मुख्य समाचार

सरकारले उत्पादन गरेको जीवनजल आजदेखि बजारमा, अन्य कम्पनीको भन्दा सस्तो 

img

डिबी खड्का

काठमाडौं– सरकारी स्वामित्वको औषधि कम्पनी नेपाल औषधि लिमिटेडबाट उत्पादित जीवनजल आजदेखि बजारमा किन्न पाइने भएको छ । झाडापखाला लोगपछि धेरैले खोज्ने गरेको ‘जीवनजल’ अन्य कम्पनीको भन्दा एक रुपैयाँ सस्तो अर्थात् ९ रुपैयाँमै पाइने बताइएको छ।

पहिलो चरणमा राजधानीमा जीवनजल उपलब्ध हुने लिमिटेडका महाप्रबन्धक डा रोवशकुसम सुवेदीले स्वास्थ्यखबरलाई बताए । उनका अनुसार आज ५० हजार प्याकेट बजारमा पठाइएको छ। सर्वसाधरणमाझ लोकप्रिय रहेको जीवनजल ८ वर्षपछि बजारमा आएको हो ।  जिएमपीका कारणले २०६६ सालदेखि उत्पादन बन्द थियो। 

जीवनजलको औपचारिक उत्पादन लिमिटेडले वैशाख २४ गते  थालेको थियो । लिमिटेडबाट  दैनिक १० हजार प्याकेट जीवनजल उत्पादन हुने बताइएको छ। लिमिटेडबाट उत्पादित जीवनजलको प्याकेटको तौल २३ दशमलव ५ ग्रामको हुनेछ।  जीवनजलको नयाँ उत्पादन हाल बजारमा रहेका जीवनजल भनेर चिनिने अन्य औषधिभन्दा सस्तो मात्रै नभइ गुणस्तरीय समेत रहेको लिमिटेडका महाप्रबन्धक डा सुवेदी बताउँछन् । 

२०२९ सालमा स्थापना भएको औषधि लिमिटेडबाट विगतमा एक सय २० प्रकारका औषधि उत्पादन हुन्थे। तर, विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा नभएका कारण ०६६ सालदेखि औषधिको उत्पादन बन्द थियो। अहिले लिमिटेडले उक्त मापदण्ड पूरा गरी उत्पादन अगाडि बढाएको हो। लिमिटेडले तीन महिनाअघि परीक्षणका रुपमा सिटामोल समेत उत्पादन गरेको थियो।

फेरि एक सय २० प्रकारकै औषधि उत्पादन गर्ने लक्ष्य लिमिटेडले लिएको छ ।  ‘लिमिटेडबाट उत्पादन हुने हरेक औषधि गुणस्तरीय हुनेछन्,’ डा सुवेदी भन्छन् ।  लिमिटेडबाट उत्पादित औषधि स्वास्थ्य मन्त्रालयको निःशुल्क कार्यक्रम अन्तर्गत खरिद गरी देशभर पुर्‍याउने तयारी पनि भइरहेको छ । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live