मुख्य समाचार

अपांगता भएका व्यक्तिलाई चाहिने सहायक सामाग्रीमा कर छुट हुने

img

जनक पौड्याल

काठमाडौं– सरकारले अपांगता भएका व्यक्तिका लागि अत्यावश्यक सहायक सामाग्रीमा कर छुट गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्री गगन थापाले यो आर्थिक वर्षभित्रै छुट दिने निर्णय गर्न लागेको बताएका छन्। उनले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त र कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चुडामणि भण्डारीलाई सूची बनाउन निर्देशन दिएका छन्।

बिहीबार अपांगता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजनाको सार्वजनिक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्। उनले भने, ‘अपांगता भएका व्यक्तिका लागि सहायक सामाग्रीहरु आरामदायी वस्तुमा पर्दैनन्। त्यसैले कर छुट दिनुपर्छ। ती के–के हुन सक्छन्, सूची भोलिसम्मै प्राप्त होस्।’ कार्ययोजना सार्वजनिक पछि उनले यो योजना थन्किएर नबस्ने प्रतिबद्धता जनाए। यसअघि पनि नीति, रणनीति बन्ने तर थन्किने गरेको भन्ने गुनासोलाई सम्बोधन गर्दै उनले जसरी पनि कार्यान्वयनमा ल्याउने दाबी गरे।

मन्त्री थापाले स्वास्थ्य क्षेत्रको भौतिक र संरचनागत हिसाबले पुनःसंरचना गर्नुपर्ने बेला भएकाले अपांगमैत्री बनाउन जोड दिइने बताए। कान नसुन्ने र बोल्न नसक्नेलाई लक्षित गर्दै ठूला सरकारी अस्पतालमा दोभाषेको व्यवस्थाका लागि पहल गर्ने उनको भनाइ थियो। सुरुमा ट्रमा सेन्टर, वीर अस्पतालबाट यो अभियान थालिने उनले जानकारी दिए।

उनले अपांगता भएका व्यक्तिहरुको बिमा निःशुल्क गर्ने व्यवस्था गरिएको जनाउँदै सहयोगीका लागि पनि यो सुविधा दिने कुरामा सोच्न सकिने आश्वासन दिए। मन्त्री थापाले यसै वर्षदेखि मन्त्रालयले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधाका लागि बजेट बढाउने बताउँदै कुष्ठरोग नियन्त्रण महाशाखालाई अपांगता क्षेत्रको काम पनि गर्ने महाशाखा बनाउन निर्देशन दिए।

महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण संसदीय समितिकी सभापति सांसद रञ्जुकुमारी झाले अपांगता मध्ये पनि अटिजमलाई प्राथमिकतामा राख्न जोड दिइन्। उनले भनिन्, ‘अपांगता क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी क्षेत्रले अटिजमलाई कम प्रथामिकतामा पारेको हो कि भन्ने महसुस हुन्छ। अटिजम भएका बालबालिका र उनीहरुका अभिभावकको पीडा नजिकबाट नियालेकी छु। यसलाई प्रथामिकतामा राखेर काम गर्नुपर्छ।’

राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपांगता भएका महिलालाई प्रसूति गराउने ठाउँमा समेत समस्या रहेको भन्दै मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए। साथै स्वास्थ्य मन्त्रालयदेखि अस्पतालसम्मका भौतिक संरचना आपंगमैत्री नभएको उनले गुनासो गरे।

कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले अपांगता भएकाहरुका कुरा समेटिने बुलेटिन ‘हाम्रो सवाल’ सार्वजनिक गरेका थिए।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने