फिचर

प्युठानका ब्रेन ट्युमर पीडित युवाको उपचार खर्च जुटाउन घरदैलो अभियान

दीपा पौडेल

क्यान्सर पीडित रेशम भुसाल


प्युठान– स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको पक्षमा मतदान गर्न आग्रह गर्दै गाउँघरका युवाहरु घरदैलो अभियानमा केन्द्रित भइरहेकै बेला मल्लरानी गाउँपालिका वडा नम्बर २ चुजाँ बाघखोरका गाउँलेहरु भने फरक अभियानमा थिए। २८ वर्षे रेशम भुसाललाई बचाउनका लागि अपिल गर्दै उनीहरु पनि घरदैलो अभियानै लागेका थिए।

चुनावको सरगर्मीका बेला पनि बाघखोरका बासिन्दा गाउँको युवकलाई कसरी बचाउन सकिएका भन्ने चिन्तामा छन्। बे्रन ट्युमर भएका भुसालको शल्यक्रिया र थप उपचारका लागि खर्च जुटाउन गाउँलेहरु आर्थिक सहयोग माग्दै घरदैलोमा जुटेका हुन्। बिरामी रेशमका बुवा गोपालप्रसाद भुसाल र माइलो बुवा भक्तिरामसहित गाउँलेहरु सहयोग जुटाउन हिँडेका हुन्।

ब्रेन ट्युमरबाट पीडित रेशमको मंगलबार वीर अस्पतालमा न्युरो सर्जन डा. प्रकाश विष्टको टिमले शल्यक्रिया गरेको छ। उनलाई अहिले आइसियूमा राखेर उपचार गरिरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन्। उपचारमा संलग्न डाक्टर विष्ट बिरामीको रेडियो थेरापी र केमोथेरापीका लागि अन्य अस्पतालमा पठाउनुपर्ने भएकाले पैसा बढी लाग्न सक्ने बताउँछन्।

उनले शल्यक्रियाका लागि करिब ६० हजार र रेडियो थेरापी र कमो थेरापी गर्दा करिब दुई लाख ५० हजार रुपैयाँसम्म लाग्न सक्ने बताएका छन्। यो रेशमको दोस्रो शल्यक्रिया हो। ६ महिनाअघि उनको शल्यक्रिया वीर अस्पतालमै भएको थियो।

रोजगारीको सिलसिलामा २०७० सालमा साउदी अरब गएका रेशमलाई सुरुमा टाउको दुखिरहने समस्या थियो। शल्यक्रिया गर्न काठमाडौँ जानुअघि बाघखोरमा भेट्दा रेशमले आफूले दुखाइ कम गर्ने औषधिको भरमा विदेशमा काम गरेको बताए। उनले साउदीको अस्पताल जाँदाको कुरा सुनाए, ‘आँखा जचाउन भन्यो, आँखा हस्पिटल जाँदा केही पनि समस्या छैन भन्यो। दुखाइ कम गर्ने औषधिको भरमा काम गरेँ।’

टाउको दुख्न नछाडेपछि दुई वर्षपछि २०७२ साल असोजमा उनी नेपाल फर्किए। उनले काठमाडौँको सिभिल अस्पतालमा जचाउँदा आफूलाई ब्रेन ट्युमर भएको पत्तो पाए।

गरिबीले गर्दा विदेश गएका भुसालले भावुक हुँदै भनेका थिए, ‘दुखाइ कम गर्ने औषधिको भरमा काम गरियो तर यस्तो समस्या होला भन्ने सोचेको पनि थिएन। अहिले न आफैँ मर्न सक्छु न उपचार गराउने पैसा छ।’ सिभिल अस्पतालमा जचाउँदा बे्रन टियुमर भएको थाहा भएपछि उनी शल्यक्रियाका लागि वीर अस्पतालमा गएका थिए। उनको वीर अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया भयो। शल्यक्रियापछि क्यान्सर अस्पताल भक्तपुर उनले ६ हप्ता थेरापी गराए। घरका माइला छोरा रेशमले आफ्नो अंशमा पाएको जायजेथा बेचेर,साउदी बस्दा कमाएको पैसा र केही ऋण खोजेर उपचार गराएका थिए। उनले अहिलेसम्म १५ लाख रुपैयाँ उपचारमा सकिएको बताए।

‘त्यत्रो खर्च गरेर उपचार गराएपछि त निको होला भन्ने थियो,’ भुसालले आफ्नो दुखेसो सुनाए, ‘तर ६ महिनापछि फेरि टाउको दुख्न थाल्यो। अहिले जचाउँदा डाक्टरहरुले अझै ब्रेन ट्युमर नै छ भने। फेरि शल्यक्रिया गराउन जानुपर्ने छ। तर, आफूसँग भएको सिरिखुरी सकियो, अब कहाँबाट पैसा जोहो गर्ने भन्ने चिन्ता छ।’

‘पहिला उपचार गराउँदै सात लाख रुपैयाँ ऋण खोजेको हुँ,’ रेशमले भक्कानिँदै भनेका थिए, ‘पाँच वर्षको छोरो छ। सम्पति पनि सकियो। मलाई निको पनि भएन। सुरुमै उपचार नगरेको भए म मरे पनि छोराले सम्पत्ति बेचेर पढ्ने थियो।’

‘विदेशमा हुँदा केही भन्नु भएन। फोनमा सधैँ सन्चै छु मात्र भन्नु हुन्थ्यो। यत्रो रोग लागेको रहेछ, केही पत्तो समेत पाइएन,’ रेशमकी २३ वर्षीया श्रीमती सरिता भन्छिन्,‘अहिले घर चलाउने कि, उहाँको उपचार गर्ने साह्रै अप्ठ्यारोमा छौँ। डाक्टरहरुले बचाउन सकिन्छ भनेकाले फेरि शल्यक्रिया गराउन लैजाने तरखरमा छौँ। सहयोग जुटेदेखि उहाँको उपचार गर्न सकिन्थ्यो कि भन्ने आशा छ। गाउँका मान्छेहरु जुट्नु त भएको छ। खै के हुन्छ कुन्नि।’

अहिलेसम्म घरदैलोमा हिँडेर रेशमको उपचारका लागि १९ हजार रुपैयाँ जम्मा गरेको उनका माइलो बुवा भक्तिराम भुसालले जनाए। गाउँलेहरुले घरदैलो अभियान गरेर जम्मा गरेको रकम लिएर रेशमकी श्रीमती सरिता श्रीमान् निको आशामा अहिले वीर अस्पतालमै बसेकी छिन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने