समाचार

नगर अस्पताल र स्वास्थ्य केन्द्र खोल्न बुढानीलकण्ठ र स्वास्थ्य मन्त्रालयबीच यस्तो सम्झौता

img

पारसविक्रम शाही

काठमाडौं– काठमाडौँ उपत्यकाको उत्तरी नगरपालिका बुढानीलकण्ठले नगर अस्पताल र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (जनता स्वास्थ्य केन्द्र) स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको छ।

नगरपालिकामा आधारभूत स्वास्थ्य सेवाको विस्तार एवं विकासका लागि मन्त्रालयका तर्फबाट नीति तथा योजना महाशाखाका प्रमुख भोगेन्द्रराज डोटेल र नगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराज मरासिनीले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा नगरपालिकामा आगामी तीन वर्षभित्र सम्पूर्ण वडामा कम्तिमा एउटा जनता स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। यस्तै, नगर अस्पताल स्थापनाका लागि चालू आर्थिक वर्षभित्र विस्तृत कार्ययोजना तयार गरी भवन निर्माण पक्रिया थालिनेछ। नगरपालिकामा चालू आर्थिक वर्षमा तीन वटा जनता स्वास्थ्य केन्द्र स्थापना गर्ने सम्झौतामा उल्लेख छ। बुढानीलकण्ठ नगरपालिकामा १३ वटा वडा छन्।

हालसम्म नगरपालिकाको आफ्नै कुनै पनि स्वास्थ्य संस्था छैन। तर, आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि नगरपालिकाभित्र स्वास्थ्य मन्त्रालय अन्तर्गतका ६ वटा स्वास्थ्य चौकीहरु भने सञ्चालनमा छन्।

सम्झौता अनुसार मन्त्रालय र नगरपालिकाको संयुक्त प्रयासबाट अस्पताल र स्वास्थ्य केन्द्रका भौतिक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन एवं स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक औजार, उपकरण, औषधि लगायतका सामाग्री व्यवस्थापन गरिनेछ।

‘स्थानीय तहमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका संरचनाहरु मर्ज भएमा सोही बमोजिम पछि पुनःसंरचना हुनेगरी हाल नगरपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी जनता स्वास्थ्य केन्द्रका रुपमा सञ्चालन गरिनेछ,’ सम्झौतामा उल्लेख छ, ‘हाल सञ्चालनमा रहेका संस्थाका कर्मचारी, उपलब्ध भौतिक पूर्वाधार, औजार उपकरण, औषधि लगायतका सरसमान तत् तत् केन्द्रमा समायोजन गरिनेछ।’

नगर अस्पताल कम्तिमा १५ शैय्याको हुनेछ भने अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको शल्यक्रिया सेवा प्रदान गर्नुपर्ने हुन्छ।

जनता स्वास्थ्य केन्द्रमा पाइनेछन् यस्ता सेवा
नसर्ने रोगको नियन्त्रणका लागि जीवनसीपमा आधारित स्वास्थ्य सेवा।
स्वस्थ जीवनका लागि वातावरणको नियमित अनुगमन र पृष्ठपोषण।
खोप, पोषण, बालरोगको एकीकृत व्यवस्थापन।
प्रकोप व्यवस्थापन, महामारी नियन्त्रण।
सरुवा रोगको रोकथाम, नियन्त्रण एवं उपचार।
मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा।
सामान्य चोटपटकको प्राथमिक उपचार।
स्थानीय स्तरमा हुने रोगको सामान्य निदान एवं व्यवस्थापन।
ल्याबोरेटोरी सेवा, फार्मेसी सेवा।
यौनरोग एवं प्रजनन् स्वास्थ्य सेवा।
क्षयरोग, कुष्ठरोग, औलो, एचआइभी÷एड्स जस्ता संक्रमित रोगको निदान र उपचार।
मानसिक रोगको परामर्श सेवा।
किशोर–किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सेवा।
वृद्धवृद्धाका लागि परामर्श सेवा।

साझेदार संस्थाको भूमिका
स्वास्थ्य मन्त्रालय
(१)    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (जनता स्वास्थ्य केन्द्र) र नगर अस्पतालको स्थापना एवं सञ्चालनका लागि नीतिगत व्यवस्था गर्ने। कार्यविधि, निर्देशिका तयार गर्ने।
(२)    तत्काल सञ्चालन गर्न आवश्यक जनशक्ति, भौतिक पूर्वाधार एवं औजार, उपकरण औषधि लगायतको व्यवस्थाका लागि अनुदान रकम उपलब्ध गराउने।
(३)    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (जनता स्वास्थ्य केन्द्र) सञ्चालन गर्न नगरपालिकाको संस्थागत क्षमता विकास र दिगोपनका लागि आवश्यक सहयोग गर्ने।
(४)    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई प्रवद्र्धन, विकास र संरचनागत सुदृढीकरण गर्न नेपाल सरकार र दातृ निकायको समेत सहयोगका लागि समन्वय गर्ने र आवश्यक स्रोत जुटाउन नेतृत्व लिने।

बुढानीलकण्ठ नगरपालिका
(१)    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (जनता स्वास्थ्य केन्द्र) स्थापनाका लागि स्थान छनौट, भौतिक पूर्वाधार विकास एवं जनशक्तिको व्यवस्थापन गर्ने।
(२)    बुढानीलकण्ठ नगरपालिकाभित्र स्थापना गरिने जनता स्वास्थ्य केन्द्र र नगर अस्पतालका लागि आवश्यक वार्षिक लागत अनुमान तयार गरी बुढानीलकण्ठ नगरपालिका र स्वास्थ्य मन्त्रालयको लगानी प्रतिशत निर्धारण गरिनेछ।
(३)    योजना तर्जुमा एवं व्यवस्थापनका लागि स्थानीय जनसहभागिता जुटाउने र दिगोपनका लागि कार्य तर्जुमा गर्ने।
(४)    कम्तिमा तीन वर्षभित्र जनता स्वास्थ्य केन्द्र र नगर अस्पताल सञ्चालन गरी सेवा विस्तार गर्ने।

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँ
(१)    स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्राथमिक स्वास्थ्य केन्द्र पुनर्जागरण महाशाखाको निर्देशानुसार नगरपालिकाको समन्वय र सहकार्यमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालनका लागि कार्य गर्ने।
(२)    बुढानीलकण्ठ नगरपालिकाको समन्वयमा अनुगमन र मूल्यांकन गर्ने।
(३)    आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउने।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live