डक्टर्स आर्टिकल

वर्षायाममा फैलिने रोगहरु र बच्ने १२ तरिका

डा. अनुप बाँस्तोला

वर्षायाम सुरु भएसँगै विभिन्न किसिमका रोगको प्रकोप बढ्छ। विशेष गरी खाना, पानीको कारण हुने आउँ, झाडापखाला जस्ता रोगसँगै कीटजन्य रोगहरु बढी देखा पर्ने गर्छन्। यस्ता रोगको प्रकोप बढ्नुका धेरै कारण छन्।

वर्षा सुरु भएसँगै पानीका स्रोतहरु दुषित हुने गर्छन्। सतही पानी (मूलहरु), जमिनमुनिको पानी (इनार/ट्युवेल) वर्षाको भेलका कारण दूषित हुन पुग्छन्। मानिस र जनावरको मलमुत्र पनि बगेर पानीका स्रोतहरुमा पुग्ने गर्छ। त्यसैले वर्षाका बेला जहाँतहीँको पानी पिउनु उपयुक्त हुँदैन।

दूषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणूले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरु सार्दछन्। पानीको स्रोतमा जाँच गर्दा 'कोलिफोर्म' ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित हुँदैन। पानीमा 'ई. कोली' ब्याक्टेरिया देखिएमा उक्त पानी मानिसको दिसा मिसिएर दूषित छ भन्ने बुझिन्छ। एक सय एमअल पानीमा कोलिफोर्म ब्याक्टेरिया नदेखिएमा उक्त पानी पिउनका लागि सुरक्षित छ भन्ने बुझिन्छ। पुरानो पाइपबाट आउने पानीमा पनि पाइपमा कतै प्वाल परेर वा जोडिएको ठाउँमा गडबडी भएमा मानिस तथा जनावरको मलमुत्र मिसिन सक्छ। त्यस्तोमा दूषित पानी नै धारामा आउने हुनाले, त्यसको प्रयोग गर्दा झाडा, बान्ता, ज्वरो, जन्डिस आदि रोग लगाउने विषाणू-कीटाणू फैलिने गर्दछन्।

गर्मी मौसममा भण्डारण गरिएका बासी खानेकुरामा विभिन्न किसिमका ब्याक्टेरिया हुने गर्छन्। तिनीहरुले निकालेको 'टक्सिन'का कारण 'फुड पोइजनिङ' हुन सक्छ। वर्षायामसँगै झिँगाको संख्या बढ्न थाल्छ। यिनीहरु विभिन्न किसिमका फोहर ठाउँमै बस्न रुचाउँछन्। फोहोर ठाउँबाट उडेर आएका झिँगाहरु खानेकुरामा बसिदिँदा त्यहाँ रोगका जीवाणू-कीटाणू छोड्ने गर्छन्। त्यस्तो खानाले झाडा, बान्ता, जन्डिस जस्ता रोग फैलिन सक्छ।

दूषित खाना र पानीका कारण टाइफाइड, सिगेला, सल्मोनेलोसिस, जिअर्डिया, अमोएबिअसिस, हेपाटाइटिस, भाइरल पखाला, फुड पोइजनिङ आदि समस्या आउन सक्छ।

वर्षायाममै विभिन्न किसिमका कीटजन्य रोगहरुको प्रकोप पनि बढ्छ। विभिन्न किसिमका कीट (जस्तैः लामखुट्टे, माइट्स, भुसुना आदि) को वृद्धि हुन्छ। जतातजै लामखुट्टे र भुसुना पाइन्छ। लामखुट्टेबाट सर्ने रोगहरु मलेरिया, फिलेरिया, जापानिज इन्सेफ्लाइटिस आदिको प्रकोप बढ्न सक्छ। साथै, भुसुनाबाट सर्ने कालाजारको संक्रमण बढ्न सक्छ। विभिन्न किसिमले जमेर बस्ने पानीमा बर्खा सकिएपछि (भदौ-अशोज) पनि लामखुट्टेहरुले फूल पार्ने र फैलिने क्रम रोकिँदैन। यी लामखुट्टेले डेँगु, चिकनगुनियाजस्ता रोगका विषाणू सार्ने काम गर्छन्। यी लामखुट्टेले एकैपल्ट धेरै मानिसलाई टोक्ने हुनाले यस्ता रोगको प्रकोप महामारीका रुपमा आउन सक्छ।

साथै, दूषित पानीमा पौडिँदा, काम गर्दा पनि विभिन्न किसिमका परजीवी तथा  ब्याक्टेरिया शरीरमा प्रवेश गर्न सक्छन्। जसले ज्वरो, जन्डिस, मेनिन्जाइटिसजस्ता रोगहरु ल्याउन सक्छ।

बच्ने तरिका

१. पानी राम्रोसँग उमालेर पिउने (कमसे कम १ मिनेटसम्म भकभकी उम्लिएको हुनुपर्छ)।

२. सधैँ खाना बनाउनुअघि, खाना खानुअघि, दिसा-पिसाब तथा बाहिर काम गरिसकेपछि साबुनपानीले हात धुने।

३. पानीको मुहान वरिपरि तारजाली लगाउने। पानी दूषित हुनबाट रोक्न खुल्ला दिसापिसाब नगर्ने तथा गाईबस्तुलाई पानीको मुहान विरिपरि आउन नदिने।

४. सडेगलेको, बासी तथा काँचो खाने कुरा खानु हुँदैन। बजारमा झिँगा भन्किएको, क्यानमा राखेको खाना/माछा तथा राम्ररी स्टोर नभएको खाना खानु हुँदैन।

५. खानेकुरा पकाएर मात्र खाने।

६. फलफूल तथा सलादहरु शुद्ध पानीले सफा गरेर मात्र खाने।

७. सतही तथा जमिनमुनिको पानीको शुद्धता परीक्षण गराएर मात्र पिउन वा खाना बनाउन प्रयोग गर्ने। दूषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाएर मात्र प्रयोग गर्ने।

८. अति आवश्यक परेको बेलामा वा ट्रेकिङ, हाइकिङमा जाँदा क्लोरिन ट्याब्लेट वा झोलले पानी शुद्ध बनाएर खाने।

९. कीटजन्य रोगबाट बच्न घर वरिपरि सरसफाइ गर्ने।

१०. लामखुट्टेले फूल पार्ने ठाउँ, पानी जम्मा हुने ठाउँमा थुप्रिएको फोहोर (जस्तैः टायर, बोतल, पोलिथिन, काठका टुक्रा आदि) हटाउने।

११. लामखुट्टे तथा अन्य कीटबाट जोगिन पूरै शरीर ढाकिनेगरी कपडा लगाउने। साँझको बेला घरबिहर ननिस्कने। निस्कनै परे लुगाले नछोपिने भागमा लामखुट्टे भगाउने क्रिम लगाउने। राति सुत्दाखेरि झुलको प्रयोग गर्ने र घरभित्र कीटनासक औषधि प्रयोग गर्ने।

१२. फोहोर पानीमा पौडी नखेल्ने।

(डा. बाँस्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिसिसियन हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने