मुख्य समाचार

सिंगापुरले विपद् व्यवस्थापनबारे नेपालका ५ सय स्वास्थ्यकर्मीलाई तालिम दिने

img

प्रवीण ढकाल

स्वास्थ्य मन्त्री गगन थापा र सिंगापुरका वरिष्ठ राज्यमन्त्री डा. अोसमान


काठमाडौं– नेपाल र सिंगापुर सरकारबीच ‘स्वास्थ्य कार्यक्रम मार्फत सामुदायिक पुनःस्थापना’मा सहकार्य हुने भएको छ। बुधबार राजधानीमा नेपाल र सिंगापुरबीच औपचारिक रुपमा सहकार्यको घोषणा भएको हो।

नेपालका तर्फबाट स्वास्थ्य मन्त्री गगन थापा र सिंगापुरका रक्षा तथा परराष्ट्रका वरिष्ठ राज्यमन्त्री डा. मोहमद मलिकी बिन ओसमानले सहकार्यको संयुक्त घोषणा गरेका हुन्।

सहकार्य अन्तर्गत नेपालको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मी गरी पाँच सय जनालाई तीन वर्षभित्र विपद व्यवस्थापनमा उच्चतहको तालिम दिइनेछ। उक्त तालिमबाट छानिएका उत्कृष्ट २० जनालाई सिंगापुरमा प्रशिक्षक तालिमका लागि छनोट गरिनेछ। उनीहरुले सिंगापुरमा प्रशिक्षक तालिम सकेपछि नेपाल आएर यस तालिमलाई निरन्तरता दिनुपर्ने हुन्छ।

विपद व्यवस्थापनको क्षेत्रमा दीर्घकालीन प्रणाली बसाल्नका लागि दिइने यो तालिम ‘तमासेक फाउन्डेसन’को आर्थिक र ‘सिङहेल्थ’को प्राविधिक सहयोमा सञ्चालन हुनेछ।

स्वास्थ्य मन्त्री थापाले स्वास्थ्य क्षेत्रको उत्कृष्ट प्रणाली भएको देश सिंगापुरबाट व्यवस्थापन गरिने यस प्रकृतिको तालिमले नेपाललाई तत्काललाई मात्र नभई दीर्घकालमा समेत ठूलो फाइदा पुग्ने बताए। ‘सिंगापुरसँगको यो सहकार्य ज्ञान तथा सीप आदानप्रदानका लागि उदाहरणीय हुनेछ,’ उनले भने, ‘यसले दक्ष जनशक्तिको उत्पादन गर्ने मात्र नभई प्रणालीको विकास गर्न मद्दत गर्छ।’

सिंगापुरका वरिष्ठ राज्यमन्त्री डा. ओसमानले यो कार्यक्रम सफल भएपछि स्वास्थ्यका अन्य क्षेत्रमा पनि सहयोग गर्ने बताए। ‘यो कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले नै अपनत्व ग्रहण गरेकाले र सरकार–सरकारबीचको सहकार्य भएकाले आफैँमा नमूना कार्यक्रम हो,’ उनले भने, ‘आगमी दिनमा हामीले अस्पताल व्यवस्थापन, इलेक्ट्रोनिक मेडिकल रेकर्ड, हेल्थ केयर फाइनान्सिङ लगायतका क्षेत्रमा पनि सहयोग गर्न सक्नेछौँ।’ उनले यो कार्यक्रमले दुई देशका जनताबीचमा रहँदै आएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा तमासिक फाउन्डेसनका वरिष्ठ निर्देशक स्ट्यान्ले लीले पहिलो चरणमा तालिम प्रदान गरिने जनशक्ति र स्वास्थ्य संस्थाको छनोट गरिने बताए। ‘हाम्रो फाउन्डेसनले यस उत्कृष्ट कार्यलाई आर्थिक सहयोग गर्नेछ भने सिङहेल्थले प्राविधिक सहयोग,’ उनले भने, ‘तालिम लिने जनशक्तिको छनोट नेपालकै स्वास्थ्य मन्त्रालयले गर्नेछ।’ उनका अनुसार जनशक्ति छनोट भइसकेपछि दोस्रो चरणमा सिङहेल्थको टिम नेपाल आएर छनोट भएका जनशक्तिलाई तालिम दिनेछ।

सिङहेल्थका एमेरिट्स कन्सल्ट्यान्ट प्राध्यापक ते बुन केङले तालिमका लागि सिंगापुरबाट आकस्मिक फिजिसियनले नेतृत्व गर्ने टोली आउने जानकारी दिए।

‘सिंगापुरबाट आउने टोलीसँग आवश्यक सम्पूर्ण जनशक्ति लगायत उपकरण र प्रविधि रहनेछ’ प्राध्यापक केङले भने, ‘तालिममा प्रिहस्पिटल, हस्पिटल र पोस्ट हस्पिटल व्यवस्थापनबारे अत्यन्त वैज्ञानिक तथा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण गराइनेछ।’

कार्यक्रमका समन्वयकर्ता प्रा.डा. मणिन्द्र रञ्जन बरालले ज्ञान र सीपको आदानप्रदान एवं क्षमता अभिवृद्धिको कार्यक्रम भएकाले यसले नेपाली स्वास्थ्यको क्षेत्रमा छुट्टै छाप र प्रभाव छाड्न सक्ने बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live