मुख्य समाचार

‘नर्सको लाइसेन्स नवीकरणमा सिपिडी तालिम अनिवार्य गरौँ’

img

पारसविक्रम शाही

काठमाडौँ- गुणस्तरीय नर्सिङ सेवाका लागि निरन्तर सीप विकास तालिम (सिपिडी) आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन्। नेपाल नर्सिङ परिषदको अगुवाइमा भएको एक अनुसन्धानले नेपालमा नर्सिङ सेवाको गुणस्तर बढाउन सिपिडी अनिवार्य लागू गर्नुपर्ने औँल्याएको छ।

नर्सिङ परिषदले नेपाल नर्सिङ संघ, लिभरपुल जोन मोरिस युनिभर्सिटी र बर्नमाउथ युनिभर्सिटी बेलायतको सहयोगमा नेपालको नर्सिङ सेवामा सिपिडीको मह्त्वबारेमा संयुक्त अनुसन्धान गरेको थियो। बिहीबार अनुसन्धानको प्रतिवेदन सार्वजनिक कार्यक्रमा नेपाल नर्सिङ परिषदकी अध्यक्ष चन्द्रकला शर्माले नेपालमा ६० प्रतिशत नर्सलाई सिपिडी तालिमबारे जानकारी नै नभएको बताइन्। उनले नर्सको लाइसेन्स नवीकरण गर्दा सिपिडी तालिम अनिवार्य गर्नुपर्नेमा जोड दिइन्। नर्सको ज्ञान-सीपलाई बढाउन र नर्सिङ सेवाको स्तर बढाउन सिपिडी तालिम अपरिहार्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले अनुसन्धानले निकालेका नतिजाहरुको कार्यान्वयन र सञ्चालनसँगै यसका चुनौतीबारे पनि छलफल आवश्य रहने बताइन्।

अनुसन्धानकर्ता डा. विभा सिम्खडाले सिपिडी तालिमले नर्सहरुको सिप विकासमा सहयोग पुग्ने मात्र नभई यसले आत्माविश्वास पनि बढाउने बताइन्।

अनुसन्धान टोलीमा डा. विभा सिम्खडा, डा. पदम सिम्खडा, डा. सियन मास्के, रोज खत्री, चन्द्रकला शर्मा, डा. सुजन मरहट्ठा र बर्नमाउथ युनिभर्सिटी बेलायतका प्रो. एडविन भान तेजलिङ्गने लगायत सहभागी थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live