Collapse
Expand

विचार/ब्लग

हत्यारो जेनेटिक सेन्टर

कुन्ता शर्मा

हत्यारो जेनेटिक सेन्टर

गहन मौनतामा बसेर
आन्दोलित मनले सोचिरहेछु
म भर्खर–भर्खर
छुनमुनाउन लागेका बेला
आमाको न्यानो गर्भाशयमा
धन्य हो निर्मित रहेनछ
हत्यारो जेनेटिक सेन्टर ।

 

लाखौँलाख कोषिकाबाट
समयका सुन्दर र नरम औँलाहरुले
म निर्मित हुँदै जाँदा
मैले मानव देह प्राप्त गर्दै जाँदा
मेरो अस्तित्व निर्माण हुँदै जाँदा
कसो अस्तित्वमा आएको रहेनछ
हत्यारो जेनेटिक सेन्टर ।

 

भर्खर–भर्खर
आमाका मधुर अनि प्रिय
लयबद्ध हृदयका स्पन्दनहरु सुन्दै जाँदा
ऊर्जा पस्दै गरेका हातगोडाहरु
बिस्तारो–बिस्तारो चलाउँदै जाँदा
ओहो कति संकटमा पर्ने थियो
एक मुठी सास मेरो
धन्य त्यतिखेर निर्मित रहेनछ
हत्यारो जेनेटिक सेन्टर ।

 

आमाको न्यानो गर्भको
मनतातो एम्निओटिक फ्लुडमा
चुर्लुम्म चोपिएर
ओठमा मन्दमन्द
मुस्कान खेल्न लागेका बेला
त्यो आनन्दको सरोवरबाट
घिसारेर रछ्यानमा फाल्न
धन्य हो गतिशील भएन
हत्यारो जेनेटिक सेन्टर ।

 

कष्टका हजारौं श्रृंखला छन् जीवनमा
समस्याका कैयौँ चक्रब्युह छन् जगत्मा
सामाना गर्नुपर्ने सहस्र चक्रवातहरु छन्
पहरोमा ठोक्किएको कुहिनोजस्तो अनुभूति
तर जे भए पनि, जस्तो भए पनि
सयौँ अरिँगालले चिलेजस्तो भए पनि
कमसे कम संघर्ष गर्न त पाइयो
बाटाहरुमा आउने आँधी चिर्न त पाइयो ।

 

वर्तमान रछ्यानमा फालिएको देख्दा
करोडौँ निर्दोष महिला भ्रुण
आङ सिरिङ्ग हुन्छ, आक्रोशले दाह्रा किटिन्छ
कहालिएको मन उद्घोष गर्छ
सत्यानास होस जेनेटिक सेन्टर
हत्यारो जेनेटिक सेन्टर

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने