Collapse
Expand

नर्सिङ

नर्सिङ जागिर मात्र होइन, सेवा र समर्पण पनि हो

रेणुका खड्का, नर्स

'सेतो ड्रेस लगायो, अस्पताल गयो, जागिर खायो, आयो।' भन्नेहरुले नर्सको पेसालाई यति सजिलो ढंगले पनि भनिदिन्छन्। तर, यो सजिलो वाक्यभित्र कति अप्ठ्यारा उकाली-ओराली हुन्छन् भन्ने कुरा नर्सले नै बुझेका र झेलेका हुन्छन्। यसो भन्दै गर्दा नर्सिङ पेसा असहज र कष्टकर पेसा हो भन्न खोजिएको भने होइन। खासमा जसरी बाहिर समाजले देख्दा सजिलो र सुरक्षित पेशा भनेर नर्सिङलाई व्याख्या गर्छन् त्यति सजिलो पनि कहाँ छ र यो पेशा?

हामी नर्सहरु अहोरात्र काममा खटिरहेका हुन्छौं। काम गर्ने क्रममा विभिन्न किसिमका समस्या आइपर्छन्। जसले गर्दा हामी शारीरिक र मानसिक रूपमा शिथिल हुनेगर्छौँ। काम गर्दा आइपर्ने खतरा र हनिकारक परावैजनी किरणसँग 'एक्स्पोज' भइरहेका हुन्छौँ। जसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हनी पुर्‍याइरहेकै हुन्छ।

काम गर्दा हुने दुर्घटनामा धेरै नर्स घाइते हुनुपरेका उदाहरण छन् हामीसँग। एक्सरे जस्तै अन्य किसिमका रेहरुले क्यान्सरजस्तो डरलाग्दो रोगलाई निम्तो दिइरहेको हुन्छ। यहाँ धेरै जना नर्सहरु क्यान्सरको सिकार भएका छन् भने कतिले त क्यान्सरलाई जितेका कथा पनि छन्। सँगसँगै, बिरामीका विभिन्न किसिमका संक्रमणबाट संक्रमित भएका धेरै जना नर्सहरु छन्। कतिपयले त अस्पतालजन्य संक्रमणकै कारण ज्यान गुमाउनुपरेको छ।

विशेषगरी नर्सले बिरामीसँग नजिकिएर काम गर्नुपर्ने भएकाले तीता-मिठा दुवै अनुभव गर्न पाउँछन्। बिरामी सकुशल भएर घर फर्किँदै गर्दाका क्षण र कोही बिरामी र आफन्तले माया र सम्मानले गरेको सम्बोधन साह्रै यादगार हुन्छ। अर्कोतर्फ बिरामीको अनुपातमा नर्सको व्यवस्था नहुँदा एउटै नर्सले कति धेरै बिरामीको हेरचाह गर्नुपर्छ भन्ने कुरा कमैले मात्र बुझ्न सक्लान्। कुनै बिरामीलाई साह्रो-गाह्रो भइरहेको बेला थोरै ढिलो गरी मात्र 'रेस्पोन्स' गर्नुपर्ने वाध्यता आयो भने पनि नर्सले बिरामीका आफन्तको थर्काइ खानुपर्ने अवस्था हुन्छ। कल्पना गर्नोस् त्यो बेला सेवामा जुटेकी एउटी नर्सको मनमा के बित्दो हो।

ड्युटीको कुनै टुंगो नहुने पेसा हो नर्सिङ। कहिले बिहान, कहिले दिउँसो त कहिले राति ड्युटीका लागि तयार हुनुपर्छ नर्सहरु। यसले उनको व्यक्तिगत र पारिवारिक जीवनमा कठिनाइहरु पनि आउन सक्छन्। यी सारा कुरालाई काँधमा बोकेर नर्सहरु बिरामीको सेवामा खटेका हुन्छन्। त्यसमाथि कतिपय ठाउँमा नर्सहरुमाथि हुने आर्थिक शोषणका कुरा छन्। उनीहरुका लागि बोलिदिने कोही हुँदैनन्। कतिपय अवस्थामा यौन हिंसा र दुर्व्यवहारको शिकार हुनुपरिरहेको छ नर्सहरुले। यी यावत दुःख-सुखलाई काँधमा बोकेर नर्सहरु बिरामीको सेवामा जुट्छन्। त्यसैले नर्सिङ पेसा जागिर मात्र होइन, यो सेवा पनि हो, समर्पण पनि हो।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइरहँदा नेपालको नर्सिङ पेशामा भएका विकृति, विसंगती कम गर्न सकियोस् भन्ने कामना गर्दछु। नर्सहरु तपाईंहरुकै सेवामा जुट्ने तपाईंहरुकै परिवारका सदस्य हुन्, उनीहरुलाई सम्मानपूर्वक आँखाले हेरिदिनुहोस्। यस पेशामा देखिने कमीकमजोरी कम गर्न हामी नर्सहरु पनि उत्तिकै जिम्मेवार हुनु जरुरी छ।

(खड्का बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छिन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने