अन्तर्वार्ता

‘सुदूरपश्चिममा सरकारी मेडिकल कलेज चलाएरै छाड्छौँ’

स्वास्थ्य खबरपत्रिका

डा. चेतराज पन्त


सुदूरपश्चिम (प्रदेश–७) मा मेडिकल कलेज स्थापनाको चर्चा जोडतोडका साथ चल्न थालेको अठार वर्ष भइसक्यो। हुन त सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको चर्चा चल्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ, तर यसले व्यापकता पाएको भने २०५६ सालदेखि हो। भारत काञ्चिकामाकोटी पीठका शंकराचार्य जयन्द्र सरस्वतीले कैलालीमा आयुर्विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) खोल्ने घोषणासहित नेपाल भ्रमण गरेपछि त्यो चर्चा निकै चुलियो।

बीचका वर्षमा गेटा मेडिकल कलेज निर्माणको चर्चा कहिले उठ्ने र कहिले सेलाउने भइरह्यो। अहिले बल्ल गेटा मेडिकल कजेल निर्माण कार्यले मूर्तरूप लिएको छ। हालै मेडिकल कलेजका लागि अस्पताल, प्रशासकीय भवन लगायतका भवनको शिलान्यास भएको छ। र, यसको नेतृत्व गरेका छन्, गेटा मेडिकल कलेज प्रवर्धन विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले।

साढे तीन दशकदेखि स्वास्थ्य सेवामा सक्रिय डा. पन्तले अबको अढाई वर्षभित्र मेडिकल कलेज निर्माण कार्य पूरा हुने विश्वास लिएका छन्। २०२९ सालमा कञ्चनपुर स्वास्थ्य चौकी इन्चार्जका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका डा. पन्तसँग स्वास्थ्य खबरपत्रिकाका लागि कैलाली संवाददाता शेरबहादुर ऐरले गेटा मेडिकल कलेज निर्माण, मेडिकल कलेज सञ्चालन लगायतका विषयमा गरेको कुराकानीः

गेटा मेडिकल कलेजले शिलान्याशसम्म आइपुग्न कत्तिको आरोह–अवरोह झेल्नुपर्‍यो?

गेटा मेडिकल कलेज निर्माणको चर्चा गर्दा यसको इतिहासबारे स्मरण गर्नु आवश्यक हुन्छ। २०५६ सालमा स्वामी शंकराचार्यले ‘कैलालीमा मेडिकल कलेज निर्माण गर्ने’ घोषणा गरेपछि यसको चर्चा चलेको हो। त्यो समयमा गेटा मेडिकल कलेजका लागि जग्गा प्राप्त भएको थियो। शिक्षा मन्त्रालयले स्विकृति दिएको थियो। तर, मेडिकल कलेज सञ्चालनका लागि तीन सय शैय्याको अस्पताल बन्नुपर्ने नेपाल मेडिकल काउन्सिलको नयाँ नियम आएपछि उनीहरू हच्किए र त्यो बन्न सकेन। त्यसपछि सरकारले मेडिकल कलेजका लागि प्रदान गरेको जग्गा वन मन्त्रालयलाई फिर्ता गर्‍यो।

२०६६ सालमा प्रेम कुँवर र म राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भयौँ। हामीले त्यतिबेला सुदूरपश्चिम विश्वविद्यालय र मेडिकल कलेजका लागि १०–१० करोड रुपैयाँ विनियोजन गयौँ। त्यसपछि मेडिकल कलेज समिति बन्यो। शिक्षा मन्त्रालय अन्तर्गत ६ महिनाका लागि बनेको समितिले बन मन्त्रालयबाट जग्गा भने फिर्ता गर्न सकेन र समितिको कार्यकाल सकियो।

त्यसपछि २०६८ सालमा मेडिकल कलेज प्रवद्र्धन विकास समितिका नामबाट काम सुरु भयो। त्यसको अध्यक्ष म र कार्यकारी निर्देशक डा. भीमसिंह तिंकरी थियौँ। हामीले सरकारबाट जग्गा फिर्ता गर्न पहल गरिरह्यौँ। सात–आठ महिनापछि मेडिकल कलेजलाई जग्गा दिने स्विकृति प्राप्त भयो, तर त्यहाँ रहेका रुखहरूबारे के गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेन।

हामीले मेडिकल कलेजका लागि दुई वटा काम अघि बढायौँ। गुरुयोजना बन्यो। मेडिकल कलेज, अस्पताल, होस्टेल, प्ले ग्राउन्ड, डाक्टरको आवास गृह लगायतको गुरुयोजना बन्यो। यो डिजाइन गर्न एउटा संस्थालाई जिम्मेवारी दिइएको थियो। अहिले मेडिकल कलेजका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। त्यसअघिको २० करोड रुपैयाँ खर्च हुन बाँकी नै थियो।

अहिले मेडिकल कलेजको अस्पताल, कलेज भवनको ठेक्कापट्टा भएर काम अघि बढेको छ। दुई वर्षअघि ठेक्कापट्टा भएर पनि रुखका कारण अघि बढ्न नसकेको प्रशासनिक भवन निर्माण कार्य पनि अहिले अघि बढेको छ। यो मेडिकल कलेज स्थापनाका लागि हामीले अनेक हण्डर खानुपरेको छ। तर, जसरी पनि हामी अब मेडिकल कलेज चलाएरै छाड्छौँ।

यो मेडिकल कलेजमा कहिलेदेखि विद्यार्थीले पढ्न पाउँछन्?

मेडिकल काउन्सिलको मापदण्ड अनुसार तीन सय बेडको अस्पताल सञ्चालन भएको हुनुपर्छ। अहिले भवन निर्माण कार्य अघि बढेको छ। ३० महिनाभित्र निर्माण कार्य सकिएपछि मेडिकल कलेज सञ्चालनमा आउनेछ। हामीले ३० महिनाभन्दा अघि नै काम पूरा गर्ने लक्ष्य लिएका छौँ। सरकारले हामीलाई बजेटको चिन्ता नगर्न भनेको छ।

मेडिकल कलेजको आठ वर्षीय योजना स्वीकृति गरिसकेको छ। हामीले काम गरेर देखाउनुपर्नेछ। हामीले यो मेडिकल कलेजको निर्माणका लागि चार वर्षअघि चार अर्ब रुपैयाँ बजेटको अनुमान गरेका थियौँ। अहिले एक अर्ब रुपैयाँ लागत बृद्धि हुने सम्भावना छ। यो १० वर्षीय योजना हो।

मेडिकल कलेजमा के–के सुविधा हुनेछन्?

हामीले पहिला तीन सय बेडको अस्पताल बनाउँछौँ। विस्तारै त्यसलाई स्तरोन्नति गर्दै ६ सयदेखि ९ सय बेडको अस्पतालका रूपमा सञ्चालन गर्नेछौँ। साथै न्युरोसर्जरी, कार्डियाक सेन्टर, डाइवेटिक सेन्टर र महिला तथा बालबालिकाका लागि सुविधायुक्त छुट्टै विभाग बनाउने योजना बनाएका छौँ। मेडिकल कलेजको सञ्चालन हुनासाथ यी विधा पनि एकएक गरी बढाउँदै क्यान्सर सेन्टरको स्थापना गर्ने पनि योजना छ।

कस्तो मेडिकल कलेज बनाउने? के छन् योजना?

मेडिकल कलेजमा विभिन्न २१ विधा हुन्छन्। हामी अहिले सबै विधाको विस्तृत अध्ययन गरिरहेका छौँ। यो मेडिकल कलेज गेटामा स्थापना भए पनि यो प्रदेशका सबै ९ जिल्लाका विद्यार्थीले अध्ययन गर्न पाउनेछन्।

९ वटै जिल्लाको मेडिकल कलेजको अनुभूति गराउन पहाडका सात जिल्ला र कञ्चनपुरमा यो मेडिकल कलेजका विद्यार्थीले जिल्ला अस्पतालसँग सहकार्य गर्नेछन्। हाम्रो कलेजका विद्यार्थीहरू पनि इन्टर्नसिपमा सबै जिल्लामा गएर काम गर्ने योजना बनाएका छौँ। ती जिल्लाका अस्पतालले त्यहाँका स्वास्थ्य चौकीको सेवामा सुधारका लागि काम गर्नेछन्। प्रत्येक स्वास्थ्य चौकीमा कम्तिमा दुई वटा एम्बुलेन्सको व्यवस्था गर्ने र गेटा मेडिकल कलेजबाट बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्ने परिकल्पना छ।

सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्यकर्मीको कमी छ। एमबिबिएस डाक्टरका साथै दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्ने लक्ष्य हो। विज्ञान विषयमा प्लस टु अध्ययन गरेका विद्यार्थीलाई एक्सरे, फिजियोथेरापी सम्बन्धी तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरी जिल्ला तथा अञ्चल अस्पताल र स्वास्थ्य चौकीमा पठाउने योजना छ। साथै, मेडिकल कलेजमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर पनि स्थापना गर्ने योजना छ।

मेडिकल कलेज सञ्चालमा आएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुरा ओझेलमा त पर्दैन?

हाम्रो प्रदेशमा अझैसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान छैन। प्रतिष्ठानको आफ्नै विधान हुन्छ, र यसले मेडिकल कलेजका लागि आवश्यक सबै विभाग खोल्ने अनुमति दिन्छ। शिक्षा मन्त्रालयले शुरुदेखि नै मेडिकल कलेजका लागि पहल गरिरहेको छ र समिति बनाएर गेटा मेडिकल कलेजको नामले काम अघि बढिरहेको छ। अहिले गेटा मेडिकल कलेजका नामले काम अघि बढे पनि यहाँका जनताको आकांक्षा भनेको स्वास्थ्य विज्ञान प्रतिष्ठान नै बनाउने हो।

दुई पटकको बजेट वक्तव्यमा पनि यसलाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्ने उल्लेख भइसकेको छ। तर, यसलाई मूर्तरुप दिन राजनीतिक नेतृत्वको ठूलो भूमिका रहन्छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने