प्रोफाइल

मुटुको भल्ब फेरेका यी खेलकुद सेलिब्रिटी जसले जितेका छन् अन्तर्राष्ट्रिय पदक

स्वास्थ्य खबरपत्रिका

विमललाल श्रेष्ठ, अन्तर्राष्ट्रिय पदक विजेता


स्पोट्र्स भनेपछि सानैदेखि हुरुक्कै हुन्थेँ म । प्लस टु पढ्दा बिहान–बिहान बास्केटबल खेल्थेँ । एक दिन खेल्दाखेल्दै ढलेछु । होसमा आउँदा अस्पतालको बेडमा थिएँ । बिहान केही नखाएकाले कमजोरी भएको हो कि भन्ने सोचेर खाएर मात्र खेल्न थालेँ । फेरि पनि त्यस्तै भयो । त्यसपछि म शिक्षण अस्पताल महाराजगन्जमा जँचाउन गएँ । डाक्टरले राम्रोसँग हेर्दा पनि हेरेनन् । त्यसपछि मरे मरुँला भनेर अस्पताल गइनँ।

शिक्षण अस्पतालको ल्याबमा मेरा साथी काम गर्थे । एक दिन उनले खबर दिए–डा. भगवान् कोइराला विदेशबाट आएका छन् । उनलाई देखाए कसो हुन्छ?  डा. भगवानलाई भेट्दा साक्षात् भगवान भेटेको अनुभव भयो । मेरो त मुटुको भल्ब नै ड्यामेज भइसकेछ । केटाकेटीमा रुघाखोकी समयमै निको भएन भने यस्तो हुँदो रहेछ । उपचारका लागि महिनौँ पालो कुर्नुपथ्र्यो । धन्न डा. भगवान्ले मलाई तत्काल समय मिलाइदिए । २०५८ जेठमा मेरो ओपन हार्ट सर्जरी सफल भयो । त्यसरी मैले नयाँ जीवन पाएँ।

त्यतिखेर मेरो उमेर २१, २२ वर्षको हुँदो हो । डाक्टरले गहु्रँगो भारी उचाल्नु हुँदैन, भर्‍याङ चढ्नु हुँदैन भन्थे मुटुरोगीलाई । म एकदमै दुब्लो पातलो थिएँ । जति खाए पनि ज्यान नलाग्ने । पेटमात्र फुल्ने । ६ महिनाको आरामपछि डा. भगवान्ले भने– ‘लाइट वाकिङ गरे हुन्छ ।’ तर वाकिङमै चित्त बुझाउन म तयार थिइनँ किनभने हृष्टपुष्ट देखिने लोभ थियो मनमा । छिमेकी दाइ राज श्रेष्ठका फिटनेसमा लागेका थिए । उनले सल्लाह दिए– जिम गर ।

सुरुमा त मेरो घरबाट फिटनेसमा जाऊ भन्ने कोही भएनन् । सबैले स्वास्थ्यको चिन्ता गरेर नजाऊ नै भनेका हुन् । अपरेसन गरेको वर्षदिन पनि भएको छैन कहाँ जाने भन्ने बुबालाई फकाएँ मैले । ज्याठास्थित नेपाल व्यायाम मन्दिरमा भर्ना भएँ । प्रकाश गुरुसँगै राजकाजी प्रजापतिले गरेको प्रोत्साहन अझै सम्झिरहेको छु । त्यसरीमैले हल्का व्यायाम गर्दागर्दै २०६० सालतिर मिस्टर हमदर्दको ६० केजी तौल समूहको स्पर्धामा दोस्रा भएँ ।

 
पहिलोचोटि भाग लिएको राष्ट्रिय प्रतियोगितामै दोस्रा हुनु चानेचुने थिएन । डाक्टरले कडा परिश्रम नगर भने पनि जेसुकै होस् गर्छु भनेर फिटनेसमा लगातार लागिरहेँ । डाक्टरको सल्लाह नमानेकाले डर पनि लाग्थ्यो । बेला बेलामा चेकअप गरे पनि डाक्टरकहाँ गएको थिइनँ । अहिले नियमित वारफरिङ खाइरहेछु । यो रगत पातलो हुने औषधि हो । यसका साथै २१ दिन बिराएर पेनिसिलिन सुई लगाउँछु । यसले रुघाखोकी लाग्न दिँदैन । वर्षमा एकचोटि डा. भगवान् कोइरालाकहाँ जान्छु ।

यसबीचमा मैले सिंगापुरमा फिटनेस ट्रेनिङ लिएँ । अहिले सर्टिफाइड ट्रेनरका रूपमा काम गरिरहेको छु । केही समयअघि अर्जुन वर्णवालसँग मिलेर लाजिम्पाट, उत्तरढोकामा फिटनेस स्टुडियो खोलेको छु । बिहान आफ्ना लागि व्यायाम गर्छु । साँझ अरुका लागि सिकाउँछु । व्यायामको समय सधैँ एउटै हुँदैन । गेम हुँदा बिहान १ घन्टा र साँझ १ घन्टा गर्छु भने गेम नहुँदा बिहान १ घन्टा मात्र ।

फिटनेसका लागिखुराकी पनि त्यत्तिकै चाहिन्छ । म दिनमा २५ सय क्यालोरी कार्बोहाइड्रेड खान्छु । प्रोटिन पनि त्यत्तिकै चाहिन्छ । गेम हुँदा २०, २५ वटासम्म अण्डा खाइन्छ भने गेम नहुँदा ५, ७ वटामात्र । म दिनमा ५, ७ चोटि खान्छु । एकैचोटि धेरै होइन, थोरै थोरै खाने बानी छ । मेरो ब्रेक फास्टमा ५ वटा अन्डा, ओटमिल, दूध, चना र केरा हुन्छ । जिममा आएपछि फेरि खान्छु । दिउँसोको खानामा प्रायः चिकेन हुन्छ । दिउँसो एकाध घन्टा सुतेपछि फेरि जिममा आउँछु ।

फिटनेस मेरा लागि रुचि र काम दुवै हो । मेरा कतिपय साथीको रुचि फिटनेसमा छ । तर काम अन्यत्र गर्छन् । मलाई रुचि र काम एउटै हुँदा आनन्द छ । त्यसो त म त्यस्ता हेभिवेट–बडी बिल्डर होइन । तैपनि नेपाल शारीरिक सुगठन तथा फ्निेस संघका महासचिव दिनेश राजभण्डारीले भारतको मुम्बईमा मंसिर१९ देखि २४सम्म हुने छैटौं विश्व शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिटनेस फिजिक्सका लागि मेरो छनोट भएको बताउँदा विश्वासै लागिरहेको थिएन । जम्मा एक महिनाको तयारी थियो । देशका लागि केही न केही गर्नुपर्छ भन्ने थियो मनमा ।

म अहिलेसम्म त्यस्तो प्रतियोगितामा सहभागी भएको थिइनँ । पोज दिने कला पनि युट्युबमै हेरेको हुँ । साँच्ची भनुँ भने मेरो रिहर्सल एकैचाटि स्टेजमा भयो । त्यहीँ विदेशी साथीहरूले चारवटा पोज सिकाए । मेरो त साथी भने पनि कोच भने पनि अर्जुन वर्णवाला मात्र थिए । तैपनि म च्याम्पियनसिपको फिटनेस फिजिक्सअन्तर्गत पुरुषतर्फ १ सय ७० सेन्टिमिटर उचाइ समूहको स्पर्धामा दोस्रो भएछु । आयोजकले नाम सुनाउँदा म आफ्नै ट्याग हेरिरहेको थिएँ । साँँच्चै जितेको हो कि होइन भनेर । रजत पदक हातमा पर्दा पनि विश्वास लागिरहेको थिएन । पत्रपत्रिकामा समाचार देखेपछि बल्ल देशका लागि पदक जितेकोमा गर्व अनुभूति भयो ।

आमाका आँखामा खुसी र आँसु एकसाथ देखेँ ।भाइ, बहिनी र ज्वाइँ पनि औधी खुसी भए । पदक जित्ने त कसैले पनि सोचेका रहेनछन् ।  जीवनमा आफूले नसोचेका कुरा हुँदा रहेछन् । पदक जितेपछि मिडियामा खेलकुद–सेलिब्रिटी मान्न थालिएको छ । नेपालमै ८० हजार रुपियाँ पुरस्कारस्वरूप पाएँ । कताकता लाग्छ, पदक मेरो मुटुले होइन, मनले जितेको हो। भविष्यमा स्वर्ण जित्ने अठोट पनि छ । डा. भगवान् पनि यति ठूलो उपलब्धि हासिल गरेर देखाएकामाखुसी भएका छन् ।

फिजिकल फिटनेस भनेको मानिसको उचाइ र शारीरिक बनोटबीचको आकर्षक तालमेल हो । शरीरको तलदेखि माथिसम्मको आकर्षक बनोट नै यसको मुख्य आधार हो । मेरो ओपन हार्ट सर्जरी गरेको आयोजकलाई थाहै थिएन । त्यस्तो परीक्षण पनि गरिएन । जिउमा कलर लगाइने भएकाले ख्याल पनि गरेनन् । विदेशमा ओपन हार्ट सर्जरी गरेका बडी बिल्डर्स छन् भन्ने सुने पनि भेटेको छैन । सहर होस् या गाउँमा बस्ने दाजुभाइ दिदीबहिनीलाई मेरो सल्लाह के छ भने यत्तिकै हात बाँधेर नबसौँ । दिनहुँ कम्तीमा ४५ मिनेट कार्डियो (वाक, साइक्लिङ र जगिङ) गरौँ । यति गरियो भने स्वास्थ्यमा खासै समस्या आउँदैन।


मुटु स्वस्थ राख्ने ९ सूत्र

रक्तदान : कसले गर्न हुने, कसले नहुने?

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live