समाचार

पहिलो दक्षिण एसियाली योगा प्रतियोगितामा भारत पहिलो नेपाल दोस्रो

img

पारसविक्रम शाही

नेपाल योग खेलकुद संघले योगलाई अझ व्यापक बनाउने उद्देश्यले प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप प्रतियोगिता आयोजना गरेको छ। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित योगा प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी एक सय ६३ जनाले प्रतिस्पर्धा गरेका थिए।

सोमबार सकिएको योगा प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धीले आ-आफ्नो योगकला प्रदर्शन गरेका थिए। ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा भएको थियो। योगा च्याम्पियनसिपमा भारत पहिलो स्थानमा आएको छ भने नेपाल दोस्रो भएको छ।

नेपाल कूल २६ अंकसहित उपविजेता बनेको हो। पहिलो भएको भारतले ५९ अंक बटुल्यो भने तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक मात्रै हात पार्‍यो।

प्रतियोगिताको ८–१२ वर्ष उमेरसमूह अन्तर्गत महिला टिममा भारत पहिलो र नेपाल दोस्रो भयो। ८–१२ वर्षको पुरुष टिममा पनि भारत पहिलो भयो भने नेपालले दोस्रो स्थानमै चित्त बुझायो।

प्रतियोगिताअन्तर्गत १२–१४ वर्षको पुरुष व्यक्तिगतमा भारतले स्वर्ण र रजत जित्यो भने कास्यमा भारत र नेपालका खेलाडीले बराबरी गरे। १२–१४ वर्षको महिला व्यक्तिगतमा भारतकै योगकर्मी प्रथम, दोस्रो र तेस्रो भए भने बंगलादेशले पनि तेस्रो स्थान पायो। १२–१४ वर्षको महिला टिममा भारतले शीर्ष स्थान हात पार्‍यो भने नेपाल दोस्रो स्थानमै रह्यो।

यस्तै, १४–१८ वर्षको पुरुष व्यक्तिगत र टिम दुवैमा भारत नै पहिलो आयो। १४–१८ वर्षको महिला व्यक्तिगत स्पर्धामा भारतका खेलाडीले तीनवटै उपाधि जिते भने १४–१८ वर्षको महिला टिममा पनि भारत नै च्याम्पियन बन्यो।

१८ वर्षमाथिको पुरुष व्यक्तिगतमा स्वर्ण, रजत र कास्य पदक भारतकै पोल्टामा गयो। १८ वर्षमाथि पुरुष टिममा भारत पहिलो र नेपाल दोस्रो भयो। १८ वर्षमाथि महिला व्यक्तिगतमा भारतले पहिलो र दोस्रो स्थान ओगट्यो भने तेस्रो स्थानमा बंगलादेशकी खेलाडी र भारतकी खेलाडीले बराबरी गरे। १८ वर्षमाथि महिला टिममा भारत पहिलो र नेपाल दोस्रो नै भयो।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष प्राडा सूर्यबहादुर कार्कीले पुरस्कार वितरण गरेका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live