Collapse
Expand

विचार/ब्लग

जिका बेबीको चर्चा कहाँ हरायो?

डा. शेरबहादुर पुन

जिका भाइरसको चर्चा सन् २०१५ पछि खासै भएको छैन। खासगरी, जिका संक्रमणले टाउको सानो भएको बच्चा एकपछि अर्को ठूलो मात्रामा देखिन थाल्यो भनेर सुन्नमा आएको छैन। तर प्रश्न उठ्छ, सन् २०१५ (अक्टुबर तिर) मा मात्र किन यति धेरै (दुई हजारभन्दा बढी) संख्यामा देखियो होला त यो समस्या?

विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले हालै मात्र ब्राजिलको स्वास्थ मन्त्रालयसँग मिलेर गरेको अनुसन्धानको नतिजाले जिका र माइक्रोकेफाली (टाउकोको आकार सानो हुने स्नायु रोग) को सम्बन्धमा प्रश्न खडा गरेको छ। यो अनुसन्धान विश्वकै प्रतिष्ठित स्वास्थ्य जर्नल 'न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिन' मा प्रकाशित भएको थियो।

जिका संक्रमण ब्राजिलमा सन् २०१५ मा भन्दा सन् २०१६ मा बढी दर्ता भएको थियो। सन् २०१५ मा माइक्रोकेफाली भएका जन्मजात शिशुहरू धमाधम जन्मदै गर्दा वैज्ञानिकहरुले यो जिकाको संक्रमणका कारण भएको निष्कर्ष निकालिरहेका थिए। त्यसै अनुरुप डब्लुएचओले अन्तर्राष्ट्रिय स्वास्थ्य संकटको घोषणा समेत गर्नुपर्‍यो। सन् २०१६ मा जिका संक्रमण ब्राजिलमा बढी देखिँदै गर्दा अघिल्लो वर्ष (सन् २०१५) भन्दा बढी माइक्रोकेफाली भएका  बच्चाहरु जन्मने पूर्वानुमान गरिएको थियो। तर, सोचेभन्दा ठिक उल्टो लगभग नगन्य संख्यामा मात्र माइक्रोकेफाली भएका नवजात शिशुहरु देखा परे। यही नतिजाले प्रश्न उब्जाइदियो, 'कतै जिका भाइरस माइक्रोकेफाली (टाउको सानो) हुनुको कारण नभई अरु नै वा अरु पनि थियो कि?'

यसबारे भइरहेका अनुसन्धानहरुले आगामी दिनमा तथ्यहरु सार्वजनिक गर्दै जानेनै छन्। केही समयअघि केही वैज्ञानिकहरुले जन्मजात टाउको सानो भएका बच्चाहरु जन्मनुमा जिका भाइरस नभई लामखुट्टेको लार्भा मार्न प्रयोग हुने 'पाइप्रोक्सिफेन' नामक रसायनको अत्यधिक प्रयोग कारण हुन सक्ने औँल्याएका थिए। ब्राजिलमा यो रसायनको व्यापक प्रयोग हुनेगर्छ। तर, ती वैज्ञानिकहरुको तथ्य र तर्कमा डब्लुएचओ सहमत भएन। त्यस अनुसन्धानले स्नायु रोग 'गिलैन बार सिन्ड्रोम' (जिबिएस) सँग भने जिकाको सम्बन्ध हुन सक्ने तर्फ संकेत गरेको थियो।

डब्लुएचओ र ब्राजिलको स्वास्थ्य मन्त्रालय मिलेर गरेको अनुसन्धानले भने माइक्रोकेफाली हुनुको पछि तीन प्रमुख कारण हुनसक्ने सम्भावना देखाएको थियो।

पहिलो, सन् २०१६ मा जिकाको निदानमा केही समस्या हुनसक्ने आँकलन गरिएको थियो। चिकनगुनिया भाइरसलाई जिका निदान गर्ने कीटले 'जिका पोजेटिभ' देखाएको (क्रस रियाक्टिभिटी) हुन सक्ने भएकाले सन् २०१५ मा भन्दा सन् २०१६ जिका संक्रमणको संख्या बढी देखिए पनि माइक्रोकेफालीको संख्या भने कम भएको हुनसक्ने सम्भावना छदैँ थियो। तर, मेरो प्रश्न, यदि त्यसो हो भने सन् २०१५ मा प्रयोग गरेको जिकाको कीट र सन् २०१६ मा प्रयोग गरेको कीट फरक थियो त? यदि एउटै कीट प्रयोग गरेको थियो भने र यो सम्भावनालाई मान्ने हो भने कतै चिकनगुनिया भाइरसले पनि माइक्रोकेफाली गराउन सहायक वा प्रमुख भूमिका खेलेको त थिएन? यो अनुसन्धानको पक्ष हुन सक्छ। हालसम्म चिकनगुनिया भाइरसले जिबिएस गराउने भए पनि माइक्रोकेफाली नै गराएको प्रमाण भने भेटिँदैन।

दोस्रो, माइक्रोकेफाली गराउन जिका संक्रमण आवस्यक भए पनि त्यो एकल रुपमा सक्षम हुँदैन अथवा कुनै अर्को 'को-फ्याक्टर' छ जुन तत्काल थाहा हुन सकेको छैन। यो सम्भावनासँग म केही हद सहमत छु। सन् १९४७ मा युगान्डामा पहिलोपटक देखा पर्दै सन् २०१५ सम्म आइपुग्दा माइक्रोकेफालीको प्रकोप किन देखा परेन? एसिया महादेशमा सन् १९६० देखि १९८० सम्म जिका फैलिएको भए पनि किन माइक्रोकेफालीको महामारी देखिएन? गत वर्ष सिंगापुर, मलेसिया, थाइल्यान्डमा जिका संक्रमण देखिए पनि त्यस अनुरुप माइक्रोकेफालीको संख्या देखिएन। तसर्थ ब्राजिलको हकमा जिका संक्रमण फैलिएको समयमा अरु कुनै विशेष फ्याक्टरले भूमिका खेलेको पो थियो कि जुन एसिया र अफ्रिकाभन्दा फरक थियो? यो प्रश्नको सेरोफेरोमा अनुसन्धान गर्दा तर्कसंगत देखिएला।

तेस्रो, ब्राजिलमा जिका संक्रमणले गर्दा हुन सक्ने माइक्रोकेफालीको त्रासले गर्भवती हुन अनिक्छुक भएका वा गर्भपतन गराएकाले माइक्रोकेफालीको 'केस' कम देखा परेको हुनसक्ने अनुसन्धानमा औँल्याइएको थियो। सन् २०१५ र २०१६ को गर्भवती महिलाको संख्या र नवजात शिशुको संख्या तुलना गरेको भए यो विषय पनि स्पष्ट हुने थियो।

सम्भावित कारणबारे अनुसन्धानकर्ताहरुले चासो देखाए पनि यहाँ देखिएको अन्योललाई चिर्न जिका अनुसन्धान झन् युद्धस्तरमा हुनु जरुरी छ भन्नेमा दुई मत छैन। ब्राजिलमा दोस्रो वर्ष (सन् २०१६) ठूलो संख्यामा माइक्रोकेफाली जन्मजात शिशुको जुन अनुमान थियो त्यस अनुसार नदेखिए पनि आगामी वर्ष बढ्दैन भन्ने आधार भने छैन। किनभने लामखुट्टेजन्य रोगहरु (जस्तैः डेंगुले हरेक तीनदेखि पाँच वर्षको अन्तरालमा प्रकोप ल्याउन सक्ने) केही समयको अन्तरालमा पुनः फैलिने गरेको वैज्ञानिक अनुसन्धानहरुले देखाउँछ। जिका पनि यस्तो नहोला भन्न सकिँदैन।

नेपालमा डेँगु र चिकनगुनिया भाइरस हरेक वर्ष देखा पर्ने गरेको छ। त्यस्तै जिका, डेँगु र चिकनगुनिया भाइरस सार्ने लामखुट्टे (नेपालमा प्रसस्त पाइने) एउटै भएकाले हामीले प्रयोग गर्ने कीटले देखाउने रोग एकअर्कासँग 'क्रस रियाक्टिभ' भई डेँगु वा चिकनगुनिया पोजेटिभ भाइरस जिका पनि हुन सक्छ। त्यसैले हामीले सतर्कतासहित रोगको सही पहिचान गर्ने कीटको प्रयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। नेपालमा माइक्रोकेफाली जन्मजात नवजात शिशुको संख्या कति हो र यसको संख्या बढेको छ कि छैन भनेर हेर्न जरुरी भइसकेको छ। जिका आज नभए भोलि नआउला भनेर ढुक्क हुने अवस्था छैन। र, नेपालमा हाल 'जिका बेबी' छैन भनेर हामी ढुक्क हुनु हुँदैन। किनभने भोलि हामीले ब्राजिलको नियति भोग्नुपरे त्यो बेलाको परिस्थिति हामीले कल्पना गरेभन्दा बाहिर जान सक्छ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने