Collapse
Expand

फिचर

न्युरो सर्जरीमा २० वर्ष बिताएका डा. शर्माका यी ६ सम्झना

img

डिबी खड्का

डा. मोहनराज शर्मा


डा. मोहनराज शर्माले न्युरो सर्जरी गर्न थालेको २० वर्ष भयो। चिकित्सकीय भाषामा ‘एनोरिजम’ भनिने मस्तिष्कभित्रको रक्तनलीमा फोका उठेर फुट्ने अवस्थाकै सफल सर्जरी उनले तीन सयभन्दा बढी गरिसके। डाक्टरले यसको हिसाबकिताब किन राख्छन् भने यो जटिल प्रकारको सर्जरी हो। शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. शर्माले यो २० वर्षे यात्रामा अनेक आरोह–अवरोह भोगेका छन्। तीमध्ये केही घटनाले उनको मस्तिष्कमा गहिरो छाप छोडेका छन्।

जटिल एनोरिजमको दुर्लभ शल्यक्रिया
टाउकोको शल्यक्रिया भन्नेबित्तिकै आम मानिसका लागि ठूलो ‘भय’को विषय बन्छ। मानवको सबैभन्दा महत्वपूर्ण अंगको शल्यक्रियामा सधैँ सन्देह मिसिएको हुन्छ। यही कारणले टाउकोभित्रका अंगको शल्यक्रिया सफल हुनुलाई मानिसले ठूलो सफलता ठान्छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकका लागि समेत ‘ठूलो सफलता’ मानिने जटिल र दुर्लभ एनोरिजमको शल्यक्रिया सफल भएको छ। करिब दुई वर्षअघि डा. शर्माको टिमले एउटै बिरामीको मस्तिष्कमा रहेका चारवटा एनोरिजमको सफल शल्यक्रिया गरेको हो।

डा. शर्माका अनुसार मस्तिष्कभित्रको रक्तनलीमा फोका उठेर फुट्नेबित्तिकै ब्रेन ह्यामरेज भएर बिरामीको मृत्यु हुने सम्भावना अधिक हुन्छ। ‘चिकित्सकीय अभ्यासको २० वर्षे अनुभवमा एकैपल्ट चारवटा एनोरिजममा क्लिपिङ गर्नुपरेको यो पहिलो पटक हो,’ उनले भने, ‘मेरो करियरमा पहिलोपल्ट गरिएको यो शल्यक्रिया सायद नेपालमै पनि पहिलो हुन सक्छ।’

विश्वमा यस्ता समस्यामध्ये ८० देखि ८५ प्रतिशतमा एउटा मात्र एनोरिजम हुने भए पनि दुई वा दुईभन्दा माथि ७ देखि १५ प्रतिशतमा मात्रै हुन्छ। एकैपल्ट एउटा मात्रै एनोरिजमको शल्यक्रिया सफल पार्नु न्युरो सर्जनका लागि खासै ठूलो कुरा होइन। त्योभन्दा बढी एकैपल्ट गर्दा जोखिम पनि बढ्दै जान्छ। उनले ६ घन्टा लगाएर उक्त शल्यक्रिया सफल पारेको जनाए।

‘चारवटा एनोरिजमको शल्यक्रिया एकैपल्ट सफल तुल्याउनु मेरा लागि मात्रै होइन, संसारकै लागि दुर्लभ कुरा हो,’ उनी भन्छन्। डा. शर्माको टिमले पोखरा रामबजारकी ६३ वर्षीया गोमुकुमारी क्षेत्रीको मस्तिष्कको दुर्लभ शल्यक्रिया गरेको थियो।

घाट लैजाऊ भनेको टिचिङमा ल्याए
काठमाडौँकै अर्काे कुनै अस्पतालले एउटा बिरामीको अवस्था हेरेर अब नबाँच्ने निर्णय गरिदियो। मस्तिष्कको पछिल्लो भागमा रगत जमेको बिरामीको अवस्था एकदमै खराब थियो। ती बिरामीकी दिदी नर्स भएकाले ‘सेकेन्ड ओपिनियन’ लिने प्रयास गरिन्।

उनले शिक्षण अस्पतालमा न्युरोका डाक्टरलाई देखाउन पुगिन्। संयोगले भेटाइन् डा. शर्मा। बिरामीको सिटी स्क्यान हेरेपछि डा. शर्मा बचाउन सकिने निष्कर्षमा पुगे। उनले तुरुन्तै अस्पताल ल्याउन भने।

बिरामीको शल्यक्रिया भयो। एक महिना शिक्षण अस्पतालमा उपचार गरेपछि बिरामी व्यक्ति निको भएर घर फर्किए। केही समयअघि उपचारको १२ वर्षपछि ती बिरामी डा. शर्मा खोज्दै शिक्षण अस्पताल आइपुगेका थिए। भक्तपुरका ती बिरामी डा. शर्माले ज्यान जोगाइदिएको भन्दै नतमस्तक भएका थिए। तर, डा. शर्माले भने त्यो घटना बिर्सिसकेका रहेछन्। उनले भने, ‘ती बिरामीले भनेपछि मात्रै घटना याद आयो। मैले त बिर्सिसकेको रहेछु। बिरामी १२ वर्षपछि भेट्न आउँदा खुसी लाग्यो।’

करियरको सुरुवात, क्विक डिसिजन
उनी न्युरो सर्जरी करियरको सुरुवाती चरणमा थिए। त्यसैले हरेक कुरामा अहिलेजस्तो निर्धक्क हुने कुरै भएन। शिक्षण अस्पतालको इमर्जेन्सीमा एकजना बिरामी ल्याइएछ। न्युरोको समस्या हुन सक्ने भन्दै उनलाई सम्पर्क गरियो। उनी अस्पतालमै राउन्डमा भएकै बेला परेछ। उनी तुरुन्तै इमर्जेन्सीमा पुगे। उनले सम्झे, ‘बिरामी हेर्दा त एउटा आँखा फुलेको थियो। नाम बिर्सें, ८ वर्षकी बालिका थिइन्। मैले तुरुन्तै शल्यक्रिया गर्ने निर्णय लिएँ।’

शल्यक्रिया सफल भएपछि उनमा एक किसिमको ऊर्जा सञ्चार भएको थियो। किनभने सही समयमा शल्यक्रिया गरिहाल्ने निर्णय गरेका कारण ती बालिकाको ज्यान जोगिएको थियो। उनले भने, ‘केही समय मात्रै ढिलो भएको भए ज्यान तलमाथि हुन्थ्यो। मैले तुरुन्तै शल्यक्रिया गर्ने निर्णय लिएर ती बालिकालाई जोगाएँ। करियरको पहिलो चरण भएकाले यसले मलाई समयको ख्याल गर्न सिकायो। त्यो घटनाका कारण धेरै बिरामीको शल्यक्रिया गर्ने निर्णय समयमै लिएर बचाउन सफल भएको छु।’

शल्यक्रियाको तनावले अनिदो रात
उनले यो २० वर्षे यात्रामा डाक्टरलाई भगवान् मान्ने बिरामी र बिरामीका आफन्त मात्रै भेटेनन्। हप्कीदप्की गर्न खोज्ने र दुव्र्यवहार गर्ने बिरामीका आफन्त पनि झेले। कति बिरामीका आफन्त चाहिनेभन्दा बढी जान्ने बनिदिँदा उनलाई धेरै पटक अप्ठ्यारो परेको छ। उनी भन्छन्, ‘असाध्यै किचकिच गर्ने, शल्यक्रियापछि बाँच्ने ग्यारेन्टी लिनुपर्नेजस्ता शर्त तेर्स्याउने पनि हुन्छन्।’

तिनैमध्येका एउटा बिरामीका आफन्तले उनलाई शल्यक्रिया सफल बनाउनै पर्ने ‘प्रेसर’ दिए। ‘यति विखलबन्द पारे कि, शल्यक्रिया नै नगरी पठाइदिन्थे होला अरु भए। तर, मैले चिकित्सकीय धर्म भुलिन,’ डा. शर्माले त्यो घटना सम्झिए, ‘आफन्तले जति किचकिच गरे पनि शल्यक्रिया गरेपछि बिरामी निको हुने कुराले मलाई प्ररित गर्यो। अन्ततः शल्यक्रिया गर्ने निर्णयमा पुगेँ।’

उनी सम्झिन्छन्, ‘शल्यक्रिया गर्ने अघिल्लो रात निद्रै परेन। मैले दबाब महसुस गरेँ, जसरी पनि शल्यक्रिया सफल बनाउनुपर्ने र बनाएरै छाड्ने।’ उनले उक्त शल्यक्रियाका लागि आफूले जाने जतिका आइडियाको तुलना गरेर राम्रो उपाय खोज्न थाले। कसरी गर्दा बिरामीलाई कम समस्या आउन सक्छ भन्ने कुरा मनमा खेलाउन थाले। यसरी रातभरि नसुतेर उनले शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो।

अहिले पनि किचकिचे बिरामी र आफन्त भेट्दा उनी त्यही घटना सम्झिन्छन्। कतिका आफन्तले समयमै शल्यक्रिया गर्ने अनुमति नदिँदा बिरामी जोगाउन नसकिएका बेला पनि उनलाई त्यो घटनाको सम्झना आउँछ।

स्वर्गवासी त्यो बिरामी
कतिपय बिरामीको शल्यक्रिया गर्दागर्दै मृत्यु हुन्छ। कतिको शल्यक्रियाको समयमा आउने विभिन्न समस्याका कारण मृत्यु हुन्छ। डाक्टरले जोगाउने प्रयास गर्दागर्दै बिरामीको मृत्यु हुनु अस्वभाविक पनि होइन। तर, उनको दिमागममा त्यस्तो एक स्वर्गबासी बिरामीले डेरा जमाएको छ, जसबारे उनी आफैँलाई प्रश्न गर्छन्, ‘कसरी मृत्यु भयो उसको?’

उनले एनोरिजमको शल्यक्रिया गरेको बिरामी थियो ऊ। जसको शल्यक्रिया सफल भएको थियो। शल्यक्रियापछि पनि बिरामीमा त्यस्तो कुनै समस्या देखिएन। तर, शल्यक्रिया गरेको ७ दिनपछि बिरामीको मृत्यु भयो। मृत्यु हुने सम्भावित कारणहरुमा उनले कतै गडबडी भेटेका थिएनन्। ‘त्यस्तो अवस्थामा बिरामीको मृत्यु हुँदा चाहिँ अनौठो लाग्ने रहेछ,’ उनले भने, ‘उसको मृत्युको खबरले मनै चिसो भयो। अझै लाग्छ, कसरी उसको मृत्यु भयो होला?’

पहिलो सर्जरीः अमेरिकी नागरिक
बिरामी नेपालको होस् वा जहाँसुकैको डाक्टरका लागि सबै समान हुन्छ। तर, विकासोन्मुख देशकाले विकसित देशका नागरिकलाई र विकसित देशकाले विकासोन्मुख देशका नागरिकलाई हेर्ने दृष्टिकोण फरक–फकर हुन्छ।

न्युरो सर्जरीमा विशेषज्ञता हासिल गर्न अमेरिका पुगेका थिए डा. शर्मा। युनिभर्सिटी अफ वासिङ्गटनबाट साढे दुई वर्षे न्युरो सर्जरी कोर्स गरेका हुन् उनले। उनको कोर्स सकिनै लाग्दा उनका प्रोफेसरले एउटा बिरामीको सर्जरीको नेतृत्व गर्ने जिम्मा दिए। एक त आफ्नो ज्ञानमाथि आफ्ना गुरुले गरेको भरोसा सम्झेर उनी गद्गद् थिए। न्युरोमा आफैँले पहिलो पटक नेतृत्व लिँदै थिए उनी। त्यसैमाथि एक नेपाली डाक्टरले अमेरिकन नागरिकको सर्जरी गरिरहेको छु भन्ने कुराले उनलाई गर्व महसुस भएको थियो।

‘यसो हुनुमा हामी जन्मिँदै विकसित देशका नागरिकभन्दा हेय भाव लिएर आएका हुन्छौँ सायद,’ उनी भन्छन्, ‘त्यही मनोविज्ञानले भूमिका खेलेर होला, एउटा अमेरिकीको शल्यक्रिया गर्ने कुराले ठूलो सन्तुष्टि दिएको थियो।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने