नर्सिङ

बच्चा जन्माउने योजनामा हुनुहुन्छ? यी ६ कुरामा ध्यान दिनुहोस्

img

अर्चना बगाले, नर्स

गर्भ रहनुभन्दा अगाडिको समयलाई पूर्वगर्भावस्था भनिन्छ। बच्चा जन्माउन चाहने दम्पत्ती गर्भधारणअघि सचेत हुन सके गर्भअवस्थामा आउने जटिलता कम गर्न सकिन्छ। साथै, स्वस्थ नवजात शिशुको जन्ममा सहयोग पुग्छ। यसले गर्दा मातृशिशु मृत्युदर पनि कम हुन्छ। तर, हाम्रोजस्तो विकासोन्मुख देशमा यसबारे धेरै मानिसमा ज्ञान हुँदैन।

पूर्वगर्भावस्थाको अवधिमा दम्पत्तीले स्वास्थ्य अवस्था अनुकूल गराउने गतिविधिलाई पूर्व गर्भावस्थामा गरिने हेरचाह भनिन्छ। गर्भधारणभन्दा तीन महिनादेखि लिएर एक वर्षअघिबाट पूर्वगर्भावस्थाको हेरचाहको समय सुरु हुन्छ।

गर्भावस्थाका लागि महिलाको उमेर २० देखि ३० वर्ष बीचको समय उपयुक्त मानिन्छ।

पूर्वगर्भावस्थामा हेरचाह पुग्यो भने यस्ता फाइदा लिन सकिन्छः

१. आमा र बच्चाको स्वास्थ्यमा सुधार,

२. स्वास्थ्यमा केही समाधान गर्न सक्नेखालका समस्या भए पनि सुरक्षित गर्भावस्था,

३. आमाको पोषणमा सुधार,

४. गर्भावस्थाको राम्रो नतिजाका लागि श्रीमानको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुराको बोध,

५. मानसिक रुपमा स्वस्थ हरन मद्दत,

६. अनिच्छित गर्भाअवस्था र गर्भपतनदरमा कमी, आदि।

ध्यान दिनुपर्ने कुराहरुः

१. स्वास्थ्यः स्वास्थ्यमा जटिलता ल्याउने समस्या पत्ता लगाउन सकिन्छ। जस्तैः आमाको स्वास्थ्य स्थिति, मधुमेह, रक्क्तअल्पता, उच्च रक्तचाप, आमाको मानसिक अवस्था आदि बारे ध्यान दिन सकिन्छ। आमाको शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरु पहिले नै न्यूनीकरण गरेर गर्भावस्थालाई सहज बनाउन सकिन्छ।

२. खोपः रुवेला, हेपाटाइटिस, टिटी विरुद्धको खोप पनि पूर्व गर्भावस्थामा आमाले लगाउन सक्छिन्। यसले गर्भावस्थामा हेपाटाइटिस, टिटनास, रुबेला भाइरसले गर्दा हुने जटिलता (गर्भपात वा भूण्र विकासमा आउने समस्या आदि) न्यूनीकरण गर्न सकिन्छ।

३. औषधिः पूर्वगर्भावस्थामा महिलाले कम्तिमा पनि तीन महिनाअघिबाट फोलिक एसिड खानुपर्छ। यसले गर्दा आमा अनि बच्चालाई निम्न फाइदा पुग्छः

– बच्चाको वजनमा बृद्धि,

– आमाको शरीरमा आइरनको कमी हुनबाट रोक,

– रक्तअल्पत्तामा सुधार,

– तन्त्रिका ट्युबको दोष (न्युरल ट्युब डिफेक्ट) घटाउँछ।

४. पोषणः  पूर्वगर्भावस्थाको समयमा नै आमाको शरीरमा सम्पूर्ण पोषण तत्वको मात्रा पुगेको हुनुपर्दछ। शिशुको वृद्धि विकास आमाले सेवन गर्ने पौष्टिक आहारबाट नै हुने भएकाले पूर्वगर्भावस्थादेखि नै आमाले आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएर अघि बढ्नुपर्छ। र, आफ्नो आहारमा पनि उत्तिकौ ध्यान दिनुपर्छ।

५. धूमपान तथा मद्यपानः आमा–बुबा दुवैले पूर्वगर्भावस्थाको समयबाट नै धूमपान तथा मद्यापान त्याग्नु पर्छ। पुरुषले पूर्वगर्भावस्थामा धूमपान तथा मद्यपान गरे भने निम्न असर पर्न सक्छ।

– गर्भपतन,

– अनावश्यक गर्भधारण,

– असामान्य वीर्य उत्पादन,

– नवजात शिशुमा शारीरिक र मानसिक असामान्यता, आदि।

६. अनुवंशिक स्क्रिनिङ र आमाबाबु परामर्शः आमाबाबु दुवैले वंशाणुगत कुनै रोग छन् कि भनेर स्वास्थ्य परीक्षण गर्नुपर्छ। ताकि नवजात शिशुमा त्यसको असर कम परोस्। साथै, पूर्वगर्भावस्थामा गर्नुपर्ने सम्पूर्ण हेरविचारबारे स्वास्यकर्मीसँग परामर्श लिनुपर्छ।

पूृर्वगर्भावस्थाको समयबारे अहिले पनि जनचेतनाको कमी देखिन्छ। त्यसलाई कम गर्न सरकारी स्तरबाट निम्न कदम चाल्न आवश्यक छ।

– शिक्षा, जानकारी अनि परामर्शको पँहुचमा सुधार ल्याउनुपर्छ। विद्यालय स्तरबाट नै पाठ्यक्रममा यी विषय समावेश गरेर जनचेतना बढाउने।

– समुदाय स्तरमा पूर्वगर्भावस्थाबारे सेवा तथा सुविधाको व्यवस्था गर्ने।

– आमसञ्चार माध्यमबाट जनचेतना जगाउने क्रियाकलापलाई अघि बढाउने।

पूर्वगर्भावस्थाको समयमा राम्रो हेरविचार तथा परामर्श पाएको खण्डमा गर्भावस्थाको समयमा आइपर्ने विभिन्न जटिलताबाट मुक्ति पाउन सकिन्छ। आमा र शिशुको स्वास्थ्य राम्रो हुने भएकाले यसबारे सबैले चासो राख्नुपर्छ।

(बगाले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमएस्सी नर्सिङमा अध्ययनरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live