Collapse
Expand

समाचार

प्युठानमा खोप कार्यक्रम लक्ष्य अनुसार सफल

दीपा पौडेल

प्यूठान–  बच्चा जन्मेदेखि एक वर्ष भित्रमा लगाउनु पर्ने सम्पूर्ण खोप जिल्लाका ३ हजार ९ सय बालबालिकाहरुले लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले बताएको छ।      

यस आ.ब मा ५ हजार ६ सय ९३ जना एक बर्षमुनिका बालबालिकालाई सम्पुर्ण खोप लगाउने लक्ष्य अनुसार चैतसम्म खोप लगाउनेको संख्या ३ हजार ९ सय पुगेको हो । लक्ष्य अनुसार छुटेका बालबालिकालाई खोजी गाउँघरमै गएर खोप दिइने बताइएको छ। 

बालबालिकाको सुरक्षित भविष्यका लागि स्वस्थ जीवन बनाउन देशब्यापी थालिएको खोप महिनालाई साप्ताहिक प्याकेजमा विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा यो तथ्यांक सार्वजनिक गरिएको हो । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत देशब्यापी रुपमा चलेको खोप महिनाको रुपमा बैशाख महिनालाई जिल्लाकै ४९ वटा स्वास्थ्य सस्था मार्फत समुदायमै पु¥याइएको छ ।
 
जिल्लामा रहेका स्वास्थ्य संस्था मार्फत पहिलो हप्ता संस्थाको कार्यक्षेत्र भित्र खोपको महत्व झल्कने ब्यानर टाँस, खोपको महत्वका बारेमा समुदायमा प्रचारप्रसार, दोश्रो हप्ता खोप रजिष्ट्रर अनुसारको तथ्याङ्क अद्यावधिक, खोप लगाउन छुटेका बच्चाहरु भए नभएको खोजी, तेस्रो हप्ता आमा समुहलाई खोपको नीति बारे जानकारी र अन्तिम हप्तामा साझेदार तथा सरोकारवाला निकायको सहभागितामा स्थितिको लेखाजोखा, सार्वजनिक गरी पूर्ण खोप दिगोपनाका लागि कार्ययोजना अनुसार खोप महिना मनाइएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत बिष्णु प्रसाद पोख्रेलले जानकारी दिए ।

एक वर्ष मुनिका बालबालिका, १२ महिना देखि २३ महिनाका बालबालिकाको तथ्याङ्क संकलन र सोही आधारमा खोपका लागि बालबालिकाको घरघरमा गइ खोपमा पहुँच बढाउन सो कार्यक्रम सञ्चालन गरिएको पोख्रेलको भनाई छ । 

जिल्लामा बि.सि.जी., डि.पि.टी., पोलियो, दादुरा, रुवेला, निमोनीया, जापानिज इन्सिफलाइटिस, हेपाटाइटिस लगायत ११ रोग बिरुद्धको नियमित खोप निःशुल्क रुपमा सेवा प्रदान गरिदैँ आएको छ । खोपले शिशु तथा बालमृत्युदरमा कमी ल्याउनुका साथै, बिरामी हुुने दर र अपाङ्गता हुने दर घटाउन सो कार्यक्रम प्रभावकारी हुने स्वास्थ्यकर्मीहरु बताउछन् ।

   प्रत्येक महिनामा २ सय ५१ खोप केन्द्र, १ सय ५५  वटा गाउँ घर क्लिनिकबाट खोप सेवा तथा खोप सम्बन्धी जानकारी गराउने ब्यबस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रमुख विशाल सुवेदीले बताए । ‘नियमित खोप प्रदान सहित गाउँका महिला स्वास्थ्य स्वमंसेविका, आमा समूह मार्फत खोप सम्बन्धी जनचेतनाका कार्यक्रम गरिरहेका छौँ उनले भने  । जिल्लाका दुर्गम गाउँहरु स्याउलिवाङ, लिघा, दाङबाङ, कोचिवाङ, फोप्ली, जुम्रीकाढा, बिजुली, चुँजा लगायतका १३ स्थानमा महिला स्वास्थ्य स्वयंसेवीका, आमा समुह, वडा नागरिक मञ्च, शिक्षक, ब्यबस्थापन समिति राजनैतिक दल लगायतले खोपमा सहभागिता र यसको महत्व, पूर्ण खोप तथा यसको दिगोपनाका लागि विशेष प्राथमिकताका लागि कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ । 

‘बालबालिकाका लागि पूर्ण खोपयुक्त प्यूठान, पूर्ण गर्भ जाँच, पूर्ण संस्थागत प्रसुती हाम्रो अभियान’ भन्ने नारा सहित जिल्लालाई २०७२ पौष १५ मा नेपालकै पन्ध्राै‌ तथा मध्यपश्चिमकै पहिलो जिल्लाको रुपमा घोषणा गरिएको थियो । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने