डक्टर्स आर्टिकल

हुरुक्क हुनेगरीको पेट दुखाइ प्यांक्रियाटाइटिस त होइन? यस्ता छन् कारण र लक्षण

डा. सन्दीपराज कुँवर

पेटको माथिल्लो भागको दुखाइलाई प्रायःले 'ग्यास्ट्रिक भएर दुख्यो' भन्ने गरेको पाइन्छ। तपाईंहरु मध्ये पनि धेरैले यस्तो सोच्नु हुन्छ होला। किनकि, बोलिचालीको भाषामा 'ग्यास्ट्रिक' भनिने 'ग्यास्ट्राइटिस'लाई नेपालीको 'पहिचान रोग'का रुपमा व्याख्या गरेको पाइन्छ। त्यसैले पनि होला पेट दुख्यो कि ग्यास्ट्रिक भयो भनेर त्यहीअनुसार निको पार्ने कोसिसतिर लाग्छन् धेरै मानिस।

तर, पेटको माथिल्लो भागको दुखाइ ग्यास्ट्रिककै कारणले मात्र हुने गर्दैन। जब दुखाइ असामान्य हुन्छ, त्यसबेला अग्नाशय (प्यांक्रियाज) सुन्निएको पनि हुन सक्छ। पेट औडाहासँग दुखेमा त्यो ग्यास्ट्रिक नभई अग्नाशय सुजन (प्यांक्रियाटाइटिस) हो कि भनी बिरामी र उनका परिवारले मात्रै नभएर पेट तथा कलेजो रोग विशेषज्ञहरूले समेत एक पटक सोच्नै पर्ने हुन्छ। र, समयमै त्यसको निदान र उपचारतर्फ लाग्नुपर्छ।

प्यांक्रियाज के हो?

प्यांक्रियाज पाचन प्रणालीअन्तर्गतको एउटा ग्रन्थी हो। यो करिब १२–१५ सेन्टिमिटर लामो अंग्रेजी अक्षर 'जी' आकारको हुन्छ। यो नरम, डल्लाडल्ली भएको र पेटको खाली भागको पछाडिपट्टि रहने एक ग्रन्थी हो। यसको टाउको, मध्य भाग, टाउको तलको भाग र पुच्छर हुन्छ। यसको टाउको अर्थात् माथिल्लो भाग हाम्रो पेटको अर्को महत्वपूर्ण अंग ड्युडेनम (सानो आन्द्राको सुरुको भाग) सँग जोडिएको हुन्छ।

यसमा मुख्य र सहायक गरी दुईवटा अग्नाशय नली हुन्छन्। ती दुवैले अग्नाशय रस (पाचनरस) ड्युडेनमको दोस्रो भागमा खसाल्छन्। तिनले हामीले खाएका खानामा रहने कार्वोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ पचाउने काम गर्छन्। त्यसरी नै प्यांक्रियाजले आफ्ना स–साना कोषिकाबाट इन्सुलिन उत्पादन गर्ने काम पनि गर्छ। उक्त इन्सुलिनले रगतमा 'ब्लड सुगर' (रगतमा चिनीको मात्रा) को मात्रा नियमित गर्ने काम गर्छ। यसलाई 'इन्डोक्राइन प्यांक्रियाज' भन्ने गरिन्छ।

प्यांक्रियाटाइटिस र लक्षण

प्यांक्रियाजमा, त्यसको सतहमा वा कुनै भागमा सुजन (सुन्निने) वा सङ्क्रमण हुने प्रक्रियालाई नै अग्नाशय सुजन (प्यांक्रियाटाइटिस) भन्ने गरिन्छ। यो रोगमा तीव्र गतिको सुजन हुन्छ, जसले प्यांक्रियाजका कोषिका वा मांशपेशीलाई नै क्षति पुर्‍याउने काम गर्छ। तर, अचम्म के छ भने, त्यसरी एकपटक क्षति पुगेको प्यांक्रियाज ग्रन्थी आफ्नो काम र संरचनामा कुनै परिवर्तन नभई पुनः आफैँ ठीक हुन्छ। जब प्यांक्रियाज सुन्निने प्रक्रिया बारम्बार हुन थाल्छ त्यसले ग्रन्थीकै स्वरुप र संरचनामा असर पुर्‍याउँछ र कार्यक्षमता नष्ट पार्छ। प्यांक्रियाजको यही अवस्थालाई नै प्यांक्रियाटाइटिस भनिन्छ।

प्यांक्रियाटाइटिस दुई प्रकारका हुन्छन्। एउटा 'एक्युट' (तीव्र) र अर्को 'क्रोनिक' (दीर्घकालीन) । एक्युट प्यांक्रियाटाइटिस हुँदा पेटमा नाइटोमाथिको भाग खप्नै नसक्ने गरी दुख्ने, पोल्ने हुन्छ। यो दुखाइ बढ्दै जान्छ र पछाडिसम्म सर्छ। वाकवाकी लाग्ने, सास फेर्न गाह्रो हुने, केही खानै नहुने, मुटुको धडकन तीव्र हुने जस्ता लक्षण देखिन्छन्। दुखेको बेला घोप्टो परेर बसेमा दुखाइ केही कम भएजस्तो हुन्छ। क्रोनिक प्यांक्रियाटाइटिसमा खाना नपच्ने, पातलो दिसा लागिरहने, बिरामी दुब्लाउँदै जाने, मधुमेह देखिने, ब्लड सुगर बढ्ने जस्ता लक्षण देखा पर्छन्।

प्यांक्रियाटाइटिसका कारण

प्यांक्रियाटाइटिसका कारणमध्ये करिब ४० प्रतिशतको कारक तत्व पित्तथैलीको पत्थरीलाई मान्ने गरिएको छ। यसको दोस्रो ठूलो कारक तत्वमा मद्यपान सेवनलाई लिइन्छ। पाँच देखि १५ वर्षसम्म लगातार मद्यपान गर्ने लतमा परेका व्यक्तिमध्ये करिब ३५ प्रतिशतलाई प्यांक्रियाटाइटिस हुने गरेको पाइन्छ।

तर, मध्यपान गर्ने जति संख्यामा प्यांक्रियाटाइटिसका बिरामी हुन्छन् त्यतिकै हाराहारीमा मध्यपान नगर्नेहरुलाई पनि यस्तो समस्या भेटिन्छ। यसका धेरै कारण भए पनि खास कारण के हो भनी यकिनसँग भन्न सकिँदैन।

रगतमा 'ट्राइग्लिसराइड' (बोसो, विकार) को मात्रा अत्यधिक हुने, 'क्याल्सियम'को मात्रा अधिक हुने र दुर्घटनाका कारण छातीमा लाग्ने गम्भीर चोटका कारण पनि प्यांक्रियाटाइटिस हुनेगर्छ। यस्तै, औषधिहरुको  अनावश्यक प्रयोग, प्यांक्रियाजको संक्रमण, प्यांक्रियाज रोगको वंशाणुगत इतिहास, ट्युमर, विषादिसँगको सम्पर्क एवं प्रयोग, शरीरको प्रतिरक्षात्मक प्रणालीले प्यांक्रियाजका कोषिकालाई नष्ट गर्ने प्रक्रिया आदि कारणले पनि प्यांक्रियाटाइटिस हुन सक्छ। मध्यपानसँगै सुर्ती सेवन वा धूमपानलाई पनि प्यांक्रियाटाइटिसको कारक तत्वका रुपमा लिइन्छ।

जटिलता

प्यांक्रियाटाइटिस हुँदा बिरामीमा धेरैखाले जटिलता आउन सक्छन्। प्यांक्रियाज वरिपरिका अंगहरुमा क्षति पुग्ने, घाउ/खटिरा तथा ट्युमर पलाउने हुन सक्छ। कहिलेकाहीँ शरीरका अन्य अंग (फोक्सो, मिर्गौला, कलेजो आदि) मा हानी पुर्‍याउने पनि हुन सक्छ। आन्द्रामा रक्तस्राव हुने सम्भावना पनि रहन्छ।

कडा वा तीव्रखालको प्यांक्रियाटाइटिस प्राणघातक पनि हुनसक्छ। अत्याधुनिक प्रविधि र सुविधासम्पन्न पेट तथा कलेजो रोग उपचार हुने अस्पतालहरुमा पुर्‍याउँदा समेत बिरामी बचाउन कठिन हुने गरेका घटनाहरु प्रसस्त छन्। कडा प्रकृतिको प्यांक्रियाटाइटिस भएका बिरामीहरूमध्ये करिब ४० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांकले देखाउँछ। दीर्घकालीन प्यांक्रियाटाइटिसले भने बिरामीमा कूपोषण, मधुमेह र प्यांक्रियाजको क्यान्सरसमेत गराउन सक्छ।

निदान

बिरामीको रोगको इतिहास र रगतमा 'अमाइलेज' र 'लाइपेज'जस्ता पाचनरसको मात्रा जाँच गरेर तीव्र प्यांक्रियाटाइटिस पत्ता लगाउन सकिन्छ। रगतमा अमाइलेज र लाइपेजको मात्रा बढी छ भने त्यसले प्यांक्रियाटाइटिस भएको जनाउ दिन्छ। यस्तै, पेटको भिडियो एक्सरे गर्दा पनि रोगको प्रारम्भिक अनुमान गर्न सकिन्छ। प्यांक्रियाटाइटिसको जटिलताबारे पत्ता लगाउन सिटी स्क्यानले मद्दत गर्छ।

त्यस्तै, इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट पनि प्यांक्रियाटाइटिसको कारणबारे पत्ता लगाउन सकिन्छ। इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट परीक्षण गर्न सुरु गरेको छोटो समयमै २० प्रतिशतभन्दा बढीमा दीर्घकालीन प्यांक्रियाटाइटिस भएको पत्ता लागेको थियो। यो प्रविधि प्यांक्रियाजको संक्रमण, प्यांक्रियाजमा भएको क्षति र पिप जम्ने समस्या निदान गर्न ज्यादै उपयोगी हुन्छ। प्यांक्रियाजमा भएको पानीका फोकाहरुबाट पानी निकाल्न समेत अल्ट्रासाउन्ड प्रविधिले मद्दत गर्छ।

उपचार

प्यांक्रियाटाइटिसको उपचार खासगरी बिरामीको पीडामुक्तिमा सहयोगी हुने औषधोपचार नै हो। अति कडा र गम्भीर प्रकृतिका प्यांक्रियाटाइटिस बाहेकका समस्याको औषधोपचारबाटै समाधान गर्न सकिन्छ। पेट दुखिहाल्यो भन्दैमा औषधि पसलबाट दुखाइ कम गर्ने औषधि किनेर खाइहाल्नु हुँदैन। बरु, जतिसक्दो चाँडो पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श लिनु बुद्धिमानी हुन्छ। कुनैबेला बिरामीको रोग हामीले सोचेभन्दा खतरनाक र प्राणघाती पनि हुन सक्छ भन्नेतर्फ सचेत हुनुपर्छ।

प्यांक्रियाटाइटिसको जटिलता हेरेर बिरामीलाई विशेषज्ञको प्रत्यक्ष रेखदेखमा सघन उपचार कक्ष (आइसियू) मै राखेर उपचार गर्नुपर्ने हुनसक्छ।

(पेट तथा कलेजोरोग विशेषज्ञ डा. कुँवर नर्भिक अस्पतालमा कार्यरत छन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने