नर्सिङ

टपर नर्सः सेतो कोटको आकर्षणले नर्स बनायो, परिश्रमले स्वर्ण पदक दिलायो

दीपा रानाभाट, बीएस्सी नर्सिङमा स्वर्ण पदक विजेता

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एकेडेमिक सेक्सनबाट स्वर्ण पदक पाउँदैछु भनेर फोन आउँदा आफैँलाई विश्वासै लागेन । तैपनि ममीलाई फोन गरेर सुनाएँ । उहाँ एकदमै खुसी हुनुभयो । मेरो परिवारका सबै सदस्य अत्यन्त खुसी भए । साथीहरुले पनि खुसी भएर बधाई दिए । मैले आफ्नो मात्र नभएर परिवार, गुरु वर्ग, अग्रज दिदीहरु र साथीहरु सबैको सहयोग र निरन्तरको हौसला र सहयोगले सफलता पाएकी हुँ । उहाँहरु सबैलाई कहिल्यै बिर्सिन सक्दिन।
 
म सुरुदेखि नै पढाइमा लगनशील थिएँ । कुनै नयाँ किताब पाएँ भने त्यसलाई केही छिनमै पढेर सिध्याउन मन लाग्थ्यो । कक्षामा पनि ध्यान दिएर सुन्थेँ र परीक्षामा पनि सधैँ प्रथम हुन्थेँ।
 
बाबा भारतीय आर्मी भएको हुँदा मैले विभिन्न स्कुलमा पढ्ने मौका पाएँ । कक्षा ३ सम्म पोखरामा पढेँ । त्यसपछि भारतमा ६ कक्षासम्म अध्ययन गरंँ । त्यसपछि नेपालमै फर्कियौँ । आदर्श पब्लिक इङ्लिस स्कुलबाट ८३.८८ प्रतिशत ल्याएर एसएलसी गरेँ । त्यसपछि डाक्टर बन्ने उद्देश्य लिएर अर्किड साईन्स कलेजमा प्लस टु पढेँ र ७६.२ प्रतिशत अंक ल्याएँ पनि।

त्यसपछि एमबीबीएसमा नाम निकाल्नको लागि प्रिप्रेसन क्लास सुरु गरंँ र इन्ट्रान्स एक्जाम पनि दिएँ तर दुःखको कुरा, नाम निकाल्न सकिनँ । जसरी भए पनि मेडिकल नै पढ्नुपर्छ भनेर हिम्मत कसेँ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निस्क्यिो।
 
१ सेप्टेम्बर २०१० बाट बीएस्सी नर्सिङको पढाइ सुरु भयो । चारवर्षेे बीएस्सी नर्सिङमा ७९.२४ प्रतिशत अंक ल्याएर गोल्डमेडल पाउन सफल भएँं । यसलाई मैले जीवनकै महत्वपूर्ण क्षणका रुपमा लिएकी छु । मेडिकल लाइनमा लाग्छु भन्ने मेरो बच्चैदेखिको लक्ष्य थियो । सानोमा हस्पिटल जाँदा सेतो कोट लगाएका मान्छेहरु देख्दा आफू पनि त्यस्तै हुन पाए भन्ने लाग्थ्यो । सेतो कोटप्रतिको त्यही आकर्षणले अहिलेको ठाउँमा आइपुगेकी छु।
 
मलाई पढ्नका लागि परिवारले सधैँ सहज वातावरण प्रदान गर्‍यो । पढ्नका लागि दुःख नभए पनि मेरो मिहिनेत  पनि कम छैन । त्यसैले म आफूलाई मिहिनती मान्छे भन्न रुचाउँछु । कक्षामा शिक्षकले प्रश्न सोध्दा उत्तर दिन नसक्दा आत्मग्लानि हुन्थ्यो । त्यसैले क्लास जानुअघि सकेसम्म पढेर जाने प्रयास गर्थें । निरन्तर कडा परिश्रम गर्ने हो भने नर्सिङ गाह्रो छैन।
 
प्लानिङ नगरी कुनै काम सम्भव पनि छैन । अब धरान अथवा आईओएममा मास्टर इन नर्सिङ गर्ने योजना बुनेकी छु । मलाई नर्सिङ फिल्ड एक्दमै राम्रो लाग्छ । यो प्रोफेसनमा डिसिप्लिन, रेस्पेक्ट र मोटिभेसन आवश्यक छ । हुन त अधिकांश नर्सले बेरोजगार बस्नु परेको छ । कतिपय  विदेश पलायन हुन बाध्य छन् । सम्बन्धित निकायले त्यसतर्फ बेलामै सोच्न आवश्यक छ।

नोट: दीपा रानाभाट २०७१ सालको बीएस्सी नर्सिङमा स्वर्ण पदक विजेता हुन्।

प्रस्तुति: गोपाल दाहाल

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live