विचार/ब्लग

स्वास्थ्यकर्मीलाई ट्रेनिङः भत्ता बाँढ्ने कि सीप सिकाउने?

डा. शम्भु खनाल

स्वास्थ्यसँग सम्बन्धित कुरा सार्वजनिक यातायातामा यात्रा गर्दा धेरै सुन्न पाइन्छ। फलानो अस्पताल, फलानो डाक्टर, फलानो मेडिकल, फलानो ठाउँ आदिका तीता-मिठा अनुभव यात्रुहरुले एकअर्कालाई सुनाइरहेका हुन्छन्। त्यस्ता सबै गफलाई सधैँ याद गरिरहन सकिँदैन। तर, कुनै-कुनै गफले पछिसम्म झक्झक्याइरहन्छ। एकपटक नेपालगन्जबाट बुटवल जाँदै गरेको गाडीमा चढेपछि सुनेको पोलियो थोपाको गफ भने राष्ट्रियस्तरमै हुने कार्यक्रमसँग जोडिएको हुँदा केही लेखौँलेखौँ लागेको छ।

'ट्रेनिङ त ठिकै थियो। अरुभन्दा त भत्ता पनि राम्रै रहेछ। पोलियो थोपा अब दुई पटक दिए पुग्ने भयो,' मेरो सिटपछाडि बसेका व्यक्तिले आफ्नो साथीलाई सुनाए। गाडीभित्रको भिडमा पनि स्वास्थ्यसँग सम्बन्धित कुरा भएर होला।  मेरा कानले त्यो कुरोकानी टिपिहाल्यो। नयाँ जानकारीले हलचल पनि गरायो। दुई मात्रा पोलियो थोपा दिने कुरा मलाई अस्वभाविक लागेर अझै चासो दिएर सुनेँ, थप केही जानकारी पो आउने हो कि भनेर।

तीन मात्रा खुवाइने पोलियो थोपा २ पटक मात्र  खुवाए पुग्ने ती व्यक्ति सुझाव सुनेपछि मलाई त्यसको कारण के रहेछ भन्ने जान्न खसखस लाग्यो। पछाडि फर्केर सोधिहालेँ। अनायास नचिनेको मान्छेबाट प्रश्न आउँदा उनले केही अप्ठेरो मानेर हच्किए पनि जवाफ भने दिए। उनका अनुसार पोलियो थोपाको दोस्रो मात्राले प्यारालाइसिस गराउने देखिएको हुँदा अबदेखि नदिने भनेर ट्रेनिङमा बुझाइएछ। त्यसपछि  भने उनको  बुझाइ पूरै गलत भन्नेमा म ढुक्क भएँ। त्यसबारे मैले पढेको र जानेका कुरा बुझाउने प्रयास गरेँ।

ट्रेनिङमा नेपाल सरकारले  मनग्गे पैसा खर्च गरेको पाइन्छ।  हुन सक्छ त्यो पैसा कुनै दातृ निकायको होला। जे भए पनि कर्मचारीको सीप विकास  गर्नका निम्ति ट्रेनिङले उल्लेखनीय  भूमिका खेलेको हुन्छ। तर, ट्रेनिङलाई भत्तासँग जोडेर हेर्दा उद्देश्य ओझेलमा परेको कुरो असत्य होइन। किनभने रुचीबिनाको सिकाइ अधुरो र काँचो हुन्छ। ट्रेनिङको विषय वस्तु कुन स्तरसम्मका लागि तयार गरिएको हो र सहभागीको ज्ञानको मापन गरेर सरल भाषामा सम्प्रेषण  गर्न सके मात्र  त्यसको उपयोगिता रहन्छ। बुझ्ने क्षमता, बुझाउने क्षमता र ग्रहण गर्ने क्षमता फरक कुरा हुन्। सबैको तालमेल नमिलेमा सहभागीको  बुझाइ फरक पर्न गएर यस्तै पोलियो थोपाको जस्तै बुझाइले दुर्घटना निम्त्याउन सक्छ।

पूर्णखोप अभियानलाई सफल पार्न  जोड्तोडका साथ जिल्ला स्वास्थ्य  कार्यालय लगायतका विभिन्न सरोकारवाला निकाय खटिएका हुन्छन्। हरेक बच्चाले  खोप पाउनु उसको अधिकार हो। अहिले पोलियो थोपाको घटनालाई लिएर यहाँ लेख्दा विषय साह्रै सानो लागेको हुन सक्छ। तर, घटना सानो भए पनि त्यसले ठूलो पारिमाणमा असर नपर्ला भन्न सकिन्न। आगो सल्किन सानो झिल्का नै काफी हुन्छ भनेझैँ, यस्ता गलत बुझाइको फैलावट पनि गुणात्मक हुन सक्छन्।

जन्मिसकेपछि एक वर्षभित्र दिनुपर्ने खोपहरुमा पोलियो थोपा ६, १० र १४ हप्ताको उमेरमा खुवाइने गरिन्छ। हाल लगभग एक वर्षयता विश्व स्वास्थ्य संगठनले पोलियो थोपामा हुने तीन थरीका (स्ट्रेन– १, २ र ३) पोलियो भाइरसको ठाउँमा स्ट्रेन–२ लाई हटाएर बाइभालेन्ट भ्याक्सिन (बिओभिपी) अर्थात् स्ट्रेन–१ र ३ सिफारिस गरेको छ। तीन वटा स्ट्रेन भएको भ्याक्सिन (टिओपिभी) लाई बाइभ्यालेन्ट भ्याक्सिन (बिओभिपी) ले विस्थापित गरिसकेको अवस्था छ। त्यसो गर्नुको कारण पोलियोका केसहरु नेपालमा न्यून हुँदै गएको र स्ट्रेन–२ ले गर्दा भ्याक्सिनले हुनसक्ने एकाध पक्षघातका घटना पनि नहोस् भन्ने हेतुले हो। पोलियोलाई पूर्ण रुपले उन्मूलन गर्ने नीतिले त्यसरी पोलियोको  बाइभ्यालेन्ट भ्याक्सिन उत्पादन र वितरण  गरिएको हो। तर यहाँ स्ट्रेन–२ ले पक्षघात गर्ने भनिएकोमा दोस्रो मात्राको पोलियो थोपाले पक्षघात गराउने भन्ने बुझाइले बच्चा जन्मिसकेपछि १० हप्तामा दिनुपर्ने दोस्रो मात्राको पोलियो थोपा नै बच्चाले नपाउने सम्भावना भयो। यो बुझाइले त झन् बिगार्ने देखियो।

पोलियो थोपा दुई पटक मात्र खुवाउने भनेर बुझेको व्यक्तिले आफ्नो ठाउँमा गएर दुई पटक मात्र खुवाएर बीचको दोस्रो मात्रा नै दिनुपर्दैन भनेमा पक्कै असर पर्नेछ। जिल्ला स्वास्थ्य कार्यालय चनाखो रहेछ भने त मासिक रिपोर्टमा त्रुटि देखिएपछि छिट्टै सच्चिएला। तर, रिपोर्ट जति सबै दराजमा थन्क्याउने र वर्षमा एक पटक खोजिनिती गर्दा मात्र पल्टाउनले चलन रहेमा, समय घर्किसकेको हुनेछ।  

कर्मचारीको ज्ञान र सीप अभिवृद्धि गर्न समयसापेक्ष ट्रेनिङ हुनु आवश्यक छ। तर, ट्रेनिङको विषयवस्तु सहभागीले के–कसरी बुझेका छन् भनेर हेर्नु उचित हुन्छ। पूर्वपरीक्षा भन्दा उत्तर परीक्षाको परिणामको  प्रगति लिएर मात्रै  ट्रेनिङको सफलता  मापन गर्दा त्रुटि हुन सक्छ। अर्को सत्य कुरा के देखियो भने, भत्ताको उद्देश्यले मात्रै सञ्चालन हुने ट्रेनिङको प्रभावकारिता  न्यून  हुन्छ। सबैको बुझाइ उस्तै नहुन सक्छ। सहभागीको प्रकृति हेरी ट्रेनिङका विषयवस्तु नमिलाउँदा गलत तथा उल्टो कुरा सम्प्रेषण हुन सक्छ। दोष  बुझाउनेको पनि हुन सक्छ र बुझ्नेको पनि हुन सक्छ। कसैलाई दोष  दिनुभन्दा पनि कुनै कुरा गलत तरिकाले बुझिएमा त्यसले दीर्घकालीन असर पर्न सक्छ भन्नेमा संवेदनशील हुनु जरुरी छ। 

स्वास्थ्यकर्मीलाई दिइने ट्रेनिङलाई भत्ता पचाउने, जमघट हुनेभन्दा पनि सीप र ज्ञानको माध्यमका रुपमा विकास गरौँ भन्ने मेरो आशय हो। साथै ट्रेनिङको प्रभावकारिता मापन गर्ने सशक्त उपाय प्रतिपादन गर्न सके कार्यक्रमहरु स्वत: प्रभावकारी हुनेछन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने