नर्सिङ

दीगो विकास लक्ष्य र नर्सका यस्ता भूमिका

img

अर्चना बगाले, नर्स

अन्तर्राष्ट्रिय नर्सिङ दिवस हरेक वर्ष मे १२ का दिन मनाइन्छ। आधुनिक नर्सकी संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्म दिनलाई नर्सिङ दिवसका रुपमा मनाउँदै आइएको हो। यो दिवसमा नर्सिङ पेसा सम्बन्धी विभिन्न नारा तय गरिएका हुन्छन्। यस वर्षको नारा छ, ‘नर्सिङः दीगो विकास लक्ष्य प्राप्तिका लागि नेतृत्वदायी आवाज’।

संयुक्त राष्ट्र संघले सन् २०१५ मा सहस्राब्दी विकाश लक्ष्य योजनाको अन्त्यसँगै दीगो विकाश लक्ष्यको योजना लागू गरेको छ। यस अन्तर्गत १७ वटा मूल लक्ष्य तोकिएका छन्। जुन सन् २०३० भित्र पूरा गरिसक्नुपर्नेछ। राष्ट्र संघमा आबद्ध एक सय ९१ सदस्य राष्ट्रले दीगो विकास लक्ष्यमा हस्ताक्षर गरेका छन्। नेपाल पनि यो लक्ष्य हासिल गर्ने लहरमा उभिएको एउटा देश हो।

दीगो विकास लक्ष्यहरु
दीगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो। जसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी न्यायपूर्ण र सुरक्षित विश्व निमार्ण गर्ने परिकल्पना बोकेको छ। यसका १७ वटा लक्ष्य तथा एक सय ६९ सहायक लक्ष्य छन्।

लक्ष्यहरुः
१. सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने।
२. भोकमरीको अन्त्य, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दीगो कृषिको प्रवर्धन गर्ने।
३. स्वस्थ जीवन सुनिश्ति गर्दै समृद्ध जीवनको प्रवर्धन गर्ने।
४. समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने।
५. लैंगिक समानता हासिल गर्ने।
६. स्वच्छ पानी र सरसफाइको उपलब्धता तथा दीगो व्यवस्थापन सुनिश्चित गर्ने।
७. किफायती, विश्वसनीय, दीगो र आधुनिक ऊर्जामा पहुँच सुनिश्चित गर्ने।
८. भरपर्दो, समावेशी र दीगो आर्थिक वृद्धि र उत्पादनमूलक रोजगारी प्रवर्धन गर्ने।
९. उत्थानशील पूवार्धारको निमार्ण गर्ने।
१०. असमानता हटाउने।
११. मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशील र दीगो बनाउने।
१२. दीगो उपभोग र उत्पादन प्रणाली सुरक्षित गर्ने।
१३. जलवायु परिवर्तन र त्यसको प्रभाव नियन्त्रण गर्ने।
१४. महासागर, समृद्ध समुद्री साधन स्रोतको दीगो प्रयोग तथा संरक्षण गर्ने।
१५. स्थलीय पर्यावरणको संरक्षण गर्ने।
१६. शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने।
१७. विश्वव्यापी साझेदारी सशक्त बनाउने।

राष्ट्र संघले तोकेका दीगो लक्ष्यहरु मध्ये लक्ष्य–३ पूर्ण रुपमा स्वास्थ्यसँग सम्बन्धित छ। अन्य बुँदा पनि स्वास्थ्यसँग जोडिएका छन्। यी लक्ष्य प्राप्तिका लागि नर्सिङ पेसा अर्थात् नर्सहरुले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा यहाँ थोरै चर्चा गरौँ।

नर्सले अरुलाई सेवा गर्छन्। हाम्रो पेसा सेवाकर्म हो। हामी सेवाग्राहीको स्वास्थ्यलाई मजबुत बनाउन लागिपर्छौं। घर–परिवार अनि सम्पूर्णको स्वस्थ जीवनशैली प्रवर्धन गर्ने काम पनि नर्सकै हो। रोगको उपचार मात्र होइन रोकथामको काम पनि नर्सले गर्छन्, ताकि रोग लागेर स्वास्थ्य संस्थामा धाउनुपर्ने वाध्यतालाई न्यूनीकरण गर्न सकियोस्।

हामीले मातृशिशु मृत्युदर कम गर्न सक्छौँ। गर्भावस्थाबारे जनचेतना फैलाएर जनमानसमा प्रजनन् स्वास्थ्यको महत्व बुझाउन सक्यौँ भने मातृशिशु मृत्युदरमा कमी ल्याउन सक्छौँ।

हामीले दीगो विकास योजनाका अन्य लक्ष्यहरुमा पनि सहयोग गर्न सक्छौँ। जस्तैः गरिबी निवारण, जीवन स्तरमा सुधार, स्वस्थ वातावरणको अवस्था सिर्जनाका लागि योगदान दिन सक्छौँ।

दीगो विकास लक्ष्यले हामीलाई ज्ञान–सीप प्रयोग गरेर स्वस्थ वातावरण सिर्जना गर्ने अवसर दिएको छ। नर्सले स्वास्थ्यको आवश्यकतालाई विभिन्न तहबाट मानिसहरुको जीवनमा पूरा गराउने भूमिका खेल्न सक्छन्।

हाम्रो पेशाले सबै मानिसको जीवन परिवर्तन गर्न सक्छ। अस्वस्थ हुन् वा स्वस्थ सबै मानिसलाई स्वास्थ्यप्रति र अनुशासित जीवनशैलीप्रति सचेत बनाउन सक्छन् नर्सहरुले। तसर्थ दीगो विकास लक्ष्यबारे नर्सहरुले जानकारी राख्नु र त्यहीअनुसार आफ्नो कर्तव्य पूरा गर्न अघि सर्नु आवश्यक छ।

यी लक्ष्य प्राप्त गर्न नर्सले आफ्नो दायरा फराकिलो पर्नुपर्छ। जस्तै, अस्पताल, विद्यालय, नर्सिङ कलेज, समुदाय, विभिन्न संघसस्था अनि घरपरिवारमा हामीले स्वस्थ जीवनका सूत्रहरु बाँड्न सक्छौँ। नीति नियम बनाउने ठाउँमा छौँ भने पनि यी लक्ष्य प्राप्त गर्न सहज हुने नीति नियमका लागि आवाज उठाउन सक्छाँै। नर्सहरुले दीगो विकास लक्ष्यका लागि नेतृत्वदायी आवाज उठाउनुपर्ने बेला भएको छ। नर्सहरुले कहाँ कसरी उठाउने त आवाज?

१. नर्सहरुले व्यक्तिगत रुपमा आवाज उठाउन सक्छन्। दैनिक बिरामीको सेवा गर्दा देखा परेका तथ्यांक र प्रवृत्तिहरुलाई केलाएर नर्सहरुले विभिन्न रोग र स्वास्थ्य समस्यासँग कसरी लड्न सकिन्छ भन्ने कुरा बताउन सक्छन्। जस्तै बढ्दो कुपोषण, मातृशिशु मृत्युदर, गर्भपतन, महिला स्वास्थ्य, मिर्गौला रोग, क्यान्सर जस्ता स्वास्थ्य समस्या के–के कारणले भइरहेको छ भन्ने तथ्य पत्ता लगाएर समस्या न्यूनीकरणतर्फ आवाज उठाउन सकिन्छ। जसले दीगो विकासका लक्ष्यहरु १, २, ३, ५ र ६ प्राप्ति गर्न सहयोगी भूमिका खेल्नेछ।

हामीले समाधान गर्न सकिने स्वास्थ्य समस्याबारे जनचेतना फैल्याउनका लागि आवश्यक नीति–नियमबारे आवाज उठाउन सक्छौँ। पोषणयुक्त खाद्यान्न प्रयोगका लागि कृषिसँग साझेदारी गरेर कूपोषणजस्ता समस्या कम गर्न सक्छौँ। वर्षाको समयमा फैलिने झाडापखाला नियन्त्रणका लागि पानी शुद्धीकरणका तरिकाबारेमा जनचेतना फैलाउन सक्छौँ।

नेतृत्व लिने भनेको एउटा प्रक्रिया हो, न कि कुनै पद। त्यसैले आफ्नो आवाज नीति–नियम बनाउने ठाउँमा उठाउन सकिन्छ। र, हामी नर्सले पनि यसका लागि अगुवा बन्न आवश्यक छ।

२. आफ्नो आवाज आफ्नो क्षेत्रबाट उठाउने। हामी विभिन्न नर्सिङ संघसंगठनमा आबद्ध हुन्छौँ। जस्तै, नर्सिङ एसोसिएन नेपाल, नर्सिङ संघ लगायतका संस्थाबाट नर्सहरुले आवाज उठाउन सक्छन्।

आफूले गर्न सक्ने कामका लागि उपयुक्त वातावरण सिर्जना गर्न सक्छौँ, ता कि दीगो विकास लक्ष्यहरुलाई सहयोग पुगोस्। यी संघसंगठन हाम्रा प्रतिनिधि संस्था हुन्। हामी हाम्रा आवाज यी संस्थाहरु मार्फत उठाउन सक्छौँ।

३. नर्सहरुले अस्पताल बाहेक अन्य संघसंस्थामा विभिन्न पदमा रहेर काम गरिरहेका हुन सक्छन्। जस्तैः समाजसेवा, राजनीति, न्याय, शिक्षा आदि क्षेत्रमा काम गरेको अनुभवबाट के कुराले स्वास्थ्य सेवा पहुँचमा असर परेको छ भनेर थाहा पाउन सकिन्छ। ती आधारहरुमा टेकेर हामी आबद्ध ठाउँमा आवाज उठाउन सक्छौँ।

चाहे सानै किन नहोस्, हामीले उठाएका आवाज अनि चालेका कदमले स्वास्थ्यसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सहयोग पुग्नेछ। हामीले हाम्रा आवाज मार्फत स्वास्थ्य क्षेत्रमा योगदान गर्न सक्छौँ। यो हाम्रो दायित्व पनि त हो।

अस्पतालमा मात्र सीमित नभई हाम्रो योग्यतालाई देश विकासमा प्रयोग गर्न सक्यौँ भने हाम्रो पेशाले सुनमा सुगन्ध थप्नेछ। दीगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त आवाज उठाएर आफ्नो पेशाको पहिचानलाई अझ व्यापक बनाउनु छ हामीले। अन्तर्राष्ट्रिय नर्सिङ दिवसले यस वर्ष तय गरेको नारालाई सबै नर्सले आत्मसात् गर्न सकून् भन्ने कामना गर्दछु। जय नर्सिङ।

(बगाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमएससी नर्सिङ अध्ययनरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live