Collapse
Expand

समाचार

भोजपुरः धूमपानविरुद्ध होर्डिङ बोर्ड

नोदनाथ त्रिताल

भोजपुर– केही वर्ष अघिसम्म ठाउँठाउँमा रक्सी र चुरोट तथा सुर्तीजन्य पदार्थका होर्डिङ बोर्ड देखिने भोजपुरमा अहिले भने अवस्था फेरिएको छ। भोजपुरमा अहिले चुरोट तथा सुर्तीजन्य पदार्थविरुद्धका होर्डिङ बोर्ड देख्न पाइन्छ। स्वास्थ्य अधिकार सुर्ती नियन्त्रण जिल्ला सञ्जालले पहिलो पटक धूमपान विरुद्धको सचेतनामूलक होर्डिङ बोर्ड राखेको हो।

जिल्ला स्वास्थ्य कार्यालय, सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्लास्तरीय अनुगमन समिति, न्यायशील असल शासन क्लब र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले होर्डिङ बोर्डका लागि सहयोग गरेका छन्। होर्डिङ बोर्ड भोजपुर सदरमुकामस्थित लोकतान्त्रिक चोकमा राखिएको छ।

‘सुर्ती होइन, जीवन रोजौं!’ भन्ने नाराका साथ राखिएको स्वास्थ्य सन्देशमूलक होर्डिङ बोर्डमा धूमपान तथा सुर्ती सेवनबाट मानव शरीरका विभिन्न भागमा लागेको क्यान्सरको तस्वीरहरु अंकित गरिएको छ। स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेको अभियान ‘मेरो वर्ष –२०७४’ अभियान अन्तर्गतको ‘म स्वस्थ, मेरो देश स्वस्थ’ नारा र पाँच वटा प्रतिबद्धता समेत होर्डिङ बोर्डमा समावेश गरिएको छ।

धूमपान विरुद्धको होर्डिङ बोर्डहरु सदरमुकाम स्थित टुँडीखेल क्षेत्र र शनिबारे हटिया क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुकुमार श्रेष्ठले बताए। उनले यस्ता चेतनामूलक होर्डिङ बोर्डले मानिसलाई सुर्ती–चुरोट प्रयोग नगर्न प्रेरित गर्ने बताए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने