Collapse
Expand

मुख्य समाचार

डाक्टरका लागि नयाँ आचारसंहिता (पूर्ण विवरण)

img

प्रवीण ढकाल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले डाक्टरले पालना गर्नुपर्ने नयाँ आचारसंहिता तयार पारेको छ। काउन्सिलले पुरानो अचारसंहितालाई संशोधन गरेको हो। काउन्सिलको पूर्ण बैठकले पारित गरी स्वास्थ्य मन्त्रालय पठाएकोसंशोधित आचारसंहिता स्वास्थ्यमन्त्रीले स्वीकृत गरेपछि लागू हुनेछ।

आचारसंहितामा डाक्टरले गर्न हुने र नहुने कामको विवरण उल्लेख छ। काउन्सिलले चिकित्सा पेशालाई व्यवस्थित र मर्यादित बनाउन नयाँ अचारसंहिता बनाएको हो। डाक्टरको संख्या वृद्धिसँगै चिकित्सा पेशामा पनि लापरबाही र विकृति बढेको पाइएपछि काउन्सिलले समयअनुसार यसलाई परिमार्जन गरेको काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माले जानकारी दिए।

अचारसंहिता अनुसार डाक्टरहरुले कुनै पनि औषधि कम्पनी, प्रयोगशाला, उपकरण सप्लायर्स लगायतका व्यावसायीसँग कमिसन तथा व्यावसायिक लाभ लिन पाउनले छैनन्। यदि, कुनै डाक्टरले यस्तो काम गरेको पाइएमा काउन्सिलले डाक्टरलाई निलम्वन गर्नेदेखि लाइसेन्स खारेज गर्नेसम्मको कारबाही गर्नेछ।

आचारसंहितामा औषधिको प्रेस्किप्सन लेख्दा बुझिने गरी अंग्रेजी ठूला अक्षरमा लेख्नुपर्ने, बिरामीलाई पर्याप्त समय दिनुपर्ने, अनावश्य औषधि लेख्न नहुनेजस्ता बुँदा समेटिएका छन्। यस्तै, डाक्टरलाई अस्पताल तथा कार्यस्थलमा मादकपदार्थ, धूमपान वा लागूऔषध सेवन गर्न पुर्णरुपमा प्रतिबन्ध लगाइएको छ। ‘मादक पदार्थ र लागूऔषध सेवन गरेर त्यसको प्रभाव रहुन्जेल निजले बिरामीलाई भेटघाट गर्नु हुँदैन,’ नयाँ आचारसंहितामा भनिएको छ।

आचारसंहिताले डाक्टरले सेवा प्रवाहका क्रममा निम्न २१ गल्ती गरेमा सजाय हुने व्यवस्था राखेको छ।
१. सहमति नलिएमा,

२. मेडिकल अभिलेख व्यवस्था नगरेमा,

३. गोपनीयता भंग गरेमा,

४. चिकित्सक र विरामीबीचको सम्बन्ध अनुपयुक्त ढंगबाट विच्छेद गरेमा,

५. अन्य चिकित्सा व्यवसायीको विपरित कार्य गरेमा,

६. औषधि व्यवसायी वा मेडिकल औजारसँग सम्बन्धित कम्पनीसँग आर्थिक लेनदेन गरी व्यक्तिगत फाइदा प्राप्त गरेमा,

७. बिरामीलाई अनुचित ढंगबाट सूचना प्रवाह नगरेमा,

८. काममा रहेको समयमा लागूपदार्थ सेवा गरेमा,

९. बिरामीसँग अधिक शुल्क लिएमा,

१०. गैरकानुनी, अनाधिकृत तथा अयोग्य व्यक्तिसँग काम गरेमा,

११. बिरामीलाई अनुसन्धान र औषधि उपकरण लगायतमा कमिसन लिएमा,

१२. आफ्नो प्राइभेट कार्यको सम्बन्धमा बिरामीलाई नर्सिङ होममा बोलाएर उपचार गरेरगराएमा,

१३. व्यवसाय सञ्चालन गर्न सक्षम नहुँदै सञ्चालन गरेमा,

१४. आफ्नो क्षमताबाहिर गई व्यवसाय सञ्चालन गरेमा,

१५. बिरामी, बिरामीको परिवार, आफन्त, आफू अन्तर्गतका सहकर्मी, स्टाफहरुसँग अनैतिक व्यक्तिगत सम्बन्ध राखेमा,

१६. सर्वसाधारणमा अनुपयुक्त सूचना प्रवाह गरेमा,

१७. अनुपयुक्त औषधिको प्रेस्क्रिप्सन गरेमा,

१८. सक्षम नहुँदै पनि वैकल्पिक र सहयोगी थप व्यवसाय गरेमा,

१९. गैरकानुनी प्रमाणपत्र जारी गरेमा,

२०. बिरामीलाई सरकारी अस्पतालबाट निजी वा क्लिनिक वा नर्सिङ होममा जान दवाव दिने वा वाध्य पारेमा,

२१. चिकित्सकलाई आफू अध्ययन गर्ने भन्दा अन्य स्थानमा गएर सेवा गर्न प्रोत्साहन गरेमा।

यस्तो हुनेछ कारबाही

१. मेडिकल काउन्सिलले आफूलाई प्राप्त कानुनी अधिकारको प्रयोग गरेर पीडित नागरिकलाई उपचार वा क्षतिपूर्ति प्रदान गर्ने मात्र नभएर चिकित्सा लापरबाही, चिकित्सा क्षेत्रमा गरिने गैरकानुनी कार्य लगायत अन्य पेशागत रुपमा हुने खराब आचरणबाट सर्वसाधारण र बिरामीलाई संरक्षण प्रदान गर्नेछ। चिकित्सा पेशाको आचार, दक्षता र सम्मानसहित सर्वसाधरणको विश्वास जित्नका लागि पेशागत आचरणको उच्चस्तरलाई कायम गर्नुपर्दछ।

२. चिकित्सा सम्बन्धी आचारसंहिता उल्लंघनको गम्भिरताका आधारमा, चिकित्सकलाई सावधानीका लागि सूचना दिने, सचेत गराउने, कामका लागि परीक्षणकालमा राख्ने ९स्वतन्त्र रुपमा काम गर्न अनुमति नदिने, सुपरीवेक्षणमा मात्र काम गर्न पाउनेगरी तोकिदिने०, निलम्वन गर्ने तथा काउन्सिलको दर्ताबाट स्थायी रुपमा नाम हटाउनेसम्मको सजाय गर्ने अधिकार काउन्सिललाई हुनेछ। निलम्वन तथा काउन्सिलको दर्ताबाट स्थायी रुपमा नाम हटाउने सजाय गर्दा राष्ट्रियस्तरको पत्रिका र काउन्सिलको वेभसाइटमा प्रकाशित गर्नुपर्छ।

चिकित्सा व्यवसाय गर्न अयोग्य

१. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भएको व्यक्तिको दर्ता स्वतः खारेज हुने भई त्यस्तो व्यक्ति चिकित्सा पेशाका लागि योग्य मानिने छैन।
९. खासगरी व्यवसायप्रति बेइमानी गर्ने अपराध ९जस्तैस छलछाम गरी रकम वा चिजबस्तु लिने, किर्ते जालसाजी र चोरी गर्ने आदि०, अनुचित व्यवहार वा उल्लंघनलाई गम्भीर रुपमा लिइन्छ। चिकित्सकको स्वस्थतामा असर गर्ने खालका अभ्यासहरु (जस्तैः मादकपदार्थ वा लागूऔषध सम्बन्धी अपराध) पनि काउन्सिलको विशेष चासोका रुपमा रहेको हुन्छ।

यस्तो छ आचारसंहिताको पूर्ण पाठ

नेपाल मेडिकल काउन्सील अन्तर्गतका चिकित्सकहरुको आचार संहिता, २०७३

डाक्टर तथा चिकित्सा व्यवसायीको मुख्य लक्ष्य नै मानवताको सेवा हो भन्ने भावनाले गर्दा नै यो पेशालाई उच्च र सम्मानीत पेशाको रुपमा हेरिने हुदा यस पेशालाई चिकित्सक स्वयंले नै यसको उच्च सम्मान गर्ने वातावरण कायम राख्नको लागि व्यवस्ताथालाई विकसित र व्यवस्थित बनाउन लागि नेपाल मेडिकल काउन्सिल ऐन २०२०को दफा ७क को उपदफा (१) को खण्ड (ङ)ले दिएको अधिकार प्रयोग गरी नेपाल मेडिकल काउन्सिलले यो आचारसंहिता बनाएको छ ।

. संक्षिप्त नाम र प्रारम्भः (१) यो आचार संहिताको नाम “नेपाल मेडिकल काउन्सील अन्तर्गतका चिकित्सकहरुको आचार सहिता, २०७३” हुनेछ ।

(२) यो आचार संहिता स्वास्थ्य मन्त्रालयबाट प्रमाणित भएको मिति देखि लागु हुनेछ ।

. परिभाषाः विषय र प्रसंगले अर्को अर्थ नलागेमा यस आचार संहितामा,—

     (क) “मेडिकल काउन्सील” भन्नाले नेपाल मेडिकल काउन्सील सम्झनुपर्छ ।

(ख) “चिकित्सा व्यवसायी” भन्नाले मेडिकल काउन्सीलमा दर्ता भएका चिकित्सा व्यवसायी सम्झनुपर्छ।

(ग) “गैर व्यवसायीक आचारण”भन्नाले व्यवसायिक प्रतिष्ठा र क्षमतामा आँच आउने कार्यलाई सम्झनुपर्छ ।

     (घ) “पुलिङ्ग”भन्नाले स्त्रीलिगंलाई समेत सम्झनुपर्छ ।

     (ङ) एक वचनले वहुवचनलाई समेत जनाउँछ ।

. मेडिकल आचारसंहिता सम्बन्धी सामान्य सिद्धान्त:

(१) कुनै पनि चिकित्सा व्यवसायीले वैज्ञानिक उपचारको क्रममा पूर्ण रुपमा क्षमता प्रदर्शन गर्नको लागि देहाय बमोजिमको हुनुपर्नेछ:—

(क) राम्रो नैतिक चरित्र भएको ,
(ख) विरामीको हेरचाह लगनशील भएर गर्ने,
(ग) सचेतना अपनाउने÷चेतनावान
(घ) भद्र, धीर,
(ङ) सीघ्र र छिटो छरितो कार्य सम्पादन गर्ने।

(२) मेडिकल आचार संहिताका आधारहरु:

आफूले प्रदान गर्ने चिकित्सा सेवाका सम्बन्धमा नैतिकता आधारभूत विषयको पालना गर्नु पर्ने सबै चिकित्सा व्यवसायीले देहाय बमोजिमका आधारभूत सिद्धान्तहकलाई आफ्नो व्यवसायको क्रममा अनुशरण गर्नुपर्नेछ :–

(क) स्वतन्त्रताको सिद्धान्त : बिरामीको आत्मसम्मानको अधिकारकाये कदर र सम्मान गर्नुपर्ने,

(ख) लाभको सिद्धान्त : विरामीले चाहेको अनुरुपको उपचार÷लाभ प्रदान गर्ने विधि अवलम्बन गर्ने ,

(ग) गैरहानिकारक सिद्धान्त : विरामीलाई उपचारको क्रममा हानी नोम्सानी नहुने गरी उपचार गर्ने,

(घ) न्यायको सिद्धान्त : चिकित्सकले उपलब्ध भए समान रुपले सहिप्रयोग गरी उपचार गर्नुपर्ने ,

(३) चिकित्सा ब्यवसायको उत्तरदायित्व:

चिकित्सा व्यवसायीको मुख्य लक्ष्य नै मानवताको सेवा गर्नु भएकोले चिकित्सा प्रणाली अपनाएर विरामीको स्वास्थ्य उपचार गर्नुपर्छ । चिकित्सा व्यवस्थायीले प्रमाणित औषधीमा आधारित भएर आफ्ना सहपाठीलाई समेत प्रोत्साहित गरेर कार्य गर्नुपर्नेछ।

(४) असुचित विज्ञापनः नेपाल मेडिकल काउन्सीलले चिकित्सा व्यवसायीलाई अनैतिक र असान्दर्भिक सुचना तथा सेवालाई मान्यता दिदैन। चिकित्सकले प्रदान गर्ने: नैतिक सुचना र सेवाले सेवागा्रही(विरामी)लाई सेवाको छनौटमा सघाउ पुर्याउने विश्वास गर्दछ। त्यसैलेप्रत्येक चिकित्सकबाट परिषदले देहाय बमोजिमका सुचनाको सार्वजनिक गर्नुपर्ने अपेक्षा राख्दछ :–

(क) चिकित्सा व्यवसायमा प्रवेश गरेको मिति

(ख) व्यवसायको प्रकृति

(ग) ठेगाना परिवर्तन भएमा सोको सुचना

(घ) स्थायी वा अस्थायी रुपमा व्यवसाय छाडेमा सुचना

(ङ) अर्को व्यवसाय शुरु गरेमा सोको जानकारी

(च) पूनः व्यवसाय प्रवेश गरेमा सोको विवरण सहितको जानकारी ।

  तर आफ्नो विज्ञापन आफै गर्ने कुरालाई असल अभ्यासको रुपमा ग्रहण गरिने छैन। आफ्रनो व्यवसाय गर्दा कुनै प्रकारको कमिशन वा अन्य कुनै लाभ लिन पाइने छैन।

४. चिकित्सकको कर्तब्यः

(क) बिरामी प्रतिको कर्तव्य

 चिकित्सकले आकस्मिक अवस्थाका विरामी बाहेक निजसँग उपचारको लागि आउने हरेक विरामीको उपचार गर्न बाध्य हुदैन तर चिकित्सा पेशाको सम्मान र निष्ठालाई कायम राख्नको लागि विरामी र घाइतेवाट आएको अनुरोधको जवाफ दिन तयार हुनुपर्दछ ।

(ख) सुचित सहमती सम्बन्धी कर्तव्य :

   (१) सुचित सहमतीचिकित्सक र विरामीको सम्बन्धको लागिनैतिक र कानुनीरुपमा मुल कोसेढुङ्गा हो ।

   (२) सुचित सहमती वैध हुनको लागि, विरामीलाई निजको रोगको प्रकृति, उपलब्ध उपचारको विकल्पका फाईदा वेफाईदा, त्यसको विकल्पहरु तथा त्यसको परिणाम र समस्याको बारेमा प्रयाप्त जानकारी दिनुपर्छ, ताकी यस्तो जानकारीले विरामीहरुलाई उनीहरुको आत्म-निर्णयको अधिकारको प्रयोग गर्न उचित विकल्पको छनोट गरी उपचारको आफ्नो उपचारको वारेमा उचित निर्णयगर्न सक्षम बनाउँछ । यस्तो सुचित सहमतिलाई उपचारमा लागेको चिकित्सकले लिखितरुपमा अभिलेख राख्नुपर्दछ । विरामीलाई अस्पतालमा भर्ना गर्दाको समयमा लिइएको सामान्य जानकारीसहितको सहमतिले रोगको निदान र उपचारको सबै प्रकृयालाई सम्बोधन गर्न सहयोग पुर्याउदैन ।प्रत्येक छुट्छुट्टै जाँचको कार्यविधी तथा उपचार शुरुगर्नु भन्दा पहिला सुचित सहमति लिनुपर्दछ ।

देहायको अवस्थाहरुमा उपचारको विकल्पहरुका वारेमा सुचित सहमति र निर्णय लिनको लागि विरामीको परिवार\मुख्य रेखदेख गर्ने ब्यक्तिसँग छलफल गर्नु पर्नेछ :–

  • यदि विरामी १६ वर्ष भन्दा कम उमेरको नावालक रहेछ भने निजको बाबु-आमा वा अविभाबक वा कानुनी अविभाबकसँग सुचित सहमति लिनु पर्दछ ।
  • यदि विरामी मानसिक रोगी वा कुनै किसिमको मानसिक दुर्वलता भएको रहेछ भने, विरामीलाई, निजको मान प्रतिष्टा र उपचारको लक्षको वारेमा जानकारी भएको नजिकको हकवालासँगबाट सुचित सहमित लिनुपर्छ ।

आकस्मिक अवस्थामा सुचित सहमति लिन आवस्यक पर्दैन । आचार संहिता (Code of Ethics)ले विरामीको जिवनरक्षाको लागि सहमतिको अभावमा पनि उपचार गर्नको लागि अनुमति दिएको छ । त्यसरी उपचार गर्दा आकस्मिकताको प्रकृति, आकस्मिक उपचार गर्नुपर्ने आवस्यकता र औचित्यता तथा सुचित सहमति लिन नसक्नुको कारण समेत विरामीको विवरण तालिका (Patient Chart)मा प्रष्टरुपमा खुलाउनु पर्छ । आकस्मिकताको सन्दर्भमा समयमानै भन्नाले उपचारमा ढिलाई भएमा सोको परिणाम स्वरुप विरामी रुग्ण हुने वा मृत्यु हुनसक्ने भन्ने कुरालाई जनाउँछ ।

मानसिकरुपमा सबल भएको विरामीलाई उपचारको लागि सहमति दिन अस्विकार गर्ने अधिकार हुन्छ तर निजले स्वतन्त्ररुपमा आफ्नो निर्णय लिने अधिकार प्रयोग गर्न सक्षम हुनुपर्छ । तथापी, भोक हडतालको अवस्थामा यदि अनसनमा वस्ने ब्यक्ति अचेत भयो वा भोकाएको कारण निजको मनोविज्ञानमा परिवर्तन भई उसको स्वतन्त्ररुपमा निर्णय गर्ने क्षमतामा ह्रास आएको रहेछ भने त्यस्तो ब्यक्तिको जिवनरक्षाको लागि चिकित्सकले हस्तक्षेपगरी निजको सहमति नलिइकन नै उपचार गर्न सक्छ ।

भोक हड्ताल गर्ने ब्यक्तिको उपचार वर्ल्ड मेडिकल एशोसिएशनको भोक हड्तालगर्ने ब्यक्तिहरु सम्बन्धी घोषणापत्र बमोजिम गर्नुपर्छ ।

अब्यक्त सहमतिको सम्बन्धमा, विरामीको व्यवहारवाट स्वस्थ्य परिक्षण गर्न चाहेको भन्ने देखिएमा जस्तो; विरामी चिकित्सकको कोठामा गएको छ भने, लिखित सहमति नलिन पनि सकिन्छ । तथापी, यसको अर्थ चिकित्सकले विरामीको रोग र उपचारको थप अनुक्रम वा मोडहरुको बारेमा उल्लेख गर्नु नपर्ने भन्ने होइन । चिकित्सकले उपचारको लागि जति संख्यामा विरामीहरु स्वास्थ्य उपचारको लागि प्रतिक्षा गरिरहेको भएतापनि विरामीलाई उनीहरुको रोग, उपचारसँग सम्बन्धित प्रशासनिक प्रकृया, औषधीको प्रतिकुल प्रभाव, तोकिदिएको औषधीको निरोधक लक्षण र पुनःजाँचको लागि कहिले आउने जस्ता कुराहरुको वारेमा विरामीलाई जानकारी दिनुपर्दछ ।

विरामीको गोप्य अंगको जाँच गर्दा निजको स्याहार सुसार गर्ने नजिकको अविभावकको उपस्थितिमा मात्र गर्नु पर्नेछ । यदि विरामीले निजको नजिकको नातेदार विनानै स्वास्थ्य परिक्षण गर्नको लागि अनुरोध गरेमा स्वास्थ्य परिक्षणको विवरणमा निजको अनुरोध समेतलाई अभिलेख गर्नुपर्नेछ।

३. मादकपदार्थ र लागुऔषधः

चिकित्सकलाई कार्यस्थलमा मादकपदार्थ, धुम्रपान वा लागुऔषध सेवनगर्न पुर्णरुपमा प्रतिबन्ध लगाइएको छ । मादक पदार्थ र लागुऔषध सेवन गरेर त्यसको प्रभाव रहुन्जेल निजले विरामीलाई भेटघाट गर्नु हुँदैन ।

४.  कानुनी चिकित्सा सम्बन्धी विषयः

कानुनी-चिकित्सा सँग सम्बन्धित विषयहरु जस्तै; यौन अपराधको पिडित वा अभियुक्त, शारिरिक चोटपटक, लासजाँच, पोस्टमार्टम, उमेरको जाँच, आदि जस्ता कुराहरुको परिक्षण गर्ने काम सम्बन्धित विषयमा तालिमप्राप्त र विज्ञवाट मात्रै गराउनु पर्छ ।

५. विरामी\विरामीको परिवारसँग उचित कुराकानीः

विरामी र चिकित्सक विचको अविश्वास र द्वन्दलाई हटाउनको लागि विरामीलाई निजहरुको पिडा वा सिकायतलाई निसंकोचरुपमा ब्यक्त गर्न अनुमति दिनुपर्छ । यदि चिकित्सक र विरामी विचमा कुनै द्वन्द उत्पन्न भएमा चिकित्सकले त्यस्तो द्वन्दको कारण बुझ्ने प्रयास गर्नुपर्नेछ र विरामी\विरामीको परिवारसँग राम्ररी कुराकानी गरेर त्यस्तो द्वन्दको इमान्दारी तथा बफादारीका साथ समाधान गर्ने प्रयास गर्नुपर्छ ।

६. विरामी तथा विरामीको परिवारको सदस्यसँग ब्यक्तिगत सम्बन्धः

चिकित्सकले विरामी वा विरामीको परिवारको सदस्य वा नातेदारसँग चिकित्सक विरामीको सम्बन्ध कायम रहँदासम्म कुनै पनि भावनात्मक वा यौन सम्बन्ध कायम गर्नु हुदैन ।

अन्य चिकित्सकबाट विरामीको उपचार गर्दा विरामीको हित हुने भई अर्को चिकित्सकलाई शिफारिस गरिएको अवस्थामा बाहेक, कुनै पनि चिकित्सकले विरामीको उपचारलाई निरन्तरता दिन अस्विकार गर्ने र चिकित्सक विरामीको सम्बन्धलाई अन्त्यगर्ने कामगर्नु हुदैन । तथापी, चिकित्सकले निम्न अवस्थामा चिकित्सक विरामीको सम्बन्धलाई अन्त्य गर्न सक्नेछ ।

(क) चिकित्सक र विरामी विचमा विश्वास नरहेमा,
(ख) यदि उपचार चिकित्सकको दक्षता भन्दा वाहिर भएमा वा उपचार गरिरहेको चिकित्सकको उपचार वेकार भएको महसुस भएमा,
(ग) सेवा शुल्क बुझाउन अस्विकार गरेमा,
(घ) शिफारिस गरिएको उपचारको पालना नगरेमा,
(ङ) अनावस्यक औषधी शिफारिस गर्नको लागि अनुचित दवाव दिएमा,
(च) आफ्नो स्वार्थको लागि अनैतिक कार्यगर्न दवाब दिएमा,
(छ) चिकित्सक सन्तोषजनक नभएमा वा अयोग्य भएमा।

यदि चिकित्सकले विरामीसँग चिकित्सक-विरामीको सम्बन्धलाई तोड्ने निर्णय गरेमा, निजले विरामीलाई सके सम्म छिटो सो कुराको जानकारी दिनुपर्छ। निजले सम्बन्ध तोड्नुपर्ने कारण समेत उल्लेख गर्नु पर्छ र विरामीलाई अर्को चिकित्सकलाई शिफारिस गर्ने प्रस्ताव गर्नुपर्छ, जससँग त्यस्तो उपचारगर्ने दक्षता हुनुका साथै निजले सो विरामीलाई स्वास्थ्य उपचारको जिम्मेवारी लिन मञ्जुर गरेको हुनुपर्छ ।

(७) चिकित्सा अभिलेखः

चिकित्सकले विरामीसँग निजको रोग सम्बन्धी पुरानो इतिहास, शारिरिक परिक्षणबाट पत्ता लगाएको निष्कर्ष, अनुसन्धान, उपचार र ब्यक्तिगत तथा सरकारी पहलबाट उपचारमा भएको प्रगतीको वारेमा चिकित्सा अभिलेख राख्ने वा राख्न लगाउनु पर्दछ । यस्तो अभिलेख हातले लेखेको, प्रिन्ट गरेको वा विद्युतिय माध्यमबाट तयार गरेको हुनसक्छ । विशेष चिकित्सा अभिलेखलाई अडियो वा भिडियोको फर्ममा पनि सुरक्षित राख्न सकिन्छ ।

  • चिकित्सकले आफुले परिक्षण गरेको विरामीको चिकित्सा अभिलेखलाई सो विरामीसँग भएको अन्तिम भेटको कम्तिमा ५ वर्षसम्म राख्नुपर्दछ ।
  • चिकित्सकले विरामीको अनुरोध, न्यायिक निकायको आदेश वा नेपाल मेडिकल काउन्सिलको आदेस वा अन्य आधिकारिक निकायको आदेश भएमा त्यस्तो चिकित्सा अभिलेख उपलब्ध गराउन सक्नुपर्दछ ।

(८) विरामीको गोपनीयताः

चिकित्सकले विरामीको उपचारको क्रममा प्राप्त भएका हरेक जानकारी वा सुचनाहरु गोप्यरुपमा राख्नुपर्दछ र त्यस्ता जानकारीको गोपतानियतालाई कायम राख्नुपर्दछ । त्यस्तो गोप्यतालाई ठुलो मात्रमा सार्वजनिक हितको संरक्षणगर्न, विरामीलाई वा अन्य व्यक्तिलाई गम्भिर हानी हुनबाट बचाउनकोलागि अनिवार्यरुपमा प्रकट गर्नुपर्ने भएमा वा कानुन बमोजिम त्यसलाई प्रकट गर्नुपर्ने भएमा वाहेक विरामीको पुर्व सहमति नलिइकिन त्यस्तो जानकारी तेस्रो पक्ष समक्ष प्रकट गर्नुहुदैन ।

(९) झुट्ठा वा भ्रामक समाचारफैलाउनेः

चिकित्सकले सञ्चार माध्यम वा निजको विरामीमार्फत कुनै जानकारी सार्वजनिकरुपमा सम्प्रेषण गर्दा सत्य र वास्तविकताको सिद्धान्तमा आधारित भएर मात्र सम्प्रेषण गर्नु पर्छ । त्यस्तो सुचना वा जानकारी विरामीलाई आर्थिक शोषणगर्ने, चिकित्सा तथा स्वस्थ्य सँग सम्बन्धित वस्तु तथा सेवाको ब्यापारिकरुपमा प्रवर्धन गर्ने र अन्य चिकित्सकहरुलाई बदनाम गर्ने वा होच्याउने उदेस्यले प्रेरित भई बढाइचढाई गर्ने वा भ्रमित पार्ने खालको हुनुहुदैन ।

(१०) विरामीको विश्वासको दुरुपयोगः

चिकित्सकले विरामीले निजप्रति गरेको विश्वासको अनुचित फाइदा उठाई विरामीको उपचार खर्चमा अनावस्यक वृद्धि हुने गरी औषधी वा स्वास्थको लागि लाभदायक हुने बस्तुको प्रवर्धन र विक्रिगर्नु हुँदैन ।

विरामी वा विरामीको परिवारलाई, निजलाई ज्ञान नभएको आधारमा शोषणगरी कुनै विशेष तरिकाको उपचार प्रविधी अपनाउन वा कुनै अनुसन्धान परियोजनामा सहभागी हुनको लागि अनावस्यक रुपमा दबाव दिन वा जबरजस्त गर्ने प्रयास गर्नु हुदैन । निजले विरामीलाई रोग निको हुने ग्यारेण्टी गर्ने वा रोग निको नभए पैसा तिर्नु नपर्ने जस्ता कुनै करार गर्नु हुदैन ।

(११) उपचारखर्चको वारेमा जानकारीः

  • विरामीहरुलाई उपचारको शुरुवात गर्न भन्दा पहिला परामर्श, रोगको निदान र प्रकृयागत ब्यवस्थाको लागि विरामीले बुझाउनुपर्ने सालाखाला शुल्कको वारेमा जानकारी दिनुपर्छ । उपचारको प्रकृया समाप्त हुने बेलासम्म उपचारको लागि लाग्ने खर्चको वारेमा जानकारी नदिनु आचार-संहिता विपरित हुन्छ । चिकित्सकको कार्यकक्षमा उपचार वापत बुझाउनु पर्ने खर्चको वारेमा सुचना प्रकाशित गर्नुपर्छ ।
  • सेवावापतको शुल्क भुक्तानी गर्न नसक्ने विरामीहरुका लागि चिकित्सकले निशुल्क शैयाको लागि अनुरोध गर्नुका साथै उपलब्ध भएमा परोपकारी दानको लागि भनेर सहयोगको लागि अनुरोध गर्ने प्रयासगर्न सक्नेछ ।

(१२) धर्मको सम्मानः

चिकित्सकले सेवा प्रदानगर्दा सम्पुर्ण धार्मिक आस्था गर्नेहरुमाथी मानवीय आधारमा सम्मान गर्नुपर्छ । विरामीको धार्मिक विश्वासलाई सधैं सम्मान गर्नुपर्दछ ।

(१३) मृत्युको मुखमा रहेको विरामीको हेरचाहः

  • मृत्यु सन्निकट भएको अवस्थामा चिकित्सकले विरामी सम्मानसाथ मर्ने र सकेसम्म कम पिडा बेहोरेर मर्ने कुराको सुनिस्चितता गर्नुपर्छ ।
  • इथानेसिया वा निको नहुने र पिडादायी रोगलागेको विरामीलाई पिडा नदिनेगरी मार्ने कार्यलाई नेपालमा बैधानिकता प्रदान गरिएको छैन र तसर्थ चिकित्सकले त्यस्तो अभ्यास गर्नुहुदैन । तर मर्न लागेको विरामीको लागि वेहोसहुने औषधी (Sedatives) वा नशालुपदार्थ(Narcotics) सेवन गर्न दिनुलाई ईथानेसिया मानिदैन तर चिकित्सकले त्यसरी पिडा नहुनेगरीगरीने उपचार (Palliative Care)गर्नुपर्छ र सो को अभिलेख राख्नुपर्दछ ।
  • मृत्युको मुखमा रहेको विरामीको लागि “बेहोसवाट होसमा नल्याउने (Do Not Resuscitate or DNR)” भन्नुको अर्थ निजलाई उपचार नगर्नु भन्ने होइन। अचानक हृदयाघात हुँदाको अवस्थामा Cardio Pulmonary Resuscitation (CPR) गर्न अस्विकार गर्दा यस्को संकेत देखिन्छ । तसर्थ यस्तो अवस्थामा CPR वाहेकका अन्य आवस्यक उपचारलाई निरन्तरता दिनुपर्छ ।
  • मृत्यको मुखमा रहेको रथप उपचार वेकार हुने कुराको सुनिस्चितता भएको विरामी; जस्तो भेन्टिलेटरको सहयोगमा आई.सी.यु.मा भर्न गरेकोसन्चोनहुने निस्चित भएको विरामी, को हकमा, चिकित्सकले विरामीको हितलाई ध्यानमा राखी निजलाई बचाइराख्नका लागी प्रयोग गरिरहेका उपकरणहरु हटाउनको लागि विरामीको परिवारसँग छलफल गर्नुपर्दछ ।

चिकित्सा पेशाप्रतिः

(१) पेशाको सम्मानः
चिकित्सकले आफ्नो पेशागत कार्यसम्पादन गरी रहँदा निजको कृयाकलापवाट उच्चस्तरमा चिकित्सा पेशाको मर्यादा र सम्मानलाई कायम गर्नेगरी गर्नुपर्छ ।

(२) चिकित्सा सम्बन्धी संगठनको सदस्यताः

आफ्नो वृत्ति विकासको लागि चिकित्सकलाई चिकित्सासँग सम्बन्धित संगठनहरुमा संगठीत हुन र त्यस्ता संगठनहरुमा सक्रियतापुर्वक सहभागीहुनको लागि प्रोत्साहन गरिन्छ । चिकित्सकको त्यस्तो संगठनमा सम्पर्कगर्दा पेशालाई माथी उठाउन र पेशागत उन्नती र प्रगतीकोलागि विकास भएका नयाँ प्रविधी तथा प्रणालीहरु प्रति परिचित वा अद्यावधी हुनुका साथै चिकित्सा क्षेत्रको प्रगतीका लागी एक अर्कालाई सहयोग आदानप्रदान गर्ने गरी सामुहिक प्रयासगर्न सक्नेछन भन्ने विश्वास गरिन्छ ।

(३) चिकित्सा पेशाको सुरक्षाः
चिकित्सकले आफुलाई अधिकार नभएको काम गर्ने, अयोग्य वा चिकित्सकको रुपमा दर्ता नभएका ब्यक्तिहरुलाई विरामीको रोग निदान र उपचारको काममा लगाउने जस्ता कुनैपनि काम गर्नुहुदैन । दर्ता नभएका चिकित्सकबाट गैरकानुनीरुपमा चिकित्सा पेशा सञ्चालन गरेको वा गैरकानुनी रुपमा विरामीको उपचार गरेको वारेमा जानकारी भएमा सम्बन्धित अधिकारी समक्ष सो कुराको जानकारी गराउने कर्तब्य दर्ता भएका चिकित्सकको रहेको छ ।

(४) अनैतिक आचरणको जानकारी

चिकित्सकले असक्षम, भ्रष्ट र बेइमान सदस्य र उनीहरुको अनैतिक आचरणको वारेमा कुनै डर नमानीकन नेपाल मेडिकल काउन्सीलमा जानकारी गराउनु पर्दछ ।

(५) पेशागर्नको लागि सक्षम वा योग्यः

हरेक चिकित्सक उचित मात्रामा शारिरिक तथा मानसिकरुपमा स्वस्थ रहेको हुनुपर्छ भन्ने अपेक्षा गरिएको हुन्छ ।एच.आइ.भी., हिपाटाइटिस बी र सी तथा क्षयरोग, फ्लु लगायत अन्य महामारी पूर्ण तथा गम्भिर प्रकृतिका सरुवा रोगवाट ग्रसित भएको चिकित्सकले निजलाई लागेको त्यस्तो रोग निजको विरामीहरु तथा सहकर्मिहरुलाई सर्नबाट रोक्न आवस्यक उपाय अवलम्वन गर्नुपर्दछ र विरामीको जाँच र उपचारको लागि उत्काल माग गर्नुका साथै सम्बन्धित अधिकारीलाई सो कुराको जनाकारी दिनुपर्दछ ।

यदि कुनै चिकित्सकले अर्को चिकित्सकले आफुलाई कुनै गम्भिर किसिमको सरुवा रोग लागेको छ भन्ने कुराको जानकारी हुँदाहुँदै आफ्नो कामलाई निरन्तर रुपमा अगाडी बढाइरहेको छ भन्ने कुराको जानकारी पाएमा, निजले गरेको त्यस्तो आचार संहिता विपरितको अनैतिक कार्यको वारेमा नेपाल मेडिकल काउन्सिलमा जानकारी दिनुपर्छ ।

तथापी, सरुवा रोगबाट पिडित भएको चिकित्सकको कर्मचारीको हैसियतमा प्राप्तहुने ओहोदा तथा अधिकारको सुरक्षा गर्नुपर्छ र निजलाई कामगर्नबाट रोक्ने वा त्यसलाई परिवर्तनगर्ने कुरा सम्बन्धित विषयका आधारमा निर्धारण गरिन्छ ।

कमजोर मानसिक अवस्था भएको वा मानसिक रोगकोविरामीः

मानसिक असन्तुलन वा पदार्थको (जस्तोः मादकपदार्थ र अन्य मनोदिपक पदार्थहरु) दुरुपयोग को परिणामस्वरुप कुनै चिकित्सकको मानसिक अवस्था दुर्वल भएको छ भने, निजले विरामीलाई जाँच गर्ने तथा उपाचार गर्ने गर्नुहुँदैन र निजले आफ्नो उपचारको लागि तत्काल माग गर्नुपर्दछ । यस्तो अवस्थामा, निजको अन्तर्दृष्टि तथा निर्णयले निजको आफ्नै दक्षतामा असर गर्ने भई विरामीको कल्याणमा गम्भिर खतरा उत्पन्न गर्न सक्ने भएको हुनाले निजलाई विरामीको जाँच गर्ने तथा उपचार गर्नेकामवाट रोक्नुपर्छ । यदि कुनै चिकित्सकले आफ्नो कुनै सहकर्मि मानसिकरुपमा कमजोर भएको जानकारी पाएमा, निजलाई परामर्श दिईयथासक्य छिटो उपचार गर्नेतर्फ लाग्न प्रोत्साहन गर्नुपर्दछ र विरामीको उपचार नगर्न सल्लाह दिनुपर्छ । तथापी, मानसिकरुपमा कमजोर भएको चिकित्सकले निजको सहकर्मिको राय सल्लाहलाई बेवास्ता गरेमा, त्यस्तो कुराको जानकारी पाउने हरेक चिकित्सकले विरामीहरुलाई कुनै हानी नहुने गरी त्यस्तो चिकितस्कको वारेमा सम्बन्धित अधिकारीसमक्ष जनाकारी गराउनु पर्दछ ।

(६) स्वास्थ्य शिक्षा सम्बन्धी क्रियाकलापः

  • चिकित्सकहरु स्वास्थ्य\चिकित्सासँग सम्बन्धित शैक्षिक क्रियाकलापहरुमा सहभागि हुन उपयुक्त हुन्छ । तथापी, चिकित्सकले निजको पेशा ब्यवसायलाई प्रवर्धनगर्न वा विरामीहरुलाई सोको वारेमा प्रचारप्रसारगर्ने उदेस्यले त्यस्तो कृयाकलापलाई प्रयोग गर्नु हुदैन । यसरी प्रदान गरिएको कुनै जानकारीलाई बस्तुगतरुपमा प्रमाणित गर्न सकिने हुनुपर्छ र त्यसका सकारात्मक कुराहरुलाई बढाइ चढाई गर्ने वा त्यसका अर्थ पूर्ण नकारात्मक कुराहरुलाई लुकाउने जस्तो कार्य नगरी, सम्बन्धित विषयलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुपर्दछ ।
  • चिकित्सकले स्रोताहरुलाई निजले कुनै कुरा प्रकाशन वा प्रशारणगरेको विषयले, चाहे त्यसको विषयबस्तुवाट होस वा निजको प्रस्तुतिकरणको माध्यमवाट होस, निज वा निज संलग्न भएको कुनै संस्थासँग परामर्श लिने वा उपचारगर्ने काममा प्रत्साहनगर्नेगरी प्रभाव पार्ने खालको कुनै कार्य नहुने भन्ने कुराको प्रत्याभुति गर्न आवस्यक कदम चाल्नु पर्छ । चिकित्सकले स्वास्थ्य सँग सम्बन्धित कुनै पनि सामानहरु सम्बन्धित वस्तु तथा सेवाको व्यापारिक प्रवर्धनको लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रयोग गरिने छैन भन्ने कुराको प्रत्याभुति गर्न उपयुक्त कदम चाल्नु पर्दछ ।
  • सर्वसाधारणलाई दिइने जानकारी आधिकारिक, उपयुक्त र सामान्य अभ्यासमा आधारित भएको हुनुपर्छ ।यस्तो जानकारी तथ्यपरक, प्रष्ट र सरल भाषामा राखिएको हुनुपर्छ । यसले अनावस्यक सार्वजनिक चासो बढाउने वा ब्यक्तिगत तनाब सृजनागर्ने वा अवास्तविक अपेक्षालाई बढाउने काम गर्नु हुदैन । चिकित्सकले यदि यो कुरा सत्य होइन भने, निज वा निज संलग्न भएको संस्था अनुपम वा स्वास्थ समस्या समाधान गर्नको लागि विशेष शिप भएको भन्ने खालको प्रभाव वा छाप दिनुहुदैन । सम्बन्धित चिकित्सकको अधिक ब्यवसायिक स्वार्थहरु बढाउने वा उपचारको लागि विरामीलाई आकर्षण गर्ने हिसाबले कुनैपनि चिकित्सक प्रस्तुत हुनुहुदैन ।

(७) विशेषज्ञ उपाधी

  • विसेषज्ञको रुपमा दर्ता भएका चिकित्सकहरुमात्र विशेषज्ञको रुपमा मान्यता प्राप्त गर्ने भएको हुनाले उनीहरुले मात्र ‘विशेषज्ञ’ उपाधी लेख्न पाउछन । विशेषज्ञकोरुपमा दर्ता नभएका चिकित्सकहरुले विशेषज्ञको उपाधी लेखि विशेषज्ञ भएको भनि दावी गर्न पाउदैनन ।
  • विशेषक्ष नभएकालाई विशेषज्ञले गर्ने गरी तोकिएको काम गर्न र सो बमोजिम प्रचारगर्न पाउदैनन । तर सामुदायिक तहमा सामान्य खालको स्वास्थ्य सम्बन्धि हेरचाह वा जिवनरक्षाको लागि उपचार वा सरकारले अधिकार प्रत्यायोजन गरे बमोजिमको काम गर्ने कर्तब्य हरेक चिकित्सकको हुनेछ।
  • कुनै पनि चिकित्सकले निजको विशेषज्ञता भन्दा वाहिर गएर उपचारको काम गर्न हुदैन ।
  • यदि कुनै विशेषज्ञता वा विशेषज्ञ चिकित्सकको तालिमको वारेमा कुनै शंका उत्पन्न भएमा, त्यस्तो विशेषज्ञताको प्रस्नको वारेमा मेडिकल काउन्सिलको Ethical Committeeले निर्णय गर्दछ । जसमा सम्बन्धित विषयमा योग्यता भएका ब्यक्तिहरुको समुह र सम्बन्धित पेशागत समाजका ब्यक्तिहरु संलग्न रहेका हुन्छन । सो समितिले त्यसवारेमा निर्णय गर्दछ र उपयुक्त कारवाहीको सम्बन्धमा अन्तिम निर्णय गर्दछ ।
  • आवासीय सेवा मा रहेको कुनै चिकित्सक फेलोसिप (MD, MS, DM, MCh),ब्यक्तिगत पेशा वा आफ्नो प्राथमिक कार्यक्रम नभएको कुनै अर्कै अस्पतालमा संलग्न हुनु भनेको आचरण विपरितको गम्भिर काम हो र यस्तो काममा संलग्न भएमा त्यस्तो चिकित्सक अनुशासनको कारवाहीको भागिदार हुन्छ ।
  • कुनै चिकित्सकले विशेषज्ञता तालिम प्राप्त गरेको र सो सम्बन्धी शैक्षिक योग्यता पुरा गरेको छ तर मेडिकल काउन्सिलले लिने विशेषज्ञ परिक्षामा उतिर्ण भएकोछैन भने निजले विशेषज्ञकोरुपमा काम गर्न पाउदैन ।

(८) पुरक\वैकल्पिक उपचारका तौर तरिकाहरुः

पुरक वा वैकल्पिक उपचारको लागि आवस्यक पर्ने छुट्टै तालिम प्राप्त गरेको चिकित्सकले मात्र त्यस्तो विधी वा तरिका प्रयोग गरी उपचार प्रदान गर्न अनुमति प्राप्त गर्दछ ।

 (९) अंग प्रत्यारोपण र अंगदानः

चिकित्सकले अंग प्रत्यारोपणको कामगर्दा अंग प्रत्यरोपण सम्बन्धी सिद्धान्त तथा मानब अंग प्रत्यारोपण ऐन, २०५५ र मानब अंग प्रत्यारोपण नियमावली २०७३ को अनुसरण गर्नुपर्नेछ ।

(१०) बैज्ञानिकरुपमा प्रदान गरिएको प्रजनन, गर्भपतन र सोसँग सम्बन्धित प्रविधीः

  • मानबको प्रजनन सम्बन्धी प्रविधीको प्रयोग गर्ने वा मानव भ्रुण सम्बन्धमा अनुसन्धान गर्ने चिकित्सकले World Medical Association on Assisted Reproductive Technologyद्वारा सम्वन्धित कामको लागि जारी गरिएको निर्देशिकालाई पालना गरेको कुराको प्रत्याभुती गर्नुपर्छ ।
  • गर्भपतन सम्बन्धी काम गर्ने चिकित्सकले अनिवार्यरुपमा मुलुकी ऐन (एघारौं संशोधन सहित) र सुरक्षित गर्भ पतन सम्बन्धी प्रोटोकलको पालना गर्नुपर्छ ।
  • बच्चाको जन्म भन्दा पहिला गरिने स्याहार सुसारको एक भागको रुपमा जन्मजात सामान्य गुण, आनुबंशिक तथा बंशानुगत विकारको वारेमा जान्नजन्मन पुर्व जाँच (parental screening) गर्न सकिन्छ । तर गर्भवती महिलालाई त्यस्तो जन्मन पुर्व जाँच (parental screening) गर्न अस्विकार गर्ने अधिकार रहन्छ ।
  • जन्मन पुर्वगरिने जाँच सम्बन्धी कार्य भ्रुण सम्बन्धी रोग पत्ता गाउने र त्यसको सुनिस्चित गर्ने प्रयोजनको लागि गरिन्छ । चिकित्सकले त्यस्तो शिफारिस गर्ने कार्यविधि उचित र सुरक्षित हुन्छ र विश्वासीलो परिणाम प्रदान गरिन्छ भन्नेकुराको सुनिस्चितता गर्नुपर्छ । निजले त्यस्तो कार्यको जोखिम र फाइदाको वारेमा सन्तुलन मिलाई गर्भवती महिलालाई सोही बमोजिम सल्लाह दिनुपर्छ । त्यस्तो कार्य उचित तालिम प्राप्त विशेषज्ञबाट गर्नुपर्छ र गर्भवती महिलासँग सुचीत सहमती लिएर मात्र गर्नुपर्छ ।
  • आमा तथा गर्भमा रहेको शिसु दुबैको सुरक्षालाई ध्यान दिएर जन्मपुर्व परिक्षण सम्बन्धी काम गर्नु पर्दछ ।
  • सामाजिक तथा सांस्कृतिक कारण लगायत जुनसुकै अवस्थाका लिङ्ग पहिचान गरी गर्वपतन गर्नु यस आचारसंहिताको उल्लङ्घन हुनुका साथै यो प्रचलित नेपाल कानुन बमोजिम गम्भीर दण्डनीय अपराध हो ।त्यसैले आमाको स्वास्थ्यमा गम्भीर खतरामापर्ने अवस्था र पर्चालित नेपाल कानुन बमोजिम बाहेकलिङ्ग पहिचान गर्नु गराउन हुदैन ।

पेशागत सहकर्मि तथा उनीहरुको परिवार प्रतिः

  (१) अन्य चिकित्सकहरु प्रति गरिने तिरस्कार वा निन्दाः

प्रत्यक्ष रुपमा वा ब्यवहारबाट जे सुकै भएता पनि अन्य चिकित्सकको ब्यवसायिक दक्षता तथा मर्यादा तथा विश्वासमा आँच आउनेगरी अनाधिकृत गालीगलौज गर्ने वा झुट्ठा टिप्पणी गर्नु चिकित्सकको लागि आचारसंहिता विपरितको अनैतिक कार्य मानिन्छ । तथापी, यदि चिकित्सकलाई निजको सहकर्मिको ब्यवसायिक अभ्यासको वारेमा निजको विचार बुझ्नको लागी आधिकारिक निकायबाट बोलाइएको अबस्थामा भने निजले दिने इमान्दार टिप्पणीलाई पुर्णरुपमा स्विकार गरिन्छ ।तर त्यसलाई सतर्कताका साथ स्विकार गरिन्छ र यसको औचित्य पुष्टिगर्न सकिने गरी असल नियतले विरामीको हितको लागी लक्षित गरिएको हुनुपर्छ ।

 (२) सहकर्मी तथा निजको परिवारका सदस्यसँग शुल्कलिने सम्बन्धमाः

ब्यवसायिक सेवा प्रदान गर्दा चिकित्सकले अन्य चिकित्सक वा निजको नजिकको परिवारको सदस्यसँग सेवा शुल्क नलिने कुरालाई अनिवार्य गरिएको छैन । तर ब्यवसायिक सहकर्मि तथा निजका नजिकका परिवारका सदस्यहरुलाईसकेसम्म निशुल्क सेवा प्रदान गर्नु निजको खुशी र विशेषाधिकारको रुपमा लिनुपर्छ ।

(३) भित्रि-पेशागत अनुचित सम्बन्धः

चिकित्सकले निजको पेशागत ओहोदालाई कुनै अनैतिक फाइदा लिन र शोषण गर्ने प्रयोजनको लागि अन्य स्वास्थ्य ब्यवसायी, सहकर्मि वा विद्यार्थी लाई कुनै दवाव दिनुहुदैन ।

परामर्श प्रदान गर्ने बिषय सँग सम्बन्धित :

उपचारमा संलग्न चिकित्सकले आवस्यकता अनुसारदोस्रो सहकर्मिसँग राय सल्लाह लिन हिचकिचाउनु हुदैन । परामर्सको समयमा, चिकित्सकले प्रतिद्वन्दिता, डाह वा झुठो कुरा गर्नु हुदैन । निजले उपचारमा संलग्न चिकित्सकलाई सम्मानपुर्वक ब्यवहार गर्नुपर्छ र निज र विरामी विचमा विश्वास क्षिण हुनेगरी कुनैपनि खालको टिप्पणी गर्नु हुदैन । त्यसका साथै, परामर्श प्रदान गर्ने चिकित्सकले त्यस्तो मामलामा आँफुले हस्तक्षेपगरी लिनुहुदैन तर उपचारमा संलग्न चिकित्सक सँग विरामीको हितलाई ध्यानमा राखेर उपचारको पद्धतीमा वारेमा छलफल भने गर्न हुन्छ ।

 परामर्श वा निदानको लागि अन्य जाँच गर्नेकाम विवेक पूर्ण तरिकाबाट गर्नुपर्दछ र त्यस्तोकामलाई नियमित प्रकृयाकोरुपमा मात्र हेर्नु हुदैन ।

  विरामी\विरामीको परिवारलाई साथ दिइरहेका चिकित्सकलाई विरामीको उपचारमा संलग्न चिकित्सक सँग विरामीको समस्याको वारेमा छलफल गर्न अनुमति दिनुपर्छ र निजले उपचारको तौर तरिका वा अवस्थाको वारेमा छलपल गर्नसक्छ तर निजले उपचारमा संलग्न चिकित्सकलाई उपचारको कोर्समा परिवर्तन गर्नको लागि सम्झाउन भने सक्दैन ।

समाज प्रतिः

  चिकित्सकहरुले असल नागरिक तथा विशेष तालिम प्राप्त गरेको ब्यक्ति भएको नाताले स्वास्थ्यको वारेमा सल्लाह दिने र सार्वजनिक स्वास्थ्यको विषयमा सूचना वा जानकारी दिने गर्नुपर्छ । निजले देशको सरसफाई तथा सार्वजनिक स्वास्थसँग सम्बन्धित नियम कानुनलाई लागु गर्न र मानब हितको संरक्षण गर्नको लागि गरिने काममा सहभागी हुनुपर्छ ।

     चिकित्सकले सर्वसाधारणलाई सचेत गराई वा जानकारीमा आएको रोगकोवारेमा स्वास्थ्य अधिकारीलाई जानकारी गराई, महामारी तथा सरुवा रोगको रोकथामको लागी उपयुक्त उपाय अवलम्बन गरी सार्वजनिक स्वास्थ्यको संरक्षण र प्रवर्धनको लागि योगदान गर्नुपर्दछ ।महामारी रोगको चिकित्सकले निज स्वयं लाई पनि माहामारी सरुवा रोग सर्नसक्छ भन्ने डर मानेर आफ्नो कर्तब्यलाई बेवास्ता गर्नु हुनुहुदैन ।

     चिकित्सकले फार्मेसी तथा नर्सिङ जस्ता पारामेडिकल सेवालाइ पेशाको रुपमा स्विकार गरी त्यस्तो पेशालाई प्रवर्धन गर्नुका साथै आवस्यकता अनुसार उनीहरुको सेवा वा सहयोग समेत लिनुपर्दछ ।

औषधीको प्रेस्क्रिप्सन दिँदाः

(१)उचित औषधीको प्रेस्क्रिप्सन र आँफुले दिएको औषधीको लेवलः

  • हरेक चिकित्सकले यदि विरामीको हितको लागि औषधी सेवन गर्न आवस्यक छ भन्ने भएमा मात्र औषधी खानको लागि शिफारिस गर्नुपर्छ । सरल भाषामा विरामी तथा विरामीको परिवारले बुझ्नेगरी चिकित्सकले औषधीको मात्रा, खाने समय तथा उपचार गर्ने अवधी समेत राम्रो सँग विवेचना गर्नुपर्दछ । त्यसैगरी औषधीको सम्भावित नकारात्मक असर तथा पुनः भेट गर्न आउनुपर्ने भए सो समेतको जानकारी दिनुपर्छ । प्रेस्क्रिप्सन ठुला अक्षरमा वा छापेर वा सम्पुर्णरुपमा बुझिनेगरी हातले लेखेर दिनुपर्ने कुरा पनि अति महत्वपुर्ण हुन्छ ।

चिकित्सकले निजको नाम तथा मेडिकल काउन्सिलमा दर्ता भएको दर्ता नम्वर समेत बुझिनेगरी प्रेस्क्रिप्सनमा राख्नु पर्छ । प्रेस्क्रिप्सनमा नाम तथा मेडिकल काउन्सिलमा दर्ता भएको दर्ता नम्वर नराख्नु ब्यवसायिक आचरण विपरित हुन्छ ।

  • चिकित्सकले अर्को चिकित्सकले शिफारिस गरेको औषधी दिनको लागि फार्मेशीमा जानु हुदैन ।
  • चिकित्सकले, जसले आफ्नो विरामीलाई आफैले शिफारिस गरेको औषधी वितरण गरेको छ भने, त्यस्तो औषधी निजले दिएको प्रेस्कृप्सन बमोजिम कै औषधी कडाइका साथ वितरण गर्ने र औषधी हस्तान्तरण गर्दा लेवल भएको मात्र औषधी वितरण गर्ने जिम्मेवारी निजको हुन्छ ।चिकित्सकले औषधी रितपुर्वक लेवल लगाइएको र सोही औषधी वितरण गरिने कुराको सुनिस्चितता गर्ने प्रावधानलाई स्थापित गर्नुपर्दछ ।
  • औषधीको शिफारिस गर्दा सकेसम्म बुझिने सरल नाम दिनु पर्छ ।

(२) निर्धारित समयमा औषधी दिनेः

  • चिकित्सकले विरामीलाई तोकिएको समयमा औषधी दिनुपर्ने कुराको जानकारी सहित निर्देशिका अनुसार सहि रुपमा प्रेस्कृप्सनमा उल्लेख गर्नुपर्नेछ।
  • चिकित्सकले विल्कुलै किटान गरिएको अबस्थामा वाहेक औषधी प्रति ब्यसन वा लत हुनेगरी वा सो प्रति आसक्त हुन सक्ने गरी औषधी सेवन गर्नको लागि दिनु हुदैन ।

(३) फिजिसियनको नमुना औषधीः

     चिकित्सकले विरामीको हितको लागि बिक्रि नगर्नेगरी फिजिसियनको नमुना औषधी औषधी कम्पनीसँग लिन सक्छन ।

(क) अनुचीत आर्थिक कारोवारः

  • चिकित्सकले कुनै ब्यक्ति वा संस्था (फर्मासुटिकल, मेडिकल सम्बन्धी सामाग्री उत्पादन, रोग निदान गर्ने प्रयोगशालाहरु, अस्पतालहरु, नर्सिङ होमहरु, स्वास्थ्य केन्द्रहरु, सृङ्गार केन्द्रहरु वा त्यस्तै प्रकारका संस्थाहरु लगायत) सँगआर्थिक तथा अन्य प्रलोभनपरी शिफारिस गरेको विरामीलाई परामर्शको लागि, चाँचको लागि वा उपचारको लागि (निशुल्क वा अनुदानमा परामर्श प्रदानगर्ने स्थान वा सचिवालयको सहयोग) लिने वा दिने काम गर्नेछैनन ।
  • यदि चिकित्सकको कुनै ब्यापारिक संस्था (स्वास्थ्य सेवा प्रदान गर्ने संस्था वा फर्मासुटिकल वा बायोमेडिकल कम्पनी समेत) वा बस्तु सँग कुनै स्वार्थ रहेकोछ भने निजले त्यस्तो स्वार्थबाट प्रभावित भएर कुनै उपचार गर्ने वा विरामीलाई शिफारिस गर्ने काम गर्नुहुदैन ।
  • सम्मेलन वा अन्य प्राज्ञीक क्रियाकलापको लागि ब्यक्तिगतरुपमा नभइ कुनै उपयुक्त च्यानल मार्फत प्रायोजन गर्नुपर्छ र त्यस्तो प्रायोजन(फर्म्यासुटिकल कम्पनीहरु, चिकित्सा सामाग्री उत्पादकहरुवाट गरिने) को अन्तिम लक्ष विरामीको हितमा निर्देशित हुनुपर्दछ ।त्यस्तो समर्थन सम्बन्धित सम्पुर्ण कुराको संस्था\विभाग समक्ष प्रकट गर्नुपर्दछ । तथापी, सो सम्बन्धमा स्पष्टिकरण माग गर्ने अधिकार काउन्सिलमा निहित रहेको छ र यदि काउन्सिलले माग गरेको वा काउन्सिललाई आवस्यकपरेको अवस्थामा सम्बन्धित सम्पुर्ण कागजातहरु उपलब्ध गराउनु चिकित्सकको कर्तब्य हुनेछ ।
  • चिकित्सकले फर्मासुटिकल वा अन्य कम्पनीहरुसँग कुनै पनि बहानामा निजको ब्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि ब्यक्तिगत हैसियतमा आर्थिक वा अन्य उपहार स्विकार गर्नु हुदैन ।
  • चिकित्सकहरुले मेडिकल उपकरणहरुको लागि रोक लगाइएका र विरामीको हितको लागि योगदान गर्ने किताबहरु उपहारको रुपमा स्विकार गर्न सक्नेछ ।
  • प्रत्येक अस्पतालको IEC र\वा NHRCलाई पुर्व जानकारी गराएर र स्विकृती लिएर चिकित्सासँग सम्बन्धित अनुसन्धान गर्नको लागि आर्थिक सहायता वा अनुदान लिन सकिन्छ ।

(ख) नयाँ चिकित्सा उपचार र कार्यविधी सम्बन्धमाः

  • सार्वजनिक संस्था वा निजि क्षेत्रमा काम गर्ने चिकित्सकले उपयुक्त वातावरणमा उपयुक्त विरामीको लागि विवेकसम्वत तरिकाबाट नयाँ उपचार पद्धती लागु गर्न सक्नेछ । रोगको निदान तथा उपचारको लागि नविन विचार, स्विकृतप्राप्त नयाँ उपकरणहरु प्रयोगगर्न प्रोत्साहन गर्नुपर्दछ । तथापी, चिकित्सकले नयाँ परिवर्तनले विरामीलाई लाभ प्रदानगरेको छ र उनीहरुको मानब अधिकार र मर्यादामा कुनै सम्झौता गरिएको छैन भन्ने कुरामा सतर्कता अपनाउनु पर्दछ ।

उपचारको कुनै नयाँ पद्धती, सिप र नविन विषयलाई लागु गर्नुभन्दा पहिला चिकित्सक सो विषयका सम्बन्धमा पुर्णरुपमा प्रशिक्षित हुनुपर्छ । निजले विरामीलाई प्रयोग गर्न लागिएको पद्धती नयाँ भएको र त्यसको जोखिम र फाइदाको वारेमा पुर्णरुपमा जानकारी हासिल गरी नसकिएको भन्ने कुराको जानकारी दिनुपर्छ ।

(ग) क्लिनिकल अनुसन्धान (Clinical Research):
•    असल क्लिनिकल अनुसन्धानको अभ्यासमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निर्देशिकामा समावेस गरिएका असल क्लिनिकल अभ्यासका सिद्धान्तहरुलाई अनुशरण गर्नुपर्दछ ।
•    क्लिनिकल अनुसन्धानको शंकास्पद वा कपटपुर्ण अभ्यास पेशागत आचरण विपरित हुन्छ ।

५. आचारसंहिताको उल्लङ्घनः

निम्न उल्लेखित तरिकावाट काम गर्ने बाहेक विज्ञापनगर्नु आचारसंहिताको उल्लङ्घन हुन्छ ।

सार्वजनिक वा निजिक्षेत्रमा कामगर्ने चिकित्सकले निजले प्रदानगर्ने पेशागत सेवाको वारेमा सर्वसाधारणलाई जानकारी गराउन निम्न माध्यमहरु प्रयोगगर्न सक्छन ।

(क) सुचनापाटीको व्यवस्थापन :

सर्वसाधारणलाई चिकित्सकको पेशा सञ्चालनगर्ने स्थानको वारेमा जानकारी गराउनको लागि निजले प्रयोग गर्ने कुनै संकेत र सुचना सुचनापाटीमा समावेश गर्नेः

समुहमा पेशा सञ्चालन गर्ने चिकित्सकहरुले ब्यक्तिगत सुचनापाटी वा संयुक्त सुचनापाटी राख्न सक्दछन । ब्यक्तिगतरुपमा वा संयुक्त रुपमा सुचनापाटी राख्दा अनुसूची ख मा तोकिएको शर्तवन्देजहरुलाई पालना गर्नुपर्छ । सुचनापाटीलाई सजाउनु हुदैन ।सूचनापाटीमा उल्लेख भएको विषयलाई पढ्नको लागी चाहिने हदसम्म प्रकाश दिन अनुमति दिन सकिन्छ । रङ्गिन रुपमा झिलमिल गर्नेखालको प्रकाश दिने बत्ति वाल्न अनुमति दिइने छैन ।

सुचनापाटी र भिजिटिङ कार्डमा निम्न जानकारी मात्र राख्न पाइनेछ ।

  • डा. उपसर्ग सहितको चिकित्सकको नाम र कुनै प्राज्ञिक ओहदा,
  • पेशाको नाम,
  • काउन्सिलले स्विकृत प्रदान गरेको छोटकरीरुपमा उधृत गरिएको योग्यता,
  • काउन्सिलले स्विकृत प्रदान गरेको विशेषज्ञ उपाधी,
  • नेपाल मेडिकल काउन्सिलको दर्ता नम्वर,
  • चिकित्सक संलग्न रहेको स्वास्थ्य संस्थाको नाम र लोगो,
  • परामसर्श प्रदान गर्ने समय,
  • भवनमा कामगर्ने स्थानलाई संकेत गर्ने चिन्ह,
  • चिकित्सकले कुनै खाले ब्यापार वा सेवाको प्रबर्धन गर्ने काममा प्रयोग भएको सूचनापाटीमा निजको नाम देखाउन दिनहुदैन । निजले आफ्नो सूचनापाटीलाई अरुको सूचनापाटीमा जोडेर राख्न दिनुहुदैन ।

(ख) आमसञ्चारमा प्रचार

आफ्नो पेशाको शुरुवात वा पेशागत स्थितीमा परिवर्तन (जस्तो; ठेगाना, साझेदारी आदिमा परिवर्तन) भएको कुराको उद्घोष गर्न अनुमति हुन्छ तर त्यस्तो पेशाको शुरुवात वा पेशागत स्थितीमा परिवर्तन भएको कुराको आम सञ्चारमा उद्घोष गर्ने काम चार हप्तामा सम्पन्न गर्नुपर्दछ ।

(ग) वेभसाइटमा प्रकाशनः

  • चिकित्सकले आफ्नो पेशागत सेवाको जानकारी गराउनको लागि निजको आफ्नो एकल वेभसाइट वा चिकित्सकहरुको समुहको वेभसाइटमा प्रकाशन गर्न सक्छ ।
  • वेभसाइटमा चिकित्सकले नेपाल मेडिकल काउन्सिलले अनुमति प्रदान गरे बमोजिमको निजको सेवाको वारेमा प्रकाशन गरी जानकारी गराउन सक्छ ।
  • चिकित्सकले आचारसंहिता विपरित विरामीलाई आकर्षण गर्ने वा आफ्नो कामलाई बढाइचढाई गर्ने गरी निजको मेडिकल कृयाकलापहरुको वारेमा सामाजिक सञ्जालहरु (फेसबुक जस्ता)मा प्रकाशन गर्न हुदैन ।

(घ) अवान्छित भेटघाट वा टेलिफोन गर्ननहुने :

चिकित्सकहरुको आफ्नो सेवालाई अवान्छितरुपमा भेटघाट, टेलिफोन, फ्याक्स, ई-मेल वा लिफ्लेट, वा आफ्नो पक्षमा कामगर्ने ब्यक्तिहरुको प्रयोग गरेर प्रवर्धन गर्ने काम गर्नुहुदैन ।

(ङ) अयोग्य ब्यक्तिहरुसँग सहकार्य गरेर पेशा सञ्चालन गर्ननहुने :

विरामीलाई उपचार सेवा प्रदान गर्नेकाममा चिकित्सकले योग्यता नभएको ब्यक्तिसँग सहकार्य गरेर काम गर्न हुदैन । यदि चिकित्सकले कुनै योग्यता नभएको ब्यक्तिले गैरकानुनीरुपमा चिकित्सा पेशा सञ्चालन गरेको छ भन्ने जानकारी प्राप्त गरेमा त्यस्तो ब्यक्तिलाइ कारवाही गर्ने प्रयोजनको लागि नेपाल मेडिकल काउन्सीलमा जानकारी दिनुपर्छ । यस्तो जानकारी दिने चिकित्सकको वैयाक्तिक सुरक्षाको लागि त्यस्तो जानकारी दिएको भन्ने कुरा काउन्सिलले गोप्य राख्नेछ ।

  • चिकित्सकले कुनै अयोग्य\दर्ता नभएको स्वास्थ्य ब्यवसायीलाई योग्य स्वास्थ्य ब्यवसायी भनेर अनुभवको प्रमाणपत्र जारीगर्नु पेशागत आचार-संहिताको विपरित हुनेछ ।

(च) झुट्ठा वा भ्रामक प्रमाणपत्र वा त्यस्तो किसिमको कागजात तयार गर्न नहुने:

  • चिकित्सकले विभिन्न प्रयोजन (जस्तै; विमाको दावी गर्ने फाराम, भुक्तानी भर्पाई, मेडिकल रिपोर्ट, खोपको प्रमाणपत्र, विरामी विदाको प्रमाणपत्र) को लागि प्रमाणपत्र वा रिपोर्ट प्रदान गर्दा वास्तविक तथ्यमा आधारित भएर मात्र गर्नुपर्दछ ।
  • चिकित्सकले प्रमाणपत्र वा त्यस्तै प्रकृतिको कागजात जारी गर्दा सतर्कता साथ दिनेछन भन्ने अपेक्षा गरिएको हुन्छ । निजले आफुले जाँचगर्न कदम नचालेको कुराको ब्यहोरा समेत समावेस गरी प्रमाणपत्र दिनु हुदैन ।
  • चिकित्सकले विरामी विदाको लागि प्रमाणपत्र जारी गर्दा विरामीसँग उचित परामर्श गरेर मात्र दिनसक्छ । परामर्श गरेको र प्रमाणपत्र जारी गरेको वास्तविक मिति प्रमाणपत्रमा उल्लेख गर्नुपर्छ ।
  • चिकित्सकले आफ्नो ब्यवसायिकहैसियतलेकुनै प्रमाणपत्र वा त्यस्तै किसिमको कागजात जारी गर्दा झुट्ठा, भ्रामक वा अन्य अनुचित ब्यहोरा उल्लेख गरेमा निजलाई अनुशासनको कारवाहि हुन्छ। खाली प्रमाणपत्रमा सहिछाप गर्न काउन्सिलले निषेध गरेको छ ।
  • चिकित्सकले एउटै भुक्तानीको लागि एक भन्दा बढी सक्कल भरपाई पेशगर्नु हुदैन । भरपाईको प्रतिलिपीमा अनिवार्यरुपमा प्रतिलिपी वा नक्कल भनी उल्लेख गर्नुपर्दछ । यदि एउटै कामको लागि फरक-फरक समयमा भुक्तानी भएकोले त्यस्को लागि छुट्टा छुट्टै भरपाई दिनुपर्ने रहेछ भने त्यस्तो भरपाईमा भुक्तानी गर्नुपर्ने पुरा रकम र त्यसको भुक्तानी भएको आंशिक रकम खुल्नेगरी प्रष्ट उल्लेख गर्नुपर्छ ।

(छ) जानकारी गराउने कर्तब्यः

चिकित्सक नेपाल भित्र वा बाहिर कैदको सजाय हुने कुनै अपराधमा दोषी ठहर भएमा वा निजलाई पेशागत आचरण विपरित काम गरेको आरोपमा कुनै अन्य पेशागत नियामक निकायले अनुशासनको कारवाही चलाएको भएमा, सो विषय पुनरावेदन को रोहमा रहेको भएतापनि, निजले आफु नेपाल आएको वा त्यस्तो प्रतिकुल अनुशासनको कारवाही भएको २८ दिन भित्र काउन्सीलमा जानकारी गराउनुपर्छ । तोकिएको समय भित्र जानकारी नगराएमा सो जानकारी नगराको कुरा समेत अनुशासनको कारवाहीको विषय हुनेछ । कुनै कुरामा अलमल भएमा पनि जानकारी गराउनुपर्छ ।

(ज) स्वार्थको द्वन्दः

  • चिकित्सकले राजनैतिक संलग्नताको आधारमा अतिरिक्त रोजगारी प्राप्तगर्न वा कुनै ब्यक्तिगत लाभ प्राप्तगर्ने छैन । यस्तो कार्यलाई आचारसहिताको उल्लङ्घन भएको मानिनेछ ।
  • चिकित्सकले निजको चिकित्सा पेशालाई अनुचित प्रभाव पार्ने गरी राजनितीमा भाग लिन पाउने छैन । यस्तो कार्यलाई आचारसमहिताको उल्लङ्घन भएको मानिनेछ ।
  • फर्मासुटिकल वा मेडिकल उपकरण उत्पादन गर्ने कम्पनीमा पेशागत वा ब्यक्तिगत संलग्नताको आधारमा चिकित्सकले थप सुबिधा लिन हुदैन । यस्तो कार्यलाई आचारसहिताको उल्लङ्घन भएको मानिनेछ ।

६.  विशेष आचरण सम्बन्धी विषयः

चिकित्सा सम्बन्धी आचरणमा दुविधा उत्पन्न गर्नेगरी कुनै विशेष नयाँ सन्दर्भ उठेमा, त्यसलाई सम्बोधन गर्न विशेष सञ्चालन कार्यविधी (Special Operation Procedure) बनाइनेछ रत्यसलाई सोही बमोजिम लागु गरिनेछ ।

७. अन्य पेशागत निकायहरुवाट गरिने प्रतिकुल अनुशासनात्मक निष्कर्षः

दर्तावाला चिकित्सकका सम्बन्धमा नेपाल भित्र वा बाहिरका अन्य पेशागत नियामक निकायहरुबाट भएको अनुशासन सम्बन्धी कारवाहीमा प्रतिकुल निष्कर्ष आएमा काउन्सिलबाट अनुशासनको कारवाहीको लागि आवाह्वान गर्न सक्नेछन ।

८. खराब आचरण पत्ता लगाउने तरिकाः

निम्न कुराहरुको आधारमा कहिंकतै पेशागत आचारसंहिताको उल्लङ्घन भएको भन्ने महसुस गरेमा त्यस्तो घट्नाको वारेमा सोधखोज गर्ने र अनुसन्धान गर्ने अधिकार काउन्सिललाई हुनेछ ।

  • पिडित तथा अन्य कुनै ब्यक्तिवाट उजुरी,
  • टेलीफोन तथा ई-मेल वाट उजुरी,
  • \टेलिभिजन\रेडियो,
  • विभिन्न सरकारी निकायबाट प्राप्त जानकारी र आदेश,
  • विभिन्न संस्था\समाजवाट प्राप्त उजुरी ।

९. अनुसन्धान विधीः

सबै अनुसन्धानका विधी तथा तरिकाहरु नेपाल मेडिकल काउन्सिल बिनियमावली, २०३४ को अनुसूची २३ बमोजिम हुनेछ ।

१०. अनुशासनको कारवाही र सजाँयः

(१) आचारसंहिता र पेशागत आचरणको उल्लङ्घनः

मेडिकल काउन्सिलले आफुलाई प्राप्त कानुनी अधिकारको प्रयोग गरेर पिडित नागरिकलाई उपचार वा क्षतिपुर्ति प्रदानगर्ने मात्र नभएर चिकित्सा लापरवाही, चिकित्सा क्षेत्रमा गरिने गैरकानुनी कार्य लगायत अन्य पेशागतरुपमा हुने खराब आचरणबाट सर्वसाधारण र विरामीलाई संरक्षण प्रदान गर्नेछ। चिकित्सा पेशाको आचार, दक्षता र सम्मान सहित सर्वसाधरणको विश्वास जित्नको लागि पेशागत आचरणको उच्च स्तरलाई कायम गर्नुपर्दछ ।

(२) चिकित्सा सम्बन्धी आचारसंहिताको उल्लङघनको गम्भिरताको आधारमा, चिकित्सकलाई सावधानीको लागि सुचना दिने, सचेत गराउने, कामको लागि परिक्षणकालमा राख्ने (स्वतन्त्ररुपमा कामगर्न अनुमति नदिने, सुपरिवेक्षणमा मात्र काम गर्न पाउने गरी तोकि दिने), निलम्वन गर्ने तथा काउन्सिलको दर्तावाट स्थायीरुपमा नाम हटाउने सम्मको सजाय गर्ने अधिकार काउन्सिललाई हुनेछ । निलम्वन तथा काउन्सिलको दर्तावाट स्थायीरुपमा नाम हटाउने सजायगर्दा राष्ट्रियस्तरको पत्रिका र काउन्सिलको वेभसाइटमा प्रकाशित गर्नुपर्छ ।

११.    चिकित्सा ब्यवसाय गर्न अयोग्यताः
(१)तिक पतन देखिने फौजदारी अभियोगमा अदालतवाट दोषी ठहर भएको ब्यक्तिको दर्ता स्वतः खारेज हुने भई त्यस्तो ब्यक्ति चिकित्सा पेशाको लागि योग्य मानिने छैन ।
(२)खासगरी ब्यवसाय प्रति बेइमानी गर्ने अपराध (जस्तै; छलछामगरी रकम वा चिजबस्तु लिने, किर्ते जालसाजी र चोरीगर्ने), अनुचित ब्यवहार वा उल्लङ्घनलाई गम्भिररुपमा लिइन्छ । चिकित्सकको स्वस्थतामा असर गर्ने खालका अभ्यासहरु (जस्तै; मादकपदार्थ वा लागु औषध सम्बन्धी अपराध) पनि काउन्सिलको विशेष चासोको रुपमा रहेको हुन्छ ।

१२.    अनुशासन समितिको भुमिकाः
(१) कुनै कुराको पहिचान गर्ने, पत्ता लगाउने, अनुसन्धान गर्ने र सम्बन्धित विषयलाई नेपाल मेडिकल काउन्सिल समक्ष ल्याउने जिम्मेवारी अनुशासन समितिको हुनेछ ।
(२) चिकित्सा सम्बन्धी दुराचार तथा चिकित्सा सम्बन्धी लापरवाहीको विषय समेतलाई हेर्नुपर्नेछ ।
(३) उजुरी तथा अनुसन्धानको कार्यविधी लगायत पुनरावेदन गर्ने अधिकार सम्बन्धी कुराहरु तोकिए बमोजिम हुनेछ ।

१३.    चिकित्सकको दर्ता किताववाट नाम हटाउनेः
आचारसंहिताको उल्लङ्घन वा चिकित्सा सम्बन्धी विषयमा गरिने लापरवाहीको गाम्भिर्यता तथा निरन्तरता लगायत नैतिक पतन देखिने फौजदारी अपराधमा संलग्नताको आधारमा चिकित्सकको नाम दर्ता किताबबाट हटाउने अधिकार नेपाल मेडिकल काउन्सिल लाई हुनेछ ।
काउन्सिलले चिकित्सकको नाम दर्ताकितावबाट हटाउनको लागि आदेश दिन सक्नेछ । चिकित्सकको नामलाइ दर्ता किताबमा पुनस्थापनाको लागि दिइएको निवेदनलाई स्विकार नगर्दा सम्म त्यस्तो दर्ता किताव वाट नाम हटाउने गरी भएको कार्य यथावतरुपमा कायम रहनेछ।

१४ पुन रजिष्टर गर्न निवेदन दिन सक्नेः कुनै चिकित्सकको नाम जुनसुकै कारणले दर्ता कितावबाट   हटाएकोमा चिकित्सकले चिकित्सकको नामलाइ दर्ता किताबमा पुनस्थापना गर्नको लागि दुई वर्षभित्रमा निवेदन दिन सक्नेछ । स्वास्थ्य सम्बन्धी आचार संहिता समितिले सो सम्बन्धी निवेदन प्राप्त गरेमा एक वर्षभित्रमा त्यस्को छानविन गर्नेछ र कारवाही गर्नुपर्ने देखिएमा सोही बमोजिम १२ महिनाभित्रमा सिफारिस गर्नेछ ।

१५ हटाएमा उजुर गर्नेः  कुनै चिकित्सकको नाम जुनसुकै कारणले दर्ता कितावबाट हटाएकोमा सोको विरुद्ध अदालतमा जाने अधिकार निजमा रहनेछ । 

सामान्य कर्तव्य

चिकित्सा व्यवसायीको सामान्य कर्तव्य सामान्यतया देहाय बमोजिम हुनेछः–

(क) कुनै चिकित्सा व्यवसायीले देहायबमोजिम गर्नु पर्नेछः
(१) कुनै चिकित्सकले सधै उच्च व्यवसायीक तथा नैतिक चरित्र प्रदर्शन गर्नुपर्दछ,
(२) कुनै विरामीलाई उपचार गर्न इन्कार गर्नुहुदैन
(३) व्यक्तिगत लाभ नलिई र अनुचित विभेद नगरिकन विरामीको उपचार गर्नपर्नेछ।
(४) आफूमा निहित क्षमताको अधिकतम प्रयोग गरी स्वतन्त्रत र निर्भिक भई पूर्ण व्यवसायीक जीवन व्यत्तित गर्नुपर्नेछ।
(५) विरामी तथा आफ्ना सहकर्मी साथीहरुसँग इमान्दारी पूर्ण व्यवहार गर्नुपर्नेछ।
(६) आफ्नो व्यवसायिक कार्यको सिलसिलामा आफूभन्दा माथिका कुनै चिकित्सक , निकाय वा व्यवसायीलाई आफूलाई परेका समस्याको सम्बन्धमा निरन्तर जानकारी गराइ परामर्श गराउनुपर्नेछ।
(७) विरामी वा नीजका आप्रजन्तसेवा अनुचित लाभ वा आर्थिक फाइदा लिन वा लिने प्रयत्न गर्न  वा त्यसको आधारमा कुनै अनुचीत प्रभावमा पार्ने कार्य गर्नु हुदैन ।
(८) आफू कार्यरत संख्याका सहकर्मी चिकित्सक, कर्मचारी वा उपचाररत विरामी वा विरामीका आफन्त कुराका सँग सहयोगी र सद्भावपूर्ण व्यवहार गर्नुपर्नेछ।
(९) गैर व्यवसायिक माध्यमवबट विरामी वा निजका आफन्तजन्यलाई अनुचित प्रभावमा पार्न हुदैन ।
(१०) कुनै प्रकारको यातना अनुचित प्रभाव गैर व्यवसायिक लाभ र क्षमताभन्दा वाहिरका अभ्यास लिन पाइने छैन ।

(ख) विरामी प्रतिको कर्तव्य : प्रत्येक चिकित्सकको विरामी प्रतिको,

  • हर हमेशा विरामीको अधिकतम हितको लागि सचेत र सजग रहनु पर्नेछ,
  • आफुसँग प्राप्त सेवा र श्रोतको अधिकतम प्रयोग गरी विरामीको सेवा भावमा तल्लीन रहनु पर्नेछ,
  • आफुले गर्ने नसक्ने कार्य वा आफूसँग प्राप्त नभएका श्रोत साधनका सम्वन्धमा विरामीलाई मौकैमा उपचार.गराइ आफूले जानेसम्म उपाय अबलम्बन गरि कुनै उचित स्थान र चिकित्सककहाँ  लैजान सहयोग गर्नुपर्नेछ,
  • विरामी वा निजका आफन्त वा प्राप्त निजि जिवनसँग सम्बन्धित रचनाहरु सार्वजनिक नगर्ने,
  • विरामी वा निजका आफन्त वा अन्य सहकर्मीलाई कहिले पनि यौनिक दृष्टिकोणले हेर्ने वा यौनजन्य भावनाले व्यवहार गर्ने वा लैङ्गिक वा अन्य विभेदजन्म कार्य गर्न गराउन हुदैन ।

(ग) चिकित्सा व्यवसायीको सहकर्मीप्रतिको कर्तव्य

  • चिकित्सा व्यवसायिको सहकर्मीप्रति राम्रो व्यवहार गर्नुपर्नेछ ।
  • कुनै पनि चिकित्सा व्यवसायिले सहकर्मी विरामीप्रतिको राम्रो व्यवहार र उनीहरुलाई अवमूल्यन गर्नुहुदैन ।
  • विरामीको उपचारमा संलग्न भएको आफ्नो सहकर्मीलाई चिकित्सकिय रुपले भन्न आवश्यक परेका माग्न भन्न सक्ने र यस्तो सुचनामा विरामीको हीतका लागि मात्र भन्न सक्नेछ ।

अनुसुची–१

अनुसुची–२

अनुसुची–३

सुचना दिइ हटाउन सक्ने सम्बन्धी ढाचा

तपाई श्री .................................ले मिति.................देखि काम कारवाहीको स्थान परिवर्तन गरेको वा छोडेको सुचना दिनुपर्नेछ
•    नाम–...........
•    ठेगाना–............
•    टेलिफोन–..........
•    इमेल–...................
•    बिरामी जाँच्ने समय–............
•    विशेषज्ञको लिष्ट, योग्यता र चिकित्सकद्वारा बनाएको समय निश्चित काउन्सिलले गर्नुपर्ने,
•    उपयुक्त नभएमा लिष्टबाट हटाउने,
•    ऐच्छिक,

अनुसुची–४

प्रेसकृप्सन सम्बन्धी

  • औषधि प्रेसकृप्सन दिदा घातक आषधिको वितरण र प्रेस्कृप्सन गर्दा मापदण्ड बमोजिम गर्नुपर्ने ।
  • औषधिको वितरण र प्रेस्कृप्सनको मापदण्ड बमोजिम गर्नुपर्ने।
  • प्रेस्कृप्सन गर्दा मापदण्डको पालना बमोजिम गर्नुपर्ने ।
  • औषधि ऐन २०३५ ले दिएको अधिकारको अधिनमा रही घातक औषधी प्रेस्कृप्सन र वितरण गर्नु हुदैन ।

अनुसुची–५

सजाय सम्बन्धी

देहाय बमोजिमका कार्य गरेमा आचार संहिता उपलब्ध गरेको मानी सजाय हुनेछ ः–

  • सहमति नलिएकोमा,
  • मेडिकल अभिलेख व्यवस्था नसकेमा,
  • गोपनियता भंग गरेमा,
  • चिकित्सक र विरामी बीचको सम्बन्धअनुपयूक्त ढंगबाट विच्छेद गर्ने,
  • अन्य चिकित्सा व्यवसायीको.........................गरेमा,
  • औषधी व्यवसायी वा मेडिकल औजारसँग सम्बन्धीत कम्पनीसंग आर्थिक लेनदेन गरी व्यक्तिगत फाइदा प्राप्त गरेमा,
  • विरामीलाई अनुचित ढंगबाट सुचना प्रवाह नगरेमा,
  • काममा रहेको समयमा लागू पदार्थ सेवा गरेमा,
  • विरामीसँग अधिक फि लिएमा,
  • गैरकानूनी अनाधिकृत तथा अयोग्य व्यक्तिसंग काम गरेमा,
  • विरामीलाई अनुसन्धान र औषधि उपकरण लगायतमा ..... गराई कमिशन लिएमा,
  • आफ्नो प्राइभेट कार्यको सम्बन्धमा विरामीलाई वा नर्सिङ्ग होममा बोलाएर उपचार गरे, गराएमा
  • व्यवसाय संचालन गर्न सक्षम नहुदै संचालन गरेमा,
  • आफ्नो क्षमता बाहिर गई व्यवसाय संचालन गरेमा,
  • , विरामीको परिवार, आफन्त, आफ्नो अन्र्तगतका सहकर्मीहरु, स्टाफहरुसँग अनैतिक व्यक्तिगत सम्बन्ध राखेमा,
  • सर्वसाधारणमा अनुपयुक्त सुचना प्रवाह गरेमा
  • अनुपयुक्त औषधिको प्रेस्किृप्सन गरेमा,
  • सक्षम नहुँदै पनि वैकल्पिक र सहयोगी थप व्यवसाय गरेमा,
  • गैरकानूनी प्रमाणपत्र जारी गरेमा,
  • विरामीलाई सरकारी अस्पतालबाट नीजि वा क्लिनिक वा नर्सिङ्ग होममा जान वाध्य पार्ने, दवाव दिन वा वाध्य पारेमा,
  • चिकित्सकलाई आफु अध्ययन गर्ने भन्दा अन्य स्थानमा गएर सेवा गर्न प्रोत्साहन गर्नुपर्ने । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने