टिप्स/जानकारी

के-केमा गरिन्छ अल्ट्रासाउन्ड? यी कुरामा ध्यान दिऊँ

डा. पूजा अग्रवाल, रेडियोलोजिस्ट, नर्भिक अस्पताल

शरीरका भित्री अंग र त्यसमा देखिएको समस्याको जाँच गर्ने विधि हो, अल्ट्रासाउन्ड। 'अल्ट्रासाउन्ड स्क्यानिङ'लाई 'सोनोग्राफी' जाँच पनि भनिन्छ। यो जाँच मानिसले सुन्न नसक्ने 'अल्ट्रासोनिक वेभ' (ध्वनि तरंग) शरीरभित्र पठाएर गरिन्छ।

यो विधि सबैभन्दा सुरक्षित जाँच मध्येमा पर्छ। यसले शरीरमा कुनै किसिमको असर गर्दैन। 'प्रोब्स'को माध्यमबाट अल्ट्रासाउन्ड वेभ शरीरभित्र पठाइन्छ र ती वेभ भित्री अंगमा ठोक्किएर प्रोब्समै फर्किन्छ र 'मोनिटर'मा तस्विर देखापर्छ। अल्ट्रासाउन्ड गर्दा प्रोब्सको टुप्पोमा एक प्रकारको जेल (चिल्लो पदार्थ) राखिन्छ। जेलले बिरामीको छाला र प्रोब्सको बीच भागमा हुने हावालाई हटाउन मद्दत गर्छ। यदी बीचमा हावा रह्यो भने ध्वनी तरंग राम्रोसँग शरीरभित्र जान पाउँदैन।

यस्ता समस्यामा अल्ट्रासाउन्ड गर्ने

अल्ट्रासाउन्डले पेट सम्बन्धी समस्या, कलेजो, फोक्सो, मिर्गौला, पित्तथैली, पिसाब थैली, छालाको भित्री भाग तथा घाँटीको ट्युमर, थाइराइड र ग्रन्थीहरुको समस्या हेर्न मद्दत पुग्छ। त्यस्तै, गर्भवती वा सुत्केरी महिलाको पाठेघर जाँच र ६ महिनासम्मको बच्चाको मस्तिष्कको भित्र भाग पनि अल्ट्रासाउन्डबाट हेर्न सकिन्छ। तर, अल्ट्रासाउन्डबाट आन्द्राको भित्र भाग, आन्द्राको घाउ वा अल्सर भए/नभएको भने  हेर्न सकिँदैन। यसका लागि भने 'इन्डोस्कोपिक' जाँच गर्नुपर्ने हुन्छ। अल्ट्रासाउन्ड 'बायोप्सी'का लागि पनी प्रयोग गर्न सकिन्छ। कहिले काहीँ भित्री अंगको बायोप्सी गर्नुपर्ने भएमा अल्ट्रासाउन्डको माध्यमबाट सानो सुइले  सम्बन्धित अंगको मासुको टुक्रा निकाल्ने काम पनि गरिन्छ।

अल्ट्रासाउन्ड गर्नुअघि ध्यान दिनुपर्ने कुराः

१. पित्तथैलीका लागि ६ देखि ८ घण्टासम्म खाली पेट बस्ने।

२. पित्तथैलीको शल्यक्रिया भएकाहरु र गर्भवती महिलाले खाली पेट बस्नुपर्दैन।

३. पिसाब थैली, पाठेघर र प्रोस्टेट हेर्नका लागि सादा पानी र कालो चिया पिउने अनि पिसाब च्याप्ने।

४. बच्चाका लागि २ देखि ४ घण्टा खाली पेट राख्नुपर्ने हुन्छ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live