मुख्य समाचार

यसकारण दुई घन्टा जिममा बिताउन थालिन् नायिका निता

img

डिबी खड्का

नेपाली फिल्मकी  चर्चित हिरोइन नीता ढुंगानालाई नजिकबाट जान्नेहरुले अनुभूत गरेको हुनुपर्छ, मुस्कान उनको मुख्य गहना हो । सधैं मुस्कुराउन सक्ने क्षमता त्योसँग मात्रै हुन्छ जो स्वस्थ हुन्छ । अनुहारमा सधैं मुस्कानको बिजुली चम्काउन स्वास्थ्यको ख्याल त गर्नैपर्छ। तर, बिचमा उनले अलि हेलचक्र्याइँ गरिन् । खाना बढी रुच्न थाल्यो, मोटाउँदै गइन् । त्यसले तुरुन्तै असर गरिहाल्यो । अल्छीपनले छपक्कै छोप्यो, प्रेसर लो भएजस्तो महशुस भएर दिनभरि ज्यान झुम्म हुन थाल्यो।

त्यसपछि फेरि ज्यानलाई दुःख नदिइ आफूले सुख नपाउने महशुस गरिन् । अचेल उनी दुई घन्टा जिममा बिताउन थालेकी छिन् । उनी भन्छन्, ‘लगभग नियमित छ तर सुटिङले कहिलेकाहिँ सेड्युल तलमाथि पार्न भने सक्छ ।’

उनको पुरानो जीवनशैली पनि स्वास्थ्यका लागि लाभदायक नै थियो । धेरै वर्षसम्म बिहान साढे पाँच बजे उठ्ने, टन्न पानी पिउने र आधा घन्टा नाँच्ने गर्थिन् ।  

उनीसँग तनाव व्यवस्थापन  गर्ने क्षमता छ । जीवन सकेसम्म बिन्दास जिउने प्रयत्न सदा गरिन् ।  ‘म त समस्यासँग न डराउँछु न भाग्छु । समस्या आउँछन् जान्छन् । तनाव लिएर केही हुँदैन,’ नीता भन्छिन् ।

नीताले सुन्दर बन्नका लागि त्यस्तो विशेष केही गरेकी छैनन् । तर, स्वस्थ रहन भने धेरै गरेकी छिन् । खानेकुरामा पाएसम्म चिल्लो, पिरो र अमिलोको मात्रा कम भएको मात्रै खान्छिन् । सुटिङमा जाँदा झोलामा बिस्कुट र चकलेट राख्न भुल्दिनन् । उनी बेला-बेला ‘होल बडी’ चेकअप गराउछिन् । उनी भन्छिन्, ‘आमा दमको बिरामी हुनुहुन्थ्यो, उहाँलाई अस्पताल लैजाँदा आफ्नो पनि चेकअप गराउथेँ । त्यही बानी अहिले पनि छ ।’ 

उनको फिट शरीरको पहिलो राज भनेको चाहिँ डान्स हो । अहिले जिम पनि जरुरी देखिएको छ फिटनेसका लागि ।  उनी दिनको आधा घन्टा असिनपसिन हुने गरी नाँच्छिन् । ‘सानोमा डान्सका स्टेप सिक्ने सोख थियो, अहिले बाध्यता भएको छ’ उनले भनिन् । उनलाई नाच्दा स्वास्थ्यका दृष्टिकोणले मात्र नभई दिमागका लागि पनि फाइदा पुग्छ  । १४ वर्षको उमेरदेखि डान्स शिक्षिका बनेकी उनले नाँच्न कहिले सुरु गरिन् उनैलाई थाहा छैन । उनलाई लाग्छ, ‘निकै सानोदेखि नृत्य गर्न थालेकाले शरिर चुस्त, दुरुस्त बनेको हुनुपर्छ ।’

फिल्म क्षेत्र धेरैका लागि रहर हो । कति रातारात सेलिब्रिटी बन्ने ध्येयले यो क्षेत्रलाई भर्‍याङ बनाउन आइपुग्छन्, कति चाहिँ युवावयको लहडले चम्किलो पर्दामा अनुहार देखाउने भुत सवार भएर । अभिनेत्री नीता ढुंगाना यी दुवैमा पर्दिनन् । उनी जहिलेदेखि बुझ्ने भइन्, त्यतिबेला देखि नै ‘ठूली हिरोइन’ उनको सपना थियो । फिल्म ‘मितिनी’मा बाल कलाकारका रुपमा देखिएर सानै उमेरमा सुरु भएको उनको फिल्म करिअर यतिबेला शिखरोन्मुख छ । थुप्रै अवार्ड हासिल गरेसकेकी उनका थुप्रै फिल्म हिट छन् । 

भर्खरै उनले हिन्दी फिल्म ‘करोडपति’मा पनि अभिनय गरिन् । बलिउड अभिनेता राजपाल यादव समेत मुख्य कलाकार रहेको उक्त फिल्मको केही भाग नेपालमा र केही भारतमा छायांकन हुँदैछ । राजपाल यादव नेपाली पात्र र नीतिा भारतीय पात्रका रुपमा फिल्ममा देखिने बताइएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने