मुख्य समाचार

औषधिको मूल्य घटाउनु अपराध हो भने, म त्यो अपराध गर्न तयार छुः स्वास्थ्यमन्त्री थापा

स्वास्थ्य खबरपत्रिका

काठमाडौँ– स्वास्थ्य मन्त्री गगन थापाले सुपथ मूल्यमा औषधि उपलब्ध गराउने अभियानमा आफू प्रतिबद्ध रहेको बताएका छन्। स्वास्थ्य खबरसँगको कुराकानीमा मन्त्री थापाले भने, ‘बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय र प्रभावकारी औषधि उपलब्ध गराउनु अपराध हो भने म त्यो अपराध गर्न तयार छु।’

मिर्गौला, क्यान्सर, मुटु, मधुमेहजस्ता कडा रोगको औषधि सरकारले सिधै उत्पादक कम्पनीसँग खरिद गरी अस्पताल फार्मेसीबाट बिक्री–वितरण गर्ने तयारी गरेपछि औषधि आयातकर्ताहरु आन्दोलनमा छन्। आयातकर्ताहरुले सरकारले निर्णय फिर्ता नलिए औषधि आयात ठप्प पार्ने चेतावीसमेत दिएका छन्। ‘औषधि आयात ठप्प पार्छु भन्नु पनि अपराध हो,’ मन्त्री थापा भन्छन्, ‘यदि, कसैले कुनै पनि बहानामा औषधि अभाव सिर्जना गर्छ भने उसलाई सरकारले अपराधी सरहको व्यवहार गर्छ।’

‘स्वास्थ्य मन्त्रालयले उपचार खर्च थेग्नै नसक्ने गरी महँगो हुनुको कारण खोजी गरेको थियो,’ स्वास्थ्य मन्त्री थापाका प्रमुख सल्लाहकार प्रताप पौडेल भन्छन्, ‘उपचार खर्च महँगो हुनुको प्रमुख कारण औषधिको मूल्य अचाक्ली महँगो हुने गरेको भेटियो।’

स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनले नेपालमा आयात हुने कडा रोगको औषधिमा आयातकर्ताले ४ सयदेखि २२ सय प्रतिशतसम्म मुनाफा लिएर बिक्री गर्ने गरेको पाइएको थियो। ‘दुई–चार जनाको जागिर र मुनाफाका लागि बिरामीले उपचार गर्न नसकी जीवन गुमाउने अवस्था सरकारले टुलुटुलु हेरेर बस्न सक्दैन,’ मन्त्री थापा भन्छन्, ‘सरकारको कुनै निकायले टेन्डर गरी सिधै राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादक कम्पनीसँग औषधि खरिद गर्छ। जसले समग्र उपचार खर्च आधा सस्तो बनाउनेछ।’

मन्त्री थापा आयातकर्तालाई सरकारको निर्णयबाट नतर्सिन सुझाव दिन्छन्। भन्छन्, ‘उहाँहरुले पनि बजारमा औषधि बेच्न सक्नु हुन्छ। बिरामीले जहाँ सुपथ मूल्यमा पाउँछन् त्यहीँ खरिद गर्छन्। सरकार नागरिकको उपचार गर्न पाउनुपर्ने अधिकारप्रति अटल छ।’

औषधिको मूल्य नियन्त्रण र अनुगमन गर्न सरकारले औषधि व्यवस्था विभागमा छुट्टै युनिट खडा गर्ने तयारी गरेको मन्त्री थापाले जनाए। ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कसैले मनोमनी गर्न पाउँदैन। उपचार गर्न नसकेर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन सरकारले जुनै कदम पनि उठाउन सक्छ।’

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले जेठ ८ गतेसम्म सरकारले आफ्नो निर्णयमा पुनर्विचार नगरे आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। ‘वैज्ञानिक तरिकाले सरकारले मूल्य नियन्त्रण गर्छ भने हामी स्वीकार गर्न तयार छौँ,’ आचार्यले भने, ‘हामी पनि उत्पादक कम्पनीलाई आग्रह गरेर हालको भन्दा कम मूल्यमा औषधि उपलब्ध गराउन सक्छौँ।’ मूल्य निर्धारणले औषधिको मूल्य घट्ने स्वीकार गर्दै आचार्यले भने, ‘आयातकर्तालाई निषेध नगर्न हाम्रो आग्रह हो।’

औषधिमा अचाक्ली मूल्य असुल्दै आएका आयातकर्ताहरु नै धर्नामा

औषधि बजारको विकृति निर्मूल पार्न चाहन्छौँः स्वास्थ्य मन्त्री थापा

विदेश गएका कामदारको अकाल मृत्यु र रोगका कारण खोज्दै स्वास्थ्य मन्त्रालय

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live