डक्टर्स आर्टिकल

कसरी बन्छ पित्तथैलीमा पत्थरी? यस्ता छन् समस्या र समाधान

None

काठमाडौं-

झन्डै १५ प्रतिशत जनसंख्याको पित्तथैलीमा पत्थरी बनेको हुन्छ। अधिकांशलाई पत्थरीले कुनै समस्या दिँदैन। पत्थरी भएकामध्ये २० प्रतिशतमा मात्र समस्या देखा पर्ने हो। पित्तथैलीको पत्थरीले जटिल प्रकृतिका समस्या पनि निम्त्याउँछ। त्यसैले पित्तथैलीको पत्थरी बेलैमा पत्ता लगाउन सके उपचार सहज हुन्छ र जटिलता आउन पाउँदैन।

पित्तथैलीमा पत्थरी बन्ने तरिका
कलेजोले उत्पादन गरेको पित्त आन्द्रामा पुग्नुअघि पित्तथैलीमा केही समय जम्मा हुन्छ। पित्तमा भएको पानी, सोडियम क्लोराइड, बाइकार्बोनेट सोसिन्छ र पित्त बाक्लो बन्छ। जसमा बाइल सल्ट, बाइल पिग्मन्ट, कोलेस्ट्रोल, क्याल्सियम आदि हुन्छन्।

कोलेस्ट्रोल पानीमा घुल्दैन तर बाइल एसिड र फस्फोलिपिडले नथिग्रिने गरी घुलाएर राखेको हुन्छ। कोलेस्ट्रोलको मात्रा बढी भएमा, बाइल एसिड वा फस्फोलिपिडको मात्रा कम भएमा कोलेस्ट्रोल थिग्रन थाल्छ र पत्थरी बन्ने गर्छ।

मोटोपन बढ्दा, धेरै तागतिलो खानेकुरा खाँदा वा परिवार नियोजनका लागि इस्ट्रोजेनजस्ता औषधि खाँदा कोलेस्ट्रोलको मात्रा बढ्छ।
सानो आन्द्राको शल्यक्रिया गरेका बिरामीको बाइल एसिड आन्द्राले सोस्न पाउँदैन र शरीरमा बाइल एसिडको कमी हुन्छ।
शरीरको विभिन्न भागमा संक्रमण हुँदा रगतको माध्यमबाट किटाणू पित्तथैलीमा पुग्छ र किटाणूको वरिपरि कोलेस्ट्रोल जम्मा भएर पत्थरी बन्न सक्छ।
खाना खाएपछि पित्तथैली खुम्चन्छ र पित्त आन्द्रामा पुगेर खानासँग मिसिन्छ। पित्तथैली राम्रोसँग खुम्चन नसक्ने समस्या छ भने पित्तको प्रवाह राम्रो हुँदैन र कोलेस्ट्रोल थिग्रन सक्छ र पत्थरी बन्छ। लामो समय खाना खान नमिलेर नशाबाट मात्र औषधि–उपचार गराइएका बिरामीहरुमा यस्तो समस्या देखा पर्छ।
आफ्नो आयु नपुगी रातो रक्तकोषको विनाश हुने समस्या (हेमोलाइटिक एनेमिया) भएमा बिलिरुबिन बढी मात्रामा बन्छ र यसलाई घुलाउने कलेजोमा रहेको ग्लुकुरोनिक एसिड पर्याप्त हुँदैन। नघोलिएको बिलिरुबिन क्याल्सियमसँग मिलेर पत्थरी बन्छ।
संक्रमण भएको बेलामा किटाणूसँग भएको ग्लुकुरोनिडेज नामको इन्जाइमले घुलेर रहेको बिलिरुबिनलाई छुट्याउँछ र पत्थरी बन्ने वातावरण बनाउँछ।
पत्थरीका किसिम

मोटो मानिसमा कोलेस्ट्रोल स्टोन बन्छ। पित्तथैलीमा प्रायः एउटा मात्रै पत्थरी बनेको हुन्छ। धेरैजसो नदुख्ने खालको हुन्छ। पित्तको संक्रमण भएको हुँदैन। पिग्मेन्ट स्टोन प्रायः धेरै वटा बन्छन्। पित्तमा संक्रमण भएको हुन्छ। यो कालो वा खैरो रङको हुन्छ। पत्थरीमा बिलिरुबिनको मात्रा बढी हुन्छ। मिसावटयुक्त स्टोनमा कोलेस्ट्रोलसँग बाइल पिग्मेन्ट, क्याल्सियम, बाइल एसिड, फस्फोलिपिड आदि मिसिएको हुन्छ।

नेपालमा पित्तथैलीको पत्थरी प्रायः पिग्मेन्ट स्टोन हुन्छन्। अमेरिका, युरोपतिर कोलेस्ट्रोल स्टोन वा मिसावटयुक्त स्टोन बढी मात्रामा पाइन्छ।

पित्तथैलीको पत्थरीले गर्दा हुने जटिलता
पेटको माथिल्लो भाग विशेषगरी दायाँपट्टी दुख्ने, छातीको पछाडिपट्टी सरेर दुख्ने, वान्ता हुनेजस्ता लक्षणहरु देखापर्छन्। पित्तथैलीको पत्थरीका कारण हुने यस्तो दुखाइलाई बिलियरी कोलिक भनिन्छ। पित्तथैली पाक्ने, सुन्निने, फुट्ने आदि समस्या देखा पर्न सक्छ। पेन्क्रियाज ग्रन्थीको संक्रमण, आन्द्राको अवरोध आदि समस्या आउन सक्छ।

पित्तथैलीको पत्थरीको निदान
बिरामीको लक्षण र सामान्य जाँच गरिसकेपछि पेटको अल्ट्रासाउन्ड गरेर पित्तथैलीको पत्थरी पत्ता लगाइन्छ।

पित्तथैलीको पत्थरीको उपचार
पित्तथैलीको पत्थरीले जटिलता ल्याउन सक्ने भएकाले जटिलता आउनुअघि नै शल्यक्रिया गरिन्छ। विशेषगरी, डायबिटिज भएका बिरामीलाई पित्तथैलीमा थप समस्या आउनुअघि नै शल्यक्रिया गर्नुपर्छ। पित्तथैलीमा जटिलता आइसकेपछि उपचार झन्झटिलो र जटिल बन्दै जान्छ।

शल्यक्रियाको सबैभन्दा उपयुक्त विधि ल्याप्रोस्कोपी विधि हो। शल्यक्रियाको चोट कम हुने, शल्यक्रियापछि दुखाइ कम हुने, छिटो निको हुने, अस्पतालको बसाइ कम हुने आदि कारणले गर्दा यो विधि अपनाइन्छ।

शल्यक्रियाको क्रममा पित्तथैली अत्यन्त टाँसिएर बसेको पाइएमा, रक्तस्राव भएमा, पित्तनलीमा पत्थरी भएमा पेट चिरेर शल्यक्रिया गर्नुपर्छ। पित्तथैलीमा संक्रमण भएर सात दिन बितिसकेपछि उपचारमा आएका बिरामीलाई भर्ना गरेर नशाबाट औषधि चलाइन्छ र संक्रमण ठीक भएपछि ६ हप्तापछि शल्यक्रिया गर्नुपर्छ।

पित्तथैलीको पत्थरीले पेन्क्रियाटाइटिस (पेन्क्रियाज ग्रन्थी सुन्निएको अवस्था) गराएको रहेछ भने पहिला पेन्क्रियाटाइटिस ठिक भएपछि मात्र पित्तथैलीको शल्यक्रिया गर्नुपर्छ।

(डा. कोइराला किस्ट मेडिकल कलेजका सहप्राध्यापक हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने