मुख्य समाचार

औषधि आयात रोक्छु भन्ने व्यवसायी विरुद्ध चारवटा संगठनको संयुक्त विज्ञप्ति

स्वास्थ्य खबरपत्रिका

काठमाडौं-  नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि व्यवसायी संघले नेपालमा सर्वसुलभ मुल्यमा गुणस्तरीय औषधि आयात गर्ने र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको निर्णयको स्वागत गर्दै औषधि आयात ठप्प पार्ने व्यावसायीहरुको निर्णयको विरोध गरेका छन्।

चारवटै संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै औषधि आयात रोक्नेसम्मका कार्यक्रम सार्वजनिक गरी आन्दोलनमा उत्रिएको नपाल औषधि आयातकर्ता संघको निर्णयको विरोध गरेको हो। चारवटै संगठनले आयातकर्ता संघको आन्दोलनको निर्णयको भत्सर्ना गरेका छन्। 

औषधिको मनलाग्दी मूल्य लिएको फेला परेपछि औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री–वितरण गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेपछि त्यसको विरोधमा औषधि आयातकर्ताहरुले बिहीबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।

आयातकर्ता संघले विरोधका कार्यक्रम अनुसार शुक्रबार कालोपट्टि बाँधेर औषधि व्यवस्था विभागमा धर्ना दिएका थिए।

‘मानव जीवनसँग प्रत्यक्ष संलग्न औषधिको विषयलाई आफनो स्वार्थपूर्ण माग पुरा गराउने अतियार बनाउने कार्यको हामी भत्सर्ना गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा नेपाली उद्योगको प्रवर्धन र जनतालाई गुणस्तरीय औषधि सस्तो मुल्यमा उपलब्ध गराउन लागेको सरकारको निर्णयलाई सकारात्मक रुपमा लिइएको उल्लेख छ। 

हेरौँ विज्ञप्तिको पूर्ण पाठ


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live