरेको थियो एउटा गलत रिपोर्टले। त्यो गलत रिपोर्ट दिएको थियो, काठमाडौँमा नाम चलेको डिल्लीबजारस्थित सिद्धि पोली ल्याब (सिद्धि पोलिक्लिनिक) ले।

सुजाताले ल्याबको गल्तीका कारण आफूले ब्यहोरेको तनाव स्वास्थ्यखबरका प्रवीण ढकालसँग बाँडेकी छिन्ः

गलत रिपोर्टले क्यान्सर भएको देखाएपछि मैले र मेरो परिवारले झेलेका तनाव शब्दमा व्यक्त गर्न सक्दिनँ। आर्थिक क्षतिको हिसाब गर्दा बिनाकारण तीन लाख रुपैयाँ सकियो।

स्वास्थ्यप्रति सचेत रहने भएकाले हामी हरेक वर्ष स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौँ। नियमित परीक्षणका लागि हामी सधैँ सिद्धिमा नै जान्थ्यौँ। यो वर्षको परीक्षण पनि हामीले गत जेठ १८ गते सिद्धिमा गरेका थियौँ। उक्त क्रममा अल्ट्रासाउन्ड गर्दा मेरो गलब्लाडरमा समस्या देखियो। शल्यक्रिया गर्नुपर्ने भएकाले हामी ओम अस्पताल पुग्यौँ। ओम अस्पतालमा डाक्टर सुनिल शर्माले शल्यक्रिया गर्नुभयो। शल्यक्रिया सफल भयो। तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भइयो। डिस्चार्जका क्रममा डाक्टर शर्माले एक महिनापछि फलोअपका लागि केही परीक्षण गरेर आउनु भन्नु भएको थियो।

डा. शर्माले भने बमोजिम परीक्षणहरु सिद्धिमा नै गरियो। एक महिनापछि हामी फलोअपका लागि ल्याब रिपोर्ट लिएर डा. शर्माकहाँ पुग्यौँ। रिपोर्ट हेरेपछि डा. शर्मा गम्भीर देखिनु भयो। उहाँले अरु सबै रिपोर्ट नर्मल छ तर सिए १९ दशमलब ९ को मात्रा बढेको छ भन्नुभयो। त्यो भनेको हामीलाई थाहा थिएन। डा. शर्माले नै सिए १९ दशमलब ९ भनेको प्यांक्रियाजको क्यान्सर भए/नभएको हेर्ने ‘ट्युमर मार्कर’ भएको बताउनु भयो। रगतमा सिए १९ दशमलब ९ को मात्रा शून्यदेखि ३७ युनिट प्रतिमिलिलिटरसम्म सामान्य मानिने रहेछ। तर, मेरो रिपोर्टमा त्यसको मात्रा ८१ दशमलब ३५ देखिएको थियो।

हेरौँ रिपोर्ट

डा. शर्माले उक्त रिपोर्ट असामान्य भन्दै एक पटक पुनः अल्ट्रासाउन्ड गर्न सुझाब दिनुभयो। हामीले साउन १२ गते अल्ट्रासाउन्ड गर्यौं। त्यसमा रिपोर्ट नर्मल आयो। डा. शर्माले अल्ट्रासाउन्डको रिपोर्ट हेरेपछि पहिला गरिएको शल्यक्रियाका कारण बढेको हुन सक्छ भन्दै दुई महिनामा घट्ने आश्वासन दिनुभयो। उहाँले दुई महिनापछि परीक्षण गरेर फेरि आउन भन्नु भएको थियो।

तर, क्यान्सर भन्ने शब्द सुन्नासाथ मनमा डर पलाइसकेको थियो। केही न केही गडबड भएर यस्तो आयो होला भन्दै श्रीमान्ले एक पटक एमआराई र अल्ट्रासाउन्ड गर्ने कि भनेर डा. शर्मालाई सोध्नुभयो। उहाँले पनि हुन्छ भन्दै लेखिदिनु भयो। ढुक्क हुनुपर्छ भनेर हामीले एमआरआई/एमआरसिपी पनि गर्यौ। त्यसको रिपोर्ट नर्मल आयो। डाक्टरले यी रिपोर्ट हेरेपछि सामान्य छ, आत्तिनु पर्दैन भनेर सम्झाउनु भयो।

सबै रिपोर्ट सामान्य भएपछि हामीले सिए १९ दशमलब ९ पनि घट्यो होला भनेर गत फागुन ११ गते सिद्धिमा गएर पुनः परीक्षण गर्यौं। त्यसमा त झन् बढेको रिपोर्ट पो आएको रहेछ। सिएको मात्रा बढेर १७७ दशमलब ४५ पुगेको रहेछ। त्यो रिपोर्टबारे श्रीमानले तत्काल मलाई केही जानकारी दिनु भएन तर डा. शर्मासँग कुरा गर्नुभएछ। डा. शर्माले पनि तुरुन्तै पेट सिटी स्क्यान गर्न सुझाब दिनुभएको रहेछ।

दोस्रो रिपोर्ट

थप उपचार/परीक्षणका लागि हामी भारत जाने निधो भयो। डाक्टरले ढिलो नगरी एक साताभित्रमा जान सुझाब दिनु भएको थियो। त्यहीअनुसार हामी तीन दिनभित्रै भारतको दिल्लीस्थित सर गंगाराम अस्पतालमा पुग्यौँ। त्यहाँ डाक्टर अनिल अरोरासँग समय लिइएको थियो।

डाक्टरको कोठा अगाडि पुगेपछि मात्र श्रीमान्ले मलाई सिद्धिको दोस्रो रिपोर्टमा पनि क्यान्सर देखिएकाले परीक्षणका लागि यहाँ आएको भन्ने जानकारी गराउनु भयो। मेरो हंशले ठाउँ छोड्यो, थरर्र कामेँ।

डाक्टर अरोराले सबै रिपोर्ट हेर्नु भयो र सिटी स्क्यान गर्न लगाउनुभयो। हामी सिटी स्क्यानको रिपोर्ट लिएर भोलिपल्ट डाक्टर अरोराकहाँ पुग्यौँ। उहाँले रिपोर्ट हेरेर केही छैन नआत्तिनुहोला पो भन्नु भयो। तर, त्यति बेलासम्म हामीले सिए १९ दशमलब ९ को परीक्षण गराएका थिएनौँ। डाक्टरकै सल्लाहअनुसार हामीले सिएको पनि परीक्षण गरायौँ। त्यहाँको परीक्षणमा रगतमा सिएको मात्रा ३३ दशमलब २३ मात्र आयो। सिएको मात्रा ३७ भन्दा तल आएपछि बल्ल हामी ढुक्क भयौँ। खुसीको सीमा रहेन। नेपालदेखि अत्तालिँदै आएको सम्झँदै दुवै हाँस्यौँ। त्यसबेलासम्मको तनाव बिर्सिन केही दिन दिल्ली घुम्यौँ र फर्कियौँ।

हेर्नोस् रिपोर्ट

भारतमा हामीले फागुन २० गते परीक्षण गरेका थियौँ। सिद्धि र भारतमा गरिएको परीक्षणबीच ९ दिनको अन्तर थियो। ९ दिन अघिपछिको परीक्षणमा आकाश जमिनको फरक आयो। मैले डाक्टर अरोरासँग पनि सोधेँ, उहाँले यति छिट्टै यो मात्रामा नघट्ने जवाफ दिनुभएको थियो। नेपाल आएपछि हामीले चिनेका अन्य डाक्टरलाई पनि सोध्यौँ। सबैको निचोड थियो, सिद्धि पोलिक्लिनको रिपोर्ट गलत हो।

हामीले सिद्धिलाई वर्षौंदेखि विश्वास गरेकाले कतै रिपोर्ट पो साटियो कि भन्ने शंकासमेत गर्यौँ। नेपाल आएपछि सिद्धिमा गएर जानकारी दियौँ। परीक्षणका क्रममा अरुको रिपोर्ट साटिएका कारण यस्तो भएको हो कि भनेर बुझ्ने प्रयास गर्यौं। उहाँहरुले रिपोर्ट नसाटिएको भन्दै आफूले दिएको रिपोर्ट सही हुने दाबी गर्नुभयो। उहाँहरुले उल्टै भारतमा गरिएको रिपोर्टलाई गलत भनिदिनु भयो। त्यसपछि फेरि मेरो मन अत्तालियो। साँच्चै यताको रिपोर्ट सही र भारतको रिपोर्ट चाहिँ गलत नै हो कि भन्ने शंका उब्जियो। यस्तो बेला अत्यन्तै दोधारमा परिँदो रहेछ।

सिद्धिले पुनः परीक्षण गरिदिने भयो। रगतको नमूना लियो। त्यहाँ नमूना दिएपछि अरु ल्याबमा पनि परीक्षण गराउने सल्लाह भयो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (सरकारको केन्द्रीय प्रयोगशाला) टेकूमा पनि परीक्षणका लागि हामी गयौँ। जनस्वास्थ्य प्रयोगशालामा चैत १ गते गरिएको परीक्षणमा सिएको मात्रा २६ दशमलब २७ (नर्मल) आयो।

हेर्नोस् रिपोर्ट

त्यसपछि सिद्धिमा तेस्रो पटक गरिएको परीक्षणको रिपोर्टमा सिएको मात्रा १०० भन्दा बढी देखिएको जानकारी दिए। तर, उनीहरुले रिपोर्ट भने दिन मानेनन्।

हामीले सिद्धिका प्रमुखलाई भेटेर रिपोर्टबारे सबै कुरा बतायौँ र ल्याबमा केही समस्या होला भन्ने सुझाब समेत दियौँ। तर, उनीहरु गल्ती स्वीकार गर्ने पक्षमै देखिएनन्। उनीहरुले निरन्तर हामी नै सही हो मात्र भनिरहे। बरु नेपालको केन्द्रीय ल्याब र भारतको रिपोर्टलाई गलत भन्न छाडेनन्।

एउटा मानिसले आफूले दिएको रिपोर्टका कारण यति धेरै दुःख पाइसक्यो, आफूमा केही खराबी छ कि भनेर सोच्नसम्म चाहेन सिद्धिले। यो कुराले निकै दुःख लागेको छ। मजस्ता गलत रिपोर्ट आएर दुःख पाउने कति होलान्? गलत रिपोर्टका कारण भोग्नु परेको मानसिक पीडाको त हिसाबै नगरौँ। 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने