फिचर

गगनको गति बढाउने यस्तो छ युवा ‘इन्जिन’

img

डिबी खड्का

स्वास्थ्यमन्त्री गगन थापा युवा पुस्ताको एउटा प्रतिनिधि मन्त्री हुन्। गगनको काम गर्ने गतिले पनि युवा जोशजाँगरलाई आत्मसात् गरेको देखिन्छ। सामूहिक कर्ममा विश्वास गर्ने गगनलाई यो गति दिने ‘इन्जिन’का रुपमा काम गर्नेहरु उनीभन्दा कम उमेरका छन्।

मन्त्री थापाका प्रमुख सल्लाहकार हुन् प्रताप पौडेल। उनी ३२ वर्षका भए। प्रतापजस्तै गगनको ‘कोर टिम’मा बसेर दिनरात खटिरहने अन्य सदस्य पनि ४० पुगेका छैनन्। विश्वमाझ तुलना गर्ने हो भने यो उमेर समूहले धेरै प्रगतिका काम गरेको देख्न सकिन्छ। तर, अंकल पुस्तासमेत विद्यार्थी राजनीतिमा भिडिरहने नेपाली समाजमा गगन थापा र उनले छानेको टिम एउटा उदाहरण नै हो।

गगनको समूह जोशजाँगरका दृष्टिले जवान छ। अध्ययन, आइडिया र क्षमताका हिसाबले परिपक्व। जसको परिणाम, स्वास्थ्य क्षेत्रमा सुधार र विकासका उज्याला किरण देखिन थालेका छन्।

कुनै लाभ नलिई गगनको टिममा बसेर स्वयंसेवीका रुपमा यो समूह खट्नुको एउटै कारण हो, गगनप्रतिको विश्वास र देशका लागि केही गर्लान् भन्ने अपेक्षा।

उसो त, आशलाग्दा राजनीतिज्ञ गगनलाई सघाउन चाहने वा भनौँ उनी निकट रहेर काम गर्न चाहनेहरुको कमी छैन। तर, गगनले यिनै युवाको समूहलाई आफ्नो सारथीका रुपमा छानेका छन्।

गगनका आँखामा आफ्ना सपना देख्ने प्रताप


प्रताप पौडेल मन्त्री थापाका प्रमुख सल्लाहकार हुन्। सम्भवतः अहिलेको मन्त्रीहरुका सल्लाहकारमध्ये सबैभन्दा कान्छा। भर्खरै ३२ वर्ष पुगेका प्रताप योग्यता, क्षमता र भिजनका हिसाबले भने परिपक्व लाग्छन्। राजनीति शास्त्रमा ७४ दशमल ५ अंक ल्याएर स्नातकोत्तर गरेका उनी अंग्रेजी साहित्यमा पनि स्नातकोत्तर हुन्। यसैगरी, उनले कानुनमा स्नातक पनि गरेका छन्।

बाग्लुङका यी युवाले गगनलाई भेटेको १५ वर्ष भयो। गगन नेविसंघको महामन्त्री हुँदा प्रताप उनको निकट पुगेका थिए। अध्ययनमा गहिरो रुची भएका प्रतापले गगनलाई त्यतिबेला भेटे, जतिबेला उनलाई पनि राजनीतिको चस्का पसिसकेको थियो। गगनलाई भेटेपछि उनलाई लाग्यो– मेरा सपना र योजनाको नेतृत्व गर्न सक्ने मान्छे यिनै हुन्। यही विश्वासकै कारण प्रतापले गगनका आँखामा आफ्ना सपना देख्दै आएका छन्।

प्रतापले जनआन्दोलनपछि गगनसँगै वौद्धिक बहसमा आफूलाई समाहित गरे। ‘पब्लिक पोलिसी पाठशाला’ भन्ने ‘बहस थलो’ बनाएका प्रतापले गगन सभासद् भएपछि उनले संसदमा बोल्नुपर्ने विषयमा ‘रिसर्च’ गर्ने जिम्मा पाए। कानुनका कक्षामा संविधान पढेका र संघीयतामा थेसिस गरेका उनलाई यसमा रुची पनि थियो।

प्रतापले गगनसँगै मिलेर केही किताबमा सहलेखन पनि गरेका छन्। गगन संसदको कृषि तथा जलस्रोत समितिको सभापति हुँदा त्यहाँ पनि उनी सल्लाहकारकै भूमिकामा थिए।

लोकप्रिय नेता गगनसँग काँधमा काँध मिलाएर हिँडिरहेका प्रताप इच्छाशक्ति भएका राजनीतिज्ञबाट परिवर्तन सम्भव हुने ठान्छन्। भन्छन्, ‘देशमा परिवर्तन जरुरी छ। त्यो परिवर्तनको नेतृत्व गगन थापाले गर्न सक्नु हुन्छ। विभिन्न राजनीतिक मोर्चा र अहिले स्वास्थ्य मन्त्रालयमा उहाँको नेतृत्वले त्यसको संकेत पनि गर्छ। हामीले त उहाँलाई साथ दिने हो। त्यही अनुसार योगदान गर्नुपर्छ भनेरै म उहाँसँग छु। अहिलेसम्म उहाँमाथि मलाई भरोसा छ र उहाँले पनि मलाई विश्वास गर्नुभएको छ।’

गगनलाई परिवर्तनको संवाहक ठान्छन् यादव


कृषि अर्थ विज्ञ यादव पद्वयोती गगन थापाको कोर टिमका अर्का सदस्य हुन्। उनी नेपाल सरकारको उत्कृष्ट कर्मचारीमध्ये पर्छन्। ‘उत्कृष्ट निजामती पुरस्कार–२०७३’ बाट सम्मानित यादव गगनको नेतृत्व क्षमताका कारण २०५७ सालदेखि नै प्रशंसक बनेका थिए।

उनको बुझाइमा नेपाली समाजले परिवर्तन खोजिरहेको छ। जुन परिवर्तनका लागि ‘एजेन्ट’ चाहिन्छ । त्यो एजेन्ट गगन थापा हुन सक्छन् भन्ने उनको गहिरो विश्वास छ। यादव भन्छन्, ‘धेरैले भन्ने गरेका छन्, जो जहाँ छ, त्यहाँ इमान्दार भएर काम गरे परिवर्तन सम्भव छ। तर, चाँडै परिवर्तन गर्नुछ भने जो जहाँ छ त्यहीँ बसेर होइन, आफूले विश्वास गरेको मान्छेसँग बसेर काम गर्नुपर्छ।’

यादव यतिखेर गगनलाई स्वास्थ्य मन्त्रालयमा बजेटिङ, सुशासन, सरकारी नीति कार्यान्वयन र कार्यक्रम निर्माणमा सघाइहेका छन्। थापा कृषि तथा जलस्रोत संसदीय समितिको सभापति हुँदा यादवले नजिकबाट संगत गरेका हुन्। कृषि अर्थ विज्ञका रुपमा त्यो समय उनले थापालाई सघाएका थिए।

यादवले ऊबेलै देखाएको कार्य क्षमताका कारण मन्त्री थापाले अहिले पनि उनीबाट सहयोग लिइरहेका हुन्। यादवले रामपुर क्याम्पसबाट कृषि विषयमा स्तातकोत्तर गरेका छन्।

गगनमा जनताका आशा देख्ने अमित


अमेरिकाबाट पब्लिक हेल्थमा स्नातकोत्तर र केमिकल इन्जिनियरिङमा स्नातक गरेका अमित अर्याल गगनको युवा टिमका अर्का पात्र हुन्। अमेरिकामा १० वर्ष काम गरेर फर्केका अमितले नेपालमा पनि जर्मन सहयोगन नियोग (जिआइजेड), युनिसेफ जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गरिसकेका छन्। उनी यसअघि पनि स्वास्थ्य मन्त्रालयका केही नीति निर्माणमा संलग्न भइसकेका थिए।

काठमाडौँ न्युरोडमा जन्मे–हुर्केका ३९ वर्षे अमितले स्वास्थ्यमन्त्री गगनलाई जनस्वास्थ्य तथा प्राविधिक विषयमा सरसल्लाह दिने काम गर्छन्। देशका लागि केही गर्छु भनेर अमेरिका बसाइ त्यागेका अमित मन्त्री थापामार्फत आफ्ना सपना पूरा गर्दैछन्। उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले औषधि उपचारमा मात्र केन्द्रित हुनु हुँदैन, समग्र स्वास्थ्यका विषयमा काम गर्नुपर्छ भन्ने मेरो पहिलादेखिकै सोचाइ हो। मन्त्री थापाले पनि त्यसैगरी सोच्नु हुँदो रहेछ। हाम्रो सोच मिलेको छ।’

मन्त्री थापाको यही फराकिलो दृष्टिकोणले अमितलाई उनको नजिक ल्याइपुर्‍याएको हो। उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालय बल्ल जनतामाझ पुग्ने बाटोमा छ। यो मन्त्रीज्यूको फराकिलो दृष्टिकोणले सम्भव भएको हो।’

अमित गगनजस्तो जिम्मेवार र इच्छाशक्ति भएको नेतामा जनताका आशा अडिएको बताउँछन्।

अमितले मन्त्री भएपछि मात्र गगनलाई नजिकबाट चिनेका हुन्। त्यसअघि दोस्रो संविधानसभाताका कांग्रेको घोषणापत्र बनाउनका लागि अमितलाई सुदिप पोखरेलले गगनसँग भेटाएका थिए।

अमित सम्झन्छन्, ‘त्यतिबेलै गगनको कार्यशैली देखेर प्रभावित भएको थिएँ। नजिक रहेर काम गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो। उहाँ स्वास्थ्य मन्त्री भएपछि त्यो अवसर जुट्यो। र, मेरो ल्याकतले भ्याएसम्मको सहयोग गरिरहेको छु।’

जुझारु व्यक्तित्वले लोभिएका शालिक


नेपाल सरकारका उप–सचिव सालिकराम दाहाल मन्त्री थापाका निजी सचिव हुन्। यसअघि उनी सामान्य प्रशासन मन्त्रालयमा थिए। अब्बल कर्मचारीमध्ये पर्ने उनलाई अन्य दुई मन्त्रीले पनि निजी सचिवका लागि प्रस्ताव गरेका थिए। तर, उनलाई राजनीतिज्ञसँग जोडिएर काम गर्ने रहर थिएन। अस्वीकार गरिदिए।

जब मन्त्री गगनले निजी सचिव खोजिरहेको शालिकले थाहा पाए, उनी सोच्न वाध्य भए। उनलाई लाग्यो, ‘थापा जुझारु नेता हुन्। स्वास्थ्य क्षेत्रको परिवर्तनका लागि जुध्न सक्छन्। फेरि गगनजस्तो लोकप्रिय नेताको मन्त्रीका रुपमा परीक्षा हुँदै थियो। यो बेला मैले सकेको सहयोग गर्नुपर्छ।’ यही सोचाइकै कारण शालिक मन्त्री थापासँग जोडिन आइपुगे।

काम गर्ने इच्छाशक्ति भएका मान्छेलाई सबैतिरबाट काम गर्ने वातावरण जुटाउन सहयोग गर्नुपर्ने सोचाइ भएका शालिक भन्छन्, ‘राजनीतिज्ञका कारण कर्मचारीले र कर्मचारीका कारण राजनीतिज्ञले काम गर्न पाएनौँ भन्ने आरोप–प्रत्यारोप धेरै सुनिन्छ। तर, गर्न चाहनेका लागि बाटो रोक्ने होइन, खोल्ने मान्छे भेटिन्छ भन्ने मन्त्री थापाले पुष्टि गर्नु भएको छ।’

२१ वर्षको उमेरमा नायब सुब्बाबाट निजामति सेवामा प्रवेश गरेका यी युवासँग सरकारी कामको अनुभव १३ वर्षको छ। जनप्रशासनमा स्नातकोत्तर गरेका शालिक भन्छन्, ‘मन्त्री थापाको निजी सचिव भएर स्वास्थ्यमा काजमा आउनेबाहेक मैले अहिलेसम्म कतै सरुवाका लागि निवेदन दिएको छैन। जहाँ खटाइयो, त्यहीँ काम गर्दै आएको छु।’

कानुनका केस्रा केलाइदिने राजु


स्वास्थ्य मन्त्री गगनलाई कानुनी सल्लाह दिने जिम्मेवारी पाएका छन् अधिवक्त राजु कटुवालले। गगन मन्त्री भएदेखि दैनिक १७ घन्टासम्म खटेर कानुनी उल्झन सुल्झाउने र सल्लाह दिने गरिरहेका छन् उनी।

स्वास्थ्य मन्त्रालयको नीति–नियम बनाउन साथ दिइरहेका राजु आफैँ भने मिर्गाैला रोग पीडित हुन्। मिर्गौला प्रत्यारोपण गराएका ३८ वर्षे राजु आफू जीवनको ‘दोस्रो इनिङ’मा रहेको बताउँछन्।

राजुले गगनलाई २०५९ सालमा भेटेका हुन्। त्यतिबेला गगन राजद्रोहको अभियोगमा जेल परेका थिए। गगनलाई जेलमुक्त गराउन राजुसहितको टिम निकै सक्रिय भएर लागेको थियो।

मन्त्री गगनको अपेक्षा छ, स्वास्थ्य मन्त्रीका रुपमा भविष्यमा जो आए पनि एउटा प्रणाली बसाउन सकियोस्। गगनको ‘सिस्टम’ बसाउने यही अभियानमा अधिवक्ता राजुको लगन, खटाइ र दक्षताले ठूलो योगदान दिएको छ।

कुशल व्यवस्थापकको अनुयायी अनिल


सबैले गगनलाई कुशल राजनीतिज्ञका रुपमा देखेका छन् र देख्न चाहेका छन्। गगनको समूहका सबैभन्दा कान्छा सदस्य अनिल प्रताप अधिकारीले भने उनमा कुशल व्यवस्थापकको क्षमता देखेका छन्। अहिले २५ वर्ष पुगेका अनिलले तीन वर्षअघि मात्र औपचारिक रुपमा भेटेका हुन् गगनलाई।

दोस्रो संविधानसभाको चुनावपछि काठमाडौँ विश्वविद्यालयमै पढ्ने एकजना दाइसँग उनी गगनलाई भेट्न पुगेका थिए। त्यसबेला गगनले सरकारी स्कुलको गुणस्तर उकास्न र काठमाडौँलाई स्वच्छ राख्न के गर्न सकिन्छ भनेर युवा इन्जिनियरसँग मिलेर काम गरिरहेका थिए।

अनिललाई नीति निर्माणका विषयमा त्यस बेलादेखि नै रुचि थियो। उनले धेरै पुस्तक र लेख पढिसकेका थिए। अनिलले आफूले पढेकै भरमा निर्वाचन प्रणाली र शासकीय स्वरुपमा रहेका कमजोरीबारे एउटा अवधारणा बनाएका थिए। गगनलाई भेटेपछि आफ्नो अवधारणा इमेल गरेर पठाइदिए। उनी भन्छन्, ‘मैले त्यो इमेल गरेपछि उहाँले संविधान निर्माणका विषयमा पनि अवधारणा बनाऊ भन्नुभयो। एउटा २२ वर्षको ठिटोलाई त्यत्रो ‘स्पेस’ उहाँ बाहेक कुनै राजनीतिज्ञले दिँदैनथ्यो।’

अनिलले स्वास्थ्य मन्त्रालयबाट पछिल्लो समय जारी र संशोधन भएका हरेक नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

काठमाडौँ विश्वविद्यालयबाट बिबिए सकेका अनिलले गगनलाई सघाउनकै लागि अमेरिकाको हावर्ड विश्वविद्यालयबाट पब्लिक पोलिसी अध्ययन गर्ने अवसरसमेत छाडे।

गगनलाई सघाउने  थप केही अनुहार
स्वास्थ्य मन्त्री थापालाई सहयोग गर्नेहरु अरु पनि छन्। उनको टिममा प्राविधिक सल्लाहकारका रुपमा डा. रामेश कोइराला, सुदीप पोखरेल, गणेश मण्डल र सुशील कोइराला पनि छन्। मन्त्रालयमा सुरेश शर्मा र रामकृष्ण लामिछानेले अतिरिक्त समय खटेर मन्त्री थापालाई काममा सजिलो बनाइदिएका छन्। यस्तै, शैलेश सिटौलाले मन्त्री थापालाई स्वकीय सचिवका रुपमा सघाइरहेका छन्। निजी सचिवालयमा तुलसी भट्टराई र शंकर गौतम छन्। त्यसैगरी, डिल्ली सुवेदी, कृष्ण रिजाल, निमा गिरी, श्याम संगत, युवराज पाण्डे, जीवन भण्डारी, दिनेश सुनार, सविन मुडभरी, शंकर थापा, कुमार लुइँटेलहरु मन्त्री थापाको इन्जिनमा पार्टपुर्जाका रुपमा कार्यरत छन्।

युवा नै रोज्नुको कारणः गगन थापा

युवा हुनु मात्रै योग्यता होइन तर युवा भएकै कारण क्षमतावान् मान्छेले अवसर नपाउनु चाहिँ दुर्भाग्यपूर्ण कुरा हो। हामीकहाँ यस्ता उदाहरण प्रसस्त छन्। हामी जिम्मेवारी लिने कुरा आउना साथ ‘यति भोटो फटाको’ भनेर योग्यता अघि सार्छौं। यसले धेरै ठाउँमा हामीलाई पछाडि तानिरहेको हुन सक्छ। मेरो अनुभवमा, युवामा बितिसकेका कुरामा रमाउने र पश्चाताप गरेर बस्ने बानी हुँदैन। बरु जीवनमा केही नयाँ काम गरौँ भन्ने हुटहुटी हुन्छ।

मसँग केही सरकारी कर्मचारी हुनुहुन्छ। केही स्वयंसेवक साथीहरु हुनुहुन्छ। तीमध्ये कतिपयलाई यहीँ आएर चिनेको हुँ। उहाँहरु ‘तपाईंसँग काम गर्ने इच्छा छ’ भनेर आउनुभयो। जो मान्छे मलाई खोजेर आउँछ र काम गर्ने जाँगर देखाउँछ उसलाई मैले अवसर दिनुपर्छ। त्यस्ता साथीहरुलाई टिममा राख्ने मेरो निर्णय सही थियो भन्ने अहिले लागिरहेको छ।

मेरो समूहका सबैसँग जाँगर छ, जोश छ। त्यो भन्दा ठूलो कुरा, समाजलाई फाइदा पुग्ने केही काम गरौँ र नयाँ कुरा सिकौँ भन्ने भोक छ। त्यसैले गफ कम, काम ज्यादा गर्छन् साथीहरु।

‘ठिकै छ, मन्त्रीज्यूले भनिहाल्नुभयो। प्रतिवाद गरे चित्त दुखाउनुहोला कि’ भनेर कोही हिचकिचाउँदैनन्। साथीहरुले ‘त्यस्तो होइन, यस्तो हो मन्त्रीज्यू’ भनेकै कारण कतिपय कुरामा मेरा दृष्टिकोण बदलिएका छन्। मेरो विचारलाई कसैले चुनौती दिन्छ भने त्यो कुरा मलाई मन पर्छ, किनकि त्यसले गलत हुनबाट जोगाउँछ। पाका मान्छेसँग अनुभव त हुन्छ तर यस्ता कुरामा उनीहरुले चाँडै ‘कम्प्रमाइज’ गरिदिन्छन्। विगतमा मैले सिकेको पाठ पनि हो यो।

मेरा टिमका साथीहरुले व्यक्तिगत लाभको लोभ देखाएका छैनन्। काममा रमाइरहेका छन् र त्यसको नतिजाबाट सन्तुष्टि लिइरहेका छन्।

नयाँ वर्षमा ‘मेरो स्वास्थ्य’ भनेर नसर्ने रोगका लागि एउटा क्याम्पेनिङ सुरु गर्दैछु। मैले यसो गर्नुपर्‍यो भनेर टिमसँग सल्लाह गरेको १५ दिन जति भयो होला। यसबीचमा सबथोक व्यवस्था गरेर काम पूरा गरिसके साथीहरुले। यसरी ‘तँ सोच, हामी पु¥याउँछौं’ भन्ने खालको वातावरण बनाइदिने साथीहरु पाउनु मेरो लागि पनि खुसीको कुरा हो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live