नर्सिङ

‘नर्सहरुले बोली र वचनलाई वशमा राख्नुपर्छ’

प्रविज्ञा घिमिरे, नर्स

नर्सिङ पेसा र सेवा पर्यायवाची शब्द हुन्। मानव जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुनाले यो पेसालाई निकै संवेदनशील पेसाका रुपमा लिइन्छ। विगतमा नर्सिङ पेसालाई दुखीको पेसाका रुपमा हेरिन्थ्यो, त्यसपछि बिस्तारै डाक्टरलाई सहयोग गर्ने महिला भनेर चिनिन थालियो। त्यतिबेलाको परिवेश त्यस्तै थियो। समयसँगै नर्सिङ पेसाले पनि फड्को मार्दै आएको छ। अहिले नयाँ शिक्षा, सीप र व्यावहारिक ज्ञानले नर्सिङ पेसालाई छुट्टै उचाइ र पहिचान दिएको छ।

नर्सिङ पेसा अहिलेको चिकित्सा सेवाको एउटा अभिन्न अंग हो। आमनागरिकसँग नर्सहरुको सिधा सम्बन्ध हुने भएकाले स्वास्थ्य सेवामा नर्सको प्रत्यक्ष योगदान हुन्छ। नर्सहरुले बिरामीको सेवासँगसँगै समाजमा आफ्नो स्वास्थ्यप्रति सचेत गराउने काम पनि गर्छन्। विश्वमा जसरी नेपालमा पनि नर्स र नर्सिङ पेसाले आफ्नै विशिष्ट स्थान बनाउन सफल भएको छ। नेपालमा पनि नर्सिङ जनशक्ति हस्पिटलसँगै समाज र स्वस्थ्यका हरेक क्षेत्रमा फैलिएको छ।

नर्सहरुले आफ्नो क्षमता, दक्षता, सीप, व्यावहारिक ज्ञान प्रयोग गरेर मानवीय पीडा कम गर्ने काम गरिरहेका छन्। समयसँगै हरेक कुराको परिवर्तन हुनु एउटा चक्र नै हो। समय आनुसार हरेक कुरा परिवर्तन भएजस्तै नर्सिङ पेसामा पनि धेरै परिवर्तन आएका छन्।

बिरामी अवस्था जीवनको एउटा कठिन समय हो। जसमा बिरामीको परिवार र बिरामीलाई निकै साथ र सहयोगको खाँचो हुन्छ। भनिन्छ नि बिरामी र बिरामीको परिवारसँग मिठो बोलिदिँदा पनि आधा रोग त्यसै निको हुन्छ। त्यस कारण नर्सहरुले आफ्नो बोली र वचनलाई बसमा राख्नुपर्छ। आफू र आफ्नो पेसाप्रतिको सम्मानको ख्याल गर्नुपर्छ।

नर्सिङ पेसामा आएको परिवर्तनसँगै व्यवहारमा पनि परिवर्तनको अपेक्षा नागरिकस्तरबाट हुनु सामान्य हो। सेवाका बाबजुद पनि अहिले नर्सहरुलाई बारम्बार लाग्ने आरोप भनेकै, ‘बोलीचाली राम्रो नहुने, झर्कीफर्की गर्ने’ भन्ने हो। यो केही हदसम्म सत्य पनि छ। नर्सको बोली, व्यवहार बिरामीमैत्री हुनुपर्छ। सेवा गर्छु भनेर यो पेसा अँगागिसकेपछि यसका न्यूनमत मान्यताहरु कहिल्यै भुल्नु हुँदैन। त्यही न्यूनतम मान्यताभित्र पर्छ नर्सको बोलीचाली र व्यवहार।

नर्सहरु जिम्मेवार, मिलनसार र मिहिनेती हुनुपर्छ भन्दै गर्दा नर्सहरुलाई निर्देश गर्ने नियम–कानुन कस्ता छन्? योग्याता अनुसार पारिश्रमिक छ कि छैन? कतै शोषण पो भइरहेको छ कि? अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड कस्ता छन्? भन्ने प्रश्नहरुमा पनि घोत्लिनुपर्छ। ‘भोल्युन्टर’का नाममा नर्सहरुमाथि हुने आर्थिक शोषण अझै पनि कतिपय ठाउँमा देख्न सकिन्छ। यस्ता विकृति हटाउनतर्फ सरकार सचेत भइदिए हुन्थ्यो भन्ने नर्सहरुको चाहना हो।

बिरामीको अनुपातमा नर्सलाई नियुक्ति दिइनुपर्छ र थप अध्ययनको बाटो खोलिदिनुपर्छ। आस्पतालमा नर्सहरु अनिवार्य भए पनि उनीहरुको संख्या र गुणस्तरमा सरकारले त्यति ध्यान दिन सकेको छैन। नर्सिङ पढेर देशमै सेवा गर्छु भन्नेहरु भन्दा विदेश जान्छु भन्नेहरुको जमात ठूलो हुँदै गइरहेको छ। नर्सहरुले विदेशको विकल्प रोज्नु भनेको देशभित्र प्रचूर सम्भावना र अवसर नभेटेरै हो भन्दा फरक पर्दैन। योग्यता र क्षमताको कदर भए कोही पनि विदेशी भूमिमा गएर गुमनाम जिन्दगी बाँच्न चाहँदैन सायद।

नर्सहरुले दिनरात नभनी ड्युटीमा खटिनुपर्छ। यो पेसा अँगालेपछि व्यक्तिगत जीवनभन्दा पहिला ड्युटी आउँछ। तथापि, कतिपय अवस्थामा अपमानित र दुर्व्यवहारको सिकार हुनुपरेको छ नर्सहरुले। अरुको सेवा गर्दागर्दै थला परेका नर्सका कथा प्रसस्त छन्। बिरामीको सेवा गर्दागर्दै पेटको क्यान्सर भएकी नर्सको व्यथा स्वास्थ्यखबरकै अनलाइनमा प्रकाशन भएको थियो। त्यस्ता घटनाले भतभती मन पोल्छ। आफ्नो दुःख व्यथा नभनी बिरामीको अगाडि मुसुक्क हाँस्दै सेवामा उभिने नर्सहरुको सुरक्षाका लागि सरकारले बोल्नै पर्छ, हेर्नै पर्छ।

नर्सहरुले पनि आफ्ना हकहितका लागि एकजुट हुनुपर्ने बेला आइसकेको छ। सरकारले केही गरिदेला भनेर मुख ताक्दाताक्दै नर्सहरुले दशकौँ बिताइसकेका छन्। खासगरी, योग्यताअनुसारको स्थान, श्रम अनुसारको पारिश्रमिक, नियमित दक्षता अभिवृद्धि र सुरक्षित वातवरणका लागि नर्सहरुले एकजुट भएर आवाज उठाउनुपर्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live