समाचार

१८ देशका अर्थोडोन्टिस काठमाडौंमा

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ– दक्षिण एसियासहित १८ देशका अर्थोडोन्टिस (दाँतमा तार बाँध्ने वा ब्रसेज विशेषज्ञ) काठमाडौँमा भेला भएका छन्। भेलामा पछिल्लो समय विकास भएको उपचार पद्धतिबारे छलफल हुँदैछ।

साउथ एसिया इन्टरनेसनल अर्थोडोन्टिक कांग्रेसको दोस्रो एवं अर्थोडोन्टिक तथा अर्थोफेसियल अर्थोपेडिक एसोसिएसन नेपाल (ओडान)को सातौँ सम्मेलनमा नेपालसहित १८ देशका एक सय ५० अर्थोडोन्टिक सर्जनले मंगलबार र बुधबार आआफ्ना देशका उपचार पद्धति र सेवा विस्तारबारे अनुभव सुनाउनेछन्।

एसोसिएसनका अध्यक्ष प्राडा प्रकाश भट्टराईका अनुसार दुई वर्ष पहिले तय भएको कार्यक्रम भूकम्पका कारण स्थगन भएको थियो। पाकिस्तानबाहेक सार्कका मुलुक, अस्ट्रेलिया, जापान, दक्षिण कोरियालगायत देशका अर्थोडोन्टिक सर्जन सम्मेलनमा सहभागी छन्। प्राडा भट्टराईले अर्थोडोन्टिक्सले बाङ्गोटिङ्गो र नमिलेको दाँतको उपचार गर्नाका साथै अनुहारको हाडको समस्याको रोकथाम र उपचार गर्ने बताए। यसका लागि नयाँ प्रविधिको विकास भइरहेको र नेपालमा चाँडै भित्रिने उनले बताए।

नेपालका करिब ८० प्रतिशत बालबालिकाको दाँत बाँध्नुपर्ने अवस्था रहेको बताउँदै अझै त्यसको उपचार गर्नुपर्छ भन्ने चेतना विकास नभइसकेको उनको बुझाइ छ। प्राडा भट्टराईले भने, ‘बाङ्गो दाँत सिधा गर्ने मात्र नभई बच्चाको हड्डी र वयस्कमा जवडाको समस्या (जव डेफोमिर्टी) समाधान अर्थोग्नाथिक सर्जरीद्वारा गरिन्छ। पछिल्लो समय दाँतलाई व्यक्तित्वसँग जोडेर हेर्न थालिएको छ। त्यसबाहेक पनि बाङ्गोटिङ्गो दाँत नमिलाउँदा स्वास्थ्य समस्या देखिने भएकाले यसको उपचार गराउनै पर्छ।’

वीर अस्पताल दन्त विभागका अर्थोडोन्टिक सर्जन मनिष वज्राचार्यले दाँत किराले खाने र गिजाको समस्या आदिबाट छुट्कारा पाउन तथा रोजगारी, विदेश अध्ययन आदिमा आकर्षक दाँतले भूमिका खेल्ने हुँदा पछिल्लो समय अर्थोडोन्टिकको माग बढ्दै गएको जनाए। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live