Collapse
Expand

प्रोफाइल

कलेजो प्रत्यारोपणका लागि प्रतिबद्ध डाक्टर

img

डिबी खड्का

डा. रमेश भण्डारी


नेपालमा कलेजो प्रत्यारोपण सेवाको सुरुवात भयो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले यसको सुरुवात गरे पनि निरन्तरता भने दिन सकेको छैन । कलेजो प्रत्यारोपणका लागि दाता पाउने सम्भावना अधिक हुन्छ । जिवित व्यक्तिको कलेजको केही भाग काटेर कलेजो खराब भएको मान्छेमा प्रत्यारोपण गरिन्छ । कलेजो दाता भेट्न जति सजिलो भए पनि प्रत्यारोपण भने निकै जटित विधि हो । नेपालमै कलेजो प्रत्यारोपण सहज हुन सकेमा विदेश गएर गर्नुपर्ने खर्च धेरै कम हुन्छ । त्यसैले नेपालमै कलेजो प्रत्यारोपणलाई व्यावहारिक र सहज बनाउन केही चिकित्सकको योगदान उल्लेखनीय छ।

त्यसमध्ये पर्छन् डा. रमेश भण्डारी । शिक्षण अस्पताल महराजगञ्जबाट जिआई सर्जरीमा एमसिएच (पिएचडी सरह) गरेका डा. भण्डारीले अस्ट्रेलियाको मेलबर्नस्थित रोयल अस्ट्रेलेसियन कलेज अफ सर्जन्सबाट कलेजो प्रत्यारोपण सम्बन्धी तालिम लिएका छन् । नेपालमै कलेजो प्रत्यारोपण सेवा दिन सम्भव छ भनेर केही वर्षअघि नै आशा जगाएका उनले सुरुवात गर्न भने ढिलाइ गरिरहेका छन्।

शिक्षण अस्पतालमा कार्यरत उनी त्यहीँबाटै प्रत्यारोपण सेवा सुरु गर्ने लक्ष्यमा थिए । ‘तर, किन ढिलो गरिरहनुभएको छ त?’ उनले छोटो उत्तर दिए, ‘सुरु गरेपछि रोक्नु नपरोस् भनेर हामी सम्पूर्ण तयारीमा लागेका थियौं ।’ त्यसबाहेक सहयोग गर्नुपर्ने निकाय गम्भीर नहुनु, संस्थासँग आर्थिक अभाव हुनु, प्रत्यारोपणका लागि चाहिने जनशक्ति नहुनु जस्ता समस्याले पनि उनको योजना कार्यान्वयनमा ढिलाइ हुँदै गएको छ । भन्छन्, ‘मुख्य कुरा त प्रत्यारोपणका लागि चाहिने अप्रेसन थिएटरदेखि उपकरणसम्म किन्न चाहिने बजेटको अभाव छ ।’ उनले हरेक पटक फेरिने स्वास्थ्यमन्त्रीसम्म पुगेर प्रस्ताव राख्न भने छाडेका छैनन्।

यसपटक भने उनी अलि आशावादी बनेका छन् । भने, ‘पहिलो त, केही गर्न चाहनेलाई हौसला दिने गगन थापा स्वास्थ्यमन्त्री हुनुहुन्छ । अर्काे टिचिङ अस्पतालले नै कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।’ कलेजो प्रत्यारोपण सेवा एउटा संस्थाले सुरु गरिसकेको अवस्थामा सबैतिर चासो जागेको छ । उनलाई विश्वास छ अब चाँडै नै शिक्षण अस्पताल महाराजगञ्जमा पनि यो सेवा उपलब्ध हुने सक्नेछ।

२०७१ सालमा कलेजो प्रत्यारोपण सम्बन्धी तालिम लिएर फर्केका डा. भण्डारीले यसबीचमा के गरे त ? आफू चुपचाप लागेर नबसेको जनाउ दिँदै भने, ‘जनशक्ति उत्पादनमा जोड दिएँ । प्रत्यारोपणमा सामूहिक लगाव चाहिन्छ । अन्य सहकर्मीलाई यस सम्बन्धी तालिमका लागि विभिन्न ठाउँमा पठाउने बन्दोबस्त मिलाएँ ।’ प्रत्यारोपण समूहको महत्वपूर्ण हिस्सा रहने एनेस्थेसियाका डा. अमित भट्टराई कलेजो प्रत्यारोपणबारे तालिम सकेर चाँडै फर्किंदैछन् । उनी फर्केलगत्तै अर्का डाक्टर तालिम लिन जाँदैछन् । क्रिटिकल केयरमा डा. सुवास आचार्य तयार छन् साथै अन्यलाई पनि तयार गरिँदैछ । यसैगरी हेपाटोलोजिस्ट, नर्स लगायत आवश्यक जनशक्ति तयार भइरहेका छन् । उनले भने, ‘सुरुमा प्रत्यारोपणका लागि सशक्त टिम बनाउँछु भनेर यतातिर लागेँ । लगभग दुई वर्ष यस्तै कुरामा खर्चिएँ।’

शिक्षण अस्पतालका पूर्वाधारलाई पनि कलेजो प्रत्यारोपणका लागि उपयुक्त अवस्थामा अपग्रेड गर्दै लगिएको उनी बताउँछन् । उनी भन्छन्, ‘हालैमात्र मैले तालिम लिएको ठाउँका कलेजो प्रत्यारोपण विशेषज्ञ आउनुभएको थियो । हामी सहयोग गर्छाैं, अब सुरु गर्दा हुन्छ भन्नुभएको छ ।’ यसैगरी प्रत्यारोपणका लागि उनी जस्तै एक जना सर्जन भारतबाट आउँछन् । जो नेपाली भए पनि उतै प्रत्यारोपण सेवा दिइरहेका छन्।

कलेजो प्रत्यारोपणबारे चासो र चिन्ता सबैमा कायम रहोस् भन्नका लागि शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत केही डाक्टर र नर्सलाई समेटेर उनले एउटा क्लब बनाएका छन् । भने, ‘जहाँ सर्जन, आइसियू विशेषज्ञ, हेमाटोलोजिस्ट, प्थाथोलोजिस्ट र नर्सलाई समाहित गरेर यस सम्बन्धी ज्ञान र सीप आदान–प्रदान गरिरहेका हुन्छौँ।’

उनले कुनै दिन देशमै कलेजो प्रत्यारोपण सेवा दिने सपना बोकेर यस सम्बन्धी तालिम लिएका हुन् । शिक्षण अस्पताल महाराजगञ्जबाटै जनरल सर्जरीमा एमएस गरेका डा. भण्डारीले लिभर प्याङ्क्रियाज सर्जरीमा अस्ट्रेलियामा एकवर्षे फेलोसिप पाए । वर्षमा दुई जना साउथ एसियन डाक्टरले पाउने उक्त फेलोसिप गर्दाकै बखत उनलाई लागेको थियो, ‘एकदिन हामी पनि कलेजो प्रत्यारोपणसम्म पुग्नुपर्छ।’

संयोगले उनी जुन सेन्टरमा लिभर प्याङ्क्रियाज सर्जरीबारे ज्ञान लिइरहेका थिए, त्यहाँ कलेजो प्रत्यारोपण पनि हुन्थ्यो । उनले फेलोसिप सकिनै लाग्दा सोधेछन्, ‘म फेरि प्रत्यारोपणको तालिम लिन आउन सक्छु ?’ प्रत्यारोपण सेन्टरले उनलाई सिकाइरहेका प्रोफेसर र उनीसँगै सिकिरहेका सहकर्मीको प्रतिक्रिया लिएपछि ‘ओके’ गरिदियो । उनले नेपाल फर्केर जिआईमा एमसिएच पूरा गरे । उनी भन्छन्, ‘त्यसपछि मलाई प्रत्यारोपणका लागि तयारी गर्न झन् जरुरी लाग्यो । किनकि शिक्षण अस्पताल यस्तो ठाउँ हो, जहाँ पूरा क्षमता प्रस्तुत गर्न सकिन्छ । मैले सर्जनका रुपमा धेरै ठूलो काम गर्ने भनेको प्रत्यारोपण हो।’

उनले अस्ट्रेलियाबाट फर्किएपछि एक–दुई वर्षभित्रै प्रत्यारोपण गर्ने योजना बनाएका थिए। उनले त्यसबेला विभिन्न अस्पतालका हेपाटोलोजिस्टलाई सम्पर्क गरेर निकालेको अनौपचारिक तथ्यांक अनुसार वर्षमा ३० देखि ४० जना नेपाली कलेजो प्रत्यारोपण गर्न विदेश जान्छन् । उनलाई लाग्यो, ‘कलेजो प्रत्यारोपण सेवा महँगो छ । विदेश गएर गराउन सक्ने नेपाली छन् भने नेपालमा त ४० प्रतिशत कम खर्चमै गर्न सकिन्छ ।’ उनको अर्काे आशा भनेको न्यून आर्थिक अवस्थाका बिरामीलाई सहुलियतमा प्रत्यारोपण गर्न सकिएला कि भन्ने हो ।

कलेजो प्रत्यारोपणको सपना बोकेर हिँडिरहेका डा. भण्डारीले एमबिबिएस भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेका हुन् । बैतडीबाट काठामाडौँ आएर विद्यालयतह अध्ययन गरेका उनले भिएस निकेतनबाट एसएलसी र वीरेन्द्र सैनिक स्कुलबाट आइएससी गरेका हुन्।

कलेजो प्रत्यारोपण सेवा आरम्भ नगरे पनि यसमा आफूलाई दक्ष बनाउने क्रममा उनी निरन्तर लागेका छन् । केही समयअघि एक महिना बेल्जियम बसेर नयाँप्रविधि र प्रक्रियाबारे आफूलाई अद्यावधि गराए । यसैगरी, उनले जापानमा एक महिना बसेर कलेजोदेखि ग्यास्ट्रो इन्ट्रोलोजी सर्जरीबारे थप जानकारी हासिल गरे । भन्छन्, ‘विज्ञानमा नयाँ कुरा निरन्तर खोजी भइरहेका हुन्छन् र अभ्यास भइरहेका हुन्छन् । त्यसैले आफूलाई अपग्रेड गर्नैपर्छ ।’ आफ्नो क्षेत्रप्रतिको लगावले पनि नेपालमा कलेजो प्रत्यारोपणलाई एउटा बाटो देखाउने सर्जनका रुपमा उनलाई विश्वास गर्न सकिन्छ।

उनको विशेषता भनेकै आफू संलग्न क्षेत्रमा शत् प्रतिशत मेहेनत गर्नु हो । डा. भण्डारीले एमबिबिएस पछि दुई वर्ष बालरोग विभागमा समेत काम गरेका थिए । अनुभवका हिसाबले उनी बालरोग विशेषज्ञ नै बन्नुपर्ने थियो । तर, उनले सर्जरी रोजे र यसैमा आफूलाई प्रमाणित गरिरहेका छन्।

उनी शिक्षण अस्पतालसँग आवद्ध भएको ११ वर्ष भइसकेको छ । शिक्षण अस्पतालप्रति उनको लगाव गहिरो छ । त्यहीँ आफूले जानेका कुरा बाँडिरहेका छन् । कलेजो प्रत्यारोपण सेवाका लागि प्रतिबद्ध देखिएका डा. भण्डारीले भने, ‘कलेजो प्रत्यारोपण सेवा स्थापित गरेर यो संस्थाले लगाएको गुन तिर्न चाहन्छु।’

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने