डक्टर्स आर्टिकल

गर्भवति भएका महिलालाई हुनसक्ने एउटा यस्तो क्यान्सर

डा. सिमित सापकोटा, क्लिनिकल अन्कोलोजिस्ट, सिभिल अस्पताल

गर्भवति भएका महिलाहरुमा मात्र देखिने एक प्रकारको क्यान्सरको नाम हो, 'कोरियोकार्सिनोमा'। यो बोलिचालीको भाषामा भनिने 'सालनाल'को क्यान्सर हो। यो क्यान्सर ५० हजारमा एक जनालाई हुने सम्भावना रहन्छ। प्रायःजसो ४५ वर्षमाथि र १६ वर्षभन्दा मुनिको उमेरमा गर्भवती भएका महिला यो क्यान्सरको उच्च जोखिममा हुन्छन्।

'कोरियो' भन्नाले सालनाल हो जसलाई मेडिकल भाषामा 'ट्रोफोब्लास्ट' भनिन्छ। त्यसकारण सालनालमा हुने क्यान्सर नै कोरियोकार्सिनोमा हो।

कोरियोकार्सिनोमा महिला र पुरुषको जिनमा हुने गडबडीका कारण हुने गर्छ। जिनमा गडबडी हुँदा सालनाल बिग्रिने समस्या आउन सक्छ। 'साल' बढ्दैमा वा त्यसमा कुनै समस्या उत्पन्न हुँदैमा क्यान्सर नै हुन्छ भन्ने छैन।

कहिलेकाहीँ 'हाइडाटिडिफर्म मोल' नामको ट्युमर पनि भएको हुन सक्छ। हाइडाटिडिफर्म मोल सालनाल बढ्ने समस्या हो, तर यो क्यान्सर भने होइन। हाइडाटिडिफर्म मोल पनि दुई किसिमका हुन्छन्।

पार्सियल मोल (ट्युमर): यसमा बच्चा पनि हुन्छ र सँगै ट्युमर पनि। यो समस्या भएमा गर्भवती अवस्थाको १२ हप्तासम्म बच्चा र ट्युमर सँगै बढ्छन्। तर, १६ देखि १८ हप्तामा बच्चाको मृत्यु भइसकेको हुन्छ। त्यसैले ट्युमरसँगै सालनाल र बच्चा तुरुन्तै बाहिर निकाल्नुपर्ने हुन्छ। पार्सियल मोलमा क्यान्सर हुने सम्भावना १ देखि २ प्रतिशतसम्म रहन्छ।

कम्प्लिट मोल: यसमा ट्युमरले सालनाल र बच्चालाई पूरै ढाकिदिन्छ। पाठेघरमा ट्युमर मात्र रहन्छ तर सालनाल र बच्चा हुँदैन। यसमा क्यान्सर हुने सम्भावना १५ प्रतिशत हुन्छ।

गर्भवती अवस्थामा हुने यो समस्या आफैँमा क्यान्सर होइन तर यस्तो समस्याले बिस्तारै कोरियोकार्सिनोमा क्यान्सर हुने सम्भावना बढाउँछ।

कसरी आउँछ सालनालमा गडबडी?

पुरुषको शुक्रकीट र महिलाको डिम्ब मिलेर बच्चा जन्मिन्छ। तर, कहिलेकाहीँ पुरुषको शुक्रकीटले महिलाको डिम्बलाई पूरै प्रतिस्थापन गरेर बच्चा बन्नुको सट्टा ट्युमर बन्न पुग्छ। कहिलेकाहीँ पुरुषको दुई वटा शुक्रकीट महिलाको एउटा डिम्बसँग मिल्न पुग्छ र बिस्तारै त्यसले ट्युमरको रुप लिन्छ। जिनमा गडबडी हुँदा नै यो सबै समस्या हुने गर्छ। त्यस्तै, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग गर्नाले पनि यस्तो समस्या आउन सक्छ।

कोरियोकार्सिनोमा क्यान्सर ठ्याक्कै यस्तै अवस्थामा मात्र हुन्छ भन्न सकिँदैन। यो क्यान्सर हाइडाटिडिफर्म हुँदा पनि हुनसक्छ, गर्भपतन गर्दा पनि हुन सक्छ र सामान्य ढंगले सुत्केरी भइसकेपछि पनि हुन सक्छ। हाइडाटिडिफर्ममा क्यान्सर हुने सम्भावना १५ प्रतिशत हुन्छ। गर्भपतन गर्दा र सामान्य डेलिभरी भइसकेपछि भने यो क्यान्सर ५० हजारमा एक जनालाई हुने विभिन्न अनुसन्धानले देखाएको छ। सालनालको कुनै एक भागमा जहिले पनि क्यान्सर हुने सम्भावना हुन्छ। अधिकांशमा सालनालसँगै क्यान्सर गराउन सक्ने कोष बाहिर निस्किन्छ तर कतिमा सालनाल निस्के पनि क्यान्सर गराउने एउटा वा दुइवटा 'कोष' पाठेघरमै बसिदिन्छ र क्यान्सर बनेर फैलिन्छ। कोरियोकार्सिनोमा क्यान्सर तुरुन्तै देखिन पनि सक्छ वा सामान्य प्रसूति भएको वा बच्चा जन्मिएको वर्षौँपछि पनि देखा पर्न सक्छ।

कोरियोकार्सिनोमा भए/नभएको पत्ता लाउने तरिका

कोरियोकार्सिनोमा भएमा त्यसमा हुने ट्युमरले एक किसिमको हर्मोन उत्पादन गर्छ। त्यो हर्मोनलाई 'बी एचसिजी' भनिन्छ। गर्भवती अवस्थामा त्यो हर्मोन उच्च हुन्छ। उक्त हर्मोन सुत्केरी भएको तीनदेखि चार हप्तामा २० हजारभन्दा माथि भएमा ट्युमर हुन सक्छ।

कहिलेकाहीँ सुत्केरी भएका महिलाको कलेजो अथवा फोक्सोमा क्यान्सर देखियो तर कहाँबाट क्यान्सर आयो भन्ने पत्ता नलागेमा कोरियोकार्सिनोमा भएको अनुमान गर्न सकिन्छ। तर, त्यो कसरी आयो भनेर 'बी एचसिजी' हर्मोनको मात्रा हेरेर हामीले क्यान्सर भए/नभएको, उच्च वा न्यून जोखिम भएको छुट्याउन सकिन्छ। त्यसैले यो क्यान्सरमा अरु क्यान्सरजस्तो वायप्सी गर्नुपर्दैन।

लक्षण

जुन ठाउँमा क्यान्सर छ त्यसअनुसार लक्षणहरु देखा पर्छन्। सुत्केरी भएपछि पाठेघरमा यो क्यान्सर छ भने, पाठेघरको आकार सामान्य अवस्थामा फर्किन समय लाग्छ। प्रायः सुत्केरी भएको ६ हप्तामा पाठेघर सामान्य आकारमा फर्किसक्नुपर्ने हुन्छ। धेरै समयसम्म निरन्तर अत्यधिक रक्तस्राव हुन्छ। फोक्सोमा फैलिएमा सास फेर्न गाह्रो हुन थाल्छ। खोक्दा रगत देखिन्छ। दिमागसम्म फैलिएमा वाकवाक लाग्ने, वान्ता हुने आदि लक्षण देखा पर्छन्।

उपचार

कोरियोकार्सिनोमा क्यान्सरमा अरु क्यान्सर जस्तो 'स्टेज' हुँदैन। यसलाई न्यून जोखिम वा उच्च जोखिम गरी दुई समूहमा विभाजन गरिएको हुन्छ।

न्यून जोखिम: यसमा एक किसिमको 'किमोथेरापी' दिइन्छ। यस्तो अवस्थाका बिरामीलाई 'मेथोट्रेक्साइट' वा 'एक्टिनोम्यासिन' नामको केमोथेरापी दिइन्छ। न्यून जोखिमका बिरामीमध्ये ९० प्रतिशत निको हुने सम्भावना हुन्छ।

उच्च जोखिम: यसमा विभिन्न पाँच किसिमका 'किमो' मिसाएर बिरामीलाई 'इएमए/सिओ' नामक किमोथेरापी दिइन्छ। उच्च जोखिममा कलेजो र मस्तिष्कमा फैलिएको भए निको हुने सम्भावना २५ देखि ३० प्रतिशत हुन्छ। यदि, फोक्सो र पाठेघरमा फैलिएको भए ७० देखि ८० प्रतिशत निको हुने सम्भावना रहन्छ।

कोरियोकार्सिनोमा क्यान्सरमा 'बि एचसिजी'को लेभल सामान्य अवस्थामा नआउन्जेलसम्म किमो दिने गरिन्छ। त्यसरी 'बि एचसिजी'को लेभल सामान्य अवस्थामा आइसकेपछि ६ हप्तासम्म फेरि किमो दिनुपर्ने हुन्छ र पटक-पटक चिकित्सकको परामर्श लिइरहनुपर्छ। त्यसकारण कोरियोकार्सिनोमा क्यान्सरमा अरु क्यान्सरजस्तो किमो कति दिनुपर्छ भन्ने टुङ्गो हुँदैन। 'बि एचसिजी' लेभल रगतको परीक्षणबाट पत्ता लाग्छ। यो क्यान्सरको उपचार अरु क्यान्सरजस्तो महँगो हुँदैन। तर पाँचदेखि सात वर्षसम्म चिकित्सकको नियमित सम्पर्कमा बस्नुपर्ने हुन्छ।

कोरियोकार्सिनोमाबाट बच्ने धेरै उपाय छैनन्। तर, गर्भवती हुनुअघि र पछि डेलिभरी अघि र पछि नियमित रुपमा चिकित्सकको परामर्श लिई चेकजाँच गराइरहनुपर्ने हुन्छ। जसले जोखिम कम गर्न सहयोग पुग्नेछ।

प्रस्तुति: पारसविक्रम शाही

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live