नर्सिङ

दाङमा एक दर्जन नर्स सम्मानित

सुदर्शन रिजाल

दाङ– नेपाल नर्सिङ संघ दाङले १९७औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। दाङका नर्सहरुले शुक्रबार बिहान प्रभातफेरी, अन्तक्र्रिया, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम नर्सिङ दिवस मनाएका हुन्।

जिल्लाभरका नर्सहरु राप्ती उपक्षेत्रीय अस्पताल घोराही परिसरमा भेला भई सुरु भएको प्रभातफेरी सदरमुकाम घोराहीको मुख्य बजार परिक्रमा गरी अस्पतालमै फर्किएको थियो। त्यसपछि अन्तर्क्रिरिया, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम आयोजना भयो।

संघकी जिल्ला अध्यक्ष बिमला पौडेलको अध्यक्षता भएको अन्तक्र्रिया कार्यक्रममा नर्सिङ पेसाका विविध आयामबारे चर्चा भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेकी संघकी केन्द्रीय उपाध्यक्ष ललिता केसीले नर्सिङ पेसा जागिरभन्दा पनि सेवा भएकाले कामको सिलसिलामा सेवाभावना कहिल्यै त्याग्न नहुने बताइन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जनार्दन पन्थी र निमित्त मेट्रोनद्वय सिर्जना रिजाल र टीका रावतले पनि नर्सिङ पेसाबारे बोलेका थिए।

कार्यक्रममा जिल्ला संघकी पूर्व अध्यक्ष एवं अस्पताल नर्सिङ निरीक्षक राधा पौडेललाई संघ तथा नर्सिङकर्मीको हितमा काम गरेको भन्दै पुरस्कृत गरिएको थियो। पौडेलले उक्त पुरस्कारमा केही रकम थप गरी संघमा नर्सिङ हितकोष स्थापना गर्ने घोषणा गरेकी थिइन्। कार्यक्रममा जिल्लाको दुर्गम क्षेत्र काभ्रे हेल्थपोस्टमा कार्यरत अनमी इन्दिरा घर्ती, वार्ड ईन्चार्जहरु मालिका पाण्डे, गिता आचार्य, मीना केसी, किरण भण्डारी, देवी पौडेल, सुलोचना महर्जन, पुष्पा गिरी, लिना भडेल, जीतकुमारी थापा र बिना सुबेदीलाई सम्मान गरिएको थियो। साथै, संघको कार्यसमितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै लक्ष्मी ढकाल र शोभा कुँवरलाई पनि सम्मान गरिएको थियो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live