प्रोफाइल

महिलाको रोगका पहिला पुरुष डाक्टर, जो बाध्य भएर भासिए विदेश

img

डिबी खड्का

डा. विवेक प्रधानले सक्रिय चिकित्सकीय जीवन बेलायतमै बिताए । नेपालमा सेवा दिन नचाहेर होइन, नपाएर उनी २०२५ सालमा बेलायत भासिएका थिए । उतै घरजम गरे । तर, डा. प्रधानको मनबाट नेपालप्रतिको स्नेह भने कहिल्यै घटेन । अवसर पायो कि नेपालका लागि केही गर्न जुटिहाल्थे । विशेषगरी भक्तपुर क्यान्सर अस्पताल निर्माणमा उनको ठूलो भूमिका छ । उनले अस्पतालका लागि अत्यावश्यकीय उपकरण कोबाल्ट मेसिनदेखि भौतिक संरचना निर्माणमा रकमको जोहो गर्ने काम मात्रै गरेनन् आवश्यक तारतम्य पनि मिलाए । विदेशीको मन जितेर आर्थिक र प्राविधिक  सहयोग जुटाएका डा. प्रधानसँग नेपालकै उच्च पदस्थ अधिकारीहरुबाट असहयोग ब्यहोरेको अनुभव छ । तर, हिम्मत हारेनन् उनले । आज क्यान्सरका बिरामीका लागि राजधानीमा एउटा सस्तो र सुलभ उपचारकेन्द्र बन्नुमा डा. प्रधानको समर्पण पनि जोडिएको छ ।

जीवनको उर्वरशील समय विदेशमा बिताए पनि जन्मभूमिको मायाले डोर्‍याएर बेला–बेला नेपाल ल्याइपुर्‍याइरहेको हुन्छ उनलाई । यसपल्ट नेपाल आएका बेला उनले नेपालमै सेवा गर्ने इच्छा हुँदाहुँदै कसरी विदेशिनु पर्‍यो र भक्तपुर क्यान्सर अस्पतालका लागि आफूले गरेका संघर्षका आयाम स्वास्थ्य खबरसँग बाँडेका छन् ।

आमाको वचनले डाक्टर

२००९ सालतिरको कुरा हो । उनी आइएससी पढिरहेका थिए । आमालाई क्यान्सर भयो । उनलाई आमाले भनिन्, ‘तिमी डाक्टर बन्नु है ।’ आमाको वचन पूरा गर्न उनले आइएससीको पढाइमा थप जोड दिए । २०१० सालमा पहिलो श्रेणीमा आइएससी पास गर्ने एक मात्र विद्यार्थी बने उनी । उनले रोजेको विषय पढ्न नपाउने कुरै थिएन । सरकारी छात्रवृत्तिमा कलकत्ता पुगेर एमबिबिएस गरे । चिकित्सा रोजेकोमा उनी कहिले दुःखी हुन्थे, कहिले खुसी । उनले कारण खुलाए, ‘धेरै दीर्घरोगी आउँथे । जसलाई निको पार्न अहिलेजस्तो औषधि बनिसकेका थिएनन् । त्यसबेला साह्रै नरमाइलो लाग्थ्यो । तर, प्रसूति वार्डमा व्यथाले छटपटिएका आमाहरु बच्चा पाएपछि हाँसीहाँसी फर्किन्थे । त्यसबेला खुसी लाग्थ्यो ।’ डा. प्रधानलाई प्रसूति तथा स्त्री रोगमा विशेषज्ञता हासिल गर्ने चाहना पनि तिनै आमाहरुको मुहारमा देखिएको खुसीकै कारण जागेको थियो । 

सरकारी छात्रवृत्तिमा पढेकाले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा दिनै पथ्र्याे । उनले त्यो समय इलामको पशुपतिनगरमा बिताए । उनी भन्छन्, ‘मेरो चिकित्सकीय करियरमा सबैभन्दा खेर गएको समय हो त्यो । त्यतिबेला त्यहाँ थोरै घर थिए । बिरामी त्यति हुँदैनथे । कामै भएन ।’

स्त्री रोगका पुरुष डाक्टर !

पशुपतिनगरबाट फर्किएको केही दिनपछि घरमा बसेर एउटा नेवारी पत्रिका पढ्दै गर्दा उनको नजर एउटा सूचनामा अडियो । लेखिएको थियो, ‘बेलायतबाट छात्रवृत्ति आएको छ । कसलाई के मन पर्छ छानेर निवेदन दिनू ।’ विभिन्न ६ विधामा छात्रवृत्तिको कोटा थियो । त्यसमध्ये डाक्टरका लागि विशेषज्ञता हासिल गर्ने एउटा कोटा पनि थियो । उनले निवेदनमा भरे, ‘एमआरसिओजी’ अर्थात् मेम्बर अफ रोयल कलेज, अप्स एन्ड गाइने ।

एमबिबिएसको मार्कसिटमा राम्रै नम्बर थियो, उनी छानिइहाले । भने, ‘भारतमा बस्दा पत्रिका पढ्ने बानी बसेकाले मेरो जनरल नलेज राम्रै थियो । तत्कालीन राजा महेन्द्रले पनि थप सोधखोज नगरी हस्ताक्षर गरिदिए ।’ जब पढ्न जानलाई उनको प्रक्रिया पूरा भयो, त्यसपछि गाइँगुइँ चर्चा हुन थाल्यो, ‘प्रसूति तथा स्त्री रोगबारे पढ्न पुरुष किन छानियो?’ त्यसबेलासम्ममा उनले बेलायत जाने टिकट लिइसकेका थिए । 

महिला अधिकारकर्मीहरुले आन्दोलन गरेर भए पनि उनलाई रोक्ने प्रयास गरिरहेका थिए । उनका साथी डा. रमेश चापागाईंले खबर ल्याए, ‘भोलि नै दिल्ली गइहाल्नु, महिला संघले आन्दोलन गर्नका लागि बैठक गरिसक्यो ।’ उनलाई रोक्न अर्काे समूह पनि लागेको थियो, जसलाई शंका थियो, ‘उनले त्यो अवसर आफ्नै क्षमताले होइन, उनका दाजु डा. भीमबहादुर प्रधानको सोर्सफोर्सले प्राप्त गरेका हुन् । दोस्रो समूहले त उनी आफ्नै क्षमताले छानिएको जानकारी पायो तर महिलाहरु भने रोकिने अवस्थामा देखिएनन् । अन्ततः उनी हानिए दिल्ली । उनका साथी डा. विश्वराज दली दिल्लीमा विशेषज्ञता हासिल गरिरहेका थिए । उनैकहाँ बसे केही दिन र त्यसपछि मात्रै उडे बेलायत ।

डा. प्रधानले २०२३ सालमै प्रसूति तथा स्त्री रोग विशेषज्ञको अध्ययन सकेका थिए । तर, दुई वर्ष अन्य विशेष तालिमका लागि उनी बेलायत नै बसे । उनको मनमा थियो, ‘नेपाल गएपछि प्रसूति तथा स्त्री रोग सम्बन्धी सबै प्रकारका विशेषज्ञ सेवा दिन्छु ।’

रानीले प्रसूतिमा पुरुष डाक्टर भेट्दा

बेलायतमा रहँदा उनले सँगै काम गर्ने नर्ससँग विवाह गरिसकेका थिए। छोरी पनि जन्मिसकेकी थिइन् । बाँकी समय नेपालमै सेवा दिने योजना बनाएर उनी सपरिवार फर्किए । उनका पिताले छुट्टै घर बनाइदिए । प्रसूति गृहका प्रमुख डा. यज्ञराज जोशी थिए । आफ्नो विशेषज्ञताबारे बताएपछि डा. जोशीले भने, ‘आइतबारदेखि काममा आउनू ।’

त्योताका प्रसूति तथा स्त्री रोग विशेषज्ञ एकदमै कम थिए नेपालमा । डा. प्रधानका अनुसार नेपालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ पुरुषमा उनी नै पहिलो हुन् । उनी अस्पतालको राउन्डमा थिए, राजाका एडिसी देखे । एडिसीले उनलाई ‘ड्युटीमा हो ?’ भनेर प्रश्न गरे । चिनजानकै मान्छे भएकाले उनले ‘हो’ भन्ने बित्तिकै भित्र जान दिए । भर्‍याङनेर पुग्नै लाग्दा देखे, तत्कालीन राजा महेन्द्र कसैलाई पर्खेर बसेका । उनलाई देखेपछि राजा महेन्द्रले भने, ‘इंग्ल्यान्डबाट आएको एक हप्तामै काम सुरु गरेछौ । यहाँ काम गर्दा कस्तो लागेको छ ?’ आफ्नो कामै बिरामी हेर्ने भएकाले खास फरक नलागेको प्रतिक्रियासहितको बिन्ती बिसाए उनले । महेन्द्रको अनुहारमा मुस्कान देखियो । यति कुरा हुँदै गर्दा वार्डबाट निस्किइन् रानी रत्न । उनले डा. प्रधानलाई देखेपछि अनुहार खुम्च्याइन् । उनले त्यो क्षण सम्झिए, ‘डेलिभरी हुने ठाउँमा पुरुष डाक्टर रहेको उहाँलाई मन परेनछ ।’ एक जना युवराज्ञीको डेलिभरी भएकाले उनैलाई भेट्न पुगेका थिए राजारानी ।

प्रसूति जान राजदरवारको रोक 

विशेषज्ञता हासिल गरेपछि थप दुई वर्ष तालिम लिएकाले उनको उपचार गर्ने तरिकाको चर्चा हुन थाल्यो । त्यसको ६ महिनामा उनले महेन्द्र भूषण नै पाए । महेन्द्र भूषणको खुशी लामो समय भने टिकेन । एकदिन उनी प्रसूति जाने तयारी गर्दै थिए, उनका दाजु डा. भीमबहादुरले भने, ‘आजदेखि तिमी वीर अस्पताल गएर ड्युटी गर्नु ।’ प्रसूतिगृहमा आफूले अघिल्लो दिन मात्रै शल्यक्रिया गरेका केही बिरामी हेर्नुपर्ने बताए उनले । उनलाई त्यहाँ काम गर्न नदिनु भन्ने चिठी राजदरवारबाट आएछ । लेखिएको थियो, ‘राजकुमारीहरु पनि सुत्केरी हुने ठाउँमा पुरुष डाक्टरले काम गर्न उचित छैन । त्यहाँबाट निकाल्नू।’ 
राजपरिवार वा राजकुमारीलाई भन्दा पनि समस्या राजदरवारका सेवकहरुलाई भएको रहेछ । उनी यसलाई ‘रुख चढ्नेलाई भन्दा चढेको हेर्नेलाई रिँगाटा लागेको’ संज्ञा दिन्छन् । त्यसपछि भने उनले नेपालमा बसेर सेवा दिन असहज महसुस गर्न थाले । महिला रोगको पुरुष डाक्टरलाई सजिलै पचाउन सक्ने समाज नभएकाले पनि उनकाबारे अनके टिप्पणी हुन थाले । उनी मन अमिलो पारेर बेलायत फर्के । 

फेरि नेपालकै सेवामा

राम्रो काम, राम्रै तलब र राम्रै रहनसहन थियो बेलायतमा । तर, नेपालका लागि केही गर्ने मोह भने मरेको थिएन उनको । २०५० सालतिर उनको भेट डा. अञ्जनी शर्मासँग भयो । पढाइमा केही ब्याज सिनियर डा. शर्मा बेलायत पुगेका बेला उनले आफ्नो घरमा खानाका लागि निम्तो गरेका थिए । डा. शर्माले उनलाई प्रस्ताव गरे, ‘नेपालमा क्यान्सर उपचारका लागि केही सहयोग गर्नप¥यो भाइ ।’ उनले नेपालमा केही सहयोग गर्ने भन्ने सोचेका त थिए तर यही गर्छु भन्ने ठेगान थिएन । डा. शर्माको प्रस्तावले उनलाई बाटो देखायो ।

डा. अञ्जनी नेपाल क्यान्सर रिलिफ सेसाइटीका सभापति थिए । सोसाइटी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमतिर केन्द्रित थियो । डा. शर्माले उपचारमा पनि सघाउन जरुरी देखेर त्यता लाग्ने सोच बनाएका थिए । डा. शर्मा नेपाल फर्केपछि उनी संलग्न रोटरी क्लब अफ काठमाडौँले डा. विनयलाई चिठी पठायो । लेखिएको थियो, ‘नेपालका लागि सेकेन्ड ह्यान्ड भए पनि रेडियोथेरापी मेसिन त्यहाँको रोटरी क्लबले उपलब्ध गराउन पहल गरिदेओस् ।’

डा. प्रधानले आफू संलग्न रोटरी क्लब म्यान्सफिल्ड, युकेको बैठकमा आफू नेपाली भएको भन्दै यसका लागि सघाउन प्रस्ताव गरे । सबै सदस्यले उक्त उपकरण जुटाउन सघाउने कुरा गरे । तर, यसका लागि विस्तृत अनुसन्धान गर्ने जिम्मा उनकै थियो । उनी गाइनोक्लोजिस्ट थिए, रेडियोथेरापी बुझेको मान्छेको आवश्यकता पर्‍यो । रोयल कलेज अफ रेडियोथेरापी बेलायतका नाममा पत्र लेखे, ‘मलाई क्यान्सर र रेडियोथेरापीबारे बुझेको मान्छे आवश्यक परेकाले कसैले स्वयंसेवक भएर सहयोग गर्न सक्छ कि ?’

कलेजको बोर्ड बैठकपछि डा. डेभिड हर्मन नामका एकजना विज्ञले डा. विनयलाई फोन गरेर नेपालका लागि भए सघाउने कुरा गरे । उनी पहिल्यै नेपाल आइसकेकाले यहाँको यथार्थ बुझेका थिए उनले । त्यसपछि उनले सप्ताहन्त भेट्ने समय मिलाएर कुरा अघि बढाए । डा. डेभिडको सल्लाह थियो, ‘प्रयोग गरिसकेको उपकरण लिँदा समस्या आउन सक्छ । बनाउने मान्छे भेटिँदैन । टिक्न पनि कम टिक्छ । सकिन्छ भने नयाँ लिनु राम्रो ।’

नयाँका लागि लाग्ने झन्डै चार करोड रुपैयाँ कसरी जुटाउने ? उनलाई सकस पर्‍यो । त्यसपछि रोटरीकै एकजनाले सुनाए, रोटरी फाउन्डेसन अन्तर्गत थ्रि एच अर्थात् हेल्थ, हंगर र ह्युम्यानेटेरियन नामको प्रोजेक्ट छ । उनले भने, ‘थ्रि एच प्रोजेक्टबाट सहयोग मिल्ने संकेत देखियो । तर यसका लागि ३–४ वर्ष कुर्नुपर्छ भन्ने कुरा आयो । विश्वव्यापी प्रतिष्पर्धामा जानुपर्ने रहेछ ।’ 

उनीहरुले सम्भाव्यता अध्ययन गर्न भने । डा. प्रधान र डा. डेभिड नेपाल आएर सम्भावना अध्ययन गरे । त्यसपछि विश्वका विभिन्न रोटरीले ल्याएका एक सय १८ प्रोजेक्टमध्ये एक सय २७ देशका रोटरियन भेला हुने कार्यक्रममा प्रदर्शनी हुने टप ११ मा छानियो नेपालको क्यान्सरको उपचार गर्ने मेसिन किन्ने योजना । नेपालबारे आफैँले केही पोस्टर तयार पारेका थिए उनले । त्यसलाई स्थानीय रुपमा लोकप्रिय पत्रिकाले पहिलो पेजमै छापेर रोटरियनको भेलामा हजारौँ प्रति निःशुल्क बाँडिदियो । यसलाई डा. प्रधान संयोग नै ठान्छन्, ‘सबै रोटरियनले पत्रिका पढेपछि नेपाललाई रेडियोथेरापी दिने कुरामा सहमति जनाए । सन् १९९६ मा ४ करोड रुपैयाँ बराबरको बजेट पारित भयो ।’

उपकरण किन्ने बजेट पारित भए पनि मेसिन राख्नका लागि भवन थिएन । त्यसका लागि उनलेस रकारलाई सघाउन भने । तर, सरकारको सहयोग लिन उनले निकै हन्डर खानुप¥यो । उनी भन्छन्, ‘एउटै प्रोजेक्टका लागि दुई जना त स्वास्थ्य मन्त्रीलाई नै भेटेँ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि भेटेँ ।’

उनका अनुसार स्वास्थ्य मन्त्रीहरुले प्रोजेक्ट अघि बढाए पनि उनका आसेपासले रोक्थे । आफ्नो अनुभव सुनाए उनले, ‘उनीहरुलाई लाग्थ्यो होला, एनजिओवालाले पैसा खाने हुन् । केही भाग हामीलाई नदिई किन अघि बढाउने फाइल ?’

भक्तपुरमा क्यान्सर अस्पताल बन्नुलाई उनी पशुपतिनाथको कृपाले चलेको देश भन्ने कुरासँग जोड्न चाहन्छन् । भने, ‘अवरोध सिर्जना गर्ने धेरै र सघाउने कम भेटेँ मैले ।’ भक्तपुरमा क्यान्सर अस्पताल बनाउँदा भोग्नुपरेका दुःखलाई समेटेर उनी किताब लेखिरहेका छन् । उनले किताबको नाम राख्न खोजेका छन्, ‘भक्तपुर क्यान्सर अस्पताल: पशुपति नाथको कृपा’ ।

डा. प्रधानले उपकरण त ल्याए तर उपचार गरेबापत केही रकम लिनुपर्ने भयो । यसले गरिबलाई सेवा नहुने देखियो । त्यसपछि फेरि बेलायतमै चन्दा संकलन गरे उनले । झन्डै २८ लाख रुपैयाँ उपचार कोषका लागि जुट्यो । यसबाट करिब सात सयको निःशुल्क उपचार भएको तथ्यांक अस्पतालले उनलाई उपलब्ध गराएको थियो । सरकारले क्यान्सर भएकालाई आर्थिक सहुलियत दिन थालेपछि उपचारका लागि चन्दा उठाउन छाडे उनले । 

सन् २००४ मा उनलाई स्वर्गीय आमाबुवाका नाममा केही गर्ने इच्छा जाग्यो । त्यही समय बेलायतमा एक जना नेपालीको विवाहमा जाँदा बाटोमा देखे ‘स्मृति भवन’ । त्यो भवन एउटाले मात्रै होइन, धेरैले आफ्ना दिवंगत आफन्तको सम्झनामा दिएको रकमबाट बनेको थियो । उनले पनि भक्तपुर क्यान्सर अस्पतालका लागि एउटा भवन यस्तै गरी बनाउने लक्ष्य लिए । उनको योजना थियो, ‘हरेकबाट एक लाख रुपैयाँ मात्रै चन्दा लिने ।’ यसरी उनले सन् २०१० सम्म १ करोड १० लाख रुपैयाँ उठाए । तर, पूर्ण रुपमा भवन बन्न तीन करोड रुपैयाँ चाहिन्थ्यो । त्यो रकमले बनाउँदै गर्ने भनेर प्रोजेक्ट अघि बढ्यो । जुन रकमले भवनको पहिलो तलासम्म मात्रै बन्यो । उनी यसका लागि थप बजेटको जोहोमा जुटिरहेकै थिए । तर, पछिल्लो पटक उनी आउँदा उक्त भवन निर्माण सकिएको देखे । काठमाडौँ बागबजार निवासी समाजसेवी चीनकाजी श्रेष्ठ र शान्तादेवि श्रेष्ठको परिवारले चार करोड बराबरको लगानी गरेर उक्त भवन निर्माण गरिसकेको थियो । पहिला डा. प्रधानलाई कसले यो भवन बनाउने काम पूरा ग¥यो भन्ने जानकारी थिएन । उनले भने, ‘मैले सुरु गरेको काम अरु कसैको सहयोगले पूरा भएको छ । यसमा म धेरै खुसी छु । यो पुन्यको काम भएको छ ।’ 

हरेकपटक नेपालबाट फर्किंदा केही न केही तीता अनुभव बोकेर फर्किने उनी यसपटक भने सन्तुष्टिको अनुभव लिएर फर्किएका छन् । 
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने