मुख्य समाचार

आयात रोक्छु भन्ने व्यापारीलाई औषधि व्यवसायी संघको चेतावनी

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ- औषधि आयात, भण्डारण तथा बिक्री वितरण गर्ने व्यवसायीहरु छाता संस्था नेपाल औषधि व्यवसायी संघले आन्दोलनरत व्यवसायीहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।

औषधि आयात रोक्नेसम्मका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रिएका नेपाल औषधि आयातकर्ता संघका व्यवसायीले आयात रोके कारबाही गर्ने छाता संघले चेतावनी दिएको हो।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै संघको विधानको मर्म र भावना विपरित कार्य गरेको भन्दै कारबाही गर्ने बताएको हो। औषधिको मनलाग्दी मूल्य लिएको फेला परेपछि औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री–वितरण गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेपछि त्यसको विरोधमा औषधि आयातकर्ताहरुले बिहीबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

आयातकर्ता संघले विरोधका कार्यक्रम अनुसार शुक्रबार कालोपट्टि बाँधेर औषधि व्यवस्था विभागमा धर्ना दिएका थिए।

आयातकर्ताहरुले जनस्वास्थ्यमा आघात पुग्नेगरी निहित स्वार्थका लागि आयात ठप्प पार्ने विरोधका कार्यक्रम सार्वजनिक गरेपछि संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन्।

अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'स्वार्थका लागि मनोमानी ढंगले औषधिको सरल आपूर्तिलाई असर पर्ने गरी प्रचारबाजी गरी उपभोक्तालाई औषधि उपचार तथा सुस्वास्थ्य हुन पाउनुपर्ने नैसर्गिक अधिकारमा प्रभाव पर्ने गरी, जनस्वास्थ्यमा समेत आघात पुग्ने गरी कसैले कुनै कार्य गरेमा नेपाल औषधि व्यवसायी संघले कडा कारबाही गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं।’ ‘आयातित सम्पूर्ण औषधि पूर्ववत व्यवस्था अनुसार नै आयात हुने र सहज रुपमा बिक्री वितरण गरिरहने व्यहोरा समेत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ।

आम उपभोक्ताको स्वास्थ्यसँग सम्बन्धित अत्यावश्कीय वस्तु औषधि आयात रोक्ने चेतावनी गैरजिम्मेवारपूर्ण भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघले पारदर्शी, मर्यादित र व्यवस्थित व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै जस्तोसुकै अवस्था आए पनि पूर्ववत व्यवस्था अनुसार नै औषधि आयात हुने जनाएको छ।

नेपाल औषधि व्यवसायी संघले जारी गरेको विज्ञप्ति

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने