मुख्य समाचार

सरकारी डाक्टरसँग गगन थापाको प्रश्नः तपाईंहरु संलग्न निजी अस्पताल चल्ने, सरकारी किन नचल्ने?

img

डिबी खड्का

काठमाडौँ– स्वास्थ्य मन्त्री गगन थापाले सरकारी डाक्टरहरुसँग गुनासो गरेका छन्। मन्त्री थापाले सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु संलग्न निजी अस्पतालहरु चल्ने तर सरकारी अस्पतालको सेवा राम्रो हुन नसकेकोमा गुनासो गरेका हुन्।

हिमालय होटलमा क्यान्सर उपचार प्रोटोकल निर्माणका विषयमा आयोजित कार्यक्रममा मन्त्री थापाले सरकारी डाक्टरहरुको सेवा प्रवाहप्रति गुनासो गरेका हुन्। उनले सरकारी डाक्टरलाई नपुगेका कुराहरु दिन तयार रहेको र समस्याका विषयमा खुला छलफलमा आउन भन्दा पनि नआएकोमा आपत्ति व्यक्त गरे।

‘सरकार डाक्टरहरुका हरेक कुरा पूरा गर्न तयार छ,’ उनले भने, ‘तपाईंहरुलाई के पुगेन खुला छलफलमा आउनुहोस्। हामी सबै सेवा सुविधा दिन तयार छौं।’ उनले विगतमा सरकारले दिएन भनेर गुनासो गरिरहेका डाक्टरलाई यस पटक सरकारले मुठी खोलेर सहयोग गर्न तयार रहेको पनि बताए।

‘हामी सरकारी डाक्टरलाई मुठी खोलेर सहयोग गर्न तयार छौं। तपाईंका कुरा हामीसँग भन्नुहोस् भनिरहेका छौं,’ उनले थपे, ‘यति भन्दा पनि तपाईंहरु मन लगाएर काम गर्नुहुन्न भने यसमा मेरो असहमति छ।’
सरकारले देशभरका सरकारी स्वास्थ्य संस्था सुधारका लागि काम अगाडि बढाइरहेको बताउँदै मन्त्री थापाले डाक्टरलाई आफ्ना कुरा सरकारसमक्ष खुला हृदयले भन्न आग्रह गरे।

‘गाउँगाउँका स्वास्थ्य संस्थामा चाहिने सबै कुरा पूरा गर्न हामी अगाडि बढिरहेका छौँ,’ मन्त्री थापाले सरकारी डाक्टरलाई लक्षित गर्दै भने, ‘यसका लागि जनताको दैलो अगाडिको संस्थामा उपकरण तथा पूर्वाधार बनाइरहेका छौँ। अब तपाईंहरुको साथ चाहिएको छ। आफूलाई चाहिने कुरा सरकारलाई भनेर उपचार सेवालाई सहज बनाइदिनुहोस्।’

मन्त्री थापाले विगतमा जस्तो सरकारले दिएन भन्दै गुनासो गर्ने अवस्थाको अन्त्य भएको भन्दै निजीमा झैँ मन लगाएर काम गर्न आग्रह गरे। ‘यहाँ निजी अस्पतालहरु खुलेकाखुल्यै छन्’ उनले भने, ‘ती अस्पताल धानेका हाम्रै सरकारी डाक्टरहरुले हुन्। त्यसकारण निजी अस्पतालमा झैँ काम गर्ने वातावरण बनाउन हामी लागेका छौँ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने